कृष्ण सेनका दुई कविताहरु

माओवादीका आरोपमा पुलिस हिरासतमा मारिएका प्रगतिशील कवि एवं पत्रकार कृष्ण सेन इच्छुकको स्मृति दिवसमा उनका दुई कविताहरु यहाँ प्रस्तुत गरेका छौं । यी कविताहरु हामीले उनको कृति ‘इतिहासको यस घडीमा’बाट साभार गरेका हौं ।

 

प्यालेष्टिनी मित्रहरूका नाममा
रातो-रातो आलो रगतको निसाइलो दुर्गन्धले भरिएर

मध्यपूर्वीय तातो हवा
सारा ब्रह्माण्डभरि बहिरहेछ
बमको विष्फोट
तोपको गर्जन
र बारुदको धुवाँले
सारा बेरुत शहर खण्डहरजस्तै कुरुप र निर्जन हुँदै गइरहेछ
गाउँका गाउँ बस्तीका बस्ती
उजाड मसानघाटझैं भएका छन्

बाँच्नु र मर्नुको दोसाँधमा
लाखौंलाख निरीह जिन्दगीहरू
आक्रमणकारीहरूको घेराभित्र निसास्सिरहेछन्
लासमाथि लास ढलिरहेछ
रगतमाथि रगत बगिरहेछ
तुँवालो उढेजस्तो यी रक्तरंजित दिनहरूमा
मेरामित्र तिमीहरू
दिउँसको काम
रातीको निन्द्रा
र भान्साको छाक छोडेर
कि त आत्मसम्मानले लड्न विवश छौ कि त असंख्य लासहरूको थुप्रोमाथि
अर्को एउटा लास थपिएर मर्न विवश छौ ।


पवित्र शहीदस्थलजस्तो
सुन्दर-सुन्दर तिम्रो जन्मथलोबाट
जबरजस्ती बर्बरहरूद्वारा
निष्काशित गरिएका मेरा मित्र तिमीहरूले
आफ्नै खोसिएको देश खोज्नु
तिम्रो कुनै अपराध थिएन
प्यारो प्यारो तिम्रो घर दैलो र आँगनबाट खेदिएर
बलजफ्ती लुटेराहरूद्वारा
विस्थापित पारिएका मेरा मित्र तिमीहरूले
आफ्नै गुमेको राष्ट्र खोज्नु
तिम्रो कुनै अपराध थिएन

नाङ्गेझारजस्तै बनाई
देशहीन र राष्ट्रविहीन पार्न खोजे पनि बैरीले
तिनका अघि ज्यूँदो स्वाभिमानले
सिंगो - सिंगो राष्ट्र भएर बाँच्न खोज्नु
तिम्रो कुनै अपराध थिएन
बरु तर धुरीमाथि पाप चढेको बैरीलाई
तिमीहरूप्रति गरेको आफ्नै अपराधदेखि
रत्तिभर पनि पश्चाताप थिएन ।


विश्वजनमतको घोर उपेक्षा गरेर
ब्वाँसाको धापले निर्दोष जनहरूको नृशंस हत्या गरेर
तिमीमाथि युद्ध थोपरी आक्रमण गर्ने
बौलाएका अटेरी फ्याउराहरूसित
बमको मुश्लो र गोलीका पर्राहरूबीच
आत्मरक्षाका लागि मेरा मित्र तिमीहरू
निर्णायक युद्ध लडिरहेको बेला
शान्तिका नाममा
यहाँबाट आकाशमा परेवा उडाउनुको कुनै अर्थ छैन
पहरा दिए जस्तो चारैतिरबाट अत्याचारीहरूले घेरिएर
आत्मानिर्णयका लागि मेरा मित्र तिमीहरू
न्यायपूर्ण युद्धमा शहीद भइरहेको वेला
फूलपाती सेलाएजस्तै
सदा-सदालाई युद्धबाजहरूको अवसान र
युद्धकै विर्सजन नगरिएसम्म
शान्तिका नाममा
फेरि अर्को युद्धविरामको कुनै अर्थ छैन ।


प्यारा-प्यारा मित्रहरू
हजारौं पर्वत र लाखौं गज परबाट
तिमीहरूसंग युद्धको भूमिमा
बन्दुक बोकेर सामेल हुन नसके पनि
इतिहासको यस घडीमा
पापीलाई माफी दिनै नसकिने
यो भीषण नरसंहार र
जघन्य रक्तपातका विरुद्धमा
पाँचै औंलाले दह्रो मुठ्ठी कसेर
आहत तर क्षुब्ध मनले
चुनौतिभरि बैरीलाई घृणाहरू अफालेर
र म मेरो एउटा हात
तिम्रो सर्मथनमा माथिमाथि उठाइरहेछु
म मेरो अर्को हात
शान्तिको लागि
नीलो ध्वजा बाँधेर हवामा लहराइरहेछु ।


हामी शान्ति चाहन्छौं
त्यसैले यो अशान्तिका बिरुद्ध
लड मेरा बहादुर मित्रहरू, निर्भीक भएर लड
हामी न्याय चाहान्छौं
त्यसैले यो अन्यायका विरुद्ध
लड मेरा वीर मित्रहरू निर्भीक भएर लड
मर्नैपर्ने जिन्दगीमा मर्न भनेको केही पनि होइन
वीरहरूको आहुतिले धर्ती शून्य हुने छैन
न त धर्ती बाँझो नै हुनेछ
र तिम्रो त्याग आत्मवलिदानको गौरवपूर्ण गाथाले
तिम्रो लक्ष्यको पवित्रतालाई अझ चम्किलो पार्नेछ
र यो निश्चित छ
अन्तिम विजय तिम्रै हो
त्यसैले, लड मेरा संग्रामी योद्धाहरू
अन्तिम घडीसम्म निर्भीक भएर लड
यो अन्यायपूर्ण युद्धको छिनोफानो गरेर
फेरि यहाँ दानवताले लादेको
यो युद्ध नदोहोरिने
यो विध्वंश र यो संहार नदोहोरिने
शान्ति स्थापनाको व्रत लिएर
मानवताको जीतको घोषणा गर ।

–राप्ती सन्देश, २०४०

इतिहासको यस घडीमा
यसबेला केही निस्तेज शीरहरू झुकेर
सभक्ति अभिषेक चढाइरहेछन्
म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु
यसबेला केही दुर्बल मुट्ठीहरू फुक्केर
विनीत भावले जम्लेहात जोडिरहेछन्
म तिम्रो वज्र मुठ्ठीलाई झन् सबल देख्न चाहिरहेछु
यसबेला केही थकित पाइलाहरू गलेर
माझ बिसौनीमै बास मागिरहेछन्
म तिम्रा जब्बर पाइलाहरूलाई झन् अग्रसर देख्न चाहिरहेछु
यसबेला केही कर्णकटु स्वरहरू काँपेर
प्रशस्ती वाचन गरिरहेछन्
म तिम्रो प्रखर वाणीमा युगको हुङ्कार सुन्न चाहिरहेछु ।


व्यथित देशको चिन्ताले
आहत जनताको पीडा र सुस्केराले
हरदम अभिभूत तिमी
ए, मेरो युगको तरुण नायक !
यसबेला मैले कविता लेखुँ नलेखुँ केही फरक पर्दैन
तर तिम्रो आँधी-बेहरीमय महायात्रा भने रोकिनु हुन्न
इतिहासको यस संक्रमणशील घडीमा
भोको पेटका उर्जस्वी चेतनाहरूलाई
निधारबाट रगतका बाछिटाहरू पोछेर
दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ, भद्रपुरुष
तिमी भने झुक्किनु हुन्न
कहाँ फुलेको छ र डाँडाको फेदीमा रातै लालीगुराँस
तिमी भने यो फेदीमै अल्मलिनु हुन्न ।
–चैत्र, ०४६