अनुशरण

एकजना व्यक्ति हरेक दिन गौतम बुद्धको प्रवचन सुन्न आउने गर्थे । उनी दिनहुँ आउँथे, पूरा तनमन र ध्यानका साथ उनी बुद्धका कुराहरु सुन्ने गर्थे ।

बुद्धले आफ्ना प्रवचनहरुमा मूलतः लोभ, मोह, द्वेष र अहंकार त्यागेर जीवनमा परम लक्ष्य प्राप्त गर्नका लागि उपेदश दिने गर्थे ।

एक दिन ती व्यक्ति गौतम बुद्ध नजिक गए र भन्न लागे, ‘‘तथागत, म लगभग एक महिनादेखि तपाईंको प्रवचन सुनिरहेको छु । तर मलाई क्षमा गर्नुहोला, ममाथि त्यसको कुनै प्रभाव वा असर परिरहेको छैन । तपाईंले भन्नुभएका सबै वचनहरु सत्य हुन् तर पनि यस्तो किन भइरहेको छ ? यसको कारण के हुन सक्छ ? के ममा नै कुनै कमी कमजोरी छ ?”

बुद्धले मुस्कुराउँदै ती व्यक्तिलाई सोधे, “पहिले मलाई यो बताउनुहोस्, तपाईंको वासस्थान कहाँ हो ?”

ती व्यक्तिले जवाफ दिए, “श्रीवस्ती ।”

“तपाईंको वासस्थान यहाँबाट कति टाढा छ ?”

ती व्यक्ति दूरी बताए । बुद्धले उनलाई फेरि सोधे, “तपाईं त्यहाँबाट कसरी आउजाउ गर्नुहुन्छ ?”

‘‘कहिले घोडा त कहिले गोरुगाडामा बसेर आउने जाने गर्छु तथागत !”

कति समय लाग्छ ?” बुद्धले अर्को प्रश्न गरे ।

हिसाब गरेर ती व्यक्तिले समय बताए । तब बुद्धले उनलाई अन्तिम प्रश्न सोधे, “ल मलाई भन्नोस् त तपाईं यहाँ बसिबसीकनै श्रीवस्ती पुग्न सक्नुहुन्छ ?”

बुद्धको प्रश्नले ती व्यक्ति आश्चर्यचकित बने । उनले बुद्धलाई जवाफ दिए, “यो कसरी हुन सक्छ ? यहाँ बसिबसीकनै कहीँ कोही त्यति टाढा कसरी पुग्न सक्छ ? त्यहाँ पुग्नको लागि या त हिँड्नुपर्यो या त घोडा वा गोरुगाडाको सहारा लिनुपर्छ नि !”

“तपाईंले ठीक भन्नुभयो । हिँडेपछि मात्रै आफ्नो लक्ष्यसम्म पुग्न सकिन्छ । यसै गरी, राम्रा कुराको प्रभाव पनि तब मात्र पर्छ, जब हामी त्यस मार्गमा हिँड्छौं, त्यसलाई जीवनमा उतार्ने कोशिश गर्छौं र त्यसअनुसार आचरण गर्छौं । प्रवचन वा उपदेश सनेर मात्रै चाहिँ केही हुने वाला छैन ।” बुद्धले उनलाई सरल भाषामा बताए ।

ती व्यक्तिलाई आफ्नो भूल महसूस भयो । उनले बुद्धलाई बचन दिए– अब उप्रान्त उनी बुद्धले भनेका कुराहरुलई अनुशरण गर्नेछन् र उनले देखाएको मार्गमा हिँड्ने छन् ।