लालपुर्जा दहन

जाजरकोटको एउटा गाउँमा  महिलाहरुले पनि गाइभैंसीको दुध खाए । देवता रिसाउँछ्न भन्दै महिलालाई गाइभैंसीको दुध खान नदिने  प्रथा रहेछ। तर महिलाले गाइभैंसी चराउने, घाँस काटने, गाइभैंसी दुहुनेलगायत गाइभैंसी पालनसँग सम्बन्धित  सबै काम महिलाले गर्नुपर्ने रहेछ। यो प्रथाको बारेमा मैले त्यतिबेला थाहा पाएँ, जतिबेला जनयुद्ध चलिरहेको थियो । म  त्यतिखेर जाजरकोटको बाटो हुँदै अन्यत्र गइरहेको थिएँ।

यो समस्यालाई हल गर्न तत्कालीन माओवादीका जनमिलेसियाहरुले गज्जबको उपाय निकालेछन् । उनीहरुले ‘महिलाले खान नमिल्ने’ दुध दही घ्यू खान पुरुषहरूलाई पनि प्रतिबन्ध लगाइ दिएछन्।

अब परेन फसाद ! त्यसपछि त पुरुषहरूले भनेछन्– हजुर अब देवता रिसाउँदैनन् । हामीले महिलाले पनि दुध खान पाउनुपर्छ भन्दै देवतालाई पुजिसक्यौं।

अनि बल्ल त्यस स्थानमा महिलाहरुले दुध खान नपाउने चलनको अन्त्य भएछ। मैले यो सम्बन्धमा त्यतिबेला एउटा लेख नै प्रकाशित गरेकी थिएँ ।

यी–यस्ता स–साना सुधारहरु हुन्। सानै भए पनि यी–यस्ता सुधार हुनु राम्रो कुरा हो। तर यस्ता झिनामसिना सुधारहरुले  वर्गीय समस्याको हल गर्दैन। वर्गीय समस्याको हल हुनलाई लालपुर्जा दहन हुनैपर्छ ।

अचेल  श्रीमानले श्रीमती ढोग्ने चलन आइराछ। कति एक छाल भन्दै दुइ छाल चलन चलाउ भन्ने मान्यता स्थापित हुन खोज्नु ठीकै पनि हो।   उसो त गुह्येश्वरीको पनि पूजा हुन्छ। यस्ता कनिका छराइले पितृसत्ताको मतिमा कनिका छराइ मात्र हुन्छ, आमूल परिवर्तन हुँदैन। आमूल परिवर्तनका लागि लालपुर्जा दहन हुनैपर्छ ।

शिवानीलिङ्ग

पितृसत्ता नभएर मातृसत्ता भएको भए

शिवको खुट्टा पार्वतीले होइन

पार्वतीको खुट्टा शिवले ढोग्थे।

 

पितृसत्ता नभएर मातृसत्ता भएको भए

पार्वतीले होइन

शिवले पार्वतीको खुट्टा धुँदै

पार्वतीको खुट्टा धोएको पानी खान्थे।

 

पितृसत्ता नभएर मातृसत्ता भएको भए

पार्वतीले होइन

शिवले पार्वतीको लामो आयुको कामना गर्दै

 तीज  व्रत बस्थे।

 

पितृसत्ता नभएर मातृसत्ता भएको भए

कृष्णका आठवटा पटरानी होइन

रुक्मणीका आठवटा पटराना हुन्थे।

 

पितृसत्ता नभएर मातृसत्ता भएको भए

द्रोपदी उप-रखौटी होइन

द्रोपदीले  द्रोपदीवाण चलाउँदै

पाण्डवहरुलाई उप-रखौटा राख्थिन् ।

 

पितृसत्ता नभएर मातृसत्ता भएको भए

चिरहरण द्रोपदीको होइन

दुशाशनको हुन्थो

जुवाको दाउ द्रोपदी होइन

युधिष्ठिर  हुन्थे।

 

पितृसत्ता नभएर मातृसत्ता भएको भए

दोस्रो वनवास गर्भिणी सीताको होइन

 दोस्रो वनवास रामको हुन्थ्यो।

 

पितृसत्ता नभएर मातृसत्ता भएको भए

सीताको योनी चोखो छ कि बिटुलो भन्दै

योनीको अग्निपरीक्षा  सीताको  होइन

रामलिङ्ग चोखो छ कि बिटुलो भन्दै

रामलिङ्गको अग्निपरीक्षा हुन्थ्यो ।

 

पितृसत्ता नभएर मातृसत्ता भएको भए

पूजा  शिवलिङ्गको होइन

शिवानीलिङ्गको हुन्थ्यो।

 

लालपुर्जा दहन नहुँदासम्म

यस्तै छ

लालपुर्जाको गोटीचाल

लालपुर्जाको गोटीचालमा

पुँजीवादले गोटीहरुको रङ बदल्छ

लालपुर्जाको रङ बदल्छ

लालपुर्जा दहन गर्दैन ।

 

त्यसैले त

 जबसम्म लालपुर्जा दहन हुँदैन

तबसम्म समसत्ता हुँदैन

जबसम्म समसत्ता हुँदैन

तबसम्म मान्छे उडन त उडछ

चङ्गा उडेसरी उडिरहन्छ  मान्छे ।