जापानी येनको चर्को गिरावट, अमेरिकी डलरको बढदो प्रभुत्व र विश्वबजारमा देखिएको सुनको उच्च मूल्य वृद्धि: नेपालमा पर्ने असर के ?
विश्वबजारमा जापानी येनको मूल्य ऐतिहासिक रुपमा गिरावट भएको छ ! किन ? जापानी येन ३४ वर्ष यताकै कमजोर आखिर कसरी भयो ?
अमेरिकी डलरको मूल्य दिनप्रतिदिन शक्तिशाली बन्दै गइरहेको छ ? कसरी ?
विश्वबजारमा सुनको भाउ अत्यन्त आकाशिदै गएको छ ? किन ?
अमेरिकी डलरको दरभाउ उच्च हुँदा संसारका सबैजसो मुलुकको अर्थतन्त्रमा के कस्तो असर पर्दछ ?अमेरिकी डलर र विश्वबजारको कस्तो अन्तरसम्बन्ध रहन्छ ?
आउनुहोस, आजको यो लेखमा हामी यीनै विषयको वरिपरि रहेर चर्चा गर्नेछौं !
अध्याय १: जापानी येनको मुल्यमा ऐतिहासिक गिरावट
जापानी येनको मूल्य नेपाली विनिमय दरमा भने दुई दशकयता नै तलमाथि भइरहेको देखियता पनि हामीले के बुझ्नुपर्दछ भने जापानी येनको मुल्य र अमेरिकी डलरको विनिमय दर पछिल्ला वर्षहरुमा अत्यन्तै कमजोर अवस्थामा छ । नेपाली रुपैयाँमा सन् २०१० मा एक जापानी येनको राम्रो विनिमय दर ०.८९ र खराब विनिमय दर ०.७५ रहेको थियो । सन् २०२० मा आइपुग्दा एक जापानी येनको राम्रो विनिमय दर १.१५ र खराब विनिमय दर १.०२ रहेको थियो । अघिल्लो बर्ष सन् 2023 मा राम्रो विनिमय दर १.०२ र खराब विनिमय दर ०.८७ रहेको एक जापानी येनको मुल्य २०२४ को आजको मितिमा भने एक जापानी येन बराबर ०.८६ मा विनिमय भैरहेको छ ।
मे २०२४ मा जापानका अर्थमन्त्री सुनिची सुजुकीले एक अन्तर्वार्तामा विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताउँछन् । उक्त अन्तर्वार्तामा उनले अमेरिकी डलरविरुद्ध येन ३४ वर्षकै तल्लो तहमा झरेका कारण जापानले कारवाहीका लागि ‘सबै आवश्यक कदम’ चाल्ने भनेर पनि टिप्पणी गर्छन् ।
ओरालो लागिरहेको जापानी मुद्रा टोक्योमा अमेरिकी डलरको तुलनामा करिब एक सय ५३ दशमलव ७० सम्म कमजोर भएको छ । यस्तो स्तर सन् १९९० पछि देखिएको थिएन । यसबाट जापानी सरकारका लागि सन् २०२२ मा गरेजस्तै हस्तक्षेप गर्ने सम्भावना सिर्जना भएको छ ।
के गरेको थियो जापानले सन् 2022 मा ?
जापानी येन पहिले नै विगतको स्तरभन्दा तल झरेको छ ।
अमेरिकामा अपेक्षा गरिएभन्दा तीव्र गतिमा मूल्यवृद्धि भइरहेका आधिकारिक आँकडा सार्वजनिक भएपछि जापानी येन न्यून विन्दुमा पुगेको थियो ।जापानले पहिला नै गिरावट रोक्न हस्तक्षेप गरेको थियो । सन् २०२२ अक्टोबरमा एक अमेरिकी डलरको तुलनामा एक सय ५२ येनको नजिक पुगेपछि जापानी अधिकारीहरूले डलर बेचेर येन किनेका थिए । मूल्यवृद्धि नियन्त्रणको लागि अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका देशहरुले औसत ब्याज वृद्धि गरेपछि जापानी येन सन् १९९८ यताकै कमजोर हुन पुगेको थियो । सन् २०२२ मा जापानी येन २४ वर्ष यताकै कमजोर अवस्थामा पुगेको थियो । त्यसबेला एक डलर बराबर १३५.२२ येनमा विदेशी विनिमय भएको थियो । कमजोर येनको पक्षमा बैंक अफ जापान चिन्तित रहँदै कमजोर भएको मुद्रालाई थप अवमूल्यन हुनबाट जोगाउन बैंक अफ जापानले ५०० बिलियन येन सरकारी बन्ड खरिद गरेको थियो । बैंकले ०.२५ प्रतिशतमा उक्त बन्ड खरिद गरेको थियो । अमेरिकामा बन्डको बेन्चमार्क दर ३.२ प्रतिशत रहेको बेला जापानले ०.२५मा खरिद गरेको थियो ।
जापानका अर्थमन्त्री शुनिची सुजुकीले मुद्रा अस्थिर बनेको विषयलाई सम्बोधन गर्न एउटा दुर्लभ प्रकृतिको कारबाही गर्दै सन् 2022 मा जापानले आफ्नो कमजोर बन्दै गएको मुद्रालाई उकास्न २० अर्ब डलर खर्च गरेको थियो।२४ वर्षयताकै सबभन्दा कमजोर विन्दुमा येन पुगेपछि जापान सरकारले उक्त कदम चालेको थियो।
त्योभन्दा अगाडि जापान सरकारले सन् १९९८ मा मात्र मुद्रा बजारमा त्यसरी हस्तक्षेप गरेको थियो।
तर विश्लेषकहरूले चाहिँ अमेरिकाको तुलनामा जापानमा निकै कम ब्याज दर रहेसम्म यसरी बेलाबखत गरिने हस्तक्षेपको खासै कुनै प्रभाव नहुने बताउँदै आएका छन् ।
किन भइरहेको छ जापानी येनको चर्को गिरावट ? कारण के हो ?
पछिल्ला वर्षहरुमा जापानी येनमाथि लगातार चाप बढिरहेको छ। दुई देशका केन्द्रीय ब्याङ्कहरूले अपनाएका भिन्न नीति नै त्यसको मुख्य कारण भएको बताइएको छ।
अमेरिकामा अपेक्षा गरिएभन्दा धेरै उपभोक्ता मूल्य वृद्धि भइरहेको छ । अर्थात् विश्वको सबभन्दा ठूलो अर्थतन्त्र मुद्रास्फितिसँग सङ्घर्षरत छ। अमेरिकाको फेडरल रिजर्भ (केन्द्रीय ब्याङ्क)ले मुद्रास्फितिलाई कम गराउन चालेका कदमले डलरको भाउ बढिरहेको छ। महँगीसँग जुध्न फेडरल रिजर्भले निरन्तर ब्याज दर बढाइरहेको छ। यसले लगानीकर्ताहरूका निम्ति डलर झन् झन् आकर्षक बनेको छ।
जबकि ब्याङ्क अफ जापानले चाहिँ ब्याज दर कम पारिरहेको छ।डलरको बढ्दो शक्तिका कारण पाउण्ड र युरोजस्ता अन्य मुख्य अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्यमा पनि प्रभाव परिरहेको छ। मुद्रास्फीति (महँगी ) आकाशिँदै गर्दा अमेरिका, बेलायत, स्वीजरल्यान्ड, युरोपियन युनियन अन्तर्गतका बैंकहरुले ब्याजदर बढाउने तयारी गरेका छन् । विश्वव्यापी रुपमा अधिकाशं देशहरुले ह्वाकिस नीति अवलम्बन गर्दा जापान डोभिस नै रहेको छ । ऋणात्मक ब्याजदरका कारण पनि जापानी येन कमजोर हुँदै गएको छ ।
तर यतिखेर घट्दो येनको भाउका कारण बढेको निर्यात ब्यापार तथा पर्यटन क्षेत्रबाट लाभ लिने उदेश्यले पनि जापान सरकारले भने तत्काल बजारमा हस्तक्षेप नगर्ने अर्थविदहरुले आँकलन गरेका छन् । यसरी जापानी येन निरन्तर घट्दा,नेपालमा पैसा पठाउनेहरु भने मर्कामा परिरहेका छन् ।
अध्याय २: अमेरिकी डलर कसरी यति शक्तिशाली बन्यो ? यसको प्रभाव कहाँकहाँ पर्छ ?
विश्वका प्रमुख मुद्राहरूसँग तुलना गर्दा अमेरिकी डलर दुई दशकयताकै शक्तिशाली स्थानमा पुगेको छ। सन् २०१० मा उच्चतम विनिमय दर ७६ र न्युनतम दर ६९ नेपाली रुपैयाँ रहेको अमेरिकी डलर त्यसको ठीक एक दशकपछि सन् २०२० सम्म आइपुग्दा उच्चतम विनिमय दर १२३ र न्युनतम दर ११३ सम्म पुग्यो । अघिल्लो वर्ष सन् २०२३ मा त्यो दर क्रमशः वृद्धि हुँदै उच्चतम १३३ र न्युनतम १२९ मा विनिमय भयो । २०२४ को आजको मितिमा अमेरिकी एक डलर बराबर नेपाली १ सय ३३ नेपाली रुपैयाँमा कारोबार भैरहेको छ । यसको अर्थ डलर खरिद गर्नु अझ महँगो बनेको छ र डलर दिँदा पहिलाको भन्दा बढी पाउन्ड, युरो , येन र रुपैयाँ आउने भएको छ। यसले विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई असर पारिरहेको छ ।
डलर कति बलियो बनेको छ?
अमेरिकी डलरको सामर्थ्य युरो, पाउन्ड र येनसहित छ प्रमुख मुद्रासँग तुलना गर्ने द डलर इन्डेक्स - (DXY) सन् २०२३ मा १७ प्रतिशतले बढेको छ।
डलर किन यति बलियो भएको हो ?
अमेरिकी केन्द्रीय ब्याङ्कले पछिल्ला वर्ष बढ्दो मूल्यवृद्धिसँग जुध्न पटकपटक ब्याजदर वृद्धि गरिरहेको छ।त्यसले कर्जा लिन झन् महँगो पारेको छ। यसको अर्थ अमेरिकी सरकारी 'बन्ड' जस्ता आर्थिक औजारबाट थप नाफा कमाउने अवस्था छ जसले त्यसतर्फ लगानीकर्ताहरूलाई आकर्षित गरिरहेको छ। बन्ड सरकारले कर्जा सङ्कलन गर्ने एक किसिमको ऋणपत्र हो जसमा भविष्यमा ब्याज दिने प्रतिबद्धता जनाइएको हुन्छ। उक्त लगानीलाई ज्यादै सुरक्षित ठानिन्छ।
सन् २०२२ को जुलाईमा मात्रै विदेशी लगानीकर्ताहरूले १०.२ अर्ब अमेरिकी सरकारी बन्ड खरिद गरेका थिए। अहिले ७५ खर्ब डलर बराबरको बन्डमा उनीहरूको स्वामित्व छ। र यो कार्य बर्षैपिच्छे बढदो क्रममा छ । लगानीकर्ताहरूले यी बन्ड किन्न डलर खरिद गर्नुपर्ने हुन्छ र त्यसको मागले डलरको मूल्य समेत बढाउँछ। जब लगानीकर्ताहरूले अरू मुद्रा बेचेर डलर किन्छन् तब ती मुद्राको मूल्य घट्छ। यूकेको सरकारले पनि ठूलो कर कटौतीको घोषणा गरेपछि डलरको तुलनामा पाउन्डको मूल्य घटेको छ। लगानीकर्ताहरू विश्वव्यापी अर्थतन्त्र दबावमा रहँदा डलर किन्न चाहन्छन् किनभने अमेरिकाको आकारका कारण डलरमा गरिएको 'सुरक्षित लगानी' हुने ठानिन्छ। त्यसले पनि मूल्यलाई बढाउँछ।
युरोप र एशियाका कैयौँ देशका अर्थतन्त्रहरू युक्रेनमा जारी युद्धका कारण अकासिएको ग्याँसको मूल्यका कारण अप्ठेरोमा परेका छन्। बढ्दो ऊर्जाको मूल्यले अमेरिकामा त्यो स्तरमा असर परेको छैन।
कमजोर मुद्रा भएका देशलाई बलियो डलरले कसरी असर पार्छ?
कमजोर मुद्रा भएका देशहरूलाई बलियो डलरबाट लाभ हुनसक्छ किनभने यसले उनीहरूले अमेरिकालाई बिक्री गर्ने वस्तु र सेवाहरू त्यहाँको बजारमा सस्तो हुन्छ जसले गर्दा निर्यात बढ्छ।तर त्यतैबाट आयात गर्ने सामग्रीहरू थप महँगो हुन्छन्। तेलको कारोबार अमेरिकी डलरमा गरिने भएकाले विश्वका धेरै देशहरूमा पेट्रोलको मूल्य बढेको छ। धेरै देशका सरकार र व्यापारिक कम्पनीहरूले आफ्नै देशको मुद्राभन्दा डलरमा बढी ऋण लिन्छन् किनभने डलर बढी स्थिर हुन्छ।
डलरको मूल्य बढेको समय स्थानीय मुद्राबाट ती कर्जाहरू तिर्न अझ महँगो पर्न जान्छ।
डलर घर पठाउने कामदारलाई के फाइदा?
प्रत्येक वर्ष विश्वभरका आप्रवासी कामदारहरूले आफ्ना परिवारलाई ६२५ अर्ब डलर पठाउँछन्। यी रेमिटेन्स स्थानीय अर्थतन्त्रका लागि महत्त्वपूर्ण हुनसक्छ। अमेरिकाबाट मात्रै विदेशी कामदारहरूले १५० अर्ब डलर प्रत्येक वर्ष पठाउँछन्। त्यसमा ३० अर्ब डलरभन्दा बढी मेक्सिको, १६ अर्ब डलर चीन, ११ अर्ब डलर भारत र ११ अर्ब डलर फिलिपिन्स पर्छ।
नेपालले पनि बार्षिक एक अर्व जति अमेरिकी डलर भित्राउँछ ।
जति बलियो अमेरिकी डलर हुन्छ त्यति नै बढी उसले अरू मुद्रा खरिद गर्न सक्छ। यसले डलरमा आधारित रेमिट्यान्स प्राप्त गर्ने व्यक्तिहरूलाई फाइदा हुन्छ।
बलियो डलरलाई लिएर विभिन्न देशले के गर्दछन्?
विश्वका धेरै देशहरुले आफ्नो देशको मुद्राको मूल्य वृद्धि गर्ने प्रयासमा ब्याजदरमा वृद्धि गरिरहेका छन्। अर्जेन्टिनाले प्रमुख ब्याजदर ६९.५ प्रतिशत कायम गरेको छ। घानामा त्यो १९ प्रतिशत छ भने नाइजिरियामा १४ प्रतिशत र ब्रजिलमा १३.७५ प्रतिशत छ। तर उच्च ब्याजदरको अर्थ व्यवसायी र सर्वसाधारण मानिसलाई कर्जा लिन थप महँगो भएको छ।
कम्पनीहरू आफ्नो व्यवसाय विस्तार गर्न सङ्घर्ष गर्न सक्छन् र उनीहरूले आफ्ना कर्मचारीहरूलाई जागिरबाट निकाल्न सक्छन्। परिवारले खर्च कटौती गर्न सक्छन्। यसको परिणामस्वरूप अर्थतन्त्र मन्दीमा फस्न सक्छ। तर यसको विपरीत जापान सरकारले भने न्यून ब्याजदर कायम गरेको छ
• नेपालमा के कस्तो असर पर्छ ?
नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ। त्यसैले केही समययता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्य समेत घट्यो।
यसको प्रभाव खासगरी आयातको भुक्तानीमा पर्नेछ। नेपाली मुद्रामा बढी भुक्तानी गर्नुपर्ने हुन्छ। त्यस्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र नेपाली रुपैयाँ कमजोर हुँदै गएको अवस्थामा उल्लेख्य रूपमा आयातमा गरिने भुक्तानी बढन पुग्छ । डलरको भाउ बढ्ने बित्तिकै विदेशी मुद्रा खर्च गरेर गरिनुपर्ने आयातको मूल्य स्वत: बढ्छ। उसै त कहालीलाग्दो स्थितिमा रहेको व्यापार घाटा त्यसो हुँदा झन् बढ्छ। विदेशी मुद्राको सञ्चिति पनि घट्छ ।
अर्को तर्फ वैदेशिक ऋणको ब्याज पनि बढ्ने अवस्था रहन्छ जसले अर्थतन्त्रमा चाप पर्न जान्छ ।आयातमा धेरै हदसम्म आश्रित नेपालले केही क्षेत्रमा कडाइ गरे पनि अत्यावश्यक खाद्यान्न, औषधि र औद्योगिक कच्चा पदार्थ आयात गरिनै रहनुपर्ने हुँदा विदेसिने रकमको अनुपात भने कम नहुने देखिन्छ । डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महँगो हुन पुग्छन्। सियोदेखि गाडीसम्म आयातमा निर्भर नेपालको निम्ति यो ठूलै बेफाइदा हुन्छ। नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुने गर्छ। तर भारतमै पनि भारु सस्तो हुँदा हुने महँगी यता सर्न जान्छ । इन्धनको मूल्य चर्को हुन्छ । त्यसैगरी लाखौं नेपाली विद्यार्थी विदेशमा पढ्न गएका हुन्छन् । उनीहरूले त्यहाँ विदेशी मुद्रामा पैसा तिर्नुपर्छ। डलरको भाउ बढ्नेबित्तिकै त्यसले ती विद्यार्थीको परिवारमाथि एक्कासि आर्थिक बोझ बढछ । विद्यार्थीका कारण अर्बौ रुपैयाँ बराबरको रकम बाहिरि रहेको हुन्छ । डलरको भाउ बढदा यसमा पनि असर पर्छ।
नेपाललाई के के फाइदा हुनसक्छ ?
नेपाली रुपैयाँको भाउ सस्तो हुँदा नेपाली निकासी वा सामानको भाउ अन्तर्राष्ट्रिय आयातकर्ताहरूको निम्ति आकर्षक हुन पुग्छ र निकासीलाई यसले टेवा पुग्न सक्छ।
तर नेपालको निर्यात वा निकासी सीमित छ। आयात को तुलनामा निर्यात नगन्य छ । त्यसैले निकासीको परिमाण र वस्तु सीमित भएकाले यसबाट हुने फाइदा पनि स्वाभाविक रूपमा सीमित नै हुने देखिन्छ। विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानी बढाइदिन्छ। नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ। पर्यटनको योगदान नेपाली अर्थतन्त्रमा बहुआयामिक हुने गर्छ। देशको विदेशी मुद्रा आर्जनको एक प्रमुख स्रोतमात्र नभई यसले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा ठूलो योगदान पुर्याउँछ। लगानी गर्न खोज्नेहरूलाई पनि कमजोर नेपाली मुद्राले केही प्रोत्साहन मिल्न सक्छ। त्यसैगरी लाखौँ नेपालीहरू विदेशमा काम गर्छन्। कैयौँले त्यहाँ कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन्।उनीहरूको हकमा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ। रेमिटान्स आयमा हुने वृद्धिले समग्र अर्थतन्त्रमा राम्रो प्रभाव पर्छ।
तर समग्रमा नेपालको अर्थतन्त्रको प्रकृति जस्तो छ त्यो हेर्दा डलरको भाउ बढ्दा फाइदा भन्दा बेफाइदा नै बढी हुने विज्ञहरू बताउँछन ।अर्को प्रमुख बेफाइदा भनेकै नेपालले विदेशी मुद्रामा लिएको ऋणको परिमाण डलरको भाउ बढेसँगै बढ्छ। विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम जहिल्यै अपुग हुनजान्छ ।
अध्याय ३ : विश्व बजारमा सुनको मूल्यमा आएको उच्च वृद्धि
सुनको भाउले यतिबेला विश्व बजार तातेको छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ । सन् २०१० मा प्रतितोला २७,७५० र ४३७ नेपाली रुपैयाँमा पाइने सुन र चाँदी त्यसको ठीक दशकपछि सन् 2019 को सुरुवातसम्म आइपुग्दा सुनको मूल्य ५१ हजार रुपैयाँ प्रतितोला पुगिसकेको हुन्छ । यहि सुन एकबर्षको अन्तरालमै सन् २०२० को अन्त्यतिर प्रतितोला ८२ हजार रुपैयाँसम्म पुगिसकेको थियो । अघिल्लो बर्ष सन् २०२३ सम्म आइपुग्दा यो मूल्य वृद्धि भएर बर्षको सुरुवातमा प्रतितोला ८७ हजारमा पाइने सुन बर्षको अन्त्यतिर ह्वात्तै बढेर एक लाख दुइहजार सम्मको उच्चतम मुल्यमा पुगेको थियो भने चाँदी १२४७ रुपैयाँमा बिक्री हुँदै थियो । सन् २०२४ जुन महिनाको आजको मितिमा नेपाली बजारमा सुन प्रतितोला एकलाख बयालिस हजार सातसय र चाँदी प्रतितोला रु १८६२ रुपैयाँमा बिक्री भैरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा किन बढिरहेछ यसरी चर्को रुपमा सुनको मूल्य ?
अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ । सुनको मूल्य अझै बढ्ने प्रक्षेपण गरिरहेका छन्
अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको भाउ मुख्यतः यी ५ कारणले बढिरहेको देखिन्छ । पहिलो, अमेरिकी केन्द्रीय बैंकको ब्याजदर, दोस्रो, अमेरिकी डलरको प्रभुत्व कमजोर बनाउन चीनले सुनलाई महत्व दिनु, तेस्रो, विश्वका केन्द्रीय बैंकहरूले विगतमा उच्च दरले खरिद बढाउनु, चौथो, भूराजनीतिक द्वन्द्व र पाँचौ, आर्थिक गतिविधिमा सुस्तता देखिनु ।अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदरबारे अनिश्चितता देखाएकाले पनि सुनको मूल्यमा असर परिरहको देखिन्छ ।
फेडले मार्चमा ब्याज घटाउने अनुमान रहे पनि घटाएन, अहिले जुन महिनामा घटाउने अनुमान गरिन थालेको छ । ब्याजदर घट्दा सुनको भाउ बढ्ने आशले गर्दा अहिले ठूला लगानीकर्ताले पनि सुनको माग बढाइरहेका छन् । ‘कमोडिटी र स्टक मार्केटलाई पूर्वानुमानले धेरै असर पार्छ, ब्याजदर घट्छ र मूल्य अझै बढ्छ भन्ने भावना विकास भएको छ, जसले माग पक्ष बलियो बनिरह्यो भने आपूर्ति कमजोर बनिरहेको छ ।
अर्कोतर्फ विश्वका केन्द्रीय बैंकहरूले विगत दुई वर्षमा अत्यधिक सुन खरिद गरे र उदीयमान बजारहरूमा बलियो खुद्रा माग रहेकोले पनि मूल्य बढेको देखिन्छ । विगतका दुई वर्ष केन्द्रीय बैंकहरूको खरिद बलियो देखियो, अर्कातिर भूराजनीतिक तनाव पनि बढिरह्यो, जसले मूल्यमा दबाब परिरहेको देखिन्छ । केन्द्रीय बैंकहरुले भण्डारणका लागि खरिद गरेको सुनले नियमित आपूर्तिमा अवरोध गर्दछ । कोभिड महामारी तथा रुस–युक्रेन युद्धपछि चीन, भारत, अमेरिका लगायत देशले सुन भण्डारण बढाए । विश्वका केन्द्रीय बैंकहरूले सन् २०२२ देखि २०२३ सम्म दुई वर्षमै औसत १ हजार ६० टन सुन किनेको तथ्यांक छ । जबकि २०१६ देखि २०१९ बीच तीन वर्षमा जम्मा ५ सय ९ टन किनेका थिए । चीनले अमेरिकी डलर सञ्चिति हटाउँदै सुन भण्डारण बढाउने र पोल्यान्डजस्ता देशले पनि भण्डारण बढाएपछि सुनको मुल्य झन वृद्धि भएको देखिन्छ । पछिल्लो समय चीनले अमेरिकी डलरलाई महत्व दिन छाडेको छ भने सुनलाई बढी महत्व दिँदै भण्डारण बढाएको छ । चीनले अन्य मुलुकसँग अमेरिकी डलरको सट्टा अन्य मुद्रामै कारोबार गर्न थालेको छ ।चीनमा घरजग्गा क्षेत्रको मन्दी र त्यहाँको स्टक मार्केटले विगत १ वर्षदेखि राम्रो प्रदर्शन नगर्दा पनि ठूला लगानीकर्ता सुनतर्फ मोडिएको बिज्ञहरु बताउँछन ।
रुस–युक्रेन द्वन्द्व र अमेरिकामा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक संकटजस्ता प्रमुख अवरोधले सुन खरिद र भण्डारणमा उत्प्रेरित गरेको देखिन्छ । यसरी ठुला ब्याङ्कहरू नै धरासायी भएपछि डलरका लगानीकर्ता र सेयर बजारका लगानीकर्ता पनि सुनतर्फ आकर्षित भैरहेको छन । सुरुमा कोभिड महामारी देखियो र मूल्य बढ्दै गयो, त्यसपछिको रुस–युक्रेन युद्ध, हमास–इजरायलको युद्धले मूल्य बढाइरह्यो । अहिले पनि ती युद्ध जारी नै छन्, तीबाहेक अमेरिका र चीनको भूराजनीतिक सम्बन्धले पनि असर परिरहेको छ । युद्ध बढ्दा, भूराजनीतिक तनाव बढ्दा विश्वका केन्द्रीय बैंक र ठूला लगानीकर्ताले समेत सुनमा लगानी बढाइरहेका छन ।अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफल योग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ ।
नेपाली बजारको अवस्था के छ ?
सुन यति धेरै महँगो भयो कि नेपालीहरूले अत्यावश्यक नपरीकन सुन किन्ने अवस्था छैन।
नेपालमा हाल दैनिक २० किलो सुन आयात गर्न सक्ने व्यवस्था छ । वैदेशिक रोजगारमा रहेकाले ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था छ । सुनको मूल्य बढ्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा बढ्न जान्छ । विदेशी मुद्रा सञ्चिति घटेका बेला यसले नकारात्मक असर पार्न सक्छ ।
अर्कातर्फ सुनलाई इज्जत र प्रतिष्ठासँग जोडेर हेरिने गरेकाले विवाह, विभिन्न चाडपर्व तथा सांस्कृतिक कार्यमा सुन अवलम्बन गरिँदै आएको छ, यसले त्यस्ता कार्यमा खर्च बढाउँछ ।
विश्वका विभिन्न देशका कमोडिटी बजारमा सुन कारोबार हुन्छ । तर, नेपालमा कमोडिटी बजार नै छैन । केही वर्षअघि सञ्चालनमा रहेका कमोडिटी बजार समेत नीतिगत व्यवस्था पर्याप्त नरहेको भन्दै बन्द गरेको धितोपत्र बोर्डले नयाँ सञ्चालनका लागि खास तदारुकता देखाएको पनि छैन ।
कमोडिटी बजार सञ्चालन भए भविष्यमा हुन सक्ने मूल्यवृद्धिलाई आजै अनुमान गरेर सुन खरिद गर्न सकिन्छ । खरिद भएको सुन चाहेका बेला भौतिक रूपमै ग्रहण गर्न सकिन्छ वा नाफा लिएर बेच्न सकिन्छ । तर, नेपालमा कमोडिटी बजार नहुँदा त्यो अवसरबाट राज्यले वञ्चित गराएको छ । नेपालमा काँचो सुन किनबेच गर्न वा खरिद गर्न पाइँदैन, यो अवैधानिक छ तर गहनाका रूपमा कसैले भौतिक रूपमा भने खरिद गरेर राख्न सक्छ । गहनाका रूपमा सुन खरिद गर्दा कुल मूल्यको थप १५ प्रतिशतसम्म महँगो जर्ती तथा ज्याला व्यवसायीले लिने गरेका छन् । तर पछि त्यहीं १ तोलाको गहना बेच्दा प्रचलित बजार मूल्य मात्रै पाइन्छ । नेपालमा अत्यावश्यक कर्महरुमा बाहेक अन्य अवस्थामा कारोबार सामान्य रहेको देखिन्छ ।
प्रतिक्रिया