मुक्तिको धर्मशास्त्र: लिबरेशन थियोलोजी
वामपन्थी चरित्र बोक्ने ल्याटिन अमेरिकाको सामाजिक आन्दोलन
नेपालमा ल्याटिन अमेरिकाको बामपन्थी र कम्युनिस्ट आन्दोलनहरुको बारेमा जति धेरै चर्चा हुने गर्छ, त्यति चर्चा त्यहाँको सामाजिक आन्दोलनको बारेमा हुने गर्दैन। ल्याटिन अमेरिकाका सामाजिक आन्दोलनहरु पनि त्यहाँको राजनीतिक आन्दोलनहरु हाराहारी प्रभावकारी छन्। यी सामाजिक आन्दोलनहरुले त्यो क्षेत्रको राजनीतिक आन्दोलनहरुका विरोधी नभई सहयोगी र पुरकको रुपमा काम गर्ने गरेको पाइन्छ। यो लेखमा ल्याटिन अमेरिकामा सञ्चालित सामाजिक आन्दोलनहरु मध्ये एउटा महत्त्वपूर्ण आन्दोलनको बारेमा परिचय दिने कोशिस गरिनेछ।
लिबरेशन थियोलोजी बीसौं शताब्दीको मध्यतिर ल्याटिन अमेरिकामा सुरु भएको सामाजिक-राजनीतिक आन्दोलन हो । यसले गरिब र उत्पीडितहरुले भोग्नु परेका समस्याहरु जस्तै आर्थिक, सामाजिक र राजनीतिक अन्याय र अत्याचारहरुलाई इसाई धर्मभित्रको धर्मशास्त्रको संरचना प्रयोग गरेर समाधान गर्ने कोशिस गर्छ।
बिगत ५ दशक यता ल्याटिन अमेरिकामा संचालित सामाजिक आन्दोलनहरू मध्येको एउटा महत्त्वपूर्ण आन्दोलन हो लिबरेशन थियोलोजी (मुक्तिको धर्मशास्त्र) । यो इसाई धर्मभित्रको रोमन क्याथोलिक सम्प्रदायभित्रबाट सिर्जना भएको हो। लिबरेशन थियोलोजी बीसौं शताब्दीको मध्यतिर ल्याटिन अमेरिकामा सुरु भएको सामाजिक-राजनीतिक आन्दोलन हो। यसले गरिब र उत्पीडितहरुले भोग्नु परेका समस्याहरु जस्तै आर्थिक, सामाजिक र राजनीतिक अन्याय र अत्याचारहरुलाई इसाई धर्मभित्रको धर्मशास्त्रको संरचना प्रयोग गरेर समाधान गर्ने कोशिस गर्छ।
लिबरेशन थियोलोजीको सुरुवात ल्याटिन अमेरिकामा ६० को दशकमा भएको थियो। त्यस बेला सो क्षेत्रमा विद्यमान रहेको अर्थ-राजनीतिक परिवेशमा यो आन्दोलन उत्पन्न भएको थियो।
ल्याटिन अमेरिकामा ६० को दशक राजनीतिक अस्थिरताको दशक थियो। त्यो समय अस्थिर सरकार, सैन्य बिद्रोह, अधिनायकवादी शासन र लोकरिझ्याइँवादी शासकहरुको थियो। त्यस्तै यो समयमा शितयुद्ध चरम अवस्थामा पुगेको थियो। यसको प्रभावबाट पनि ल्याटिन अमेरिका अछुतो थिएन। आर्थिक रुपमा हेर्ने हो भने त्यो समयमा ल्याटिन अमेरिकी देशहरु कच्चा पदार्थ जस्तै तेल, तामा, कफी र केरा आदि निर्यातमा अत्यधिक रुपमा निर्भर थिए। जसले गर्दा बजारमा आउने मूल्य घटबढले यी देशहरुको अर्थतन्त्रलाई नराम्रो संग प्रभावित गर्न सक्थ्यो।
१९६० को दशकमा ल्याटिन अमेरिका अधिनायकवाद, परनिर्भर विकास र सामाजिक असमानताको दुश्चक्रमा फसेको थियो। यस्तो परिस्थितिमा सन् १९५९ मा क्युबामा सम्पन्न भएको समाजवादी क्रान्तिले ल्याटिन अमेरिकाका गरिव, शोषित र उत्पीडित बर्गमा आशाको संचार गराएको थियो।
त्यस्तै सोही समयमा यी देशहरुले औद्योगिक बस्तुहरुको आयात प्रतिस्थापनको नीति लिएका थिए। यसले देशमा उत्पादन क्षेत्रको बिस्तार भयो। ल्याटिन अमेरिकी देशहरुमा त्यो समयमा भुस्वामित्व मुट्ठीभर जमिन्दारहरुको हातमा थियो भने अधिकांश भूमिहीनहरु दरिद्रताको जीवन बिताउथे। त्यही कारण ग्रामीण क्षेत्रबाट तीब्र गतिमा मानिसहरुको बसाइसराइ सहरी क्षेत्रतर्फ भइरहेको थियो। यसले गर्दा ठूला शहरहरुमा अनियन्त्रित रुपमा सुकुम्बासी वस्तीहरुको सिर्जना भइरहेको थियो। ती देशहरुमा सिर्जित आर्थिक लाभहरु समाजका पराम्परागत सम्भ्रान्त वर्गमा केन्द्रित हुदै गरिरहेको थियो भने ग्रामीण क्षेत्रका मानिसहरु र आदिवासीहरु भने शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवाको अभावमा बाँच्न बाध्य थिए।
समग्रमा भन्ने हो भने १९६० को दशकमा ल्याटिन अमेरिका अधिनायकवाद, परनिर्भर विकास र सामाजिक असमानताको दुश्चक्रमा फसेको थियो। यस्तो परिस्थितिमा सन् १९५९ मा क्युबामा सम्पन्न भएको समाजवादी क्रान्तिले ल्याटिन अमेरिकाका गरिव, शोषित र उत्पीडित बर्गमा आशाको संचार गराएको थियो।
ल्याटिन अमेरिका क्याथोलिक धर्मावलम्बीहरुको सबै भन्दा ठुलो जनसंख्या भएको ठाउँ हो। बिश्वभर रहेका रोमन क्याथोलिक मध्ये ४०% यही क्षेत्रमा रहेका छन्। तर त्यहाँको चर्चले गरिब र उत्पीडितहरुको लागि केही गरेन। बरु शासक बर्ग र सम्भ्रान्त बर्गकै औजार बनेर उनीहरुकै पक्षमा उभिएको थियो।
के हो लिबरेशन थियोलोजी ?
लिबरेशन थियोलोजी सन् १९६० को दशकमा ल्याटिन अमेरिकामा सुरु भएको इसाई आन्दोलन हो। यो आन्दोलन त्यो समयमा ल्याटिन अमेरिकाभर व्याप्त गरिबी र सामाजिक असमानताको विरुद्ध सुरु भएको थियो।
लिबेरसन थियोलोजीले समाजको गरिबी र उत्पीडनको मुख्य कारण खोज्न आर्थिक सामाजिक विश्लेषणको प्रयोग गर्छन्।
यो आन्दोलनले जीसस क्राइष्टको सुसमाचार(गोस्पेल) लाई उत्पीडित मानिसहरुको अनुभव मार्फत् व्याख्या गर्ने कोसिस गर्छ। यो धर्मशास्त्रको मुख्य जोड उत्पीडितहरुको मुक्ति र यो संसारलाई न्यायपूर्ण बनाउनको लागि संघर्ष गरउनु हो। त्यस्तै लिबेरसन थियोलोजीले समाजको गरिबी र उत्पीडनको मुख्य कारण खोज्न आर्थिक सामाजिक विश्लेषणको प्रयोग गर्छन्।
वास्तवमा यो कुरा कार्ल मार्क्स जस्ता विचारकहरुबाट प्रेरित छ। त्यस्तै यो मतका अनुसार चर्चले गरिब र सीमान्तकृतहरुको सेवालाई प्राथमिकता दिनुपर्छ। उनीहरुसंग ऐक्यबद्धता जनाउनमा बाइबलसम्मत रहेको कुरामा जोड दिन्छन्। लिबरेशन थियोलोजी कोरा सिद्धान्त मात्र होइन। यसले सिद्धान्त र व्यबहार बीचको अविभाज्यतामा जोड दिन्छ। यसले समाजका अन्यायपूर्ण संरचना बदल्नका लागि संघर्ष गर्नुलाई प्राथमिकता दिन्छ।
ब्राजिलियन मार्क्सवादी समाजशास्त्री माईकल लोईका अनुसार लिबरेशन थियोलोजी मुलभूत सिद्धान्तहरु यस प्रकार रहेका छन्:-
१. धर्मको मुख्य शत्रु मूर्तिपूजा (नास्तिकवादलाई होइन) विरुद्धको लडाइँ हो। त्यो हो नयाँ फेरो, नयाँ सिजर र नयाँ हेरोड्स: म्यमोनद्वारा पुजिने मृत्युको नयाँ मुर्तिहरु जस्तै:- सम्पत्ति, बजार, राष्ट्रीय सुरक्षा, राज्य, सैन्य बल,'पश्चिमी ईसाई सभ्यता'
२. जीसस क्राइष्ट, परमेश्वरको राज्यमा अन्तिम मोक्षको अपेक्षामा ऐतिहासिक मानव मुक्ति
३. प्लेटोनिक युनानी दर्शनको उत्पादको रुपमा पारम्परिक द्वैतवादी धर्मशास्त्रको आलोचना, न कि बाइबलको परम्परा जसमा मानव र दैवीय इतिहास अलग र अविभाज्य छन्।
४. आम पलयान जस्तो अंशमाथि विशेष ध्यान दिदै बाइबलको एउटा नया पठन। जुन घटनालाई गुलाम बनाइएका मानिसहरुको मुक्त्तिको लागि संघर्षको प्रतिमानको रुपमा हेरिन्छ।
५. संरचनात्मक पापको स्वरुपको रुपमा, एक अन्यायपूर्ण र विधर्मी व्यवस्थाको रुपमा आश्रित पुँजीवाद माथि एउटा तिखो नैतिक र सामजिक अभियोग
६. गरिबीका कारणहरु, पुँजीवादका अन्तरविरोधहरु र वर्ग संघर्षका रुपहरुलाई बुझनका लागि एउटा सामाजिक-विश्लेषणात्मक उपकरणको रुपमा मार्क्सवादको उपयोग।
७. गरिबहरुका लागि प्राथमिकता दिइनु पर्ने र उनीहरुको आत्म-मुक्तिको संघर्षमा एकजुटता।
८. पुँजीवादी व्यवस्थाद्वारा थोपरिएको व्यक्तिवादी जीवन शैलीको विकल्पको रुपमा गरिबहरुको माझमा आधारभूत इसाई समुदायहरुलाई चर्चको नयाँ रुपमा विकास गर्ने।
लिबेरेसन थियोलोजीका प्रतिपादकको रुपमा पेरुका पादरी गुस्ताभो गुटिरेजलाई मानिन्छ। गुस्ताभो गुटिरेजको जन्म सन् १९२८ मा पेरुमा भएको थियो। उनलाई किशोर अवस्थमामै ऑस्टियोमाइलाइटिस रोग लागेको थियो। उक्त रोगका कारण उनी हिँडडुल गर्न सक्दैन थिए। उनले १२ बर्षको उमेरसम्म व्हिल चेयरको प्रयोग गर्नु पर्यो । यो चुनौतिपूर्ण अवधिले उनलाई हतोत्साहित गरेन। बरु यसले उनमा आशाको संचार गरिदियो। यो अनुभवले उनमा धर्मशास्त्रप्रतिको रुचि जगायो।
उनले आफूले यूरोपमा अध्ययन गरेको युरोपेली धर्मशास्त्रले ल्याटिन अमेरिकाको भौतिक अवस्थालाई प्रतिबिम्बित गर्न सक्दैन भन्ने कुरा बुझे।
गुटिरेजले पेरुको राजधानी लिमा स्थित राष्ट्रिय युनिभर्सिटीबाट चिकित्साशास्त्रमा डिग्रीको उपाधि हासिल गरेका थिए । त्यस्तै उनले दर्शनशास्त्र र मनोविज्ञानमा बेल्जियम स्थित क्याथोलिक युनिभर्सिटीमा अध्ययन गरेका थिए । त्यसबाहेक उनले फ्रान्सको क्याथोलिक युनिभर्सिटी र रोमको जर्जियन युनिभर्सिटीमा धर्मशास्त्रको अध्ययन समेत गरेका थिए । गुस्ताभो गुटिरेजले फ्रान्सको लयोन युनिभर्सिटी बाट १९८५ मा धर्मशास्त्रमा पीएचडीको उपाधि हासिल गरेका थिए।
विदेशबाट फर्केपछि गुटिरेजले ल्याटिन अमेरिकी यथार्थबारे आफ्नो बुझाइ र विचारलाई व्यवस्थित रुपमा तयार गर्न थाले। उनले भनेका थिए- म त्यस्तो महादेश बाट आएको हुँ जहाँ ६०% मानिसहरु गरिबीको अवस्थामा रहेका छन् र तिनीहरु मध्ये ८२ % चरम गरिबीमा बाच्न बाध्य छन्। उनले आफूले यूरोपमा अध्ययन गरेको युरोपेली धर्मशास्त्रले ल्याटिन अमेरिकाको भौतिक अवस्थालाई प्रतिबिम्बित गर्न सक्दैन भन्ने कुरा बुझे।
सन् १९६८ मा कोलम्बियाको मेडेलिनमा ल्याटिन अमेरिकी एइपिस्कोपल कन्फरेन्स (CELAM), जसलाई बिसप सम्मेलन पनि भनिन्छ, भएको थियो। सो सम्मेलनमा गुस्ताभो गुटिरेजले पहिलो पटक लिबरेशन थियोलोजी भन्ने पदावली प्रयोग गरेका थिए। उनले सो सम्मेलनमा मुक्तिको धर्मशास्त्रतर्फ (Toward a Theology of Liberation) भन्ने कार्यपत्र प्रस्तुत गरेका थिए। यही अवधारणालाई गुटिरेजले परिमार्जित गर्दै सन् १९७१ मा आफ्नो सर्वाधिक महत्त्वपूर्ण कृति ‘मुक्तिको धर्मशास्त्र’ (A Theology of Liberation) प्रकाशित गरे। त्यस पछि लिबरेशन थियोलोजीले ल्याटिन अमेरिकामा ठूलो प्रभाव पारेको छ।
लिबरेशन थियोलोजी र मार्क्सवाद
इसाई धर्ममा सुरुवातदेखि नै गरिब र उत्पीडितहरु प्रति सहानुभूतिको भाव रहदै आएको छ। जीसस क्राइष्टको एउटा प्रख्यात भनाइ छ- एउटा धनी मान्छेलाई स्वर्गमा प्रवेश गर्नुभन्दा बरु एउटा उँटलाई सियोको आँखाबाट निस्किनु सजिलो हुन्छ। त्यस्तै उनले भनेका छन् - आफ्नो सम्पति बेचिदेऊ र गरिबहरुलाई बाँडिदेऊ। आफ्नो लागि यस्तो थैलो जुटाउ जुन कहिले नखिइयोस्, र स्वर्गमा एउटा त्यस्तो खजाना राख जसले कहिले धोखा नदियोस्, जहा कोही चोर नजिक नआओस् र कुनै किराले नष्ट नगरोस्। किनकि जहाँ तिम्रो धन हुन्छ त्यहा तिम्रो हृदय पनि हुनेछ। यो कुनै आश्चर्यको कुरा होइन कि सुरुवातमा इसाई धर्म गरिब र उत्पीडितहरुको धर्म थियो। जीससको सेरमोन अन दि माउन्ट (जीजसले नाज़ेरथमा दिएका उपदेश) देखि एपोस्टोलिक समय सम्म (जीससका सुरुवातका १२ अनुयायीको समयसम्म) इसाई धर्मले धन सम्पतिको विरुद्धमा प्रचार गर्थ्यो। त्यसैले जीससलाई इतिहासको पहिलो कम्युनिस्ट थिए भनेर पनि भन्ने गरिन्छ। इसाई धर्ममा यो धार सुरुदेखि नै रहेको पाइन्छ।
इसाई धर्मले धन सम्पतिको विरुद्धमा प्रचार गर्थ्यो। त्यसैले जीससलाई इतिहासको पहिलो कम्युनिस्ट थिए भनेर पनि भन्ने गरिन्छ।
सन् १९६० को दशकमा ल्याटिन अमेरिकाको आर्थिक, राजनीतिक र सामजिक समस्याहरुलाई हेर्ने मामिलामा त्यहाका धार्मिक क्रान्तिकारीहरु र मार्क्सवादी क्रान्तिकारीहरु बीच समानता थियो। यी समानताहरु यस प्रकार थिए :-
१. पुँजीवादको आलोचना:- लिबरेशन थियोलोजी र मार्क्सवाद दुबैले पुँजीवादलाई असमानता, शोषण र अलगावलाई निरन्तरता दिएकोमा आलोचना गर्छन्। दुबैले पुँजीवादले सम्पतिको केन्द्रीकरण मुट्ठीभर व्यक्तिको हातमा हुने र बहुसंख्यक मानिसहरु विशेष गरी गरिबहरु र सिमान्तकृतहरु पिडित हुने दावी गर्छन्।
२. मुक्तिमा जोड:- मार्क्सवाद र लिबरेशन थियोलोजी दुबैले उत्पीडित मानिसहरुको मुक्तिमा जोड दिन्छन्।
३. वर्ग संघर्ष:- मार्क्सवादले उत्पादनको बुर्जुवा बर्ग र श्रमिक वर्ग बीच वर्गसंघर्षमा जोड दिन्छ। लिबरेशन थियोलोजीले पनि वर्गसंघर्षको अवधारणालाई समाजको विश्लेषणमा उपयोग गर्छ।
४. सिद्धान्तलाई अभ्यासमा लागु गर्ने:- मार्क्सवाद र लिबरेशन थियोलोजी दुबैले सिद्धान्त र व्यवहारको एकरुपतामा जोड दिन्छन्।
ब्राजिलियन समाजशास्त्री माईकल लोईका भनाइमा लिबरेशन थियोलोजी र समाजवाद बिचको निम्न बिन्दुमा समानता र सहकार्य हुनसक्छ। जुन यस प्रकार छन्:-
१. दुबैले व्यक्ति नैतिकताको जग हो भन्ने दावीलाई खारेज गर्छन्। साथै धर्म र समाजवादले अन्तर-व्यक्तिगत मूल्यहरुमा विश्वास गर्छन्।
२. दुबैले गरिबहरुलाई अन्यायबाट पीडित मान्छन्। अवश्य पनि क्याथोलिक सिद्धान्तमा गरिबहरु र मार्क्सवादी सिद्धान्तमा सर्वहारा वर्गको बीचमा धेरै फरक छ। तर उनीहरुको बिचमा एउटा निश्चित सामाजिक-नैतिक नातेदारीबाट इन्कार गर्न सकिँदैन।
३. दुबैले विश्वव्यापकतामा विश्वास गर्छन्- अन्तर्राष्ट्रियवाद वा क्याथोलिकवाद। अर्थात दुवै सिद्धान्त र संस्थाहरुले मानव जातिलाई समग्र रुपमा हेर्छन् र जसको उल्लेख्य एकता नश्लहरु, जातिय समुहहरु वा राष्ट्रहरु भन्दा माथि छ।
४. दुवै समुदायले, सामुदायिक जीवन, बस्तुहरुको सामुदायिक भागबण्डालाई धेरै महत्त्व दिन्छन, र विखण्डीकरण, गुमनामी, अलगाव र आधुनिक सामाजिक जीवनको स्वार्थी प्रतिस्पर्धालाई आलोचना गर्छन्।
५. दुवै पुँजीवाद र आर्थिक उदारवादका सिद्धान्तहरुका आलोचक छन् ।
६. दुवैले भविष्यमा सम्पूर्ण मानव जातिको बीचमा न्याय र स्वतन्त्रता, शान्ति र बन्धुत्वपूर्ण राज्यको आशा गर्छन्।
जब मैले गरिबहरुलाई खाना दिएँ उनीहरुले मलाई सन्त भने। जब मैले गरिबहरु संग किन खाना छैन भनेर सोधे उनीहरुले मलाई कम्युनिस्ट भने।
लिबरेशन थियोलोजीका पक्षधर ब्राजिलियन कार्डिनल डोम हेलडर कामाराले एक पटक भनेका थिए- जब मैले गरिबहरुलाई खाना दिए उनीहरुले मलाई सन्त भने। जब मैले गरिबहरु संग किन खाना छैन भनेर सोधे उनीहरुले मलाई कम्युनिस्ट भने।
यो भनाइले मार्क्सवाद र लिबरेशन थियोलोजी बीचको सम्बन्धलाई प्रस्ट पार्छ। यो संगै एउटा अर्को प्रश्न पनि उठ्न सक्छ लिबरेशन थियोलोजिस्टहरू कुन प्रकारको मार्क्सवादबाट यिनीहरु प्रभावित थिए भन्ने ? लिबरेशन थियोलोजिस्टहरु सोभियत मार्क्सवाद, चीनिया मार्क्सवाद भन्दा पश्चिमी मार्क्सवाद भनिने युरोपको मार्क्सवादबाट प्रभावित थिए। लिबरेशन थियोलोजीका प्रवर्तक मानिने गुस्ताभो गुटिरेजको पुस्तक थियोलोजी अफ लिबरेशनमा सबै भन्दा बढी जर्मन मार्क्सवादी दार्शनिक एर्नेस्ट ब्लखलाई उधृत गरिएको छ। त्यस्तै अन्य युरोपियन मार्क्सवादी विद्वानहरु जस्तै अल्थासुर, ग्राम्शी, लुकाच आदिलाई पनि उद्धृत गरेको भेटिन्छ। तर सबैभन्दा महत्त्वपूर्ण चाहिँ ल्याटिन अमेरिकी मार्क्सवादीहरु रहेका छन्। जसमा पेरुमा जोसे कार्लोस मरियातेगी र परनिर्भरता सिद्धान्तका प्रवर्तकहरु आन्द्रे गुन्डर फ्र्यांकहरु रहेका छन्।
लिबरेशन थियोलोजिस्टहरु सोभियत मार्क्सवाद, चीनिया मार्क्सवाद भन्दा पश्चिमी मार्क्सवाद भनिने युरोपको मार्क्सवादबाट प्रभावित थिए।
लिबरेशन थियोलोजीका शहिद र सन्त
कोलोम्बियाका पादरी क्यमिलो टोरेसलाई लिबरेशन थियोलोजीका सुरुवाती प्रस्तावक मध्ये एक मानिन्छ। सन् १९२९ मा कोलम्बियामा एक सम्पन्न परिवारमा जन्मेका क्यामिलो टोरेसले बेल्जियमको क्याथोलिक युनिभर्सिटीबाट सामाजशास्त्रमा डिग्री हासिल गरेका थिए।
आफ्नो अध्ययन पुरा भएपछि क्यमिलो टोरेसले कोलम्बियाको राष्ट्रिय युनिभर्सिटीमा समाजशास्त्रको अध्यापन गर्न थाले। उनले कोलम्बियामा विद्यमान गरिबी र उत्पीडन देखेर आर्थिक, सामाजिक र राजनीतिक संरचनामा आमुल परिवर्तनको माग गरे। यो कुराहरु कोलम्बियाका परम्परागत उदारवादी र रुढिवादी पार्टीहरुले कहिले पनि स्वीकार्न र पूरा गर्न सक्दैन थिए।
टोरेस क्रान्ति चाहन्थे। त्यस्तो क्रान्ति, जसको माध्यमबाट त्यस्तो सरकार ल्याउन सकिन्छ– जसले भोकाहरुलाई खाना खुवाओस्, नाङ्गाहरुलाई कपडा दियोस्, अज्ञानीहरुलाई पढाओस् र सेवाभाव र भातृत्वपूर्ण प्रेमलाई अभ्यासमा ल्याओस्। क्यामिलो टोरेस आफ्नो सपनालाई साकार पार्न कोलम्बियाको बामपन्थी विद्रोही संगठन राष्ट्रिय मुक्ति मोर्चा (ELN) मा सामेल भए। र लड्दा लड्दै १९६६ मा शहिद भए। क्यमिलो टोरेस गुरिल्ला प्रिस्टको नामले प्रख्यात छन्।
टोरेस क्रान्ति चाहन्थे। त्यस्तो क्रान्ति, जसको माध्यमबाट त्यस्तो सरकार ल्याउन सकिन्छ– जसले भोकाहरुलाई खाना खुवाओस्, नाङ्गाहरुलाई कपडा दियोस्, अज्ञानीहरुलाई पढाओस् र सेवाभाव र भातृत्वपूर्ण प्रेमलाई अभ्यासमा ल्याओस्।
लिबरेशन थियोलोजीका अर्का महत्त्वपूर्ण व्यक्तित्व थिए एल साल्भाडोरका आर्चबिशप ओस्कार रोमेरो। उनी एल साल्भाडोरका गरिब र उत्पीडितहरुको अधिकार र सामाजिक न्यायका प्रखर प्रवक्ता थिए। त्यस बेला एल साल्भाडोरमा बामपन्थी बिद्रोहीहरु र सैन्य सत्ताका बीचमा गृहयुद्ध चलिरहेको थियो।
ओस्कार रोमेरोले २३ मार्च १९८० को दिन एल साल्भाडोरका सेनाहरुलाई भगवानको नाममा सरकारी दमन बन्द गर्न र आफ्ना भाई बहिनीहरुलाई मार्ने काम रोक्न अनुरोध गरे। भोलिपल्टै एउटा चर्चमा प्रवचन दिइरहेको बेला अज्ञात बन्दुकधारीहरुले गोली हानी उनको हत्या गरे। उनका हत्याराहरु सरकार समर्थक लडाकुहरु थिए। केही दिनपछि भएको उनको अन्तिम संस्कारमा समेत गोलीबारी गरिएको थियो जसमा दर्जनौ व्यक्तिको हत्या भएको थियो।
ओस्कार रोमेरोलाई भ्याटिकनले पछि सन्त घोषित गर्यो। पोप फ्रान्सिसले उनलाई १४ अक्टुबर २०१८ का दिन रोममा सन्त घोषित गरेका थिए।
लिबरेशन थियोलोजी र भ्याटिकनको अनुदारवादी चर्च
लिबरेशन थियोलोजीको उत्पतिसंगै रोमन क्याथोलिक चर्चभित्र तिब्र प्रतिक्रिया सुरु हुन थाल्यो। लिबरेशन थियोलोजिस्टहरु मुखर र सक्रिय भए तापनि उनीहरु ल्याटिन अमेरिकी चर्च क्याथोलिक जगतमा अल्पसंख्यक नै थिए। १९७० को दशकको अन्त्यतिर नयाँ पोप जोन पल द्वितीयले भ्याटिकनको पूरा शक्ति लिबरेशन थियोलोजीलाई दबाउन प्रयोग गर्न थाले। उनी मार्क्सवादका प्रखर विरोधी थिए।
उनका अनुसार ल्याटिन अमेरिकी धार्मिक क्रान्तिकारीहरुले हद नाघेका थिए। लिबेरेसन थियोलोजी विरुद्ध भ्याटिकनले आफ्नो अभियानको सुरुवात मेक्सिकोको सन् १९७८ मा भएको ल्याटिन अमेरिकी बिशप कन्फरेन्स बाट सुरु गर्यो। यस पछि भ्याटिकनले लिबरेशन थियोलोजीका विरोधी व्यक्तिहरुलाई चर्चका पदाधिकारीमा नियुक्ति दिन थाल्यो। यस्का साथै लिबरेशन थियोलोजीको आवाजलाई दबाउन समेत थाल्यो।
१९७० को दशकको अन्त्यतिर नयाँ पोप जोन पल द्वितीयले भ्याटिकनको पूरा शक्ति लिबरेशन थियोलोजीलाई दबाउन प्रयोग गर्न थाले। उनी मार्क्सवादका प्रखर विरोधी थिए।
यही प्रसंगमा त्यो समयको सर्वाधिक चर्चित घटना उल्लेख गर्दा अनुपयुक्त नहोला। सन् १९८३ मा पोप जोन पलले निकारागुवाको भ्रमण गरे। उनको भ्रमण त्यहाको बामपन्थी स्यान्डिनिस्टा सरकारको बिरोधमा रहेका अनुदारवादी आर्कविशपको समर्थनमा भएको थियो। त्यो भ्रमणको क्रममा पोपले स्यान्डिनिस्टा समर्थक भिडलाई हप्काउदै ३ पटक शान्त भन्दै चिच्याएका थिए।
लिबरेशन थियोलोजीको सान्दर्भिकता
ल्याटिन अमेरिकामा लिबरेशन थियोलोजीको प्रभाव सन् १९७० र ८० को दशकमा जस्तो कायम छैन। यसको प्रभाव पहिलाभन्दा अहिले धेरै घटिसकेको छ। तर यसले पारेको प्रभाव भने मामुली मान्न सकिन्न। ब्राजिलको सबै भन्दा ठुलो भूमिहीन श्रमिकहरुको संगठन (MST ) ले अझै पनि लिबरेसन थियोलोजीबाट प्रेरणा लिने गर्दछ। यो संगठनमा करिब १५ लाख सदस्यहरु रहेका छन्।
ब्राजिलको सबै भन्दा ठुलो भूमिहीन श्रमिकहरुको संगठन (MST ) ले अझै पनि लिबरेसन थियोलोजीबाट प्रेरणा लिने गर्दछ।
लिबेरेसन थियोलोजीबाटै प्रभावित हुँदै अमेरिकाका अस्वेत ब्ल्याक लिबरेशन थियोलोजी र भारतका दलितहरुले दलित लिबरेशन थियोलोजी सुरु गरे। लिबरेशन थियोलोजीकै कारण भ्याटिकनले सशंकित हुदै उसले उठाएका केही मुद्दाहरुको पक्षमा उभिन बाध्य भयो। लिबरेशन थियोलोजीलाई दबाउने अनेकौं प्रयास गरे पनि अन्तत भ्याटिकनले सन् २०१४ मा यस विचारधाराका प्रवर्तक गुस्ताभो गुटिरेजलाई रोममा भब्य स्वागत गर्यो । यसलाई लिबरेशन थियोलोजीको नैतिक जितको रुपमा हेर्न सकिन्छ। यतिबेला लिबरेशन थियोलोजीको प्रभाव कम भएता पनि उसले उत्पीडितहरुको मुक्ति र समतापूर्ण बिश्व बनाउन गरेको प्रयास अझै पनि सान्दर्भिक छ।
सन्दर्भ सामग्रीहरु
- Chasteen, J. C. (2016). Born in Blood and Fire: A Concise History of Latin America. W. W. Norton & Company.
- Gutierrez, G. (1988). A Theology of Liberation: History, Politics, and Salvation. Orbis Books.
- Lowy, M. (1988). Marxism and Liberation Theology. International Institute for Research and Education.
- Lowy, M. (1996). The War of Gods: Religion and Politics in Latin America. Verso.
मूलप्रवाहमा प्रकाशित
प्रतिक्रिया