भारतको चुनावी नतिजाः भोगिरहेको हालतविरुद्धको नेगेटिभ भोट
प्रत्येक व्यक्तिको जीवन र प्रत्येक देशको इतिहासमा एउटा क्षण यस्तो आउँछ, जस उसले भन्नुपर्ने हुन्छ– ‘अगाडि जे हुन्छ, हेरौंला तर यो हालतलाई अब हामी अरु धेरै सहन सक्दैनौं !”
व्यक्तिको जीवनमा यो क्षण तब आउँछ, जब उनी आफ्नो घर या शहरलाई छोड्ने निर्णय लिन्छन्, कुनै नयाँ नोकरी गर्छन या खाइपाइआएको नोकरी बदल्छन् या कुनै सम्बन्धमा जाने या कुनै सम्बन्धबाट अलग्गिने मन बताउछन् । तब उनीसामु यो स्पष्ट हुँदैन कि आगाडि के हुनेवाला छ । शायद अहिले जे छ, त्यसभन्दा पनि खराब नै होस् । तर पनि उनी फैसला लिन्छन् किनकि अहिले भोगिरहेको हालतका लागि उनको सहनशक्ति थाम्न नसक्ने भइसकेको हुन्छ ।
देशको इतिहासमा, विशेष गरेर संसदीय लोकतन्त्रको परिप्रेक्ष्यमा, यो क्षण तब आउँछ, जब चुनाव हुन्छ र जनता सरकार बदल्ने निर्णय लिन्छ । यो एउटा नेगेटिभ भोट हुन्छ । पोजेटिभ भोट कसैलाई जित्नका लागि दिइन्छ, नेगेटिभ भोट कसैलाई हटाउनका लागि । नेगेटिभ भोटमा सरकार बदल्नका लागि जोड दिइएको हुन्छ । अगाडि के हुन्छ, त्यसको ज्यादा चिन्ता हुँदैन । जनता सोच्छन् कि जे हुन्छ, हेरौंला । हालत अरु खराब भयो भने लोकतन्त्रका यिनै उपकरणहरु र संविधानका यिनै संस्थाहरुको मद्दतले त्यसलाई पनि बदल्ने कोशिश गरौंला । तर अवश्य पनि बदल्ने छौं । यथास्थितिलाई ने स्वीकारेर बस्नेवाला छैनौं ।
१९७७ मा देशका जनताले इन्दिरा गान्धीका विरुद्ध नेगेटिभ भोट दिएका थिए । तब जनतालाई यो कुराको चिन्ता थिएन कि राजनारायण प्रधानमन्त्री बन्नेछन् या चरण सिंह, यो मोरारजी देसाइ या अटलजी । इन्दिराजीलाई कुर्सीबाट हटाउनु थियो, पाठ सिकाउनु थियो, उनको अहंकारलाई तोड्नु थियो । मतदाताहरुले त्यसै गरे । तीन सालपछि फेरि तिनै इन्दिराजीलाई धूमधामसँग चुनेर ल्याए । जनता जान्दछन् देशको शासनमा बलियो नेताको के महत्व हुन्छ, स्थायी सरकार र पूर्ण बहुमतको के महत्व छ । तर जनता स्वयंलाई मूर्ख ठानिने मूल्यमा त्यसलाई स्वीकार्न सक्दैन ।
यस पटकको चुनावहरुमा पनि जनताले नेगेटिभ भोट दिएका छन् । को प्रधानमन्त्री बन्नेछन्, त्यसको परवाह छैन । तर कसैलाई पनि एक पटक फेरि पूर्ण बहुमतले प्रधानमन्त्री बन्न दिनु हुँदैन, यसमा जनताको बढी जोड रहेको छ । जनताले आफनो फैसला सुनाइदिएका छन् । जनादेश छर्लङ्ग र स्पष्ट छ !
पछिल्ला दिनहरुम केन्द्रको सत्ताले जुन तौरतरिकाहरुको परिचय दिए र चुनाव–अभियानका दौरानमा सत्ताका अग्रदूतहरुले जुन किसिमले भाषा–शैली, आचार–विचार, गतिमति देखाए, त्यसपछि उनीहरुलाई सत्तामा रहिरहने नैतिक अधिकार रहेन । उनीहरुले जे कुरा बोले, त्यो सामान्य थिएन र सभ्य समाजका स्वीकार गर्न सकिन्न । हुनसक्छ, उनीहरुले फेरि सरकार बनाउन् । तर जनताले उनीहरुलाई नकारेका छन् र यो कुरा अब इतिहासमा दर्ता भइसकेका छन् । अभिमानीको मानमर्दन गरिसकिएको छ । उनीहरुलाई क्षेत्रीय–क्षत्रपहरुलाई याचना गर्नुपर्ने अवस्थामा पुर्याइदिएको छ । विपक्षको आवाजलाई बुलन्द गरिदिइएको छ । जनताले आफ्नो काम गरिदिएका छन् । यो ऐतिहासिक जनादेश हो ।
अब तपाईं राष्ट्रिय सुरक्षा र बहुमतवाला बलियो सरकारको रोदन गरिरहनुस् । धेरै पुरानो कुरा होइन, जब फिरङ्गीहरु पनि भारतीयहरुलाई यही भन्ने गर्थे कि तिमीहरु त जाति, क्षेत्र, भाषामा विभाजित छौ, तिमीहरु एउटा देश कहा हौ र, तिमीहरु त राज्यहरुको संकलन हौ, हामी तिमीहरुलाई एकीकृत गर्छौं, हामीले तिमीहरुको यहाँ संस्थाहरु बनायौं, प्रणाली दियौं, संरचनाहरु बनायौं, रेल चलायौं । हामीलाई नै आफ्नो शासक मानेर बस । जनताले यसलाई इन्कार गरिदिए । भने, अरु जोसुकैको राज होस् तर हामी तिम्रो शासनमा बस्दैनौं । आफ्नो सरकार बनाउछौं, जसोतसो देश चलाउनेछौं तर तिम्रो छत्रछायाँमा बस्नेछैनौं ।
त्यसको नाम स्वतन्त्रताको लडाइँ थियो !
यो पनि स्वतन्त्रताको लडाइँ हो !
कुनै देशद्रोहीले मात्रै यसको विपरीत सोच्न सक्छ !
उनीहरु भनिरहेका छन्, हिन्दूहरुले नै हिन्दूहरुको शासकलाई परास्त गरेर उसको पीठमा छुरा घोपिदिएका छन् । उनीहरु यो जान्दैनन् कि हिन्दू केवल सवर्ण, वैष्णव, मूर्तिपूजक, अवतारवादी मात्रै हुँदैनन्, हिन्दू दलितन, आदिवासी, निषाद, किरात, शैव, द्रविड, अनिश्वरवादी पनि हुन्छन् । अनि भारत हिन्दूहरुको मात्रै होइन, मुसलमान, यहुदी, इसाइ, जैन, बौद्ध, पारसी, सिखहरुको पनि देश हो ।
यो सवर्ण हिन्दू वर्चस्ववाद, बहुसंख्यकवाद नै त झडडाको जड हो, त्यसैको विरुद्ध त जनताले फैसला सुनाएका छन् । अनि जुन फैसला सुनाएका छन्, त्यो भित्तामा लेखिएको वाक्य जस्तै प्रष्ट छ । आँखा नदेख्नेहरुले मात्रै यसलाई नबुझ्ने भूल गर्न सक्छ !
प्रतिक्रिया