शिक्षामा क्रान्ति ल्याउने कोसिसहरु
शिक्षा किन ? शिक्षक को हो ? विद्यार्थी को हो ? विद्यालय कस्तो हुनुपर्छ ? जसले सही औपचारिक शिक्षा, छोटो समयमा दिएर, असल मानिस बनाउन सकियोस् ! अनि सिकाइ जीवन बनोस् र पुरै जीवन सिकाइ रहोस् ।
“गुरु” शब्दको अर्थ अन्धकार हटाइदिने व्यक्ति हुन्छ । गुरुकुल भन्नाले गुरुको परिवार बुझिन्छ । गुरु त्यो व्यक्ति हो जसले शिष्यको भविष्यलाई आजै छुन सक्दछ । दार्शनिक एनाटोल फ्रान्स भन्छन् – शिक्षण पेशामा दश पुर्णाङ्कमा नौ सम्म चाहिँ उत्साह भर्ने र उत्प्रेरणा जगाउने काम नै हो । बाँकी मात्र विषयगत कुरा सिकाउने हो ।
पढाउनु भनेको दुई पटक कम्तिमा आफैंले पढ्नु वा सिक्नु हो । अर्थात, शिक्षक सधैं धारिलो बनिरहनु हो । त्यो धार बिषयको होइन, भावनाको हो । हामी दुवै धार कत्तिको लगाइरहेकाछौं त ?
ओ स्यान्टम लेख्छन्– शिक्षण, बिषयवस्तु भर्ने (filling) थोरै र भावना जगाउने (feeling) धेरै हो । भावना मार्ने होइन, त्यसलाई अझ बलियो बनाउन झन् मलजल गरेर सपार्ने हो । सो भावना बलियो बनाउन, शिष्यको मुटुभित्र नै पस्नु पर्छ, बस्नु पर्छ । अर्को शब्दमा भन्ने हो भने पढाउनु भनेको दुई पटक कम्तिमा आफैंले पढ्नु वा सिक्नु हो । अर्थात, शिक्षक सधैं धारिलो बनिरहनु हो । त्यो धार बिषयको होइन, भावनाको हो । हामी दुवै धार कत्तिको लगाइरहेकाछौं त ?
देशव्यापी पालिकाहरु भ्रमणको क्रममा धेरैजना शिक्षक तथा प्रधानाध्यापकहरुलाई केही साधारण प्रश्न सोध्दा सटिक उत्तर आएन । सिकाइका सामान्य सिद्धान्त तथा विगतमा विज्ञहरुले गरेको प्रयोगको बारेमा धेरैजना जानकार नभएको पाएपछि यो आलेखको बिज रोपियो । विगतको ज्ञान र वर्तमानको अनुभवले नै भविष्यको पद्धति र नीतिको रुपरेखा कोर्ने हो । यसमा हामी धेरै नै चुक्यौं ।
थाहा नभइनहुने कुरा धेरै नै थियो । देशभरका सबै शिक्षकहरुको लागि र सबैभन्दा बढी आफ्नै लागि । सिक्ने कसरी ? सिकाउने कसरी ? कस्ले कहिले के के गरे ? आज हामी कसो गर्ने ? भोलि सिक्ने र सिकाउने कस्तो होला ? शिक्षण ५० प्रतिशत विज्ञान मान्ने हो भने, अर्को ५० प्रतिशत यो कला हो । विज्ञानमा हामी कता ? कलामा हामी कता छौं त ? आफैंलाई प्रश्न गर्दै, केही विगतका प्रयोगहरु पछ्याउने प्रयास ।
१. व्यवहारमा केन्द्रित शिक्षा र प्याभ्लोभको कुकुरमा प्रयोग
व्यवहारवादी (behaviourism) शिक्षाविद्हरु भन्छन् कि सिकाइ कुनै पनि कार्यलाई निरन्तर दोहोर्याइरह्यो भने हुन्छ । त्यसमा पुरस्कार तथा सजायले पनि थप छिटो बनाउँछ । पुरस्कार सकारात्मक उत्प्रेरक बन्छ भने सजाय नकारात्मक । तर दुवैले सिकाइलाई प्रवर्धन गर्छन् ।
इभान प्याभ्लभ रसियाका नोबल पुरस्कार बिजेता डाक्टर थिए । उनले पहिले जर्मनीमा बसेर र पछि रसियामा पनि कुकुरहरुमा निकै प्रयोग गरे । सधैं कुकुरलाई एकै समयमा खाना दिइने गरियो । खाना देख्ने बित्तिकै कुकुरको र्याल चुहिन थाल्थ्यो । केही समयपछि त्यसमा कन्डिसनिङ्ग लगाइयो । खाना दिने समय भएपछि पहिले घन्टी बजाउन थालियो र मात्र खाना दिने गरियो । यो प्रकृया केही समय दोहोर्याएपछि घन्टी बज्ने बित्तिकै कुकुरको र्याल चुहिन थाल्यो । खासमा घन्टी नै त र्याल चुहाउने उत्प्रेरक होइन तर बारम्बार दोहोर्यायो भने उत्प्रेरक पनि परिवर्तन गर्न सकिन्छ भनेर यो प्रयोगले प्रमाणित गर्यो । यो प्रयोग पछि क्लासिकल कन्डिसनिङ्ग भनेर प्रख्यात भयो । यो बिधिलाई पछि कक्षाकोठामा बालबालिकालाई सिकाउन पनि प्रयोग हुन थाल्यो ।
पुरस्कार सकारात्मक उत्प्रेरक बन्छ भने सजाय नकारात्मक । तर दुवैले सिकाइलाई प्रवर्धन गर्छन् ।
यो धारका शैक्षिक हस्तीहरु सोच्थे कि एक बालक जन्मिँदा खाली पाटी जस्तै जन्मन्छ र त्यसमा बिस्तारै सुचना र ज्ञानहरु भर्दै र लेख्दै जानुपर्छ । बिद्यार्थीहरुसँग जति क्रिया र प्रतिक्रियामा संलग्न भइन्छ, र त्यसलाई बारम्बार दोहोर्यायो भने नयाँ सिकाइ हुनथाल्छ । उदाहरणमा कुकुरले घन्टी बजेपछि नै र्याल चुहाउन थाल्यो किनकि उसले बारम्बार सोही कुरा दोहोर्याएपछि बुझ्यो कि घन्टी लागेपछि अब खानेकुरा पनि आउँछ । अब हामीले यो बिधिलाई कसरी कसरी कक्षाकोठामा प्रयोग गर्न सकिन्छ भनेर अनेक क्रियाकलापहरु तयार गर्न सक्छौं । खाना नदेखाइ, आवाजले नै र्याल निकाल्न सकिन्छ भने सिधा रुपमा पाठमा नै हामनफालिकन अर्को कुन माध्यमबाट सो पाठ हामी सिकाउन सक्छौं ? कुन नयाँ तथा सिर्जनसिल कुरा गरेर पनि त्यो पाठ बुझाउन सकिएला ?
२. वुल्फनङ्ग कोलर, जिन पिगेट र संज्ञानात्मक सिकाइ
जर्मनीका कोलरका अनुसार व्यवहार परिवर्तन गराउने उत्प्रेरक मात्र होइन, बालबालिकाहरु हरेक सुचनालाई दिमागमा खेलाउँछन्, चलाउँछन्, पहिले बुझिसकेको केही कुराहरुसँग दाँजेर, भिडाएर अनि मुल्यांकन गरेर अर्को नयाँ थपथाप गरेर पनि बुझ्न सक्छन् भने । यो धारका अर्का शैक्षिक हस्ती थिए जिन पिगेट । कुनै पनि शिक्षकले कुनै पनि पाठलाई बाहिरको अर्को कुरासँग वा मिल्दोजुल्दो यथार्थको उदाहरणसँग दाँजेर पनि सिकाउन सक्छन् । त्यसमा छलफल र उदाहरण दिँदा विद्यार्थीको दिमागमा सुचनाहरुको अनेक तवरबाट भित्र प्रशोधन भइराखेको हुन्छ र त्यसले नयाँ बुझाई र ज्ञानको निर्माण गर्दछ भन्ने हो ।
जिन पिगेटले आफ्नो अवधारणालाई सरल तवरबाट बुझाएका छन् । पहिला बालबालिकाले आफ्नो वरिपरिको हरेक कुराको एक प्राथमिक अवधारणा बनाउँदछन् । उनीहरुले जब त्यो सुचना वा ज्ञानलाई अर्को कुनै निर्णय गर्न वा नयाँ ठाउँमा पनि जोडेर प्रयोगमा ल्याउन थाल्छन् भने त्यसलाई उनले आत्मसात गरेको भने । यसरी त्यो समस्या समाधान भएपछि बालबालिका फेरी पहिलेको प्राथमिक अवधारणाको पोखरीमा नै आइपुग्छन् । यसरी हरेक समस्यासँगै अवधारणा (schemas) र त्यसको आत्मसात (assimliation) चलिनैरहन्छ । यसरी उनी यो संज्ञानात्मक सिकाइको विकास (cognitive development) चार तह पार गर्दै जान्छ भन्छन् । पहिलो तह सेन्सरीमोटर हो, जसमा जन्मदेखि २ वर्षको उमेरसम्ममा बालबालिकाले प्राथमिक अवधारणाहरु मात्र बनाउँदै जान्छन् । दोस्रो प्रिअपरेसनल स्टेज, २ वर्षदेखि ७ वर्ष सम्ममा उनीहरुले कुनै पनि शब्द वा चीजको आलंकारिक भाव वा अर्थ पनि लगाउन सक्ने हुन्छन् ।
अर्को कन्क्रिट अपरेसनल (concrete operational) स्टेज हो । यसमा ७ वर्ष देखि ११ वर्षसम्मको उमेरका बालबालिका पर्छन् । यस अवस्थामा उनीहरु स्थुल सँगै भावको पनि गहनता बुझ्न सक्ने हुन्छन् ।
यस कुरालाई व्याख्या गर्नको लागि पिगेटले एक लिटर पानी दुई भिन्न भिन्न आकारका भाँडाहरुमा हालेर राखे । बिद्यार्थीहरुले सजिलै अन्दाज लगाए कि भाँडाको आकार मात्र फरक हो तर दुवै भाँडामा बराबर पानी हुनपर्छ भने । यसको अर्थ हुन्छ कि यो उमेर सम्म आइपुग्दा हाम्रा बाबुनानीहरु कुनै पनि समस्याको गहिरो भाव र त्यसको अनेक अर्थ पनि लगाउन सक्ने भइसकेका हुन्छन् । यो उमेर सम्मका बालबालिकालाई हामीले साना नै छन् भन्ने सोचेर सबैकुरा आफैं गरिदिने होइन । उनीहरु एक पूर्ण वयस्क अवस्थाको शुरुवातमा गइसकेका हुन्छन् । उनीहरुलाई आफैं प्रयोग गर्न दिँदै, आफ्नो मुल्याँकन पनि आफैं गर्न दिँदा उत्तम हुन्छ भनेर पिगेटले ठाने ।
चौथो तथा परिपक्वताको संकेतको अवस्था, फर्मल अपरेसनल भनिएको छ । ११ वर्षदेखि माथि हरेक बालबालिका जस्तो पनि समस्याको भाव बुझ्ने, तार्किक क्षमता राख्ने र त्यसको सही निर्णय पनि लिन सक्ने अवस्थामा पुग्न थाल्छन् । उनीहरु आफ्नो जिम्मेवारी पुर्ण रुपमा निर्वाह गर्न सक्ने बन्दछन् । हो पनि, यो उमेर देखी, केटा हुन् वा केटी, दुवैको शारिरीक तथा मानसिक अवस्थाहरु पनि परिवर्तन हुन थाल्छ । शरिरमा अनेक वयस्कतालाई उमार्ने हार्मोनहरुको उत्पादन पनि हुन थाल्छ । उनीहरु अब बालसुलभ चञ्चलता र निर्दोषपना त्यागेर एक पूर्ण र वयस्क मानिस बन्न तिर लम्कन्छन् । प्रजनन् क्षमताको विकास शुरु हुनु पनि यसको बलियो संकेत दिनु हो ।
३. जोन स्वेलर र वर्किङ्ग मेमोरी
यसरी जिन पिगेटको जगमा टेकेर पछि सन् १९८८ मा अष्ट्रेलियाका जोन स्वेलरले (john swlleer) कग्निटिभ लोड थिअरी (cognitive load theory) ल्याए । उनले भने कि जति हामी बालबालिकाको छोटो मेमारीलाई भार दिन्छौं, त्यति उनीहरुको सिर्जनशिलता र दीर्घकालीन खुसी र खुवी निमोठिरहेका हुन्छौं ।
जसरी कम्प्युटरमा धेरैवटा फाइलहरु एकैसाथ खोल्यो भने त्यसमा काम गर्न ढिलो हुन्छ । कम्प्युटरमै भार पर्छ । प्रोसेसरलाई निचोर्छ । त्यस्तै, बालबालिकामा पनि दीर्घकालको लागी असर हुन्छ । त्यसमा पनि मानिसको दिमाग यस्तो ७०० टेराबाइटको हार्ड डिस्क हो जसको भण्डारण क्षमता अथाह छ तर प्रोसेसर निकै सुस्त हुन्छ भनिन्छ ।
हामी वर्किङ्ग मेमोरीमा अल्झाएर दीर्घकालको लागी मन्द बिष खुवाइरहेका छौं । हाम्रा ४५ मिनेटका घन्टीहरुमा प्राय सबै तिर्खाएकाहरुलाई जिब्रोमा पानी छर्किने काम मात्र भइरहेको छ भनेर बुझे हुन्छ ।
आज हामी हरेक स्कुल र कक्षामा त्यै छोटो स्मरण गर्ने गराउने कुरामा अल्झेर र अल्झाएर शिक्षण र सिकाइ गरिरहेको छौं । वर्किङ्ग मेमोरीमा अल्झाएर धेरै वर्ष बिताएपछि त्यो बच्चाको लङ्गटर्म मेमोरी बिस्तारै अपाङ्ग बन्दै जान्छ । यसको अर्थ हामी वर्किङ्ग मेमोरीमा अल्झाएर दीर्घकालको लागी मन्द बिष खुवाइरहेका छौं । हाम्रा ४५ मिनेटका घन्टीहरुमा प्राय सबै तिर्खाएकाहरुलाई जिब्रोमा पानी छर्किने काम मात्र भइरहेको छ भनेर बुझे हुन्छ । विकल्प खोजौं । समाधान रोजौं ।
४. लेभ सेम्योनोभिच भाइगोत्स्की र सामाजिक संरचनाको सिकाइमा भुमिका
भाइगोत्स्की रसियाका एक प्रसिद्ध मनोविद् थिए । उनले लेखेको पुस्तक थिङ्किङ्ग एन्ड स्पिच र अरु सबै लेखहरु स्टालिनको मृत्यु नहुञ्जेल, सन् १९५३ सम्म, रसियामा निषेध गरिएको थियो । त्यसको मुल कारण उनको सिकाइको परिभाषामा समाज र त्यसको समग्र वातावरणले पार्ने प्रभावको गहन ब्याख्या थियो । पिगेटले उमेरसँगै सिकाइमा संज्ञानात्मक प्रभाव पर्छ भनेका थिए भने भाइगोत्स्कीले उमेरको संरचनाले मात्र नभएर त्यो बालक हुर्केको समाज, त्यसको संस्कार, चालचलन, भाषा, धर्म, संस्कृतिको अझ ठूलो प्रभाव पर्छ भने । आफूभन्दा ठूला वा गुरुहरु वा आफ्ना समकक्षी साथीहरु वा आफुभन्दा साना सबैबाट नै बालबालिकाले नयाँ कुराहरु सिकिरहेका हुन्छन् भनेर उनले समाजको माहौलमा जोड दिए । रसियाको साम्यवादी कम्युनिष्टहरुलाई यो कुरो मन परेन र उनका सबै खोज तथा अनुसन्धानहरुलाई त्यो समयमा प्रकाशन गर्न बर्जित गरियो ।
भाइगोत्स्कीले उमेरको संरचनाले मात्र नभएर त्यो बालक हुर्केको समाज, त्यसको संस्कार, चालचलन, भाषा, धर्म, संस्कृतिको अझ ठूलो प्रभाव पर्छ भने ।
भाषाको माध्यमबाट बालबालिकाले बाहिरको सामाजिक अवस्थालाई बिस्तारै बुझ्न थाल्छन् र भित्री मनन् तथा आन्तरिकिकरण गर्न थाल्छन् । यो अवस्थामा, उनीहरुले एक ज्ञानको चाङ्गं बनाइरहेका हुन्छन् । त्यस ज्ञानको वा सुचनाहरुको चाङ्गभित्र अनेक प्रकारका संश्लेषण र विश्लेषणहरु चल्दै गएपछि बालबालिकाले बिस्तारै आफ्नो मत र तर्क बनाउँदै जान्छन् । आफूभन्दा जान्ने अरुले भनेका र गरेका कुराहरु केलाउँदै र बुन्दै गएपछि आफ्नै निचोड निकाल्न सक्ने पनि बन्दै जान्छन् ।
अरु जान्नेसुन्नेको सहयोगमा १२ बर्षमा गर्न सक्ने र बुझ्न र सिक्न सक्ने कुरोलाई ९ वर्षमा नै गर्न सक्छन् । यदि त्यसो भयो भने त्यो ३ बर्षको बचत समयलाई उनले Zone of Proximal Development(ZPD) भने । आफुलाई सिकाइमा सहयोग गर्ने सबैलाई उनले More Knowledgable Other(MKO) भनेर भने । त्यसरी बालबालिकाले बनाउँदै लगेको ज्ञान र सिकाइको चाङ्गलाई उनले Scaffolding भने ।
यसरी उनले समाज र त्यसको संस्कारले बालबालिकाको सिकाइमा बिचौलिया वा मध्यस्थकर्ताको भुमिका खेल्दछ भने । शारिरीक बनावट र उमेर अनुसार सिकाइको चरण पार हुँदै जान्छ भन्ने पिगेटको भनाइलाई खण्डन गर्दै भाइगोत्स्कीले भाषा र सामाजिक तथा सास्कृतिक प्रभावले नयाँ नयाँ ज्ञानको खुड्किलो तयार पार्छ भनेर जोड लगाए । हामीले कक्षाकोठामा यो प्रभावको बारेमा कसरी केलाउँदै छौं ? यसको लागी नयाँ नयाँ क्रियाकलाप कसरी बनाएर सिकाइलाई बढावा दिइरहेका छौं त ? बुझ्न र मनन् गर्न जरुरी छ ।
यसरी संज्ञानात्मक विकासमा सामाजिक सिकाइको प्रभाव, उमेर र शारिरीक विकासले ल्याउने प्रभावभन्दा बलियो हुन्छ । त्यसैले त सिकाइ फरक फरक समाज र संस्कारमा फरक फरक हुन्छ । सामाजिक संरचना र त्यसको संस्कारले ज्ञानको दायरा फराकिलो बनाउँदै लगेको हुन्छ । समाजको प्रभाव गहिरो हुँदै गएपछि बालबालिकाको व्यक्तिगत तर्क भन्दा समाजले भरिदिएको सामाजिक तर्क बढि बलियो बन्दै जान्छ । त्यसैले त शुरुको अवस्थामा बालबालिकालाई समाजका अनेक क्रियाकलापहरुमा सहभागी गराउनु पर्छ ताकि उनीहरुको सामाजिक क्षितिज फराकिलो बन्दै जान्छ ।
बाह्र घन्टा स्कुल र कक्षामा थुनेर सुगा रटाएपछि, त्यो बालकले कता समाज बुझोस् ? अझ, त्यसमा पनि गृहकार्यको भारले उसले राम्ररी सुत्न पनि पाउँदैन ।
तर अफसोच, हामी तिनै बालबालिकालाई चार पर्खाल बाहिर निस्कनै दिँदैनौं । थुनेर र खुट्टा बाँधेर राख्छौं र दौड भनेर निर्देशन दिन्छौं । बाह्र घन्टा स्कुल र कक्षामा थुनेर सुगा रटाएपछि, त्यो बालकले कता समाज बुझोस् ? अझ, त्यसमा पनि गृहकार्यको भारले उसले राम्ररी सुत्न पनि पाउँदैन । दिनमा सिर्जनशिलता मारिदिने अनि रातको निन्द्रा पनि चोर्ने ! कुरो जटिल छ । आज बालबालिका समाज हैन, भित्ता पढ्छन् अनि थप, घोप्टो परेर मोबाइल पढ्छन् । त्यै बुझ्छन् । भर्चुअल मात्र बुझे पछि, यथार्थ र त्यो काल्पनिकताको बिचमा निकै ठूलो फरक रहन्छ । सही जीवन बुझाई र सिकाइ पटक्कै हुन्न । बुझ्ने एउटा र यथार्थको जीवनमा गर्ने अर्कै निस्कन्छ वा गर्न पर्छ । यो खाडलले हरेक बालबालिकामा नयाँ तनाव सिर्जना गरिरहेको छ । समाधान खोज्ने कस्ले ? र कसरी ?
५. बेन्जामिन ब्लुम र उनको सात पिरामिड
नेपालका गुणस्तरवेत्ता दिनेश चापागाई, स्व राजकुमार महर्जन तथा गोल्डनगेट स्कुलका संस्थापक प्राचार्य शिंह लामा सरहरुको संगत र वहाँहरुको खोजसँग जोडिँदै जाँदा ब्लुम र हवार्ड गार्डनरको प्रतिभाका आठ क्षेत्रहरुको बारेमा साक्षर बन्दै गएको थिएँ । ब्लुम एक अमेरिकन मनोविद् थिए । उनले सिकाइ फगत सार्ने र नक्कल गर्नेबाट भर्याङ्ग उक्लँदै अझ उच्चस्तरमा जाँदा उत्तम भनेर वकालत गरे । सार्न लाउने र सार्ने सबैभन्दा निच सिकाइ तरिका हो र आफैं सिर्जना गर्न सिकाउने प्रकृया सबैभन्दा उत्तम हो भनेर सरल तरिकाले बुझाउँदै त्यसै अनुसारको पाठ्यक्रम र क्रियाकलापहरु तयार गरेर सिकाउन सबै गुरुबा अनि गुरुआमाहरुलाई सिकाए ।
सन् १९५६ मा उनले पहिलो धारणा प्रस्तुत गरेका थिए भने त्यो सिद्धान्तलाई पछि निकैजनाले परिष्कृत तथा परिमार्जन गर्दै लगेका थिए । त्यसमा सबैभन्दा बढी श्रेय डेभिड क्राथवल, लरिन एन्डरसन र एन ह्यारोलाई जान्छ । एन्डरसन, ब्लुमका शिष्य नै थिए । आज पनि यो मोडललाई अक्षरस पालन गर्दै हरेक पाठ पढाउन थाल्ने हो भने शिक्षामा छिटै आमुल परिवर्त देखापर्न थालिहाल्छ ।
६. रोवर्ट मिल्स गाग्ने र पाठका उद्देश्यहरु
गाग्ने अमेरिकी शैक्षिक मनोवेत्ता थिए । उनले कुनै पनि उद्देश्य अनुरुप नै पाठहरुको तयारी गर्दै पढाए सिकाइ प्रभावकारी हुने तर्क अगाडी सारे । उनले ५ वटा सिकाइका सर्तहरु अगाडी सारे भने सो पूरा गर्नको लागी ९ वटा स्तरहरु पार गरे मात्र सही र पुर्ण सिकाइ हुने दावी गरे ।
पाठ्यक्रम निर्मार्ण गर्दा राखिने सिकाइका उद्देश्यको प्रकार अनुसार नै शिक्षण प्रकृयामा पनि फरकपन ल्याउँदै नयाँ नयाँ बिधिहरुको प्रयोग गर्न जोड दिए । पढाउने पाठको पाठ्ययोजना बनाउँदा, त्यो पाठ पढिसकेपछि सिकिने मुल उद्देश्यको पहिचान र यो प्राप्त भए नभएको मुल्यांकन पद्धतीको प्रयोग ल्याउने श्रेय उनैलाई जान्छ ।
७. जेरोम ब्रुनर र उनको स्पाइरल पाठ्यक्रम
ब्रुनर अमेरिकामा जन्मेका यहुदि मुलका मनोवेत्ता थिए । जन्मँदा दुवै आँखा नदेख्ने जन्मिएका उनी २ बर्षको उमेरमा मात्र आँखा देख्न सक्ने बनेका थिए । हावर्डका पिएचडी उनी, उनको स्पाइरल पाठ्यक्रमको लागी प्रसिद्ध छन् । जस्तोसुकै कठिन बिषयबस्तु पनि सही तरिकाले र योजनाबद्ध गरेर सिकाउन सक्ने हो भने हरेक बालबालिकालाई बुझाउन र सिकाउन सकिन्छ भनेर ठान्थे उनी । उनले पाठको जटिलता अनुसार नै योजना बनाएर सिकाउन घुमाउरो भर्याङ्ग झैँ सरलबाट जटिल पद्धतीको विकास गरेका थिए । उनले बनाएको स्पाइरल पाठ्यक्रम मुलत तलका बिषयमा आधारित थिए । पहिलो, कुनै पनि पाठ हरेक कक्षा चढ्दै जाँदा पनि दोहोरिरहन सक्छ । दोस्रो, उमेर अनुसार संज्ञानात्मक क्षमताको विकास हुने भएको हुनाले त्यहि पाठ दोहोरिरहन्छ भने त्यसमा थप जटिलपना पनि थपिँदै जान्छ । तेस्रो, जब पाठ दाहोरिन्छ, नयाँ नयाँ तर्क र सम्बन्धहरुको खोजी गर्न सिकारुलाई सजिलो हुन्छ । पहिले पढिसकेको पाठ र बिषय हुनाले थप खोज गर्न प्रोत्साहन पनि गर्दछ । पिगेटले जस्तै उनले उमेर अनुसार ज्ञानको शारिरीक क्रियाले प्रतिनिधित्व, दृष्यले प्रतिनिधित्व र आलंकारिक भाषाले प्रतिनिधित्व गर्न सक्दछन् भने । उनको यो परिभाषा रचनाबाद (constructivism) अन्तर्गत प्रसिद्ध छ ।
८. अब्राहम मास्लो, क्लेटन एल्डरफर र उनीहरुको पिरामिड
मास्लो एक अमेरिकन मनोबैज्ञानिक थिए जो युक्रेनको केइभबाट जारहरुको ज्यादती छल्नको लागी अमेरिका पसेका यहुदि परिवारमा जन्मेका थिए । उनले बनाएको पिरामिडमा सबैभन्दा पहिले मानिस अति आवश्यक चिजहरु गाँस, वास, कपास, सुरक्षामा जुट्दछ । यो आवश्यकतामा धेरै अल्झन पर्ने बिद्यार्थीहरु मध्ये कमैले मात्र माथिल्लो स्तरको सोच र खुड्किलामा पुग्न सक्छन् । प्राय धेरैको उर्जा र समय पुछारका सामान्य तर अति आवश्यक आवश्यकता पूर्ति गर्नमा नै ब्यतित हुन्छ । उनीहरुको सोच ब्लुम्सको पिरामिडमा भएको उच्चस्तरको सिर्जनसिल सोचमा केन्द्रित हुन नै पाउँदैन । उर्जा जताततै छरिएर धेरै नष्ट हुन्छ ।
धनीका छोराछोरीले मुसाको एक प्रयोगमा जस्तो बिभिन्न प्रकारको प्रयोगात्मक वातावरण पाउँछन् र उनको दिमागको न्युरोन्स् पनि मुसाहरुको जस्तै तेज र संख्यात्मक हिसाबले धेरै निस्कन्छ ।
धनी झन् धनी भइरहनु अनि गरिव झन् गरिब बन्नु यसैको एक उदाहरण पनि हो । धनीका छोराछोरीले मुसाको एक प्रयोगमा जस्तो बिभिन्न प्रकारको प्रयोगात्मक वातावरण पाउँछन् र उनको दिमागको न्युरोन्स् पनि मुसाहरुको जस्तै तेज र संख्यात्मक हिसाबले धेरै निस्कन्छ । कुनै पनि सजावट र खेल्ने सामग्रीहरु नभएको सादा खोरमा राखेको मुसाको ब्रेनमा रहेका न्युरोन्स् र तिनीहरुको संचार गती र नेटवर्क पनि कम पाइएको थियो । त्यसैले यस्तो निर्कष निकालिएको थियो कि धनले अनेक सुविधाहरुमा खेल्न सहज गराउँछ र तनाव न्युनिकरण गर्छ । कम तनावमा हुर्केका त्यस्ता बिद्यार्थीको संज्ञानात्मक क्षमता अलि बढि नै भएको पाइएको थियो ।
अर्को तर्क पनि छ कि बढी घाम पानी सहनुपरेका र दुखकष्ट झेल्नु परेका बिद्यार्थी, अझ मजबुत बन्छन् । सुखसयलमा हुर्केका, अलि बढि ब्रोइलर कुखुरा झैँ पनि हुन सक्छन्, भन्ने अर्को स्कुल पनि छ । तर जति तर्क गरे पनि गरिवी अभिषाप नै हो । धन र सुबिधालाई सही प्रयोग र सही उद्देश्यमा लगाउने हो भने बढि सकारात्मक नतिजा अवश्य नै निस्कन्छ र भएको पनि छ । देखिएको त्यस्तै छ ।
अर्को तर्क पनि छ कि बढी घाम पानी सहनुपरेका र दुखकष्ट झेल्नु परेका बिद्यार्थी, अझ मजबुत बन्छन् । सुखसयलमा हुर्केका, अलि बढि ब्रोइलर कुखुरा झैँ पनि हुन सक्छन्, भन्ने अर्को स्कुल पनि छ ।
त्यसैले त यो कुरा पुस्तकमा बारम्बार दोहोर्याएको छु कि सन्तान सपार्न दुई चिज चाहिन्छ । पहिलो, बाआमाको सही उद्देस्यसहितको प्रसस्त समय र दोस्रो सही उद्देश्यको लागि चाहिने प्रशस्त पैसा । अब, त्यसमा भित्री इच्छाशक्ति र केही नयाँ गर्ने भोक वा इख वा उत्सुकता थपिए वा पलाए सुनमा सुगन्ध भैहाल्छ । त्यसमा मौसम, वातावरण, समाज, परिवेश, देश र नीतिनियमहरुले पनि अर्को भुमिका खेलिनै हाल्छ । समग्रमा, सफलता ३६० डिग्रीको बृत्त हो । त्यसमा दश डिग्रीको कमिले मात्र पनि फेल बनाइदिन्छ । कोसिस गरिरहनु नै त जीवन हो ।
समग्रमा मास्लो र एल्डरफरको सारंस उस्तै आउँछ । दुवैको भाव मानवियता र मनोभावमा बढि केन्द्रित हुन्छ । सुख, सुविधा र पढाउने बृहत पाठ्यक्रमहरुले त्यो भाव पैदा गर्न सकेनन् भने पनि सबै प्रकृया फेल नै हुन्छ । मानिस जति धनी र जति ज्ञानी बने पनि अन्तमा सुखी र खुसी बन्न कोसिसरत नै हुन्छ । त्यही बन्न सकेन भने अगाडिको सबै चिज र मिहिनेत बेकार बन्छ । प्राय मानिसले सुख र खुसी सम्बन्ध र प्रेमभावबाट नै प्राप्त गर्छन् । त्यसैले नै मास्लो, एल्डरफर अनि कार्ल रोगर्सका मनोबिज्ञान बढि मानवीयपनसँग बढि झुकाव राख्ने देखिन्छन् । सबैको जोड एक कुरामा नै छ कि हरेक शिक्षकले अरु क्रियाकलाप र पाठ्यक्रम भन्दा बढि विद्यार्थीसँग भावनात्मक सम्बन्धको सुधारमा नै पहिलो प्राथमिकता लगाउन पर्छ । मन जिते, संसार सिके, मन मारे सबै हारे । नारा यस्तै उपर्युक्त होला ।
९. हवार्ड गार्डनर र उनको बहुवुद्धिमताका बिभिन्न क्षेत्रहरु
हवार्ड गार्डनर हावर्ड बिश्वबिद्यालयका प्रोफेसर हुन् जसको पुस्तक फ्रेम्स् अफ माइन्ड (१९८३) मा उनले हरेक मानिस लगभग आठ प्रकारको सिक्ने क्षमता बोकेर आएको हुन्छ भने । त्यसको सही पहिचान गरेर, त्यही बिधि र क्षेत्रमा ज्ञान, ध्यान र तालिम केन्द्रित गर्न सके सुपरमानवको तयार गर्न सकिन्छ भनेर वकालत गरे ।
हरेक सात प्रकारका सिकाइका प्रकार र बिद्यार्थीमा अन्तर्रनिहित क्षमताको क्षेत्रको पहिचान हुने हो भने एकै कक्षामा सात प्रकारका शिक्षण बिधिको प्रयोग गर्न सकिने कुरामा जोड लगाए । भाषिक, गणित, सांगितिक, शारिरक, स्थान र परिवेस, अन्तरव्यक्तिगत, मनोव्यक्तिगत सात क्षमताका क्षेत्रहरुमा पछि प्राकृतिक वा वातावरणीय वा पर्यावरणिय चेतलाई पनि थप क्षेत्रको रुपमा थपेर आठ पुर्याइयो । आज आएर प्राबिधिकलाई अर्को क्षेत्रको रुपमा थप्न नि सकिन्छ ।
प्रकृतिमा रहेको विविधता जस्तै हरेक मानिसमा अनेक सिक्ने क्षमता र क्षेत्र अन्तर्निहित रुपमा लुकेर रहेको हुन्छ । त्यसलाई चिनेर, त्यसमै केन्द्रित हुनु, एक प्रकारले आफैंलाई चिन्नु पनि हो ।
हरेक बिद्यार्थीको भाषिक र गणितको क्षमताको आधारमा मात्र मुल्यांकन गर्न सकिन्न । प्रकृतिमा रहेको विविधता जस्तै हरेक मानिसमा अनेक सिक्ने क्षमता र क्षेत्र अन्तर्निहित रुपमा लुकेर रहेको हुन्छ । त्यसलाई चिनेर, त्यसमै केन्द्रित हुनु, एक प्रकारले आफैंलाई चिन्नु पनि हो । त्यसो गर्न सके, सिकाइ सफल हुन्छ, शिक्षण पनि सफल बन्छ । हरेक मानिसमा रहेको क्षमताको सदुपयोग भए, सकारात्मक नतिजा निस्कन्छ तर त्यसैको दुरुपयोग भए, ध्वंसात्मक भएर निस्कन पनि सक्छ । आजको समयमा ज्ञानको प्रयोग, बनाउन भन्दामा पनि बिगार्नमा बढि प्रयोग भइरहेको छ । शान्तीको लागी भन्दा पनि युद्धको लागी ज्ञान र उर्जाको दुरुपयोग हुनु सम्पुर्ण मानव सभ्यताको लागी नै ठूलो दुर्भाग्य हो जस्तो लाग्छ ।
एरिक एरिक्सन र जेरोम ब्रुमर जस्ता मनोबैज्ञानिक गुरुहरुसितको सत्संगमा पढेका गार्डनरको यो सिद्धान्तको प्रयोग अमेरिकामा खुवै रुचाइएको छ ।
१०. डुगन लैर्डको पाँच इन्द्रियहरुको एकसाथ प्रयोग
सन् १९८५ मा डुगन लार्डले आफ्नो पुस्तक एप्रोचज टु ट्रेनिङ्ग एन्ड डिभलपमेन्ट मा एक प्रयोगको बारेमा लेखे । हेरेर ७५ प्रतिशत सिकाइ हुन्छ । बालबालिका शिक्षकको वा बाआमाको कुरा सुनेर अधिकतम १३ प्रतिशत सिक्छन् भने वरिपरिका अग्रज मानिसहरुले गरेको देखेर ७५ प्रतिशत सिक्दछन् भनेर देखे, लेखे । तसर्थ, बोलेर हैन, गरेर नमुना बन्ने हो भने पढाएर भन्दा बढि सिकाउन सकिन्छ भनेर निचोड निकाले । हाम्रा शिक्षक के त्यसो गर्छन् त ?
लैर्डले यसरी गार्डनरको सिद्धान्तमा अझ मलजल गरे र लेखे कि हाम्रो पाँच इन्द्रियहरुलाई छुने गरि अनेक बिधि र प्रयोगहरु गर्ने हो भने सिकाइ छिटो र सहज बनाउन सकिन्छ ।
११. एरिक एरिक्सनको मनोवैज्ञानिक विकासको ८ चरणहरु
डेन्मार्कबाट गएका यहुदी मुलमा जन्मिएका एरिक्सन अमेरिकी मनोवेत्ता थिए । उनले बालबालिकाको मात्र नभएर एक मानिसको जन्मदेखि ६५ बर्ष सम्मको मनोबैज्ञानिक विकासका ८ चरणहरुको खाका कोरेका थिए । हरेक उमेरको हरेक तहमा देखा पर्ने मुल बिशेषताहरुको बारेमा चर्चा गरेका एरिक्सनले सिग्मन्ड फ्रायडको साइकोसेक्सुवल डिभलपमेन्टमा थप परिवर्तन तथा परिमार्जन गरे । बिद्यार्थीहरुले आफैंले आफैंप्रति सोध्ने, साथै वरिपरिको समाज, परिवार र देशको समग्र वातावरणप्रति उब्जेका प्रश्नहरुको आधारमा उनीहरुको मनोबिज्ञान बुझ्न सकिन्छ भन्ने उनको धारणा थियो ।
बिद्यार्थीहरुले आफैंले आफैंप्रति सोध्ने, साथै वरिपरिको समाज, परिवार र देशको समग्र वातावरणप्रति उब्जेका प्रश्नहरुको आधारमा उनीहरुको मनोबिज्ञान बुझ्न सकिन्छ भन्ने उनको धारणा थियो ।
एउटै उमेर समुहका बिद्यार्थीमा प्राय एकै प्रकारको प्रश्नहरुको भाव पलाउने हुनाले, कक्षामा पनि एकै उमेर समुहका बिद्यार्थीहरु राख्नुपर्छ भन्ने ठम्याई उनको थियो । उनीहरुको बुझाई पनि उमेर अनुसार परिवर्तन हँुदै जाने भएको हुनाले बहुउमेर समुहका बिद्यार्थी एकैसाथ राखे, चुरो कुरो बुझ्न कठिन हुने जिकिर उनको थियो । उनका आठ मानवीय तहहरु यानी स्टेजहरुको आ–आफ्नै गुणहरु र बिशेषताहरु हुन्छन् र त्यसको हरेक तहमा आ–आफ्नै सबलपक्षहरु रहन्छन् । उनले गरेका व्यक्तित्व विकास र मनोबिज्ञानको खोजमा मार्टिन लुथरकिङ्ग र महात्मा गान्धीबारे गरेको खोज निकै प्रख्यात छन् जसको लागी उनले पुलित्जर र नेशनल बुक अवार्ड पनि पाएका थिए ।
१२. कार्ल रोगर्स र उनको बिद्यार्थी केन्द्रित सिकाइ मोडल
कार्ल रोगर्र एक सुप्रसिद्ध मनोबैज्ञानिक हुन् । उनका मानिसलाई पहिलो प्राथमिकतामा राखेर शिक्षा, समाज, राजनीतिको बारेमा खोज र अनुसन्धानहरु मुलत प्रख्यात छन् । प्रबिधि, संरचना र नयाँ खोज बिधि र सामग्रीहरु भन्दा मानवीयपन, दया, प्रेम, सद्भाव सहकार्य सधैं माथी नै रहन्छ र तीनमा केन्द्रित शिक्षण सिकाइ नै उनको तेस्रो धारको मनोबिज्ञान हो । पहिलो थिए, व्यवहारबादीहरु, दोस्रो थिए, संज्ञानात्मक विचार बोक्नेहरु र तेस्रो मानवीयतालाई चुरो मान्नेहरु अब्राहम मास्लो, कार्ल रोगर्स, हारोल्ड लियन, डेभिड एस्पी, फ्लोरा रोबक, रुडोल्फ स्टेनर, मारिया मन्टेस्वरी थिए ।
हरेक मानिसलाई कुनै पनि टुक्राको आधारमा मुल्याँकन गर्न हुन्न र उसको बिगत, बर्तमान र भविष्यको पनि कल्पना गर्दै मात्र कुनै अन्दाजी निचोडमा पुग्न सकिन्छ । हरेक मानिसको स्वप्नको रामराज्य हुन्छ जसलाई उनले ideal self भने र अर्को बास्तविक धरातलको सोही व्यक्ति फरक हुनसक्छ । त्यसलाई उनले real self भने । यी दुवैमा समानता ल्याउन सक्यो भने सफलताको नजिक पुगेको मान्न पर्छ । यदि ती दुइको बिचको खाडल निकै ठूलो बन्यो भने कतै केही नपुगीरहेको भनेर बुझे हुन्छ । त्यो खाडल पत्ता लाउन उनले व्यक्ति केन्द्रित, बिद्यार्थी केन्द्रित, पिडित केन्द्रित उपचारको र परामर्शको वकालत गरे ।
शिक्षक मात्र सहजकर्ता बन्ने, सिकाइ बिद्यार्थीलाई नै गर्न दिने, मानसिक रोगीहरुलाई आफ्नो बिगत र बर्तमान खोल्न र बोल्न दिने र मनोचिकित्सकले मात्र सुन्ने र नियाल्ने, राजनीतिज्ञले विकासको नाममा मानव र प्रकृतिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने हो भन्दै संसार घुमेर आफ्ना सिद्धान्तको प्रचार प्रसार गरे ।
हामी दुई टुक्रा पाठ र त्यसको दुई टुक्रा प्रश्नोत्तरमा स्कुल सक्छौं । हामी कता चुकिरहेका छौं त ?
शिक्षामा नतिजा हैन, सिकाइ प्रकृया सबैभन्दा महत्वपुर्ण हुन्छ भनेर उर्दी गर्ने रोगर्स नै हुन् । तर हामी दुई टुक्रा पाठ र त्यसको दुई टुक्रा प्रश्नोत्तरमा स्कुल सक्छौं । हामी कता चुकिरहेका छौं त ? बिद्यार्थीलाई अवलोकन र अन्वेषण गरेर आफैं सिक्न दिनुपर्छ । पाठ्यक्रम र सिकाइ प्रकृयाहरु त्यसै अनुसार तयार गरे उत्तम भनेर रोगर्सले सिकाएको लगभग ५० बर्ष बढि भैसक्यो तर हामी कहाँ अल्झिरहेका छौं त ?
उनले शिक्षक ब्लुटुथबाट फाइल सारेजस्तो ज्ञान सार्ने व्यक्ति होइन, नोट लेखेर ल्याएर बोर्डमा हुबहु लेखिदिएर सार्न लाउने र मानिस बिद्यार्थीलाई रोबोट जिनिस जस्तो फगत एताको उता सार्ने सम्झने र ठान्ने होइन भने । उनको विचारको चुरो भनेको, त्यो शिक्षक सफल शिक्षक हो, जसको बिद्यार्थीसँग भावनात्मक गहिरो सम्बन्ध बनिसकेको हुन्छ वा बनाउन सफल हुन्छ ।
जीवनको पोखरीमा तैरन पर्ने बिद्यार्थी स्वयंले हो तर पोखरीमा लुगा खोलेर हामफाल्न तयार बनाउने काम शिक्षकको हो । त्यसो गर्न उत्साह भर्ने र तत्परता छर्ने काम नै सही शिक्षकको काम हो । तर हामी यो बिषयमा चिन्तित र गम्भिर छौं त ? प्रश्न आफैंतिर तेर्सन्छ ।
जब शिक्षक र बिद्यार्थीको बिचमा गहिरो बिश्वास र सम्मानको भावनाको विकास स्वतस्फुर्त बन्दैन, कुनै पनि बिधि र औजार काम लाग्दैन । यो उद्योग र प्रबिधिले भावना मारिरहेको समयमा, सहानुभूती र मानविय संवेदनामा जोड लगाउँदै उनले मानविय अर्थशास्त्री ई.एफ. सुमाकरको स्मल इज ब्युटिफुल भन्ने पुस्तकको सारसँग सार मिलाएका छन् । प्रकृती पहिलो घर छ भने न मानिस हुन्छन् अनि मानिस छन् भने मात्र न बाँकी प्रबिधि र संरचनाको काम हुन्छ । नत्र ती सबैको के काम ? भन्दै आफ्नो तर्क अघि सारेका छन् ।
मेरो पहिलो पुस्तक आफैंलाई चिन्ने कोसिस देखी अन्य सबै पुस्तक तथा लेखहरु मानवीय पुँजी र तिनको सन्तुलित विकासमा केन्द्रित भएको हुनाले गर्दा रोगर्सको धारणाहरुसँग बलियो भावनात्मक डोरी कसिएको भान भइराखेको छ । जवसम्म बिद्यार्थीमा उत्सुकता र भावना जाग्दैन वा जगाउन सकिँदैन, सिकाइ र शिक्षण सफल हुन्न भन्ने मेरो पनि तर्क हो । त्यसो गर्न सक्यो भने, रोगर्स लेख्छन् कि, सिकाइ जीवन बन्छ अनि जीवन त अवश्य नै सिकाइ नै हो ।
१३. रुडोल्फ ड्रैकरको कक्षाकोठा ब्यबस्थापन सिद्धान्त
अष्ट्रियन मनोचिकित्सक ड्रैकर कक्षाकोठामा शिक्षक र बिद्यार्थी बिचको परस्पर र सम्मानजनक सम्बन्धले नै कक्षामा सिकाइको वातावरण सकारात्मक बनाउँछ भन्छन् । कक्षाकोठा एक समुह हो र बिद्यालय एक अझ ठूलो समुह हो, संस्था हो । त्यो समुहमा हरेक बिद्यार्थीले आफ्नो भिन्न अस्तित्व सबैले स्विकार गरुन् र त्यहाँ आफुले कुनै न कुनै छुट्टै योगदान गर्न सकियोस् भन्ने भाव सबैमा हुन्छ । यो भित्री सम्बन्ध बढाउनको लागी स्वभाविक रुपमा निस्कने भाव हो जस्लाई उनले सामाजिक व्यवहारको बास्तविक लक्ष्य (genuine goal of social behavior) भनेर भने ।
हरेक बिद्यार्थी कक्षामा वा स्कुलमा, अरुलाई नियन्त्रणमा राख्न चाहन्छ वा क्याप्टेनको रुपमा शक्ति प्रदर्शन गर्ने भित्री भोक उसमा निहित रहेको हुन्छ । सिधा बाटोबाट उसले त्यो गर्न नसकेपछि र प्राय सबै शिक्षकहरुबाट पढाइमा सधैं कमजोर र फटाहा प्रमाणित गरिएपछि, उसले अरु अनेक खराब हर्कत गरेर भए पनि आफ्नो शक्ति प्रदर्शन गर्न थाल्छ ।
जब कुनै पनि बिद्यार्थीले त्यो सामाजिक लक्ष्य वा पहिचान समुहमा बनाउन सकेन भने वा बनाउन दिइएन भने उसले दुर्व्यवहारको लक्ष्यलाई प्राथमिकतामा राख्न थाल्छ । उनले ४ प्रकारका दुर्व्यवहारका लक्ष्यहरु हुनसक्छन् भने । ती चार खराब आचरण देखिएका बिद्यार्थीहरुलाई सुधार्ने तिनै ४ उपायहरु सुझाए । पहिलो, राम्रो काम गरेर प्रशंसा र आत्मसम्मान अनि व्यक्तिगत मुल्य मान्यता गुमाएपछि, हरेक बिद्यार्थी सबैको ध्यान आफुतिर तान्नको लागी, खराब काम गर्न थाल्छ । दोस्रो, हरेक बिद्यार्थी कक्षामा वा स्कुलमा, अरुलाई नियन्त्रणमा राख्न चाहन्छ वा क्याप्टेनको रुपमा शक्ति प्रदर्शन गर्ने भित्री भोक उसमा निहित रहेको हुन्छ । सिधा बाटोबाट उसले त्यो गर्न नसकेपछि र प्राय सबै शिक्षकहरुबाट पढाइमा सधैं कमजोर र फटाहा प्रमाणित गरिएपछि, उसले अरु अनेक खराब हर्कत गरेर भए पनि आफ्नो शक्ति प्रदर्शन गर्न थाल्छ । तेस्रो, आफुमा भएको निन्दा, घृणा, हेला, दण्ड, एक्ल्याएको झोंक, उसले अनेक रुपमा बदला लिएर देखाउन थाल्छ । चौथो, उसले अब सबैकुरामा हेलचेक्र्याई गर्न थाल्छ । भनेको र अह्राएको नगर्न थाल्छ । गृहकार्य जानीबुझीकन नै नगरी स्कुल आउन थाल्छ । बाङ्गो र टेढो व्यवहार जतै देखाउन थाल्छ ।
यसको सर्वोत्तम समाधान भनेको ती सबै फटाहा भनाइएका बिद्यार्थीहरुलाई समुहमा स्विकार्ने, उनीहरु के जान्दैनन् हैन, के जान्दछन् पत्ता लगाएर समुहको एक अभिन्न अंग हो है भनेर देखाउने । बिषयगत कमजोरीहरुको कारण केलाएर त्यसमा छुट्टै सहयोग गरिदिएर ती कमजोरी हटाउन मद्दत गर्ने र उसको समग्र आत्मविश्वास जगाइदिन सके उसले दुर्व्यवहार छोड्छ र समुहमा राम्रो आचरण र व्यवहार देखाउन स्वत थाल्छ । कति राम्रो सुझाब छन् । सबै शिक्षकहरुले र प्राचार्यहरुले देशभर प्रयोग गर्न कोसिस गरौं न ल !
१४.मारिया मन्टेश्वरी र बिद्यार्थीमा प्रेम, काम र स्वतन्त्रताको प्रयोग
मारिया, त्यो समयको इटालीमा, स्कुलमा एक्ली र आँटिली केटी थिइन् जो इन्जिनियर बन्न चाहन्थिन् । पछि गएर उनले डाक्टर बन्ने सोच बनाइन् । धेरै तयारी पछि मात्र मुस्किलले बिश्वबिद्यालयमा भर्ना पाइन् । सबै पुरुष साथीहरु बिचमा एक्ली चिकित्सक बिद्यार्थी, उनको हालत कस्तो हुन्थ्यो होला ?
पढाइ सकेर एक अस्पतालमा काम थालिन् । विवाह गरे अस्पतालमा काम गर्न नपाइने थियो । उनले औपचारिक विवाह नगरी एक छोरो जन्माइन् । पछि डाक्टर श्रीमान्ले परिवारको करकापमा परेर अर्को विवाह गरे । उनले छोरो आफै हुर्काइन् । उनको असक्त बालबालिकाहरुको अस्पतालमा काम गर्दै गर्दा, शिक्षामा रुची जाग्न थाल्यो । त्यस्ता केटाकेटीहरुलाई कसरी पढाउने, हेरचाह गर्ने र सिकाउने भनेर सोच्न थाल्दा उनले बिगत २०० बर्षको शिक्षा र सिकाइको इतिहास कोट्याइन् । फलस्वरुप, सन् १९०७ मा उनले कासा देइ बाम्बिनी (casa dei Bambini or chlidren's house) ६० जना बिद्यार्थीबाट शुरु गरिन् ।
उनले त्यो स्कुलमा अनेक प्रयोगहरु गरिरहिन् । आज संसारभर मन्टेश्वरी सिस्टम प्रख्यात छ । खासमा उनले प्रेमपुर्वक बालबालिकालाई स्वतन्त्र रुपमा खेल्न दिँदै र खेलाउँदै, उनीहरुको आनीबानी र विकासको लेखाजोखा नियाल्न थालिन् । हरेक बालबालिकालाई एक पुर्ण मानिसको रुपमा हेर्नपर्ने र सबै कामको जिम्मेवारी बिस्तारै दिए, उनीहरु आफैंले सिकाइ गर्न सक्छन् भनेर प्रमाणित गर्न थालिन् । स–साना र ब्यबहारिक कुराहरु आफैं गर्न लगाएर, एक जिम्मेवार मानिसको प्राथमिक आकार बालबालिकामा कोर्न सकिन्छ भनेर देखाइदिइन् ।
८१ बर्षको उमेरमा संसार त्यागेकी मन्टेश्वरीको नाममा नेपालमा पनि बग्रेल्ती स्कुलहरु खुलेका छन् । तर हामीले उनले प्रयोग गरेको शिक्षण र सिकाइको भावलाई साँच्चै बुझेका छौं त ? न्याय गरेका छौं त ?
शिक्षकको काम भनेको उनीहरुको स्वतस्फुर्त जिम्मेवारी र कामहरुको अध्ययन गर्दै उनीहरुलाई पर्ने कठिनाइहरुको समाधान खोजिदिनु मात्र हो भनिन् । संसारभर त्यो मोडलमा स्कुलहरु खुल्न थाले र उनले शिक्षकहरुको तालिम दिँदै निकै समय घुमिन् । जब युरोपमा युद्धको बादल मडारियो, उनले शिक्षालाई शान्ती फैलाउन पनि प्रयोग गर्नुपर्ने वकालत गर्न थालिन् । सन् १९५२ मा ८१ बर्षको उमेरमा संसार त्यागेकी मन्टेश्वरीको नाममा नेपालमा पनि बग्रेल्ती स्कुलहरु खुलेका छन् । तर हामीले उनले प्रयोग गरेको शिक्षण र सिकाइको भावलाई साँच्चै बुझेका छौं त ? न्याय गरेका छौं त ? बारम्बार घोत्लनैपर्छ ।
१५ अल्बर्ट बान्डुरा र उनको सामाजिक सिकाइको सिद्धान्त
बान्डुरा क्यानाडामा जन्मेका स्टानफोर्ड विश्वबिद्यालयका प्राध्यापक थिए । उनको बोबो डल प्रयोग निकै प्रसिद्ध छ । शुरुका दिनहरुमा उनले मानिसले समाजमा र परिवारमा देखेका कुराहरु नक्कल गर्दै धेरै कुरा सिक्दछ भने । बोबो डल पनि त्यसकै एक प्रयोग थियो । त्यसमा बालबालिकाले एक खेलौनालाई जसरी आफ्नो रिस प्रयोग गरियो, त्यसरी नै उनीहरुले पनि व्यवहार देखाए । बालबालिकाले शिक्षकले, साथीहरुले, अग्रजहरुले र घरमा बाबुआमाले भनेको भन्दा पनि गरेको देखेर बढि नक्कल गर्दै सिकिरहेका हुन्छन् भन्ने कुरामा जोड लगाए ।
बालबालिकाहरु भाषा, व्यवहार, भावनात्मक सन्तुलन, बानीहरु साथै सोचको स्तर पनि समाज र वरिपरिबाट नक्कल स्वरुप सिकिरहेका हुन्छन् । त्यसैले त बच्चाहरुको अगाडि कुनै पनि नकारात्मक कुरा गर्न र आफुलाई खराब लाग्ने काम पटक्कै गर्न हुन्न । रोलमोडल बनेर देखाउने हो भने शिक्षक र बाबुआमा दुवै घरस्कुल र स्कुलघरमा सफल बन्न सक्छन् । अर्तीउपदेश मात्रले सन्तान सुधार्न सकिन्न भन्ने बलियो धारणा नै बान्डुराको सिकाइको सिद्धान्त हो ।
१६. भारतमा अशोका फाउन्डेसनको प्रयोग
कैलाश सत्यार्थी आबद्ध रहेको अशोका फाउन्डेसनले सन् २०१५ अघि नै भारतका ३० वटा शहरहरुबाट छानेका ६० वटा स्कुलहरु मध्ये १० उत्कृष्टहरुलाई “चेन्जमेकर स्कुल” भनेर छानेको थियो । त्यस सुचीमा जयपुरको दिगान्तर बिद्यालय देखी लिएर मुनि इन्टरनेसनल स्कुल, दिल्ली सम्म छानिएका थिए । ती सबै स्कुलहरुको नयाँपन प्रबिधि थिएन, मानवियता र भावना थियो ।
शिक्षामा प्रबिधिको हौवा जति हल्ला गरिएको छ, त्यस्तो हैन र छैन पनि । प्रकृति र संस्कृति जहिल्यै प्रबिधिको अगाडी नै रहन्छ । हाम्रो सोच र खोज कता र केमा छ त ?
उनीहरुको मुल नारा “मनन गर, कल्पना, गर र बाँड” ( Feel, Imagine, Do and Share framework) थियो । त्यस्तै, सैनिक महाविद्यालय सुर्खेतका प्राचार्य प्रेम बिश्वकर्माले भेटमा सुनाउँदै हुनुहुन्थ्यो कि गरिहाल्न नसके पनि अबको शिक्षाको नारा हामीले प्रकृती, संस्कृती र प्रविधि बनाएका छौं । यसर्थ, शिक्षामा प्रबिधिको हौवा जति हल्ला गरिएको छ, त्यस्तो हैन र छैन पनि । प्रकृति र संस्कृति जहिल्यै प्रबिधिको अगाडी नै रहन्छ । हाम्रो सोच र खोज कता र केमा छ त ?
हाम्रो समाज र सोचान्तरणमा सुस्तता
आफ्नै कथा झन् रोचक छ । म पढ्न, लेख्न र पढाउन मनपर्ने मान्छे तर आजको परिवार, समाज, मलाई एक जग्गा दलाल, तस्करे ब्यापारी, कि बिदेश लागेर, सबै त्यागेर, करोड कमाउने मेसिनको आशा गर्छ । तव के होला ? म आफैंलाई चिन्ने कोसिस पुस्तकको लेखक, म भित्र कुन बिऊ छ, अब त मलाई थाहा भैसक्यो । तर अझै पनि हाम्रो समाज र परिवार, तुलसीको मोठलाई बाँसको बोट सित दाँज्न लागिरहन्छ । प्रकृतीको बिबिधता न परिवारले बुझ्छ न त समाज र त्यो समाजमा रहेका शैक्षिक संस्थाहरुले । सबैलाई एउटै मेसिनमा हालेर चाउचाउको पाकेट जस्तो सर्लक्क निकाल्ने शिक्षाले, हरेक महापुरुषलाई मार्छ र मारिरहेको छ । मानिस हैन, मेसिन उत्पादन गरिरहेको छ । नयाँ सोच खै ? नयाँ खोज खै ? कस्ले थाल्ने ? कता के पगाल्ने र कता नयाँ साँचोमा हाल्ने ?
सोचान्तरण र रुपान्तरण भइनैराखेको छ, तर सुस्त छ । संस्थागतमा पनि छ र सामुदायिकमा पनि छ । तर त्यो सबै केही व्यक्तिको अथक प्रयासको फल मात्र छ । पालिका, प्रदेश र राज्यको प्रयास भने लगभग शुन्य जस्तै छ । गरेजस्तो मात्र छ । केही थालेर पनि निरन्तरता र तिव्रता, छिनमै सेलाएको जस्तो छ । नियमन कमजोर छ । निरन्तरता दयनिय छ । भएको लगानी पनि बालुवामा दुध पोखाएको जस्तो भएको छ । किनकी जस्को हातमा डाडु पन्यु छ, उसको भावना मेसिनरुपी छ । उसलाई त्यसको आवश्यकता नै छैन वा त्यसको महत्व उसले बुझ्नै पाएको छैन । बुझाइएको पनि छैन वा बुझेर पनि उसलाई कुनै फाइदा नै छैन । “यो गरेर के काम ? धेरै पढेर के काम ?” भन्ने भाव हावी छ ।
राज्य मानिस बेच्नमा उद्धत छ । मानविय पुँजीको निर्यात उसको मुल उद्देश्य जस्तो देखिएको छ । किन ? गाउँबाट शहर भरिँदैछ । थप, हरेक शहरबाट पनि, हरप्रहर, बस्तु निर्यात गरेजस्तो, संसारभर युवापुस्ता छरिँदैछ ।
शिक्षामा सुधार गर्ने भोक निकै जनामा छ । अभिषेक घिमिरे सर बृहत राष्ट्रिय शिक्षा अभियान भनेर बिगत एक दशक देखी लागिरहनु भएको छ । यो लेख तयार हुँदै गर्दा वहाँ राप्ती गाउँपालिका भालुबाङ्गमा बिद्यालय बिद्यालय दगुरिरहनु भएको छ । साथमा, उस्तै बहुलठ्ठीपन बोकेका छेदुङ्ग लामा सर हुनुहुन्छ । त्यस्तै, देशभर तालिम चलाउन होस् वा कुनै नयाँ सिप सिकाउन होस्, मेरा धेरै अग्रज र मित्रहरु भिडिरहनु भएको छ । तर प्राय सबै व्यक्तिगत प्रयासमा मात्र । आफ्नै सामल दामल बोकेर । नर बहादुर कार्की, कर्ण शाक्य, रञ्जित आचार्य, मदन बिष्ट, बि के शर्मा, जोश निरौला, बद्री दाहाल, क्षेत्र ज्ञवाली, रवी किरण, प्रितम पौडेल, रबिन कटुवाल, इश्वर श्रेष्ठ जस्ता सहजकर्ता तथा अभियन्ताहरुको प्रयास उल्लेखनिय छ । सबैको ध्येय शिक्षामा, सीपमा र संस्कारमा सुधार नै हो ।
तर राज्य मानिस बेच्नमा उद्धत छ । मानविय पुँजीको निर्यात उसको मुल उद्देश्य जस्तो देखिएको छ । किन ? गाउँबाट शहर भरिँदैछ । थप, हरेक शहरबाट पनि, हरप्रहर, बस्तु निर्यात गरेजस्तो, संसारभर युवापुस्ता छरिँदैछ । जान्ने र बाठा देशहरु, जनको महत्व बुझेर, अनेक बहानामा, मानिस भित्रयाउँदैछन् तर नेपाल उल्टो काम गर्दैछ । जबरजस्ती ठेली ठेली निर्यात गर्दैछ । धपाउँदैछ । झनैँ भन्दा झनैं अप्ठ्यारो पार्दै, डाँडा अनि समुन्द्र कटाउँदैछ । खोजम् ! सही समाधान रोजम् ! बेलैमा चुरो कुरो बुझम् !
दुइ हात, सामुदायिक र संस्थागत दुवैको साथ
संघीय सरकार भू राजनीतिको चपेटामा गाँजिएको छ । उपल्ला नेताहरु कुकुरदानामा बिकिसकेका छन् । चाहेर पनि कुनै एक दुई व्यक्तिले सोचेको गर्नै पाउँदैन र सक्दैन पनि । जुन ढेडु आए पनि पुच्छर हल्लाउने मात्रै हो भन्ने भान भएको छ । हामी साधारण जन, जस्को हातमा न डाडु छ, न कुनै पन्यु छ । हामी नयाँ ढेडुको नयाँ आगमन टुलुटुलु हेर्नु र पुच्छरले झुक्किएर लौरो वा हतियारको काम गरिहाल्ला कि भनेर हेरिरहेका छौं । एक झिँनो आशा ! बाँच्ने भरोसा !
लगभग ४ अर्वको राजस्व तिर्ने संस्थागत बिद्यालय आज शैक्षिक माफिया बनाइएको छ । भनाइएको छ । देशको कुल रोजगारी सृजना गर्नमा ३ लाख भन्दा बढि शिक्षित मानिसहरुको जमातलाई सीप तिखारिरहेको क्षेत्र यही छ । सरकार, उनीहरु सबैलाई पनि बिदेश ठेल्न चाहन्छ । मिल्दा र सक्दा, शिक्षा र स्वास्थ्य त राज्यको दायित्व भित्र पर्छ तर आफु पनि गर्न नसक्ने र खुल्ला बजारलाई पनि नियन्त्रण गर्न खोज्ने ? कहिले हात बाँधेर गर भन्ने, त कहिले मुख टालेर बोल भन्ने काम गरिरहन्छ । यसो गर्ने अरु कोही नभएर राज्यको प्रतिनिधित्व गर्ने उच्च स्तरका हाम्रा बाहरु हुन् । भावना मरेका र कुकुरदानामा सोच छरेका बिचौलिया अनि कसैका हलि बाहरु नै त हुन् ! पहिलो बा नेता हुन् र अर्का बा कर्मचारी हुन् ।
एक पटक कल्पना गरौं कि नेपालमा भएका सबै संस्थागत बिद्यालयहरु भोली देखी बन्द भए, हाल के होला ? तिनले बार्षिक कर कति तिर्छन ? खुल्ला तथा मिश्रीत अर्थतन्त्रमा तिनको भूमिका के ? समग्र देशको मानविय पुँजीको निर्माणमा तिनको योगदान कति छ ? देशको अर्थतन्त्रमा उद्यमशिलता, रोजगारी र अर्थ चलायमान गर्नमा तिनको भुमिका के ? नियमन गर्ने र नयाँपन खोज्ने अर्कै कुरा तर शैक्षिक माफियाको बिल्ला भिराउने उद्देश्य के ? सोचनिय छ । सम्बन्धन दिने बेलामा आँखा नदेख्ने अनि अहिले आएर जतैबाट तिखा घन चारैतिरबाट बजार्ने ! सही अवतरण चाहिन्न ? उडिरहेको जहाजलाई चारै दिशाबाट मिसाइल हान्ने ? र हानिरहने ?
अक्षरा स्कुल काँडाघारी, रातो बंगला स्कुल ललितपुर, ग्रिनफिल्ड वल्र्ड स्कुल र एभरेष्ट स्मार्ट स्कुल बिर्तामोड, सगरमाथा स्कुल मिर्चैया, नवोदय स्कुल हेटौंडा, गैडाकोट इङ्लिस स्कुल गैडाकोट, ओम शान्ति एकेडेमी र ग्रिनल्यान्ड स्कुल चितवन, गार्गी, अक्सफोर्ड र लुम्बिनी वर्ड स्कुल बुटवल, इगरब्रिज स्कुल सुर्खेत जस्ता स्कुलहरुले गरेको नविनतम प्रयासहरु के राज्यले आजै गर्न सक्छ ? त्यो परिवर्तनको भावना र हुटहुटि बोकेको जनशक्ति राज्यले तयार गरेको छ ? तिनले दिएको गुणस्तर राज्यले सुनिश्चित गर्न सक्छ ? सक्दैन । पटक्कै सक्दैन । यदि सक्दैन भने नमुना काम गर्न दिइयोस् र थप प्रोत्साहन सहित सहकार्य र सहयोग राज्यले गरोस् । सक्छ, सहयोग गरोस्, सक्दैन, कुभलो नचिताओस् । आज गरेको छैन तर भोली त गर्ला कि ? आशा छ ।
व्यक्ति, संस्था, समाज, शहर, समुदाय, भाषा, संस्कार, प्रदेश पढ्न र बुझ्ने क्रममा देशका भिन्न भिन्न प्रकारका केही पालिकाहरुको भ्रमण गरें । त्यहाँ रहेका शैक्षिक संस्थाहरुले निर्माण गरिरहेको मानविय पुँजीको आकार प्रकार नजिकबाट नियालें । सामुदायिक हुन् वा संस्थागत हुन्, जुनै पनि शैक्षिक संस्थाको आमुल परिवर्तन र नयाँपन हुनुमा, कुनै एकजना व्यक्तिको सोच, भावनाको वेग र तिव्रतामा नै निहित रहेको पाइयो । प्राय, सबैको एउटै साझा सोच थियो । “हामी सबै यो पृथ्वीमा केही दिनका पाहुना नै त हौं । केही नयाँ र केही गतिलो गर्न कोसिस गरौं न त !” भन्ने भित्री हुटहुटी सबैको सफलता र नविनपनको मुल सुत्र थियो । कालिका मानवज्ञान माबि बुटवल, बागेश्वरी माबि भक्तपुर, पब्लिक हाइस्कुल धरान, ज्ञानोदय माबि काठमाण्डौ, मन्थली माबि रामेछाप, जनक माबि भकुण्डेबेसी, धुलाबारी माबि, झापा, मोहनमाया माबि बिर्तामोड, भानुभक्त माबि, मंगलबारे इलाम, जनज्योती माबि सुर्खेत जस्ता सामुदायिक विद्यालयहरु किन नमुना बने ? यसको मुल मन्त्र एक प्रकारको अतृप्त भोक नै थियो । केही नयाँ गर्नेको । नयाँ बिऊ छर्नेको । मर्नु अगाडि, थोरै सेवा, यो धर्तीको कतै कुनाकानीमा भर्नेको । यस्ता नमुना बिद्यालयहरु अझै लुकेका छन् । सबैतिर यस्तो बिऊ झन् छर्नुछ र जतै हरियाली बनाउँदै देश भकारीमा सही र असल मानविय पुँजी भर्नुछ । सबै लागम् ! सबै जागम् !
शिक्षा, आधुनिक सिप र संस्कारको सही संयोग बनोस् !
मुण्डक उपनिषद्मा ६४ मन्त्रमा परा र अपरा बिद्याको समन्वय र सही अनुपात खोज्न खोजिएको छ । मुण्डक उपनिषद् अथर्ववेदको एक अंश हो र मुण्डकको अर्थ मुण्डन गर्नु वा तास्नु वा सफा पार्नु हो । यसको ज्ञानले मानिसको अज्ञानता र समग्र कमजोरीहरुलाई मुण्डन गर्दै लैजान्छ र ब्रम्ह यानी सत्यको नजिक लैजान्छ भन्ने मान्यता राखिएको छ ।
यो परा र अपरा बिद्यालाई आज (metaphysics vs physics) मान्न सकिन्छ । अर्को अर्थमा यसलाई बिज्ञान र अध्यात्म बिचको सन्तुलन भनेर बुझ्न पनि सकिन्छ । यो विचार र भावना बिचको सन्तुलन हो । यो मेसिन र मानव बिचको सामञ्जस्यता हो । यो प्रकृति र पुरुष बिचको अर्को सन्तुलन पनि हो । यो खानु र आनन्द लिनुको फरक हो । आज हामी खान मात्र जान्दैछौं तर अनुभुति गर्न छोड्यौं । के खाँदैछौं र किन खाँदैछौं, थाहै छैन । आज, यो सन्तुलन कता जाँदैछ ? के हामीले यस बिषयमा सोचेका छौ त ? समग्र बम्हाण्ड देखी पृथ्वी अनि सारा प्रकृती नै सन्तुलनको सिद्धान्तमा चल्छ भने हामीले यो परा र अपराको सन्तुलनको बारेमा सोचेका छौं त ? छैन भने हाम्रो समग्र शिक्षामा बिलम्ब नगरी सुधारको खाँचो भएको हो त ? हामी कता अल्झिरहेका छौं त ? प्रश्नै प्रश्न छन् । सामुहिक रुपमा उत्तर खोज्ने बेला आएको छ ।
नेपालमा हामीले हाम्रो मोडल कहिले तयार पार्ने होला ? अरुले सोचेका, खोजेका र गरेका कुराहरुको बारेमा नै पुर्ण अनभिज्ञ रहेर हामीमा कहिले नयाँ सिर्जनशिलता पलाउला र ? सोचम् ! खोजम् !
(निरौला, आधा दर्जन पुस्तकका लेखक तथा शिक्षाको क्षेत्रमा लागिपरेका अध्येता, सोधकर्ता र ट्रेनर हुन् )
प्रतिक्रिया