पेन्सिल कसरी बनाइयो ?
पेन्सिलको अक्षर लेख्ने भाग ग्रेफाइट नामको पदार्थले बनेको हुन्छ । इतिहासमा मानिसले पन्ध्रौं शताब्दीको वरिपरि युरोपमा पहिलो पटक ग्रेफाइट पत्ता लगाएको मानिन्छ ।
पहिले पहिलेको पेन्सिल यही ग्रेफाइटको सिन्कालाई तारले बानेर मुठा बनाइएको हुन्थ्यो । यसरी बनाइएको पेन्सिलले लेख्न निकै असुविधा हुन्थ्यो । कतिपयले चाहिँ जनावरको छालामा पनि बेरेर प्रयोग गर्थे । तर यी दुवै तरिका असुविधाजनक नै थिए । यस असुविधाबाट छुट्कारा पाउन सोह्रौं शताब्दीतरि आएर ग्रेफाइटको एउटा मात्र सिन्कालाई गोलो काठको बीचमा राख्न थालियो । अहिलेको आधुनिक पेन्सिल त्यसैको परिमार्जित रुप हो । तर यसरी गोलो काठभित्र ग्रेफाइट राखेर पेन्सिल बनाउने उपाय कसले निकालेका हुन् भन्ने कुराको ठोस जानकारी चाहिँ अहिलेसम्म कसैलाई पनि छैन ।
१७९५ तिर फ्रान्स र बेलायतबीचको युद्धका कारण फ्रान्समा ग्रेफाइटको अभाव भयो । त्यस दौरानमा फ्रान्सका वैज्ञानिक निकोलस ज्याकुज कोन्तेले ग्रेफाइटलाई धूलो बनाएर त्यसमा माटोमा मिसाएर भट्टीमा पकाए । उनको यस प्रयोगबाट झनै बलियो र सजिलै व्यवस्थापन गर्न सकिने ग्रेफाइटको नयाँ रुप तयार भयो । त्यसलाई नै काठमा हालेर पेन्सिलको रुपमा प्रयोग गर्दा राम्रो पनि लेखिने अनि सजिलोसँग ताछ्न पनि सकिने भये । यसरी अभावले पेन्सिलमा प्रयोग हुने नयाँ कच्चा पदार्थ पनि तयार भयो । पछि माटोमा ग्रेफाइटको धुलोको मात्रा कम बेसी गरेर कडा एवं नरम खालका पेन्सिलहरु पनि बनाउन सकियो ।
कोन्तेको आविष्कारमा समयक्रममा थुप्रै परिमार्जनहरु भए । पेन्सिलमा इरेजर थपिए ।
शुरु शुरुको पेन्सिलमा इरेजर (मेट्ने चीज) हुँदैनथ्यो । पछि जोसेफ रेचेनडोरफेर नामक व्यक्तिले पेन्सिलको माथिल्लो भागमा रबरको टुक्रा राख्ने र त्यसैले नै गलत लेखिएको अक्षरलाई मेट्ने जुक्ति निकालेका थिए । पेन्सिलसँगै जोडिएर रहने भएकोले यो रबरको टुक्राले गल्ती लेखाइहरु मेट्न निकै सजिलो भयो ।
एउटा औसत पेन्सिलको छडी वा लिडले ३५ हजार माइल लामो धर्का कोर्न सकिन्छ भने त्यसले अंग्रेजीका ५० हजार शब्दहरु लेख्न सकिन्छ । एउटा पेन्सिलले त्यत्तिका लामो धर्का कोर्न सकिन्छ वा शब्दहरु लेख्न सकिन्छ भने अब कल्पना गर्नुहोस्, पेन्सिलले लेखेको सबै मेट्न कत्रो इरेजरको आवश्यकता पर्ला ?
छोटकरीमा भन्दा पेन्सिल कुनै एक व्यक्तिको आविष्कार नभई यो अभ्यास प्रयोगको दौरानमा मानिसले विकसित गरेको उपयोगी सामग्री हो ।
प्रतिक्रिया