ल्याटिन अमेरिकाको वामआन्दोलनमा चेको प्रभाव र प्रतिविम्बन
संघर्षका स्वरूपहरू फेरिएका छन् तर अझै जीवित रहेका चेका सपनाहरूले मूर्त रूप लिँदैछन् !
विश्वभर मार्क्सवादी क्रान्तिकारी अर्नेस्टो चे ग्वेभारालाई विद्रोह र क्रान्तिको प्रतिकको रूपमा लिने गरिन्छ । संसारभर जहाँ जहाँ विरोध प्रदर्शन हुन्छ, त्यस ठाउँमा चेको तस्विर अंकित व्यानर बोकेर, टि,सर्ट लगाएर विरोध प्रदर्शन गरिरहेको युवा विद्यार्थीहरू देखिन्छन् । यो प्रवृत्ति विश्वको कुनै एक क्षेत्रमा मात्र सीमित नरहेर सबैतिर समान रूपमा देख्न सकिन्छ । चेप्रतिको आकर्षण सबै राजनीतिक वृत्तमा रहेको छ । चाहे त्यो कम्युनिस्ट वृतमा होस् वा अराजकतावादीहरुमा, वामपन्थीहरुमा होस् वा दक्षिणपन्थीहरुमा, अथवा धर्म निरपेक्षतावादी होस् वा धार्मिक समूह नै किन नहोस् । नब्बेको दशकमा सोभियत ढाँचाका समाजवादी सत्ताहरू पतन भएपछि समाजवाद भित्रैका तर फरक धारका विचारक र नेताहरू जस्तै एंटोनियो ग्राम्शी, रोजा लग्जेम्बर्गहरुका साथै चे ग्वेभाराका विचारहरूतर्फ आकर्षण बढ्दै गइरहेको पाइन्छ ।
यस लेखमा चे को विरासत ल्याटिन अमेरिका के कस्तो छ भनेर खोज्ने प्रयास गरिएको छ।
चेको जन्म दक्षिण अमेरिकी देश अर्जेन्टिनाको रोजारियो शहरमा सन १९२८ को जुन १४ मा भएको थियो। चे पेसाले चिकित्सक थिए । उनले आफ्नो अध्ययनकै क्रममा आफ्ना चिकित्सक साथी अल्बर्टो ग्रानाडाका साथमा मोटरसाइकल यात्रा गरेका थिए । यस यात्राको क्रममा उनी चिली, पेरु, कोलम्विया र भेनिजुएलासम्म पुगेका थिए । यात्राको क्रममा ल्याटिन अमेरिकामा व्याप्त गरिबी, शोषण र अत्याचारको प्रत्यक्ष अनुभवले उनलाई विद्रोही बनायो । यही यात्राको क्रममा उनले लेखेको डायरी मोटरसाइकल डायरी को नामले विश्वप्रख्यात बन्यो ।
चेको मोटरसाइकल डायरीमा आधारित चलचित्र ‘मोटरसाइकल डायरी’को दृश्य
आफ्नो अध्ययनकै क्रममा आफ्ना चिकित्सक साथी अल्बर्टो ग्रानाडाका साथमा मोटरसाइकल यात्रा गरेका थिए । यस यात्राको क्रममा उनी चिली, पेरु, कोलम्विया र भेनिजुएलासम्म पुगेका थिए । यात्राको क्रममा ल्याटिन अमेरिकामा व्याप्त गरिबी, शोषण र अत्याचारको प्रत्यक्ष अनुभवले उनलाई विद्रोही बनायो ।
चेको राजनीतिक जीवन ग्वाटेमालाबाट शुरु भएको थियो । ग्वाटेमालाका राष्ट्रपति ज्याकोव अर्बेन्जको सरकारलाई अमेरिकी बहुराष्ट्रिय कम्पनी ग्रिन फ्रुटले ग्वाटेमालाको सेनालाई प्रयोग गरी सैन्य विद्रोही मार्फत अपदस्त गरेको थियो । चेले त्यसबेला ज्याकोव अर्बेन्जको पक्षमा लडेका थिए । त्यसपछि चे ग्वाटेमालाबाट भागेर मेक्सिकोमा बस्न थाले । जहाँ उनको भेट क्यूवाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोसंग भयो । यस भेटको फलस्वरूप चे क्यास्ट्रोको समूहमा सामेल भई क्यूवातर्फ लागे । चेको क्यूवाली क्रान्तिमा प्रमुख भूमिका रहेको थियो । उनकै नेतृत्वमा रहेको बिद्रोही सेनाले सान्ता क्लारा शहरमा विजय हासिल गरेको थियो। यस युद्धलाई क्युबाली क्रान्तिको निर्णायक लडाइँ मानिन्छ ।
सान्ता क्लारा शहरमा युद्धको क्रममा चे
उनकै नेतृत्वमा रहेको बिद्रोही सेनाले सान्ता क्लारा शहरमा विजय हासिल गरेको थियो। यस युद्धलाई क्युबाली क्रान्तिको निर्णायक लडाइँ मानिन्छ ।
सन् १९५९ मा क्युवाली क्रान्तिको सफलतापछि चे राष्ट्र बैंकका गर्भनर र अर्थमन्त्री समेत बने। यस अर्थमा उनले क्यूवामा समाजवादी अर्थतन्त्रको जग राख्ने काम गरे। त्यस्तै गरी चेले क्युबाको क्रान्तिकारी सरकारलाई कुटनैतिक मान्यता दिलाउन विश्वका अनेकौ देशहरुको यात्रा समेत गरेका थिए । चे अफ्रिकामा क्रान्तिको नयाँ आधार शिविर खडा गर्न चाहन्थे। उनले क्युवाको नागरिकता त्यागे। उनले सन १९६५ मा कंगोमा प्याट्रिस लुमुम्बाका अनुयायीहरुलाई नेतृव गर्दै छापामार युद्ध लड्न पुगे । यो मिसनमा असफल भएपछि उनले बोलिभियामा विद्रोह गर्ने तयारी गर्न थाले । साम्राज्यवादको चिहान खन्न दुई, तीन र अरू थुप्रै भियतनाम तयार गर्नुपर्ने नारा दिदै उनले बोलिभयामा छापामार संघर्ष शुरु गरे । त्यही संघर्षको क्रममा चे सन् १९६७ अक्टोवर ९ मा अमेरीकि जासुसहरूको सहयोगमा बोलिभियाली सेनाद्वारा घाइते अवस्थामा पक्राउ परे। र ला हिगुएरा भन्ने गाउँमा उनको हत्या गरियो । उनको शवलाई सार्वजानिक प्रर्दशन गरेपछि अज्ञात स्थलमा गाडियो । करिब तीस बर्षपछि उनको शव बोलिभियामा भेट्टाइयो र क्यूवामा लगेर सम्मानका साथ समाधिस्थ गरियो । यसरी केवल ३९ वर्षको उमेरमा मारिएका चे ले पन्ध्र वर्ष जतिको आँधीमय राजनीतिक जीवन विताए ।
बाेलिभियामा हत्या गरिएको चे र उनको शव
चेको आकषर्ण उनको मृत्युको ५७ वर्षपछि पनि कम भएको छैन । आज पनि उनी विद्रोह र क्रान्तिको सदावहार नामकका रूपमा विश्वभरका युवाहरूसम्म लोकप्रिय छन् ।
बोलिभियाको एउटा सुनसान गाउमा चेलाई मारेपछि त्यस बेलाको अमेरिकी सरकारले सोचेको थियो– अब चे को नाम निसाना समेत मेटिएर जानेछ। तर आफ्नो मृत्युपछि चेको ख्याति झनै मिथक जस्तै बनेर विश्वभर फैलियो । साठ्ठीको दशकको अन्ततिर यूरोप र अमेरिकामा भएका शक्तिशाली विद्यार्थी आन्दोलनहरुले समेत चेलाई प्रेरणाको श्रोतको रूपमा लिएका थियो । ल्याटिन अमेरिका र विश्वका अन्य भागमा छापामार संघर्षहरू शुरु भए । तीमध्ये अधिकांश संघर्षहरू दबाइए र त्यो क्रममा लाखौ युवाहरूले चे जस्तै बन्ने सपना देख्तै शहादत प्राप्त गरे । तर चेको आकषर्ण उनको मृत्युको ५७ वर्षपछि पनि कम भएको छैन । आज पनि उनी विद्रोह र क्रान्तिको सदावहार नामकका रूपमा विश्वभरका युवाहरूसम्म लोकप्रिय छन् ।
वाल्टर बेन्जामिनले सहादत र त्यसले दिने प्रेरणावारे भनेका थिए– सहादत प्राप्त गरेका पूर्वजहरूको स्मृतिले दमित वर्गको वर्तमान संघर्षलाई प्रेरित गर्दछ । स्पेन, पोर्चगल, बेलायत र आधुनिक युगमा अमेरिकी उपनिवेशवाद र साम्राज्यवादको निर्मम शोषणमा परेको ल्याटिन अमेरिकामा संघर्ष र विद्रोहको लामो गौरवशाली परम्परा रहेको छ । सिमोन बोलभार, जोसे मार्टी, इमिलियानो जापाता, अगस्टो साडिनो, फारबुन्दो मार्टी, फिडेल क्यास्ट्रो जस्तै चे पनि यही क्रान्तिकारी परम्पराका एक नायक हुन् । चेको सहादत बाट प्रेरित भएर ब्राजिलमा नेसनल लिबरेसन एक्सन (ALN), उरूग्वेमा टुपामोरोस, चिलीमा रेभुलुसनरी लेफ्ट मुभमेन्ट(MIR), अर्जेन्टिनामा पिपल्स रेभुलुसनरी आर्मी (ERP), कोलम्बियामा नेसनल लिबरेसन आर्मी (ELN), ग्वाटेमालामा ग्वाटेमाला नेसनल रेभुलुसनरी युनिटी (URNG), एल सालभाडोरमा फारबुन्दो मार्टी नेसनल लिबरेसन फ्रन्ट (FMLN) र निकारागुवामा सान्डिनिस्टाहरू जस्ता छापामार संगठनहरुको गठन भयो र तिनीहरुले संघर्ष सुरु गरे। तर ती मध्ये अधिकांश आन्दोलनहरु अमेरिकाको प्रत्यक्ष र परोक्ष सहयोगमा सम्बन्धित देशहरुका सैन्य शासकहरु द्वारा वर्वरतापूर्वक दबाइयो। या क्रममा अनेकौं नरसंहारहरु मच्चाइएका थिए। जसलाई फोहोरी युद्ध (dirty war) को संज्ञा पनि दिइने गरिन्छ।
यस्ता अनेकौ छापामार संघर्षहरू मध्ये निकारागुवाको आन्दोलन मात्र सफल भएको थियो। त्यस्तै एल सालभाडोरमा भने विजयको नजिकसम्म पुगेका थियो । चेबाट प्रभावित भएर शुरु गरिएका छापामार संघर्षका क्रममा लाखौं युवाहरूले आफ्नो जीवन अपर्ण गरे । यसरी क्रान्ति र मुक्तिका लागि यति चर्को मूल्य चुकाएका कारण चे र उनका अनुयायीहरूमा आत्मघाती प्रवृत्ति रहेको भनी आलोचकहरूले आरोप लगाउने गर्दछन्। तर चे र उनका अनुयायीहरूले संघर्षलाई आफ्नो दायित्व ठान्थे र उनीहरुले मानव मुक्तिका लागि आफ्नो जीवन खतरामा पारेका थिए । त्यसैले गर्दा त्यति लामो संघर्षका क्रममा समेत ती क्रान्तिकारीहरूले अहिलेका अल कायदा र इस्लामिक स्टेट जस्ता इस्लामिक समूहले जस्तो सर्वसाधारण हताहत हुने खालका एउटा पनि आत्मघाती आक्रमण गरेनन् ।
क्रान्ति र मुक्तिका लागि यति चर्को मूल्य चुकाएका कारण चे र उनका अनुयायीहरूमा आत्मघाती प्रवृत्ति रहेको भनी आलोचकहरूले आरोप लगाउने गर्दछन्। तर चे र उनका अनुयायीहरूले संघर्षलाई आफ्नो दायित्व ठान्थे र उनीहरुले मानव मुक्तिका लागि आफ्नो जीवन खतरामा पारेका थिए ।
कोभिड महामारीको बेलामा इटालीमा क्युबाको मेडिकल टीम
चे ले क्युबामा स्थापना संघर्ष गरेको क्रान्तिकारी सत्ता ६५ वर्षदेखि कायम नै छ। ६ दशक यता अमेरिकाले लागेको नाकाबन्दीका बाबजुद पनि क्युबाले आफ्नो विचार र पहिचान छोडेको छैन। अमेरिकी नाकावन्दीका क्युबा ठूलै आर्थिक संकटमा छ। तैपनि क्युबा अझै पनि ल्याटिन अमेरिकामा अमेरिकी बर्चस्वको प्रतिरोधको उदाहरण बनिरहेको छ। फिडेल क्यास्ट्रोले चेको अन्तर्राष्ट्रियतावादलाई कायम राख्दै ८० को दशकमा अङ्गोलामा रंगभेदी दक्षिण अफ्रिकाको सेनालाई पराजित गरेका थिए। जसको कारण दक्षिण अफ्रिकामा रंगभेदी शासनको पतनको बाटो खुलेको थियो। त्यस्तै क्युबाले चिकित्सकीय अन्तर्राष्ट्रियतावादलाई कायम राख्दै विश्वभरका अनेकौ देशहरुमा आफ्ना चिकित्सक र स्वास्थकर्मीहरुलाई सेवा गर्न पठाउँदै आएको छ। विश्वमा कहीँ कतै भुकम्प, महामारी जस्ता घटना घटे त्यो ठाउमा सबै भन्दा छिटो पुग्ने चिकित्सक टोली क्युवालीहरु नै हुने गर्छन्। आज पनि क्युबाका हरेक स्कुलहरुमा हामी पनि चे जस्तै बन्ने छौ भन्ने गीत गाउने गर्छन्।
विश्वमा कहीँ कतै भुकम्प, महामारी जस्ता घटना घटे त्यो ठाउमा पुग्ने सबै भन्दा छिटो पुग्ने चिकित्सक टोली क्युवालीहरु नै हुने गर्छन्। आज पनि क्युबाका हरेक स्कुलहरुमा हामी पनि चे जस्तै बन्ने छौ भन्ने गीत गाउने गर्छन्।
आज ल्याटिन अमेरिकामा चेलाई आदर्श मान्ने एउटा मात्र छापामार संगठन सक्रिय छ। त्यो हो कोलम्बियाको नेसनल लिबरेसन आर्मी (ELN)। साँच्चै भन्ने हो भने अचेल ल्याटिन अमेरिकामा सशस्त्र संघर्षको युग सकिएको छ। छिटपुट संघर्षहरु मात्र जारी छन्। कोलम्बियाको नेसनल लिबरेसन आर्मी (ELN), फार्क (FARC) को एउटा समुह र पेरुमा साइनिङ्ग पाथको टुक्रिएका समुहहरु मात्र सशस्त्र संघर्षमा संलग्न छन्।
तर सशस्त्र संघर्षको प्रचलन घट्दैमा चे को प्रासंगिकता ल्याटिन अमेरिकामा हराएको छैन । संघर्षका नयाँ रूपहरूलाई अपनाउदै उनको परम्परालाई कायम राख्ने नयाँ संगठन र राजनीतिक दलहरू देखा पर्न थालेका छन् । यस्तै प्रकारको एउटा संगठन हो– मेक्सिकोको जापाटिस्टा आर्मी अफ नेसनल लिबरेसन (EZLN )। यो अरू छापामार संगठनभन्दा के अर्थमा फरक छ भने यसले सत्ता कव्जा गर्ने मनसाय राख्दैन । यसले आदिवासी तथा अन्य उत्पीडित जनतालाई तलबाट परिचालित गरी मेक्सिकोको सर्वसत्तावादी राज्यसत्ताविरुद्ध राजनीतिक कारवाही गर्न चाहन्छ । यसले सन् १९९४ मा मेक्सिकोका धेरै ठाउँहरूमा अचानक छापामार कारवाही गरेको थियो । यसका प्रमुख मार्कोसलाई आधुनिक चे ग्वेभारा भन्ने गरिन्छ । उनले चेको सम्मानमा एक पटक आफ्नो आधार क्षेत्र चियापासबाट राजधानी मेक्सिको सिटीसम्म मोटरसाइकल यात्रा गरेका थिए ।
सशस्त्र संघर्षको प्रचलन घट्दैमा चे को प्रासंगिकता ल्याटिन अमेरिकामा हराएको छैन । संघर्षका नयाँ रूपहरूलाई अपनाउदै उनको परम्परालाई कायम राख्ने नयाँ संगठन र राजनीतिक दलहरू देखापर्न थालेका छन् ।
चेले क्रान्तिका लागि आफ्नो जीवन अपर्ण गरेको भूमि वोलिभियामा सन् २००५ मा एभो मोरालेज राष्ट्रपति बने । मोरालेज कोका उत्पादक किसान युनियनका नेता हुन् । उनकै नेतृत्वमा मुभमेन्ट फर सोसलिजम (MAS ) स्थापना भएको थियो। राष्ट्रपतिको सपथ ग्रहण समारोहमा उनले गरेको भाषणमा टुपाक कटारी, सिमोन बोलिभार र चे ग्वेभाराप्रति सम्मान र श्रद्धान्जली गरेका थिए। उनले बोलिभियाको राष्ट्रपति कार्यालयमा चेको तस्बिर राख्न लगाएका थिए। मोरालेज बोलिभियामा ३ पटकसम्म राष्ट्रपति बनेका थिए। उनले चौथो पटक राष्ट्रपति चुनावमा उठेका थिए। उनले त्यो चुनाव अत्याधिक बहुमतले जितेका पनि थिए। तर त्यो चुनावमा धाधली भयो भनेर आन्दोलन सुरु गरियो। र उनलाई देश छोडेर भाग्न बाध्य बनाइयो। यो अमेरिकाद्वारा प्रायोजित विद्रोह थियो। यो घटनालाई लिथियम कु भन्ने गरिन्छ। यस तख्तापलटबिरुद्ध बोलिभियाली जनताले ठुलो आन्दोलन गरे। जसमा दर्जनौ मानिसहरुको मृत्यु भयो। २०२० मा भएको राष्ट्रपति निर्वाचनमा एभो मोरालेजको पार्टीकै अर्का नेता लुइस आर्से अत्याधिक बहुमतले निर्वाचित बने। त्यसपछि मात्र मोरालेज स्वदेश फर्किन पाए। त्यसै गरी भेनेजुएलामा ह्युगो चाभेज पनि बामपन्थी धारसंग सम्बन्धित थिए। उनले एकाइसौ शताब्दीको समाजवादको सिद्धान्तको विकास र सृजनात्मक प्रयोग गरेका थिए। आफ्नो विरुद्ध भएका सैन्य विद्रोहका बाबजुद पनि उनले १९९८ देखि २०१३ सम्म तीन कार्यकाल भेनेजुएला राष्ट्रपतिको रुपमा कार्यरत रहे। अहिले उनका अनुयाई निकोलस मडुरोले चाभेजको विचारलाई कार्यान्वयन गर्दैछन्।
एभो मोरालेज राष्ट्रपति बनेपछि भएको सपथ ग्रहण समारोहमा उनले गरेको भाषणमा टुपाक कटारी, सिमोन बोलिभार र चे ग्वेभारा प्रति सम्मान र श्रद्धान्जली गरेका थिए।
अर्को ल्याटिन अमेरिकाको सबै भन्दा ठुलो देश व्राजिलमा पनि वामपन्थी सरकार कायम छ । प्रख्यात मजदुर नेता लुला डा सिल्भा तेश्रो पटक ब्राजिलको राष्ट्रपति बनेका छन्। २०११ मा लुलाकै पार्टी अर्की नेत्री डिलमा रुसेफ राष्ट्रपति बनिकी थिइन्। उनी एक समय ब्राजिलको सैन्य सरकार विरुद्ध छापामार संघर्षमा संलग्न थिइन्। लुला डा सिल्भालाई भ्रस्टाचारको फर्जी आरोपमा जेलमा समेत केही वर्ष राखियो। यो फर्जी आरोपबाट सफाइ पाएपछि लुलाले ब्राजिलको राष्ट्रपति निर्वाचनमा जित हासिल गरेका छन्। त्यसै गरी ब्राजिलको अर्को उल्लेखनीय शक्ति भूमिहीन श्रमिक आन्दोलन (MST) हो । यसमा १५ लाखभन्दा बढी सदस्य छन्। यो आन्दोलनले भूमिहीन कृषकहरुलाई परिचालित गरेर जमिनहरु कब्जा गरेर किसानहरुलाई बाँड्ने गर्दछ। यो संगठन सशस्त्र संघर्षमा संलग्न छैन तर यसले राज्यका कानुनहरु तोड्दै भूमिपतिहरूको जमिनलाई कब्जा गर्ने गर्दछ। यो संगठनले चेलाई सम्मान गर्दछ। यसले उनको स्मृतिमा आफूले स्थापना गरेको एउटा बस्तीको नाम चे भनेर राखेको छ।
निकारागुवामा साण्डिनिस्टाको विजय जुलुस
क्युबा पछाडि पुरै ल्याटिन अमेरिकामा बामपन्थी सशस्त्र संघर्ष सफल भएको एउटा मात्र देश निकारागुवा थियो।
२०१० मा उरुगुवेमा जोसे मुजिका राष्ट्रपति बनेका थिए। उनी ६० र ७० को दशकमा सक्रिय टुपामोरस छापामार संगठनका लडाकु थिए। उनले १४ वर्षसम्म जेल जीवन बिताएका थिए। जोसे मुजिका आफ्नो सादा जीवनको लागि अत्याधिक रुपमा चर्चित थिए। उनलाई विश्वकै सबैभन्दा गरिब राष्ट्रपति भनिन्थ्यो । क्युबा पछाडि पुरै ल्याटिन अमेरिकामा बामपन्थी सशस्त्र संघर्ष सफल भएको एउटा मात्र देश निकारागुवा थियो। ड्यानियल ओर्टेगाको नेतृत्वमा सान्डिनिस्टाहरुले १९७९ देखि १९९० सम्म शासन गरे। त्यसपछि भएको चुनाबमा सान्डिनिस्टाहरु पराजित भएका थिए। ड्यानियल ओर्टेगाले २००७ यता लगातार ४ वटा राष्ट्रपति निर्वाचन जितेर १७ वर्षदेखि सत्तामा कायम छन्। त्यस्तै गरी एल साल्भाडोरमा सशस्त्र संघर्षमा संलग्न बामपन्थी छापामार संगठन फारबुन्दो मार्टी नेसनल लिबरेसन फ्रन्ट (FMLN ) का नेताहरु २००९ देखि २०१९ सम्म दश वर्ष राष्ट्रपति बनेका थिए।
समग्रमा भन्ने हो भने गुलावी ज्वार पनि भन्ने गरिएको वाम लहर सम्पूर्ण ल्याटिन अमेरिकामा शक्तिशाली रूपमा चलिरहेको छ । तर त्यस क्रममा केही धक्काहरू पनि नियमित रुपमा लाग्ने गरेका छन् । केही वर्ष अगाडि २००९ मा होन्डुरसका लोकप्रिय राष्ट्रपति म्यानुयल जेलायलाई अपदस्त गरियो। २०२२ मा उनकी पत्नी सिमोरा क्यास्ट्रो होन्डुरसकी राष्ट्रपति बनेकी छिन्। त्यस्तै पारागुवेका वामपन्थी राष्ट्रपति फर्डिनाण्ड लुगोलाई संवैधानिक कूमार्फत अपदस्थ गरियो । संसारभर चुनावी प्रकृयामार्फत कुनै पनि विचारधारा मान्ने सरकार बन्नु र हट्नु सामान्य रूपमा लिइन्छ । तर अमेरिकाले आफ्नो प्रभाव क्षेत्र ठान्दै आएको ल्याटिन अमेरिकामा वामपन्थी सरकार बन्नु र काम गर्नुलाई असामान्य रूपमै लिनुपर्ने हुन्छ । विगतमा ग्वाटेमालाका ज्याकोव अर्बेन्ज र चिलीका सालभाडोर एलेण्डेलाई यही कारणले सत्ताच्युत गरिएको थियो ।
अमेरिकाले आफ्नो प्रभाव क्षेत्र ठान्दै आएको ल्याटिन अमेरिकामा वामपन्थी सरकार बन्नु र काम गर्नुलाई असामान्य रूपमै लिनु पर्ने हुन्छ । विगतमा ग्वाटेमालाका ज्याकोव अर्बेन्ज र चिलीका सालभाडोर एलेण्डेलाई यही कारणले सत्ताच्युत गरिएको थियो ।
चे ले जुन आर्दशका लागि लडे र आफ्नो जीवन अर्पण गरे, त्यो परम्परालाई ल्याटिन अमेरिकामा कायम राखिएको छ । संघर्षका स्वरूपहरू फेरिएका छन् तर चेका सपनाहरू अझै जीवित छन् र त्यसले मूर्त रूप लिँदैछ । परिश्रम र बलिदान कहिले निष्फल हुँदैन, त्यसैले होला चेको बलिदान पनि व्यर्थ गएन । त्यसैले त आज ल्याटिन अमेरिकामा उनको परम्परालाई बोक्ने थुप्रै चेहरू क्रियाशील छन् ।
प्रतिक्रिया