नेपाल–चीन दिगो सम्बन्ध विकासमा मिडियाको भूमिका

विषय प्रवेश

आजको अन्तर–आश्रित विश्वमा देशहरू बिचको कूटनीति र एक अर्को राष्ट्रप्रति सम्बन्धित मुलुकका जनताको धारणालाई आकार दिन मिडियाको अहम् भूमिका र  महत्त्वलाई नकार्न सकिँदैन। सञ्चारमाध्यमहरूले सूचना प्रवाह गर्न, सरोकारवाला मुलुकहरूबारे चल्ने साझा महत्वका विषय र बहसलाई आकार दिन र अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विभिन्न मुद्दाहरूमा जनमतलाई प्रभाव पार्ने शक्तिशाली उपकरणको रूपमा काम गर्ने गर्दछन् । आम सञ्चारका विभिन्न प्लेटफर्महरू जस्तै टेलिभिजन, रेडियो, अखबारहरू र न्यू मिडियाका रुपमा परिचित डिजिटल मिडियाहरू मार्फत हुने विभिन्न घटनाहरू, सांस्कृतिक विषय र राष्ट्रहरू बिचको कूटनीतिक अन्तरक्रियाको चित्रणले आम मानिसहरूले अर्को देश र त्यहाँको  सरकारलाई कसरी बुझ्ने भन्ने कुराको निर्धारण गर्छ ।

यसरी मिडियाले कुनै पनि मुलुकहरूको आपसी सम्बन्ध र एक मुलुकका जनताको मानसपटलमा अर्को मुलुक बारेको चित्र कस्तो बनाउने भन्ने काम गरिरहेको हुन्छ । त्यसैले, मुलुकहरू बिचको आपसी सम्बन्धलाई तिक्ततापूर्ण बनाउने वा सुमधुर बनाउने भन्ने विषयको एक महत्त्वपूर्ण निर्धारकका रुपमा नेपाल–चीन दिगो सम्बन्ध विकासमा मिडियाको के भूमिका हुन्छ भन्ने विषय यो लेखको केन्द्रमा छ ।

मिडिया र कूटनीतिक सम्बन्ध

मिडियाले समाचार, रिपोर्ट, आलेख, विश्लेषण र टिप्पणी लगायतका सामाग्रीहरू मार्फत केही पक्षहरूमा जोड दिएर सार्वजनिक धारणालाई एउटा निश्चित आकार दिन महत्त्वपूर्ण भूमिका खेल्छ। कूटनीतिक भ्रमणहरू, अन्तर्राष्ट्रिय सम्झौताहरू वा द्वन्द्वहरूको कभरेज होस् या मिडिया आउटलेटहरूले यी घटनाहरू प्रस्तुत गर्न छनौट गर्ने तरिकाले होस् आम मानिसहरूले कुनै घटनामा संलग्न देशहरू र तिनीहरूका कार्यहरूलाई कसरी बुझ्छन् भन्ने कुरालाई प्रभाव पार्न सक्छन् । यसरी मिडियामा हुने सकारात्मक वा नकारात्मक चित्रणले सार्वजनिक विचार, मनोवृत्ति र राष्ट्रहरूको एक अर्काप्रति गर्ने व्यवहार र निर्माण गर्ने धारणालाई समेत निर्देशित गरिरहेका हुन्छन् ।

त्यसैगरी, मिडियाले देशहरू बीच कूटनीतिक सञ्चारको लागिसमेत महत्त्वपूर्ण माध्यमको रूपमा काम गर्दछन्। यसो किन भनिएको हो भने कूटनीतिक गतिविधिहरू, त्यसमा संलग्न अधिकारीहरूको आधिकारिक बयानहरू र द्विपक्षीय सम्झौताहरू प्रायः मिडिया च्यानलहरू मार्फत नै सार्वजनिक र सञ्चार गरिन्छन् । यसरी सम्बन्धित सरकारहरूलाई प्रत्यक्ष रूपमा स्वदेशी र विदेशी नागरिकहरू सम्म आफ्ना सन्देशहरू पु¥याउने साधनको रुपमा समेत मिडिया नै प्रयोगमा आउँछ ।  प्रेस सम्मेलन, अन्तर्वार्ता, कतिपय अवस्थामा नेताहरूले टेलिभिजन मार्फत सन्देशहरू सार्वजनिक गरेर आफ्ना विदेश नीति र त्यसका उद्देश्यहरू व्यक्त गर्ने, द्विपक्षीय सरोकारका विषयलाई सम्बोधन गर्ने र कूटनीतिक पहलहरूको लागि आम समर्थन निर्माण गर्न प्लेटफर्मको रूपमा समेत मिडियाले काम गर्दछ।

कूटनीतिक सम्बन्धमा मिडियाको प्रभाव निर्माणका क्षेत्रमा प्रशस्तै चुनौतीहरू पनि छन्।

सांस्कृतिक आदानप्रदान गर्न र कूटनीतिक मामिलामा ‘सफ्ट पावर’ हरूलाई प्रक्षेपण गर्ने काममा समेत मिडिया नै सर्वाधिक सहज र प्रभावकारी साधनको रुपमा प्रयोग भइरहेको हुन्छ । मिडिया मार्फत नै राष्ट्रहरूले आफ्नो सांस्कृतिक सम्पदा, परम्परा र मूल्य–मान्यताहरू प्रदर्शन गर्ने गर्छन् । त्यस बाहेक  सह–सांस्कृतिक क्षेत्रलाई एक अर्काको साझा सम्पत्तिको रुपमा उजागर गर्न र त्यस्तो सम्बन्धलाई बढवा दिन पनि मिडिया नै सर्वाधिक प्रभावकारी मध्यम बन्ने गरेको पाइन्छ । कूटनीतिक सम्बन्धमा मिडियाको प्रभाव निर्माणका क्षेत्रमा प्रशस्तै चुनौतीहरू पनि छन्। मिडियाहरू पूर्वाग्रही बन्ने, गलत सूचना सम्प्रेषण गर्ने, कपोलकल्पित र भ्रामक प्रचारले वास्तविकतालाई विकृत गर्ने लगायतका कामहरू पनि हुने गरेका छन् । मिडियाका यस्ता गतिविधिले राष्ट्रहरू बीच भ्रम सिर्जना हुने र अविश्वास निम्तिन सक्ने सम्भावना पनि निकै उच्च हुन्छ । यसबाहेक, डिजिटल मिडिया र सामाजिक सञ्जाल प्लेटफर्महरूको उदयले सूचना प्रसारलाई सहज त बनाएको छ तर नयाँ चुनौतीहरू पनि सिर्जना गरेको छ जस्तो कि ‘फेक न्युज’को फैलावटमा सामाजिक सञ्जालहरूको धेरै नै दुरुपयोग भइरहेको छ ।

नेपाल र चीनको मिडिया परिदृश्य

नेपाल–चीन सम्बन्धलाई प्रवाहित गर्न वा त्यसलाई बलियो बनाउन मिडियाले खेलेको भूमिका वा मिडियाले कतिपय द्विपक्षीय मुद्दालाई कसरी अगाडी बढाइरहेका छन् भन्ने विषयमा नेपालमा खासै चर्चा र अध्ययन भएको देखिँदैन । तथापि, नेपाल र चीन बिचको सम्बन्धमा के कसरी मिडिया रिपोर्टहरू बन्ने गरेका छन् र त्यसले द्विपक्षीय सम्बन्धलाई के कस्तो प्रभाव पारिरहेको छ भन्ने बारे चाहिँ विमर्श गर्न सकिन्छ ।

नेपाल र चीन बिचको कूटनीतिलाई आकार दिन आम नागरिकमा एक अर्को मुलुकबारेको धारणा निर्माण गर्ने सन्दर्भमा समेत दुवै देशका मिडियाको भूमिका फरक प्रकृतिको हुने गरेको छ।

नेपाल र चीनका सञ्चारमाध्यमहरूले कसरी द्विपक्षीय मुद्दाहरूलाई कसरी प्रस्तुत गरिरहेका छन् र यसले समग्र द्विपक्षीय सम्बन्धलाई कसरी असर गरिरहेको छ भन्ने कुरामा प्रवेश गर्नु पूर्व बुझ्नै पर्ने अर्को एउटा महत्त्वपूर्ण विषय छ । त्यो हो, नेपाल र चीनमा मिडियाको प्रस्तुतिमा रहेको पृथकता । नेपाल र चीनको मिडिया परिदृश्य राजनीतिक प्रणाली, मिडिया नियमन र सामाजिक–सांस्कृतिक सन्दर्भहरूमा भिन्नताका कारण स्पष्ट रूपमा फरक छ। यी भिन्नताहरूका कारण नेपाल र चीन बिचको कूटनीतिलाई आकार दिन आम नागरिकमा एक अर्को मुलुकबारेको धारणा निर्माण गर्ने सन्दर्भमा समेत दुवै देशका मिडियाको भूमिका फरक प्रकृतिको हुने गरेको छ।

नेपालमा, सन् १९९० मा प्रजातन्त्रको पुनर्स्थापना भएदेखि नै आम सञ्चारको क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन आएको छ। ठुलो संख्यामा  अखबारहरू, टेलिभिजन च्यानलहरू, रेडियो स्टेसनहरू र अनलाइन समाचार पोर्टलहरू सञ्चालनमा  रहेकाले यहाँको मिडिया जीवन्त र विविधतापूर्ण छ। प्रेस स्वतन्त्रताको प्रत्याभूति  नेपालको संविधानले नै गरेको अवस्था छ। र, अपेक्षाकृत अभिव्यक्ति स्वतन्त्रता छ। यद्यपि, मिडिया आउटलेटहरू प्रायः राजनीतिक हस्तक्षेप, आर्थिक समस्या र सेल्फ सेन्सरशिप जस्ता चुनौतीहरूको सामना भने गरिरहेका छन् । नेपाली मिडियाको अर्को विशेषता हो, भाषिक विविधता । धेरै भाषाहरूमा प्रकाशन र प्रसारणले देशको बहु सांस्कृतिक समाजलाई झल्काउँछ। यसरी स्थानीय भाषामा समेत सबै प्रकारका समाचार, सूचना र सन्देश प्रवाह हुँदा समाजको तल्लो तहसम्म सञ्चारको उपलब्धता र पहुँच स्थापित भएको छ ।

यसको विपरीत चीनको मिडिया सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीको सूचना र अभिव्यक्तिमा आधारित छन् । त्यहाँको मिडियाले प्रचलित सेन्सरशिप र राज्य नियन्त्रणको कडा नियमन फ्रेमवर्क भित्र रहेर काम गर्दछ। त्यहाँ सरकारले अखबार, टेलिभिजन र रेडियो जस्ता परम्परागत मिडिया आउटलेटहरूमा निगरानी गर्दछ । साथै, अनलाइन प्लेटफर्महरू र सामाजिक सञ्जालहरूमा कडा नियमहरू लगाएको छ। मिडिया पूर्वाधारको आधुनिकीकरण र विस्तार व्यापक रुपमा भएपनि स्वतन्त्र पत्रकारिता र असहमतिपूर्ण आवाजहरूको लागि सीमित स्थान मात्र उपलब्ध भएको कारण चीनको कुनै पनि मुलुकसँगको सम्बन्धलाई त्यहाँको मिडियाले प्रभावित गर्दैन बरु राज्यको सहयोगीको भूमिकामा मिडिया परिचालित भएको अवस्था छ । नेपाल र अन्य देशहरूसँगको द्विपक्षीय सम्बन्धको रिपोर्टिङ प्रायः चीनको विदेश नीतिका उद्देश्यहरूको लेन्सबाट फिल्टर गरिन्छ, जसमा विश्व शक्तिको रूपमा चीनको सकारात्मक छविलाई प्रवर्द्धन गर्न केन्द्रित हुन्छ । अन्तर्राष्ट्रिय मामिलाहरूको चिनियाँ मिडिया कभरेजमा आलोचनात्मक विश्लेषण र असहमतिपूर्ण दृष्टिकोणहरू लगभग देख्न पाइँदैन ।

नेपाल र अन्य देशहरूसँगको द्विपक्षीय सम्बन्धको रिपोर्टिङ प्रायः चीनको विदेश नीतिका उद्देश्यहरूको लेन्सबाट फिल्टर गरिन्छ, जसमा विश्व शक्तिको रूपमा चीनको सकारात्मक छविलाई प्रवर्द्धन गर्न केन्द्रित हुन्छ ।

नेपाल र चीनको मिडियामा रहेको यो भिन्नता अन्तर्राष्ट्रिय घटनाहरूको कभरेज र कूटनीतिमा उनीहरू दृष्टिकोणमा समेत प्रतिबिम्बित भएको देखिन्छ। नेपालमा अन्तर्राष्ट्रिय मामिलाहरूको मिडिया कभरेज विविध दृष्टिकोण र बहुलवादी प्रकृतिको छ । त्यसैले नेपाली मिडियामा चीन र अन्य देशहरूसँगको द्विपक्षीय सम्बन्धको रिपोर्टिङमा विभिन्न दृष्टिकोण र विचारहरू प्रस्तुत हुने गरेको छ। नेपाली सञ्चारमाध्यमहरूले नेपाल र चीनबिचको कूटनीतिक भ्रमण, व्यापार सम्झौता, विकास परियोजना (साझेदारी)  र सांस्कृतिक आदानप्रदानलाई प्रायः कभर गर्छन् । यसरी नेपाली मिडियामा प्रकाशित, प्रसारित सामग्रीहरूमा कतिपय सन्दर्भमा भ्रामक, कपोलकल्पित, असत्य, अर्धसत्य र तथ्यको तोडमोड भएको समेत देख्ने गरिएको छ । केही मिडिया आउटलेट नेपाल चीन सम्बन्धलाई सहज र दिगो बनाउने भन्दा पनि धुमिल र द्वेषपूर्ण बनाउने अभिष्टबाट समेत अभिप्रेरित भएको अनुभूति गर्न सकिन्छ । त्यसका प्रशस्तै उदाहरणहरू छन् तर कुन सन्दर्भमा कुन मिडिया वा पत्रकारले आफुलाई त्यो ढङ्गले प्रस्तुत ग¥यो भन्नेबारे भने यहाँ प्रमाण पेश गरिएको छैन । किनकि यो आलेखको उद्देश्य कुनै मिडिया विशेषलाई आक्षेप लगाउने वा त्यसको गल्ती औँल्याउने भन्दापनि समग्र परिदृश्यको विश्लेषण गर्दै दिगो सम्बन्ध विकासमा मिडियाको कस्तो भूमिका हुनुपर्छ भन्नेमा नै केन्द्रित रहने हो ।

नेपाल–चीन सम्बन्धमा नेपाली मिडियाको प्रभाव

नेपाल–चीन सम्बन्धलाई प्रभावित पार्ने वा दुई मुलुक बिचको सम्बन्धसँग सरोकार राख्ने विषयमा नेपाली सञ्चारमाध्यममा सार्वजनिक हुने  धारणा, विषयवस्तुको प्रस्तुतीकरण र त्यसमा अभिव्यक्त दृष्टिकोणको प्रभाव गहिरो र बहु–आयामिक प्रकृतिको रहने गरेको छ । यसले एकसाथ  दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई सहज बनाउने र त्यसमा जटिलता थप्ने दुवै काम गरेको देखिन्छ । नेपाली सञ्चारमाध्यमले नेपालको चीनसँगको सम्बन्धलाई नेपाली जनताले कसरी बुझ्ने, सम्बन्ध बारे कस्तो दृष्टिकोण निर्माण गर्ने, जनमानसले आफ्नो विचार र धारणा कुन रुपमा व्यक्त गर्ने अनि विशेष गरी  द्विपक्षीय सम्बन्धका प्रमुख मुद्दाहरूबारे कस्तो बुझाइ बनाउने भन्ने कुरा निर्धारण गरिने गरेका छन् ।

द्विपक्षीय मुद्दाहरूको फ्रेमिङ गर्ने सन्दर्भमा नेपाली सञ्चारमाध्यमहरूले चीनले नेपालको समग्र विकासका लागि पु¥याउँदै आएको आर्थिक सहयोग, पूर्वाधार विकासमा देखाएको चासो, आपसी सुरक्षा र सह–अस्तित्वलाई स्विकार्ने विषयमा अघि बढाएका रणनीति आदिलाई फरक फरक कोणबाट आफ्ना पाठक, दर्शक र श्रोताहरूमाझ पस्कने तरिकाले फ्रेम गर्ने गरेको देखिन्छ।  प्रत्येक मिडिया आउटलेटको आफ्नो सम्पादकीय सोचमा आधारित रहेर एउटै घटना र प्रसङ्गलाई समेत फरक फरक ढङ्गले कभरेज गर्ने गरेका छन् । यसले गर्दा उही विषय र सन्दर्भलाई फरक मिडियाले नेपाल–चीन सम्बन्धमा लाभ पुर्‍याउने वा अपूरणीय क्षति गर्ने घटनाको रुपमा परिभाषित गर्ने गरेको देखिन्छ । त्यसैगरी,  उही निर्णय र अभिव्यक्तिलाई नेपालको हित र अहित गर्ने कुराका रुपमा परस्पर विरोधी अर्थ लाग्ने गरी प्रस्तुत गर्ने गरेको देखिन्छ । उदाहरणका लागि, चिनियाँ लगानीका परियोजनाहरूको कभरेजलाई आर्थिक विकासको अवसर र पूर्वाधार विकास कडीका रुपमा महत्त्व दिँदै केही सञ्चारमाध्यमहरूमा सकारात्मक रूपमा चित्रण भएको देखिन्छ । अनि ठिक त्यही बेला कतिपय सञ्चार मध्यमहरूले चाहिँ त्यस्ता परियोजनाले पार्ने सम्भावित वातावरणीय र सामाजिक प्रभावहरूको समीक्षा गर्दै चिनियाँ लगानीले लाभ भन्दा हानि पु¥याउने निष्कर्ष सहित सूचना र विश्लेषण सम्प्रेषित गरिरहेको देख्न सकिन्छ । त्यसैगरी, चिनियाँ लगानीलाई नेपालको एक असल छिमेकीले क्षेत्रीय विकासको साझा लक्ष्य हासिल गर्न गरेको सहयोगका रुपमा एकथरी मिडिया आउटलेटले नेपाल चीन प्रति अनुग्रहित हुनुपर्ने भावमा सामग्री पस्किरहँदा अर्कोथरीले तथ्यगत प्रमाण पेश नै नगरीकन त्यस्तो सहायतामा दुर्भाव रहेको देखाउँदै ‘ऋणको पासो’ भनिरहेको देखिन्छ । 

उही विषय र सन्दर्भलाई फरक मिडियाले नेपाल–चीन सम्बन्धमा लाभ पुर्‍याउने वा अपूरणीय क्षति गर्ने घटनाको रुपमा परिभाषित गर्ने गरेको देखिन्छ । त्यसैगरी,  उही निर्णय र अभिव्यक्तिलाई नेपालको हित र अहित गर्ने कुराका रुपमा परस्पर विरोधी अर्थ लाग्ने गरी प्रस्तुत गर्ने गरेको देखिन्छ ।

नेपालमा चीनका गतिविधिबारे नेपाली मिडियामा रहेको यस प्रकारको परस्पर विरोधी भावका सञ्चार सामग्रीले नेपाल–चीन सम्बन्धलाई प्रगाढ बनाउने भन्दा झन् कमजोर बनाउने काम गरिरहेको छ । तथ्यगत आधारमा गरिएका विश्लेषण र आलोचनाले सम्बन्धमा रहेका केही कमजोरीलाई हटाउन सहयोग गर्ने भएपनि कुनै आन्तरिक अभीष्ट पुरा गर्न सार्वजनिक गरिने भ्रामक र दुराशययुक्त सञ्चार सामग्रीले भने दुई मुलुक बिचको सम्बन्धलाई दिगो र भरपर्दो बन्न बाधा सिर्जना गरिरहेको छ । सञ्चारमाध्यमबाट आएका केही त्रुटिपूर्ण रिपोर्टिङका आधारमा सरकार र राजनीतिज्ञहरूले आ–आफ्नो अडान तय गर्ने र आफ्नो राजनीतिक एजेन्डा अगाडि बढाउने हुँदा गलत र दुराशययुक्त मिडियाकर्मीले आपसी सम्बन्धमा गम्भीर क्षति पुर्‍याउँछ ।

नेपाली मिडियामा निहित समस्याहरू

नेपाल– चीन सम्बन्धलाई दिगो र सौहार्दपूर्ण बन्न सहयोग नगर्ने वा त्यसमा बाधा पु¥याउने के कस्ता समस्याहरू नेपाली मिडियामा अन्तर्निहित छन् भन्ने कुराको सूक्ष्म विश्लेषण बिना दिगो सम्बन्ध विकासमा मिडियाले कसरी भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरा औँल्याउन सकिँदैन ।  नेपाली मिडियाले आफ्ना सञ्चार सामाग्रीहरू मार्फत सार्वजनिक धारणा निर्माण गरिरहेका छन् । समाचार रिपोर्टहरू, बिचार र विश्लेषणहरू मार्फत मिडिया आउटलेटहरूले व्यापार र लगानीदेखि सांस्कृतिक आदानप्रदान र भू–राजनीतिक गतिशीलतासम्मका मुद्दाहरूमा जनमत निर्माणमा योगदान पु¥याउँछन्।

नेपाल–चीन सम्बन्धमा सार्वजनिक हुने बहस मिडियाका सञ्चार सामग्रीहरू सञ्चार गृहका सम्पादकीय नीतिहरू र मिडियाका  राजनीतिक सम्बद्धता जस्ता कारकहरूमा निर्भर रहने गरेको छ।जसले गर्दा खासमा सत्य र तथ्य के हो भन्ने कुरा आम जनस्तरलाई छुट्याउन नै गाह्रो पर्ने गर्छ । यो नै सबैभन्दा ठूलो चुनौती हो ।

मिडियाले संवेदनशील मामिलामा जिम्मेवार र सन्तुलित रिपोर्टिङको महत्त्व भुल्नु हुँदैन । यदि सानो मात्रै त्रुटि भन्यो भनेपनि त्यसले नेपाल र चीनबिच तनाव बढाउने वा गलतफहमीमा योगदान पुग्ने हुनसक्छ ।

त्यसैगरी, संवेदनशील मुद्दाहरूलाई समेत संवेदनशील बनेर नहेर्दिने जुन प्रवृत्ति नेपाली मिडियामा छ त्यो अर्को समस्या हो । जस्तो कि नेपाल–चीन सम्बन्धका संवेदनशील विषयहरू जस्तै सीमा विवादहरूको सन्दर्भमा तथ्य भन्दा धेरै सनसनीपूर्ण अफवाह मिडियाहरूले समाचारको रुपमा अगाडी ल्याएको देखिएको अनुभव हामी समक्ष छ । हो, मिडिया आउटलेटहरूले त्यस्ता मुद्दाहरूमा विभिन्न दृष्टिकोण राख्ने र व्याख्या गर्ने बिधि  अपनाउन सक्छन्। त्यसो गर्दा पर्याप्त मात्रामा जनमत आउने र बहसहरू हुने हुँदा सत्य पर्गेल्न सहजता समेत थपिन्छ। तर, केही अवस्थामा मिडियाले संवेदनशील मामिलामा जिम्मेवार र सन्तुलित रिपोर्टिङको महत्त्व भुल्नु हुँदैन । यदि सानो मात्रै त्रुटि भन्यो भनेपनि त्यसले नेपाल र चीनबिच तनाव बढाउने वा गलतफहमीमा योगदान पुग्ने हुनसक्छ ।

नेपाल– चीन सम्बन्धको विषयमा कुनै रिपोर्ट बनाउँदा आवश्यक सूचना लिनु परेमा नेपाली मिडियाको चिनियाँ पक्षसँग सहज पहुँच छैन । कतिपय मिडियाकर्मीले औपचारिक रुपमा राखिएका जिज्ञासाको समेत चिनियाँ पक्षले समयमा जवाफ नदिने र कतिपय अवस्थामा त बेवास्ता नै गर्ने गरेको गुनासो समेत गरेको सुनिन्छ । त्यसको आधारमा के भन्न सकिन्छ भने सूचनाको पहुँच समेत नेपाली मिडियाले नेपाल–चीन सम्बन्धमा सामग्री तयार पार्दा भोग्ने अर्को महत्त्वपूर्ण समस्या हो । त्यस बाहेक चिनियाँ भाषाको ज्ञानको अभावले इन्टरनेट मार्फत प्राप्त हुने सूचनालाई समेत अङ्ग्रेजी वा अन्य भाषा मार्फत बुझ्नु र ग्रहण गर्नुपर्ने अवस्था छ ।  नेपाली पक्ष विशेष गरी परराष्ट्र मन्त्रालय समेत नेपाल सरकारका अन्य मन्त्रालय र निकाय जत्तिको पत्रकार मैत्री बन्न नसक्नु पनि अर्को समस्या हो ।

मिडिया मार्फत दिगो सम्बन्ध विकासको सम्भावना

नेपाल–चीन सम्बन्धलाई दिगो बनाउन मिडिया मार्फत प्रभावकारी भूमिका निर्वाह गर्न केही महत्त्वपूर्ण पहलकदमीको आवश्यकता रहेको छ। यस्ता पहलहरू मध्ये सीमापार पत्रकारिता सञ्जाल विकास प्रभावकारी पहल बन्न सक्छ । नेपाल र चीनका मिडिया हाउसहरू बिचको संयुक्त उद्यम र सहकार्यलाई प्रोत्साहन गर्दै समाचार निर्माण र प्रकाशन÷प्रसारण निकै प्रभावकारी बन्न सक्ने देखिन्छ । यसले साझा संस्कृतिको रक्षा र आपसी संस्कृतिको प्रवर्द्धन लागि मञ्च प्रदान गर्न सक्छ। सीमापार पत्रकारिता सञ्जालले सूचनाको खाडललाई कम गर्न र नेपाल र चीनका जनताबिच गहिरो समझदारी बढाउन मद्दत गर्न सक्छ।

सांस्कृतिक आदानप्रदान कार्यक्रमहरू, वृत्तचित्रहरू र मिडियासँग सम्बन्धित अभियानहरूले नेपाल र चीनका जनताहरू बीच आपसी समझदारीलाई बढवा दिन सक्छन्। साझा सांस्कृतिक सम्पदा, परम्परा र मूल्यमान्यतालाई केन्द्रमा राखेर मिडियाले सोही प्रकारका सञ्चार सामग्री मार्फत एकताको भावना बढाउन सक्छ। जसका लागि टेलिभिजन, रेडियो, छापा मध्यम र डिजिटल प्लेटफर्महरू सहित विभिन्न मिडिया च्यानलहरू मार्फत सांस्कृतिक रूपमा सान्दर्भिक सामग्रीको उत्पादन र प्रसारलाई प्रोत्साहित गर्न सकिन्छ ।

त्यसैगरी,  नेपाल र चीनबिचको आर्थिक सहयोग, व्यापार र लगानी प्रवर्द्धनमा मिडियाले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। व्यापार मञ्च, लगानी सम्मेलन र आर्थिक गतिविधिका  समाचार सम्प्रेषण मार्फत मिडियाले आपसी सहयोग  वृद्धिको लागि अवसरहरू सिर्जना  गर्न सक्छ। नेपाल र चीनबिचको आर्थिक सहयोग र विकासमा केन्द्रित सञ्चार माध्यमहरूमा सोही विषयमा समर्पित केही खण्ड छुटयाउने वा कार्यक्रमहरू संचालन गर्ने काम गर्न सकिन्छ । साझेदारीको सम्भावित क्षेत्रहरूमा व्यवसायीहरू, लगानीकर्ताहरू र नीति निर्माताहरूलाई सूचित गर्न गहन विश्लेषण, बजारको अवस्था र सफलताका कथाहरू आदानप्रदान गर्न सकिन्छ।

नेपालको पूर्वाधार विकासमा चिनियाँहरूको रुचि र सक्रियतालाई लाञ्छित गर्दै उठाइने गरेको वातावरणीय दिगोपन र संरक्षणको विषयमा  रचनात्मक वकालत गर्दै अघि बढ्नुपर्ने देखिन्छ । जलवायु परिवर्तन, वन फँडानी र पानीको अभाव जस्ता वातावरणीय चुनौतीहरूले नेपाल र चीन दुवैलाई असर गर्छ। यो विषयमा मिडियाले चेतना जगाउन सक्छ। दिगो अभ्यासहरूको लागि वकालत गर्न सक्छ। यो क्रममा वातावरणीय पत्रकारितालाई प्राथमिकता दिने र दिगो विकास, नवीकरणीय ऊर्जा र संरक्षण पहलहरूसँग सम्बन्धित मुद्दाहरूको लगातार समाचार बनाउन सकिन्छ ।

नेपालको पूर्वाधार विकासमा चिनियाँहरूको रुचि र सक्रियतालाई लाञ्छित गर्दै उठाइने गरेको वातावरणीय दिगोपन र संरक्षणको विषयमा  रचनात्मक वकालत गर्दै अघि बढ्नुपर्ने देखिन्छ ।

जनता–जनता बिचको सम्बन्धलाई घनिभूत बनाउने र पर्यटनलाई सहजीकरण गर्ने काम समेत मिडियाले गर्न सक्छ । पर्यटन नेपाल–चीन सम्बन्धको महत्त्वपूर्ण संवाहक हो। जसमा वार्षिक लाखौँ यात्रुहरू एक अर्काको देश भ्रमण गर्छन्। सञ्चार माध्यमहरूले सांस्कृतिक पर्यटन प्रवर्द्धन, पर्यटकीय आकर्षणहरू बारे हाइलाइट गरेर समाचार बनाउने गर्न सकिन्छ । नेपाल र चीनका पर्यटकहरूका लागि मल्टिमिडिया सामग्री, ट्राभल गाइडहरू र अनलाइन प्लेटफर्महरू विकास गर्न सकिन्छ । यसरी नेपाल–चीन सम्बन्धलाई दिगो र जीवन्त राख्न  आपसी सहयोग र विकासलाई प्रवर्द्धन गर्ने  मिडियाको शक्तिको उपयोग गर्न सकिन्छ ।

निष्कर्ष

कुनै पनि अर्को मुलुक समेत जोडिएको विषयमा रिपोर्टिङ गर्नु निकै संवेदनशील विषय हो । मिडिया हाउसहरूले पत्रकारहरूलाई द्विपक्षीय मुद्दाहरूमा रिपोर्टिङको जिम्मा दिनु अघि आवश्यक ज्ञान मार्फत सशक्त बनाउनु पर्छ। सानो गल्तीले पनि द्विपक्षीय सम्बन्ध बिग्रन सक्छ। सञ्चारमाध्यमहरू कुनै पनि विषयमा रिपोर्टिङ गर्न स्वतन्त्र भए तापनि उनीहरूले द्विपक्षीय सम्बन्ध र जनतालाई नकारात्मक असर पार्ने विषयमा समाचार प्रकाशन गर्नबाट जोगिनुपर्छ। नेपालका मिडिया आउटलेटहरूले आफ्नो वर्तमान रिपोर्टिङ ढाँचालाई समीक्षा गर्नुपर्छ र सच्याउनुपर्छ। चीन र नेपालबिच धेरै विषयहरू छन् जसमा सञ्चार माध्यमबाट रचनात्मक बहस र छलफल आवश्यक छ । साथै, मिडिया र पत्रकारहरूले नेपाल–चीन मामिलाहरूमा पश्चिमी मिडियाबाट प्रभावित भएर रिपोर्टिङ गर्नु हुँदैन किनकि त्यहाँ सधैँ वास्तविकतालाई प्रतिबिम्बित नभएको हुनसक्छ।

अन्त्यमा, नेपाल–चीन सम्बन्धलाई दिगो बनाउन नेपाली मिडियाको भूमिका सर्वोपरि रहन्छ  । टेलिभिजन, रेडियो, पत्रपत्रिका र डिजिटल मिडिया जस्ता विभिन्न प्लेटफर्महरू मार्फत मिडियाले जनमतलाई एउटा आकार दिने, नेपाल र चीनका जनताहरू बिचको समझदारीलाई सहज बनाउने र दुवै सरकारहरूलाई एक अर्काको दृष्टिकोण बुझ्न मद्दत गर्ने जस्तो महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । सूक्ष्म विश्लेषण, द्विपक्षीय घटनाहरूको सही र तथ्यपरक कभरेज, सांस्कृतिक आदानप्रदान र कूटनीतिक पहलहरू बारे सञ्चार सामग्री उत्पादन र प्रकाशन÷प्रसारण गरेर मिडियाले दुई राष्ट्रहरू बीच आपसी विश्वास र सहयोग अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याउँछ। तसर्थ, नेपाल–चीन सम्बन्धमा दीर्घकालीन स्थायित्व र समृद्धि प्रवर्द्धन गर्न जिम्मेवार र रचनात्मक मिडिया वातावरणको विकास आवश्यक छ ।