साहित्यको महत्ता

कमजोर र पछौटे मुलुकका जनता जतिसुकै सबल र स्वस्थ भए पनि तिनलाई त्यस्तै दारुण दृश्यका सिकार वा मुकदर्शक साक्षी बनाइन्छ

लु सुन (१८८१-१९३६) । आधुनिक चीनका महान प्रगतिवादी साहित्यकार ।

उनका हजुर बुवा पैचिङमा सरकारी नोकरी गर्दथे । उसबेला मध्यम वर्गीय परिवारमा सरकारी नोकरीमा विशेष आकर्षण थियो । बुवा विद्वान थिए तर सरकारी नोकरीमा थिएनन् । आमा ग्रामीण महिला भएर पनि पढे लेखेकी थिइन् । उनी तेह्र वर्षका हुँदा हजुर बुवा जेल परे । उसबेला चीनमा सामन्तवादको विघटनको प्रकृया तीब्र भइरहेको थियो र वाह्य साम्राज्यवादी शक्तिको थिचोमिचो र दवाब पनि बढ्दै गइरहेको थियो । उतिखेर प्रचलित रहेको छिन बंश झन झन भ्रष्ट र शक्तिहीन बन्दै गइरहेको थियो । त्यो थिचोमिचो र दवाव बढाउदै लगिरहेको साम्राज्यवादी शक्तिको प्रतिवाद गर्नुको साटो तुष्टीकरण गर्न दलाली गर्ने गर्दथ्यो ।

लु सुनको तेह्र र सत्र वर्षको उमेरको बिचमा उनका बुवा बिरामी परे । नजिकै फार्मेशीमा औषधि लिन उनी गइरहन्थे । औषधि पसले उनलाई हेलाहोचो अर्घेलो गर्ने गर्दथ्यो । बुवा झन झन सिकिस्त हुँदै गए र अन्तत: तीन वर्ष पछि जीवन त्याग गरे । औषधि खर्चको बोझले उनीहरुलाई थिच्दै लग्यो । यहींबाट उनलाई एक दिन डाक्टर बन्ने सपना जागृत भयो ।

सत्र वर्षको उमेरसम्म उनले आफ्नो जन्म थलो शाङघाई नजिकैको चेचियाङ प्रान्तको शाओसिन गाउँमै बिताए ।

छ वर्षको उमेरमा लु सुन स्कुलमा भर्ना भए र बिचको बाह्र  वर्ष क्रमश: शास्त्रीय शिक्षा हासिल गरे ।

उनको आफ्नै आँखाको सामुन्ने जे जस्ता घटना उद्घाटित हुँदै जान थाले, त्यसको गहिरो प्रभाव उनमा पर्न थाल्यो । बिस्तारै नोकरी खाएर आफ्नो जीवन गुजरा गर्ने  आफ्ना पुर्खा या   समकालीन चलनचल्तिमा उनको रुचि रहेन ।

अठार वर्षको उमेरमा आमाले ऋणपान गरेर जोहो गरेको खर्च लिएर उनी नानचिङको नेभल एकेडेमीमा भर्ना भए । अर्को वर्ष नजिकैको रेल्वे तथा खानीसम्बन्धी अध्ययन अध्यापन गरिने स्कुलमा सरुवा भए ।  सन १९०० मा आठ वटा साम्राज्यवादी शक्ति मिलेर बनेको संयुक्त सेनाले पेइचिङमा आक्रमण गर्यो । त्यसको एक वर्षपछि चीनमाथि अपमानजनक सन्धि थोपरियो । यसले उनमा विद्रोही भावना झन उराल्ने काम गर्यो ।

सन् १९०१मा लु सुनले रेलवे तथा खानी स्कुलबाट स्नातक गरे । अर्को वर्ष उनले जापानमा चिकित्सा शास्त्र पढ्ने सरकारी छात्रवृत्ति पाए र जापानको सेन्दाईमा रहेको मेडिकल कलेजमा भर्ना भए । उनी त्यहाँ यस सोंचले गए कि चिकित्सा शास्त्रको अध्ययनले यता चीनमा चलिरहेको क्रान्तिकारी आन्दोलनलाई अन्तत: टेवा पुग्ने छ । त्यहाँ पुगेर अध्ययन गर्दै गरेको दुई वर्ष मात्रै के बितेको थियो, उनको जीवनमा एक घटना घट्यो । रुस-जापान बिच युद्ध चलिरहेको थियो । उनी समाचारमा एक फोटोग्राफिक स्लाइड देख्न पुग्छन् ।  त्यसमा दलित चिनियाँलाई लछार-पछार गरिएको थियो । यसले उनको मनमा नराम्रो चोट लाग्यो । केही दिनपछि  नै उनले मेडिकल कलेज छोडिदिए । उनले पढ्दा पढ्दैको पढाइ, उसमा पनि चिकित्सा शास्त्र, किन छोडे भन्ने बारेमा उनी आफैँले लेखेका छन् :

'यस स्लाइडले मलाई चिकित्सा शास्त्र अन्तत: त्यस्तो महत्त्वपूर्ण विषय होइन भन्ने कुरामा पुरै आश्वस्त गरायो । कमजोर र पछौटे मुलुकका जनता जतिसुकै सबल र स्वस्थ भए पनि तिनलाई त्यस्तै दारुण दृश्यका सिकार वा मुकदर्शक साक्षी बनाइन्छ । तिनिहरुमध्ये धेरै जसो बिरामी परेर भटाभट मरे भने पनि उस्तो दुखद घटना मानिँदैन । त्यसैले सबै भन्दा ठूलो कुरो भनेको तिनको चेतना जगाउनु हो । त्यहीबेलादेखि मैले के महसूस गरें भने जनतालाई जागृत गर्ने सबै भन्दा उत्तम साधन भनेको साहित्य हो । अनि भने म साहित्यिक आन्दोलनलाई प्रवर्धन गर्न लागें ।'

Image source: https://www.madhyamam.com