बुद्ध- दर्शनभित्र अन्तर्निहित द्वन्दवाद

अनिश्वरवादी, द्वन्दवादी तर अभौतिकवादी दार्शनिक- बुद्ध

यो संसारमा सही के हो ? गलत के हो ?

वास्तवमा आज दुनियाँभरिका दार्शनिकहरूमा प्रमुख अन्तर्विरोध नै यही विषयमा छ । त्यसका लागि उनीहरूले यो संसारलाई तथा यसभित्रका विभिन्न घटनाहरूलाई भिन्न भिन्न प्रकारले व्याख्या गरेका छन् । प्रश्न उठ्छ, सही र गलत छुट्याउने मापदण्ड के हो ? कुन आधारमा दार्शनिक मूल्यांकन सही हुन्छ ? तथा कुन आधारमा मूल्यांकन गलत हुन्छ ? निश्चित रूपमा यस विषयमा गम्भीर मतभेद छ ।

भौतिकवादीहरूले पदार्थलाई प्रमुख सत्ताको रूपमा तथा चेतना चाहिँ त्यसको उपजको रूपमा भएको कुरालाई स्वीकार्छन् भने, आदर्शवादीहरूले चेतनालाई प्रमुख सत्ताको रूपमा स्वीकार्छन् । त्यस आधारमा नै भौतिकवादी तथा आदर्शवादीहरूले भिन्न भिन्न प्रकारले अर्थात् एकदम विपरीत प्रकारले यो संसारको मूल्यांकन गरेका छन् । एंगेल्सले भनेका छन्- "दार्शनिक अन्तर्विरोधको मूलभूत प्रश्न हो पदार्थ र चेतना बीचको सम्बन्ध ।" त्यस्तै प्लेटोले आफ्नो रचना 'सोफिस्ट' मा भनेका छन्- "वास्तविकताको लागि प्रकृति र आत्माबीचको अन्तर्विरोध एक प्रकारको देवासूर संग्राम हो ।” तर पनि आज कैयौं वैज्ञानिक तथा व्यवहारिक प्रमाणहरूद्वारा प्रमाणित भइसकेको छ- केवल ती भौतिकवादीहरू, जसले प्रत्येक चीजहरूलाई गतिशील रूपमा व्याख्या गर्दछन्, ले नै यो संसारलाई सही रूपमा व्याख्या गर्न सक्षम भएका छन् । अर्थात् आज प्रत्येक चीज र घटनाहरूलाई द्वन्दात्मक भौतिकवादले नै सही रूपमा विश्लेषण गर्न सकिरहेको छ । यसले गतिलाई पनि स्वीकार्ने हुनाले निश्चित रूपमा यसले विश्वको व्याख्या मात्र गर्ने नभएर यो संसारको परिवर्तनलाई पनि अगाडि ल्याउनु स्वाभाविक नै हो ।

भौतिकवादी तथा आदर्शवादीहरूले भिन्न भिन्न प्रकारले अर्थात् एकदम विपरीत प्रकारले यो संसारको मूल्यांकन गरेका छन् ।

अतः बुद्ध दर्शनलाई चिरफार गर्दा पनि उक्त द्वन्दात्मक भौतिकवादलाई नै मापदण्ड बनाउनु पर्दछ । अर्थात्, बुद्ध दर्शन कति सही छ ? कति गलत छ ? भन्ने मापदण्ड भनेको त्यसले भौतिकवादलाई कुन रूपमा स्वीकार्छ ? त्यसले द्वन्दवादलाई कुन रूपमा स्वीकार्छ ? यसै आधारमा नै त्यसको सही विश्लेषण हुन सक्छ ।

यसका साथै, दर्शन, धर्म, आदि भनेका वस्तुगत परिस्थितिको उपज हुने हुनाले, बुद्ध दर्शनलाई पनि चिरफार गर्दा, त्यस बेलाको समग्र वस्तुगत वातावरणको पनि अध्ययन गर्नुपर्ने हुन्छ । किनभने, विद्यमान सामाजिक प्रणालीले मानिसहरूको चेतनामा प्रभाव पारिरहेको हुन्छ ।

वास्तवमा, बुद्ध दर्शनको विकास त्यो बेला भयो, जब एकातिर समाजमा धार्मिक आडम्बरहरू जस्तै: कर्मकाण्ड, मूर्तिपूजा, ईश्वरोपासना, पुरोहितवाद जस्ता विसंगतिहरूको बाहुल्य थियो । प्राकृतिक रहस्यहरूलाई प्रमाणित गर्न उचित वैज्ञानिक तथ्यहरूको अभावमा त्यस्ता विकृतिहरूले प्रश्रय पाउनु स्वभाविक नै थियो । जसको फलस्वरूप, मानिसहरूमा उदासिनताले र निराशावादी प्रवृत्तिले विकराल रूप लिइरहेको थियो ।

बुद्ध दर्शनको विकास त्यो बेला भयो, जब एकातिर समाजमा धार्मिक आडम्बरहरू जस्तै: कर्मकाण्ड, मूर्तिपूजा, ईश्वरोपासना, पुरोहितवाद जस्ता विसंगतिहरूको बाहुल्य थियो ।

अर्कोतिर मानिसहरू सामूहिक जीवन प्रणालीबाट व्यक्तिगत जीवन प्रणालीतिर उन्मुख भइरहेका थिए । सामूहिक रूपमा बसोबास गर्ने कविला समाजहरू, जसको सामूहिक सम्पत्ति हुन्थ्यो, त्यो सम्पत्ति व्यक्तिगत सम्पत्तिमा परिणत भइरहेको थियो । कम्युनिष्ट दर्शनले भन्दछ- “सामाजिक विसंगतिको कारण व्यक्तिगत सम्पत्ति हो ।" स्पष्ट छ, त्यो बेला व्यक्तिगत सम्पत्तिको विकासले गर्दा समाजमा हत्या, लुटपाट, घुसखोरी आदि सामाजिक विसंगतिले प्रश्रय पाइरहेका थिए ।

त्यस्तो सामाजिक वातावरणमा गौतम बुद्धको जन्म इ.पू. ५६७ मा कपिलवस्तुको लुम्बिनी नामक गाउँमा भएको थियो । उनी कबिला समाज अन्तर्गत शाक्य जातिको प्रतिनिधित्व गर्दथे । त्यो बेला कबिलाहरू जो मुख्यतः शाक्य, मल्ल, बाज्जी आदि जातिका थिए को यथास्थितिको जीवन प्रणालीमाथि खतराको स्थिति देखिन थालेको थियो । कबिला समाजहरूको उन्मूलन गर्नु नै बुद्धका समकालीन मगध, कोशल शासकहरूको उद्देश्य रहन गयो । उनीहरूले आफ्नो हितको लागि कबिला समाजहरूमा निर्ममतापूर्वक आक्रमण गर्न थाले । सत्ता स्वार्थले उनीहरू यस अवस्थासम्म पुगे कि, मगधका राजा बिम्बिसारलाई उनका छोरा अजात शत्रुले भोकै मारे तथा कोशलका राजा प्रसन्नजीतलाई उनका छोरा विडुउमले षड्यन्त्रपूर्वक सत्ताबाट बञ्चित गरे । त्यस्तो वातावरणमा हुर्किरहेका बुद्धले सर्वत्र दुःख नै विद्यमान रहेको महसूस गरे ।

व्यक्तिगत सम्पत्तिको इच्छालाई नै उनले मानिसहरूको दुःखको कारण बताए ।

उनी प्रश्न गर्दछन्- "यी राजाहरू, राज्यमा शासन गर्दछन्, अत्याधिक सम्पत्तिको मालिक बन्दछन्, तथा आफनो लोभको शिकार अरूलाई बनाउछन् । यसरी शासकहरू नै स्वार्थ साधनमा जुटेका छन् भने, त्यस्तो परिस्थितिमा को शान्तिपूर्वक रहन सक्छ ?" यसरी मानिसहरूमा जुन अत्यन्त तृष्णाको भावना विकास भइरहेको थियो, त्यसैलाई अर्थात व्यक्तिगत सम्पत्तिको इच्छालाई नै उनले मानिसहरूको दुःखको कारण बताए ।

यस विषयमा बुद्ध दर्शन तथा मार्क्सवादी दर्शनको समान दृष्टिकोण भएको स्पष्ट छ । दुःखको व्याख्या गर्दै बुद्ध भन्दछन्- "जन्मनु दुःख हो, मर्नु दुःख हो, विरामी हुनु दुःख हो, बुढो हुन् दुःख हो, नराम्रो मानिससित भेट हुनु दुःख हो, राम्रो मानिसित विछोड हुनु दुःख हो ।” यसरी सर्वत्र दुःख नै व्याप्त भएको रूपमा उनी यो संसारको मूल्यांकन गर्दछन् । तथा उनको दार्शनिक चिन्तन पनि यही विषयमा नै केन्द्रित रह्यो ।

संसारमा सर्वत्र व्याप्त दुःखको कारण के हो ? के यसको निराकरण संभव छ ? यदि संभव छ भने त्यसको मार्ग के हो ? यसरी उनी यो निष्कर्षमा पुगे कि, यी सबै समस्याहरूको समाधान ईश्वरीय चिन्तनबाट संभव छैन । ईश्वरोपासना गरेर समय बर्वाद गर्नुलाई उनले अनावश्यक ठाने ।

के हो आत्मवाद-अनात्मवाद ?

आत्मवाद- आत्मवादीहरुले परम आत्माद्वारा नै यो संसार संचालित भइरहेको वकालत गर्दछन् । त्यसका साथै आत्मालाई स्थिर तथा स्वतन्त्र अस्तित्वको रुपमा स्वीकार्छन् अनात्मवाद- अनात्मवादीहरुले आत्माको अमरता अथवा नित्यतालाई अस्वीकार गर्दछन् । तथा त्यसलाई निरपेक्ष रुपमा प्रस्तुत नगरेर सापेक्ष रुपमा प्रस्तुत गर्दछ । उनीहरु शरीरको अन्तपछि आत्माको पनि अन्त हुन्छ भन्ने सोच राख्छन् ।

यसरी वेदकालीन दर्शनभन्दा यथार्थलाई ठम्याउन उनी एक कदम अगाडि बढेको स्पष्ट हुन्छ । किनभने, ईश्वरवाद एउटा त्यस्तो चिन्तन हो, जसले कुनै चीज र घटनाहरूलाई गहन रूपमा विश्लेषण नगरेर, उपरोक्त चीजहरूलाई कुनै अलौकिक शक्तिसित जोडेर आफू बच्ने प्रयास गर्दछ । स्पष्ट छ कुनै पनि दर्शनमा जति ईश्वरवादको बाहुल्य रहन्छ, त्यति नै त्यो यथार्थबाट टाढा रहन्छ । अतः बुद्ध दर्शन जुन रूपसम्म ईश्वरवादको बाहुल्यबाट मुक्त हुने कोशिस गरेको छ, त्यही हदसम्म त्यसले यथार्थलाई ठम्याउने कोशिस गरेको छ ।

बुद्ध दर्शनको सबभन्दा यथार्थ पक्ष भनेको द्वन्दवादी दार्शनिक चिन्तन हो । बुद्ध भन्दछन्- "यो संसारमा 'कुनै चीजको अस्तित्व छ' तथा 'अस्तित्व छैन' ।

बुद्ध दर्शनको सबभन्दा यथार्थ पक्ष भनेको द्वन्दवादी दार्शनिक चिन्तन हो । बुद्ध भन्दछन्- "यो संसारमा 'कुनै चीजको अस्तित्व छ' तथा 'अस्तित्व छैन' । यी दुई विपरीत धारणाहरूको आधारमा नै चल्दछ जुन मानिसलाई जब कनै चीजको अस्तित्व छ भन्ने ज्ञान हुन्छ, त्यो अवस्थामा अस्तित्व छैन भन्ने धारणा स्वतः हटेर जान्छ ।" उक्त भनाइमा निश्चित रूपमा द्वन्दवादको बीज विद्यमान छ । जसले स्पष्ट गर्दछ, संसारमा प्रत्येक चीजमा हुने परिवर्तनलाई विरोधी पक्षहरूको बीचमा हुने अन्तर्विरोधको स्वरूपले निर्धारण गर्दछ । अर्थात्, प्रत्येक ठाउँमा विरोधी पक्ष विद्यमान छ र तिनीहरूको बीचमा हुने संघर्षले नै उक्त चिजहरूलाई गतिशील बनाएको हुन्छ । निश्चित रूपमा बुद्धको उक्त द्वन्दवादी दृष्टिकोण, ईश्वरवादीहरूको यथास्थितिवादी धारणालाई कडा चुनौती थियो । ईश्वरवादीहरू यो संसारलाई स्थिर रूपमा बुझ्दथे । उनीहरूको धारणा थियो कि, यो संसारलाई कुनै अलौकिक शक्तिले निर्माण गर्दछ र त्यो स्थिर रहिरहन्छ । उपरोक्त चिन्तनलाई खण्डन गर्न बुद्धसित उपयुक्त वैज्ञानिक प्रमाणहरू थिएनन्, तर पनि व्यवहारिक तर्कहरूका आधारमा परिवर्तनको नियमलाई प्रमाणित गर्ने प्रयत्न उनी गर्दथे । उनी व्यवहारिक तर्कहरू द्वन्दवादलाई मापदण्ड बनाएर नै प्रस्तुत गर्दथे । सर्वप्रथम विरोधी मतलाई प्रस्तुत गर्नु, त्यसपछि त्यसलाई विभिन्न तर्कहरूद्वारा खण्डन गर्दै अन्तमा सही निष्कर्षमा पुग्नु अर्थात् उपरोक्त प्रकारको वादविवाद प्रक्रिया नै बुद्धको द्वन्दवादी पद्धति थियो ।

"यदि कुनै मत राम्रो, दोषरहित तथा समसामयिक घटनाहरू अनुकुल छ भने स्वीकार गर । कुनै विचार या धर्मलाई अन्धानुकरण नगर । स्वयं मेरा उपदेशहरूलाई पनि अन्धानुकरण नगर, त्यो उचित छ भने मात्र स्वीकार गर ।" यसरी बुद्धको उपदेशमा यथार्थता छ । उनको विचार थियो- कुनै मतप्रति यदि सन्देह हुन्छ, त्यो राम्रो पक्ष हो । उक्त सन्देहात्मक मत यदि विभिन्न तर्कहरूद्वारा अथवा वादविवाद प्रक्रियाद्वारा गलत सिद्ध हुन्छ भने त्यसलाई अस्वीकार गर्नु नै उचित हुन्छ ।”

"यदि कुनै मत राम्रो, दोषरहित तथा समसामयिक घटनाहरू अनुकुल छ भने स्वीकार गर । कुनै विचार या धर्मलाई अन्धानुकरण नगर । स्वयं मेरा उपदेशहरूलाई पनि अन्धानुकरण नगर, त्यो उचित छ भने मात्र स्वीकार गर ।" यसरी बुद्धको उपदेशमा यथार्थता छ ।

त्यसको साथै कुनै विषयमा दक्षता निरन्तर प्रयासद्वारा प्राप्त हुने उनको मत थियो । उनी भन्दछन्- “त्यस्तो कुनै ब्रम्हाण (दक्ष व्यक्ति) नै छैन, जसले सबै एकैचोटी नै जानोस् ।" वास्तवमा उनको यो भनाइमा पनि द्वन्दवादको विषयवस्तु विद्यमान छ । किनभने, ज्ञान हमेशा निम्न स्तरबाट उच्चस्तरतिर बढिरहेको हुन्छ । 'वाद' तथा 'प्रतिवाद' बीचको अन्तर्विरोधले गर्दा, त्यसले गतिशील रूप धारण गरेको हुन्छ । यसरी विभिन्न चीजहरूमा हुने परिवर्तनलाई स्पष्ट रूपमा बुझ्न बुद्ध सक्षम भएका छन् ।

त्यसका साथै, बुद्धको प्रतीत्य समुत्पाद' को सिद्धान्तले पनि बुद्धको द्वन्दवादलाई अझ पुष्टि गर्दछ । यस सिद्धान्त अनुसार, एउटाको विनाश भएपछि अर्काको उत्पत्ति हुन्छ । अर्थात्, कुनै पनि वस्तु अधिक समयसम्म स्थायी रहिरहदैन । त्यसमा प्रतिक्षण दोष उत्पन्न भइरहेको हुन्छ, जसले गर्दा त्यसको अन्त हुन्छ र नयाँ चीजको निर्माण हुन्छ । तर नयाँ चीज स्वतः स्फूर्त रूपमा उत्पन्न नभएर त्यो पूर्ववर्ती कारणमाथि निर्भर गर्दछ । अर्थात् प्रत्येक चीजहरू एक आपसमा निर्भर रहन्छन् । अन्य आदर्शवादीहरूले जसरी प्रत्येक चीज र घटनाहरूलाई निरपेक्ष रूपमा व्याख्या गर्दछन् । त्यसको विरूद्ध 'पतीत्य समुत्पाद' सिद्धान्तले प्रत्येक चीज र घटनाहरूलाई जोडेर हेर्दछ । बुद्ध दुःखका कारणहरूलाई स्पष्ट गर्दै भन्दछन्- " अज्ञानताको कारण संस्कारको जन्म हुन्छ, संस्कारबाट चेतना, चेतनाबाट शरीर, शरीरबाट षडायतन (पाँच इन्द्रिय र मन),
त्यसबाट क्रमशः स्पर्श, अनुभूति, इच्छा, आसक्ति, जन्मको इच्छा, पुनर्जन्म र अन्तमा पुनः दुःख ।”

यद्यपि बुद्ध, मानिसहरूको दुःखको निराकरणमा नै बढी केन्द्रित रहे । अतः उनको दार्शनिक चिन्तन पनि त्यही विषयमा नै केन्द्रित रहन गयो । तर पनि त्यसका सकारात्मक उदाहरणहरूले व्यवहारिक जीवनमा विशेष महत्व राख्दछन् ।

ईश्वरवादीहरू प्रतीत्य समुत्पाद सिद्धान्तलाई खण्डन गर्दै, यो काल्पनिक शिक्षामा जोड दिन्छन् कि, जुनवस्तुको स्वतन्त्र अस्तित्व हुँदैन, त्यो सत्य हुँदैन । अतः भौतिक जगत् केवल आभास मात्र हो, त्यसमा सत्यता छैन । केवल 'ब्रम्हा'
अर्थात् परम् आत्माको नै स्वतन्त्र सत्ता भएकोले त्यो नै एकमात्र सत्य हो । तर बुद्ध दर्शनले कुनै पनि त्यस्तो सत्तालाई अस्वीकार गर्दछ, जसको स्वतन्त्र अस्तित्व हुन्छ । अर्थात्, कुनै पनि चीज स्वतन्त्र हुँदैन । ईश्वरवादीहरूले 'ब्रम्हा' लाई स्वतन्त्र अस्तित्वको रूपमा व्याख्या गरेकोले बुद्ध दर्शनले ब्रम्हालाई अस्वीकार गर्दछ ।

बुद्ध अनिश्वरवादी तथा द्वन्दवादी थिए तर उनी भौतिकवादी थिएनन् । किनभने, उनी चेतनालाई पदार्थको उपजको रूपमा स्वीकार्दैनथे ।

उपनिषद्को 'आत्मवाद' को सिद्धान्त अर्थात् आत्मा नै एउटा त्यस्तो शुद्ध द्रव्य
हो, जसमा कुनै परिवर्तन हुँदैन, को प्रतिक्रियास्वरूप बुद्धले 'अनात्मवाद' को सिद्धान्त प्रतिपादन गरे । उपनिषदले आत्मालाई पूर्णतः दोषरहित द्रव्यको रूपमा
व्याख्या गर्दछ तर त्यसको विपरीत बुद्ध दर्शनले कुनै पनि त्यस्तो चीजको अस्तित्वलाई स्वीकार्दैन, जो पूर्णतः दोषरहित होस् । यसरी आत्मामा पनि
विभिन्न दोषहरू उत्पन्न भइरहेका हुन्छन्, जसले गर्दा त्यहाँ गलत पक्ष र सही पक्ष बीचको अन्तर्विरोध चल्दछ र अन्तमा गलत पक्ष नष्ट हुन्छ र सही पक्षको
अस्तित्व कायम हुन्छ । यो प्रक्रिया चलिरहन्छ । अर्थात्, आत्मा अथवा चेतना
अमर हुँदैन, त्यो क्षणिक हुन्छ र त्यसको स्वरूप गतिशील हुन्छ । यसरी भौतिक जगत् र चेतनालाई बुद्ध दर्शनले सतत् प्रवाहको रूपमा व्याख्या गर्दछ । त्यस्तै, उक्त दर्शनको 'अनित्यवाद' को सिद्धान्तको पनि विशेष महत्व छ, जसले कुनै पनि चीजलाई क्षणिक रूपमा प्रस्तुत गर्दछ । अर्थात् प्रत्येक चीज मरणशील हुन्छन् ।

यसरी स्पष्ट छ, बुद्ध अनिश्वरवादी तथा द्वन्दवादी थिए तर उनी भौतिकवादी थिएनन् । किनभने, उनी चेतनालाई पदार्थको उपजको रूपमा स्वीकार्दैनथे । उनी पदार्थ र चेतनालाई द्वैत रूपमा सम्झन्थे । अर्थात् उनी द्वैतवादी थिए ।

यद्यपि, उनी कैयौं धार्मिक विसंगतिहरू, जस्तै पुरोहितवाद, मूर्तिपूजा, ईश्वरपूजा आदिबाट मुक्त हुन सक्षम भए तर पुनर्जन्म तथा कर्मवादको सिद्धान्तबाट मुक्त हुन सकेनन् । वेदकालीन दार्शनिकहरू जस्तै उनले यो विश्वास गर्दथे कि, मानिसहरू शुभ तथा अशुभ कर्महरूको राम्रो तथा नराम्रो फल अवश्य प्राप्त गर्दछन् । तथा उक्त फल प्राप्त गर्न मानिसहरूलाई बारम्बार यो संसारमा जन्म लिइरहन पर्दछ ।

एउटा गम्भीर प्रश्न उठ्दछ, बुद्धले यो संसारलाई कुन हदसम्म सही रूपमा विश्लेषण गर्न सक्षम भएका छन् ?

तर, एकातिर, उनी आत्माको अमरतालाई अस्वीकार गर्दछन् । अर्कोतिर, पुनर्जन्मको सिद्धान्तको वकालत गर्दछन् । यदि मासिहरूको मृत्युपश्चात कुनै शाश्वत तत्व बाँकी रहँदैन भने मानिसहरूको पुनर्जन्म कसरी हुन्छ ? यसरी बुद्धका कैयौं दार्शनिक चिन्तनहरू स्वयंमा विरोधाभाषपूर्ण भएको स्पष्ट हुन्छ । यद्यपि, बुद्धका समकालीन दार्शनिकहरूले यस प्रश्नको भ्रमित उत्तर दिने कोशिस गरेका छन्- मानिसहरूले आफ्नो कर्मको फलस्वरूप जुन संस्कार (अनुभवद्वारा मनमा परेको छाप) हुन्छ, त्यो कहिल्यै पनि नष्ट हुँदैन र त्यही आधारमा पुनर्जन्म हुन्छ । तर यो तर्कमा कुनै सत्यता छैन ।

अन्तमा एउटा गम्भीर प्रश्न उठ्दछ, बुद्धले यो संसारलाई कुन हदसम्म सही रूपमा विश्लेषण गर्न सक्षम भएका छन् ?

धार्मिक विसंगतिहरूको बाहुल्य भएको समाजलाई चुनौति दिएर त्योभन्दा तुलनात्मक रूपले प्रगतिशील धारको वकालत गर्नु अर्थात् मूर्तिपूजा, ईश्वरको उपासना, पुरोहितवादका विरूद्ध सही दार्शनिक चिन्तनलाई अगाडि बढाउनु निश्चित रूपमा प्रगतिशील कुरा हो ।

निश्चित रूपमा उनी केही हदसम्म सही रूपमा विश्लेषण गर्न सक्षम भएका छन् तर पनि उनी कैयौं आदर्शवादी चिन्तनबाट भने मुक्त हुन नसकेकोले अर्थात् उनी भौतिकवादी हुन नसकेकोले उनी सही स्थानमा पुग्न भने सकेनन् तर पनि जुन बेला न त केप्लर, ल्याप्लास जस्ता वैज्ञानिक, जसले खगोल विज्ञानको माध्यमबाट सौर्यमण्डलको व्याख्या गरे, जन्मिएका थिए, न त चार्ल्स डार्विन जस्ता वैज्ञानिक, जसले जीवहरूको विकासक्रमको व्याख्या गरे, न त न्यूटन जस्ता वैज्ञानिक नै, जसले भौतिक विज्ञान तथा गणितको रहस्य पत्ता लगाए, जन्मिएका थिए । त्यस्तो परिस्थितिमा पनि पश्चिमी दर्शनमा हेराम्लिट्सले गरेको काम पूर्वीय दर्शनमा बुद्धले गरे, त्यो एउटा सहानीय कदम हो । धार्मिक विसंगतिहरूको बाहुल्य भएको समाजलाई चुनौति दिएर त्योभन्दा तुलनात्मक रूपले प्रगतिशील धारको वकालत गर्नु अर्थात् मूर्तिपूजा, ईश्वरको उपासना, पुरोहितवादका विरूद्ध सही दार्शनिक चिन्तनलाई अगाडि बढाउनु निश्चित रूपमा प्रगतिशील कुरा हो । यसले सही दार्शनिक चिन्तनको विकासको लागि नयाँ आयाम दिएको छ ।
आजको बदलिएको परिस्थितिमा बुद्ध दर्शनलाई नयाँ रूपमा परिमार्जित गरेर स्वीकार्नु नै न्यायसंगत हुन्छ । तर बुद्ध धर्मका दुई धारमध्ये 'महायान' धर्मावलम्बीहरूले जसरी उक्त दर्शनलाई विकृत रूपमा स्वीकारेका छन्, त्यो निश्चित रूपमा गलत पक्ष हो । बुद्धलाई ईश्वरको रूपमा उपासना गर्नुका साथै दुनियाँभरिका धार्मिक अन्धविश्वासहरू, कर्मकाण्ड, पूरोहितवाद आदि उनीहरूको लागि आदर्श बन्न पुगेका छन् । निश्चित रूपमा त्यो एउटा गलत पक्ष हो र त्यसले बुद्धका सिद्धान्तहरूलाई नै अवहेलना गर्दछ तथा बुद्ध दर्शनलाई विकृत रूपमा प्रस्तुत गर्दछ ।

मूल्याङ्कन मासिक, २०५५ असारको अङ्कमा प्रकाशित लेख