नीति, नैतिकता र शिखरनाथको आलु !
नीतिको अभिप्रायगत अर्थ सभ्य मानव जीवनको सुविचारित बाटो हो । पूर्वीय विद्वान् कतिले यसलाई सहज र सर्वग्राह्य बनाउन सामान्य नीति नाम दिएका थिए । कतिले मानवनीति र मानव धर्म जस्ता शब्द पनि अघि सारे । समाज विकासका क्रममा आ–आाफ्ना अनुभूति र आवश्यकताबोधका आधारमा विभिन्न नीतिहरु बने । जस्तै शुक्रनीति, वृहस्पति नीति, विदुरनीति, कणिकनीति, चाणक्यनीति आदि ।
पूर्वीय काव्य महाकाव्यहरुमा पनि सन्दर्भ मिलाएर नीति समावेश गरिनु वान्छनीय मानिएको पाइन्छ । संस्कृत महाकाव्यकार भारवि र माघ यस क्षेत्रमा अग्रणी मानिन्छन् । पुराना साहित्यशास्त्रमा नीतिलाई विकृति विसङ्गतिबाट मानिस मात्रलाई जोगाउने व्यवहार ज्ञान पनि भनिएको छ । यसरी नीतिले नीतिशास्त्रको रुपमा विकसित हुनु अघि यसबारे धेरै विमर्शहरु भएका साक्ष्यहरु इतिहासमा पढ्न पान्छन् ।
संस्कृत भाषाको आदिकाव्य भनिने वाल्मीकि रामायणको प्रथम अध्यायमा रामको व्यक्तित्व वर्णन गर्ने क्रममा विशेषणका रुपमा नीति शब्दको प्रयोग भएको पाइन्छ । “बुद्धिमान् ‘नीतिवान्’ वाग्मी श्रीमान् शत्रुनिवर्हण:।” नीतिवान् अर्थात् नीति अनुसार आचार विचार भएका आदर्श व्यक्तित्व ।
आजको समाजमा नीति शब्दको एउटा प्रचलित अर्थ दाउपेच पनि हो । यो स्वाभाविक नभएर व्यवहारले उब्जाएको लाक्षणिक एवम् व्यन्जनात्मक अर्थ हो जस्तो लाग्छ । नीतिको स्वाभाविक अर्थ त जीवनको सही बाटो नै हो । नीतिबाट नैतिकता बन्छ । निश्चित नीति अनुसार चल्नु नै नैतिकता हो । नीति अनुसार नचल्ने मानिसलाई अनैतिक भन्ने गरिन्छ ।
कानून बनाएर गरे पछि जे पनि उचित हुन्छ भन्ने अत्याधुनिक ‘प्रजातान्त्रिक स्थापना’ले अहिले नेपालमा नीति र नैतिकता शब्दको इज्जत निमिट्यान्न पारेको छ ।
मानव इतिहासले के सावित गरेको छ भने नीति अटल, अपरिवर्तनीय र सर्वग्राह्य निश्चिति भने होइन । यो ठाउँ, समुदाय र समयगत आवश्यकता अनुसार फरक फरक हुन सक्छ । बेला बेला बदलिन सक्छ । समाजले अपनाएका स्थितिमा नीति एक किसिमको कानून नै हो । कति कानूनका प्रावधानहरु समाजका परम्परागत र प्रचलित नीतिका आधारमा बनेका हुन्छन् । सवै नीतिहरु वाध्यात्मक कानून भने बनेका हुँदैनन् र पनि नीति अनुकूल आचरण नगर्नेलाई अनैतिक भनिन्छ । अनैतिक भनिनु कुनै पनि सभ्य समाजमा इज्जतको कुरा होइन ।
कानून बनाएर गरे पछि जे पनि उचित हुन्छ भन्ने अत्याधुनिक ‘प्रजातान्त्रिक स्थापना’ले अहिले नेपालमा नीति र नैतिकता शब्दको इज्जत निमिट्यान्न पारेको छ । कानून बनाउने, भ्रष्टाचार गर्ने र अकूत सम्पत्ति कमाउने सत्तासीन राजनीतिक नेतृत्वले गिरिबन्धु टी स्टेट, बालुवाटारको सरकारी जग्गा बेचबिखनजस्ता अरबौं रकम भष्टाचारका विराधस्मारक काण्डहरु घटित गराएपछि समाजमा एउटा नयाँ शब्दसंयोजन चलन चल्तीमा आएको छ—नीतिगत भ्रष्टाचार । नीति नै भ्रष्टाचारमा मुछिएपछि अव प्रचलित नीति शब्दको अर्थ के हुने ? अथवा नीतिका अनेकौँ किसिमहरु हुने कि ? जस्तै सदाचार नीति, लोकाचार नीति, दुराचार नीति, अत्याचार नीति, भ्रष्टाचार नीति, माफियाचारनीति, दलाल नीति, फरार नीति आदि । राजनीति, अर्थनीति, कूटनीति, विदेशनीति भूराजनीति जस्ता शब्दहरु त चलन चल्तीमा आइसकेकै छन् । लाग्छ परम्परागत अर्थोत्कर्ष सकिएर अव नीति शब्द साँच्चिकै ‘आलु’ बनिसकेको छ । जेसँग मिसाए पनि हुने मध्यकालीन कवि शिखरनाथको आलु । जस्तै—
तर्कारीमध्य मीठो तरुल बनको ओल तामा पिँडालु ।
रानीटूसा करेला सबसित मिलन्या मध्य सर्दार आलु ।।
प्रतिक्रिया