गणतन्त्रवादी बुद्ध
इतिहासका किताबहरुमा लेखिएको छ, २६ सय वर्षअगाडि नेपालको कपिलवस्तुमा राजतन्त्र थियो, त्यहाँका राजा शुद्धोदन शाक्यका पुत्र थिए: सिद्धार्थ गौतम ।
स्कुलका पुस्तकहरुमा छापिएको छ, आधारातमा राजमहल छाडेर गई बुद्धत्व प्राप्त गरेका सिद्धार्थ राजकुमार थिए ।
इतिहासका किताबहरुमा लेखिएका यी कुराहरु वास्तवमा सही छन् त ? अहँ, सत्यतथ्य खोज्दै जाँदा यी कुराहरु अवास्तविक हुन् भन्ने देखिन्छ । सत्य के हो भने त्यतिखेर कपिलवस्तुमा राजतन्त्र नै थिएन, गणतन्त्र थियो । एक व्यक्तिको होइन, धेरै व्यक्तिहरुको सहभागिता भएको परिषद्को शासन थियो ।
सत्य के हो भने शुद्धोदन संसद् सरहको गण–संस्थाबाट चुनिएका मुखिया वा गणपति (राष्ट्रपति) थिए, राजा थिएनन् । अहिलेका राजाजस्ता वंशानुगत निरंकुश राजा थिएनन् उनी । उनी पनि गणतन्त्रका चुनिएका राजा वा राष्ट्रपति थिए ।
राजासमेत निर्वाचित हुने गणतान्त्रिक परम्परा थियो त्यसबेला । गणपति वा राष्ट्रपतिलाई पनि ‘राजा’ नै भनिन्थ्यो त्यतिखेर । प्राचीन ‘भारत में राजनीतिक विचार एवं संस्थाएँ’ का लेखक तथा इतिहासकार रामशरण शर्माका अनुसार राजाको अर्थ थियो: प्रजाको रञ्जन गर्ने । जनतालाई आनन्दित तुल्याउने दिव्य र शक्तिशाली नाइकेरुपी राजा नै त्यसबेला निर्वाचित गरिन्थ्यो । अतः राजा हुँदैमा राजतन्त्र कायम रहन्छ भन्नु गलत हुन्छ ।
निर्वाचित राष्ट्रपति: राजा
कपिल नामक प्रख्यात ऋषिको नामबाट बनेको निकै सुन्दर राज्य थियो कपिलवस्तु । ‘प्राचीन भारत की शासन–पद्धति और राजशास्त्र’का लेखक सत्यकेतु विद्यालंकारका अनुसार त्यो सानो राज्य अहिलेको सानो सहरजत्रो मात्रै थियो । नगर–राज्यको रुपमा रहेको कपिलवस्तु सातवटा पर्खालद्वारा घेरिएको थियो ।
त्यसबेला राजा एउटा पद थियो, जुनसुकै धनीमानी कुलीन व्यक्ति निर्वाचित हुनसक्ने पद । राजा पद कुनै वंश, कुल वा परिवारको पेवा थिएन । वंशानुक्रम अनुसार जेठो छोरोले राजा हुने चलन पनि त्यहाँ स्थापित भएको थिएन ।
आजभन्दा २६ सय वर्षअगाडि त्यहाँ शाक्यवंशका मानिसहरु बसोबास गर्दथे । क्षेत्रीय कुलका शाक्यवंशकै एकजना धनीमानी गण सदस्यलाई ‘राजा’ निर्वाचित गरिन्थ्यो । त्यसबेला राजा एउटा पद थियो, जुनसुकै धनीमानी कुलीन व्यक्ति निर्वाचित हुनसक्ने पद । राजा पद कुनै वंश, कुल वा परिवारको पेवा थिएन । वंशानुक्रम अनुसार जेठो छोरोले राजा हुने चलन पनि त्यहाँ स्थापित भएको थिएन ।
‘हिन्दू पोलिटी’का लेखक डा. के. पी. जायसवालका अनुसार वास्तवमा शाक्य गणराज्यमा लोकतन्त्र प्रचलित थियो, लोकतान्त्रिक शासन–पद्धति चलिरहेको थियो त्यहाँ । त्यस पद्धतिअनुसार राज्यका मुखिया वा राष्ट्रपतिलाई ‘राजा’को नाम दिइएको थियो । बुद्धको कालमा अरु थुप्रै राज्यहरुमा पनि यस्तै राजा नभएको तन्त्र प्रचलित थियो, जसलाई गणतन्त्र भनिन्छ । अरु गणतन्त्रमा त प्रत्येक वंश वा कुलका मुखियालाई राजा भनिन्थ्यो । धेरै कुल वा वंश भएको गणतन्त्रमा राजा पनि थुप्रै हुन्थे । त्यहीबेला लिच्छवि गणराज्यमा त ७७०७ जना राजाहरु थिए । तीमध्ये एकजनालाई प्रमुखको पदमा निर्वाचित गरिन्थ्यो ।
तर शाक्यहरुको गणराज्य कपिलवस्तुमा भने प्रत्येक मुखिया वा सरदारलाई राजा भनिँदैनथ्यो । शाक्य गण परिषद्मा ५०० जना कुलीनहरु सदस्यका रुपमा थिए तर उनीहरु सबैलाई राजा भनिँदैनथ्यो । त्यहाँ राजा केवल एकजनामात्रै हुन्थ्यो, जसलाई ती ५०० जना शाक्य गणबीचको चुनावबाट निर्वाचित गरिन्थ्यो ।
त्यहाँ शासन गर्नका लागि एउटा गण परिषद्को व्यवस्था गरिएको हुन्थ्यो । त्यसको अधिवेशन राजधानी कपिलवस्तुको सन्थागार (सभाभवन)मा हुन्थ्यो । हरेक खालको नीति–निर्णयका लागि ५ सय सदस्यीय परिषद्को अधिवेशन गरिन्थ्यो ।
यसबाट के देखिन्छ भने शाक्य–परिषद्मा प्रत्येक नागरिक सदस्य हुँदैनथे । अतः शाक्यहरुको गणतन्त्र पनि श्रेणीतन्त्र (एरिस्टोक्रेसी) थियो, जसमा कुलीन शाक्य घरानाका मुखियाहरुले नै शासनको कार्य सञ्चालन गर्दथे । ती ५ सय सदस्यहरुको नियुक्ति कसरी हुन्थ्यो भन्ने कुराको स्पष्ट जवाफ फेला परेको छैन ।
निश्चित अवधिका लागि राजा
शाक्य गणको परिषद्का तिनै सदस्यहरुमध्ये एक थिए: बुद्धका पिता शुद्धोदन पनि, जो तिनीहरुबाटै राजाको पदमा निर्वाचित भएका थिए । त्यसरी निर्वाचित राजा बनेका थिए शुद्धोदन, गणतन्त्रका राष्ट्रपतिका रुपमा ! यस अर्थमा शुद्धोदन शाक्य गणराज्यका वंशानुगत राजा थिएनन् भन्ने तथ्य स्पष्ट हुन्छ । उनले आफ्ना पिताबाट जेष्ठ पुत्र भएको कारणले राजाको पद पाएका थिएनन् । केही समयका लागिमात्रै शाक्य गण परिषदद्वारा उनलाई राजामा निर्वाचित गरिएको थियो ।
निर्वाचित राजा बनेका थिए शुद्धोदन, गणतन्त्रका राष्ट्रपतिका रुपमा ! यस अर्थमा शुद्धोदन शाक्य गणराज्यका वंशानुगत राजा थिएनन् भन्ने तथ्य स्पष्ट हुन्छ । उनले आफ्ना पिताबाट जेष्ठ पुत्र भएको कारणले राजाको पद पाएका थिएनन् ।
यहाँ प्रश्न उठ्नसक्छ, कसरी उनी केही समयका लागि राजा भएका थिए ? ‘स्टेट एण्ड गभर्मेन्ट अफ एन्सियन्ट इण्डिया’का लेखक ए.एस. अलतेकरका अनुसार आफ्नो जीवनकालमै उनी राजा पदबाट च्यूत भइसकेका थिए । फेरि निर्वाचित नभएको कारणले सामान्य कुलीन नागरिक भइसकेका थिए उनी । एकपटक निर्वाचित भइसकेपछि जीवनभरका लागि राजाको सिंहासनमा टाँसिइरहने चलन त्यतिखेर सुरु भइसकेको थिएन । उनी निश्चित अवधिका लागि राजा भएका थिए; अनि त्यस अवधिभरि शासन गरिसकेपछि उनकै जीवनकालमा शाक्यवंशका अरु व्यक्तिहरु राजामा निर्वाचित भएका थिए ।
त्यसैले बौद्ध साहित्यमा उनलाई कतै ‘राजा शुद्धोदन’ भनिएको छ भने कतै आमनागरिकहरुलाई जस्तै ‘शाक्य शुद्धोदन’मात्रै भनिएको पाइन्छ । के. पी. जायसवालको किताब ‘हिन्दू पोलिटी’का अनुसार उनको निश्चित अवधिको शासनकालपछि उनकै भतिजा भद्दिय र दण्डपाणिलाई राजामा निर्वाचित गरिएको थियो । यसबाट के देखिन्छ भने उनी अहिलेका जस्ता वंशानुगत राजा थिएनन् ।
राजकुमार हुन्, राजकुमार होइनन्
शुद्धोदन वंशानुगत राजा नभएको कारणले उनका छोरा सिद्धार्थलाई पनि राजकुमार भन्नु ठीक हुनसक्छ र ? राजकुमार नै भन्ने हो भने पनि केही समयका लागि राजामा निर्वाचित भएका शुद्धोदनका पुत्रको अर्थमा मात्रै उनलाई राजकुमार भन्नसकिन्छ कि ? वंशानुगत राजाका पुत्रको अर्थमा सिद्धार्थलाई राजकुमार भन्ने हो भने अनर्थ हुने सम्भावना छ ।
सिद्धार्थले घर नत्यागेको स्थितिमा पनि उनी भोलि गएर राजामै निवार्चित हुने कुनै ग्यारेन्टी थिएन ।
इतिहासकार रोमिला थापरका अनुसार सिद्धार्थको जन्म गणतन्त्रको शासक परिवारमा लगभग ५७६ ई.पू.तिर भएको थियो । शुद्धोदन र महामायाको परिवारमा जन्मिएका सिद्धार्थलाई राज्य सञ्चालनका लागि योग्य बनाउने उद्देश्यका साथ नै सानैदेखि शिक्षादीक्षा दिइएको थियो । राज्य सञ्चालन गर्ने क्षेत्रीय कुलको परम्पराअनुसार नै उनलाई किशोर अवस्थामा युद्धकला सिकाइएको थियो । ‘प्राचीन भारत’ पुस्तकका लेखक डी.एन. झाका अनुसार आफ्ना काकाकी छोरी यशोधरासँग विवाह गरेका सिद्धार्थले उनीबाट राहुल नामक छोरा जन्मिसकेपछि २९ वर्षको उमेरमा ज्ञान प्राप्तिका लागि घर त्यागेका थिए ।
यस घटनालाई राजा हुने लाइनमा रहेका राजकुमारले सिंहासन र दरबार नै त्यागेर गएको अर्थमा व्याख्या–विश्लेषण गर्नु तथ्यपूर्ण हुनसक्दैन । किनकि उनले घर नत्यागेको स्थितिमा पनि उनी भोलि गएर राजामै निवार्चित हुने कुनै ग्यारेन्टी थिएन ।
दार्शनिक बुद्ध गणतन्त्रवादी
सिद्धार्थको जन्म शाक्य गणतन्त्रमा भएको थियो भने उनको मृत्यु पनि ८० वर्षको उमेरमा मल्ल गणतन्त्रमा भएको थियो । सिद्धार्थबाट दार्शनिक बुद्धमा रुपान्तरित भएका उनले सिंगो जीवन गणतन्त्रहरुमै बिताएका थिए ।
बुद्धले गणतन्त्रको रक्षा र विकासका लागि विभिन्न नीति र कार्यक्रम बनाएर व्यवहारमै लागु गरेका थिए । र, गणतन्त्रवादी स्वरमा सबैलाई सम्बोधन गर्दै उद्घोष गरेका थिए: ‘संघम् शरणम् गच्छामि !’
यहाँ प्रश्न उठ्छ, के दार्शनिक बुद्ध गणतन्त्रवादी थिए त ? हो, पक्कै पनि उनी गणतन्त्रवादी थिए । डा. के.पी. जायसवाल, डा.रीज डेविड्स, प्रो.अनन्त सदाशिव अलतेकर र राहुल सांकृत्यायनजस्ता विद्वानहरुका अनुसार उनी पूरै गणतन्त्रवादी थिए, निरंकुश एकल नेतृत्व हुने राजतन्त्रवादी थिएनन् उनी ।
उनले गणतन्त्रको रक्षा र विकासका लागि विभिन्न नीति र कार्यक्रम बनाएर व्यवहारमै लागु गरेका थिए । र, गणतन्त्रवादी स्वरमा सबैलाई सम्बोधन गर्दै उद्घोष गरेका थिए: ‘संघम् शरणम् गच्छामि !’
के.पी. जायसवालका अनुसार गणको अर्थ जनाउने संघमा आबद्ध हुनका लागि आग्रह गर्ने बुद्धलाई गणतान्त्रिक शासन–प्रणाली निकै प्रिय थियो । त्यसैले उनले आफ्नो नयाँ धार्मिक सम्प्रदायलाई ‘भिक्षु–संघ’ नामकरण गरेका थिए । उनले त्यसबेला विद्यमान गणतान्त्रिक शासनका नियम र कार्यविधिहरुलाई संघभित्र लागु गरेका थिए । नयाँ नियमहरु निर्माण गरी तिनलाई अरु विकसित गरेका थिए उनले ।
‘दर्शन दिग्दर्शन’का लेखक राहुल सांकृत्यायनका अनुसार बुद्ध कति हदसम्म गणतन्त्रवादी थिए भन्ने कुराको दसि–प्रमाण भनेको उनका विचार र व्यवहार नै हुन् । मगध राजतन्त्रका शक्तिशाली राजा अजातशत्रुसँग उनको राम्रो सम्बन्ध थियो । तापनि उनले मगध साम्राज्यको पेलानमा परेको वैशाली गणतन्त्रका लिच्छविहरुको प्रशंसा गर्दै राष्ट्रलाई अपराजित राख्नका लागि आवश्यक सात सूत्र बताएका थिए:
१) बरोबर एकत्रित भई सामूहिक निर्णय गर्नु
२) (निर्णयअनुसार) कर्तव्य पालना गर्नु
३) व्यवस्था (कानुन र विनय)को पालना गर्नु
४) वृद्धहरुको सत्कार गर्नु
५) स्त्रीहरुमाथि जबरजस्ती नगर्नु
६) जातीय धर्मको पालना गर्नु
७) धर्माचार्यहरुको सत्कार गर्नु ।
यी सातवटा सूत्रमा सामूहिक निर्णय गर्ने र सामूहिक कत्र्तव्य पालना गर्नेजस्ता पक्षहरु गणतन्त्रका प्राणहरु हुन् । एक व्यक्तिको मनपरी शासन चल्ने निरंकुश राजतन्त्रसँग बाझिने खालका आचरण हुन् यी । अढाइ सहस्राब्दी अगावै ब्राम्हणवादी कुसंस्कारविरुद्ध विद्रोह गरेका बुद्धका यस्तै प्रगतिशील विचार र आचरण आजको समय–सन्दर्भमा पनि उत्तिकै विचारणीय देखिन्छन्, चाहे गणतन्त्रवादीहरुका लागि होस् वा गणतन्त्रविरोधीहरुका लागि ।
प्रतिक्रिया