आइन्स्टाइनको सापेक्षताको सिद्धान्त के हो ?

एउटा ढिलो चल्ने लामो माल रेलगाडी भर्खरै स्टेशनबाट छुट्दैथ्यो । त्यस रेलगाडीमा सामानहरु भरिभराउ थिए र सबभन्दा पछिल्लो डिब्बामा एक सशस्त्र सुरक्षाकर्मी त्यसको सुरक्षार्थ बसेको थियो । रेलगाडीको बीचको एक खाली डिब्बामा केही यात्रीहरु पनि थिए । स्वभावतः ड्राइभर रेलगाडीको अघिल्लो छेउमा रहने नै भयो । त्यो रेलगाडी छुट्दै गरेको दृश्य स्टेशनको टिकट काउण्टरको एक कर्मचारीले हेरिरहेको थियो ।

रेलगाडी चलेको केही छिनमै डाँकाहरुको एक समूहले त्यस रेलगाडीका ड्राइभर र सुरक्षाकर्मीलाई एकैसाथ गोली हानी हत्या गर्‍यो र डकैती गर्न थाल्यो । डाँकाहरु पूरै सशस्त्र थिए र उनीहरुले सजिलै रेलगाडीमा रहेका बहुमूल्य सामानहरु ओसारेर लगे ।

पछि त्यस डकैतीको घटनाका सम्बन्धमा प्रहरीले छानविनका लागि रेलगाडीको बीच भागको डिब्बामा यात्रा गर्ने एक यात्री र स्टेशनको टिकट काउण्टरको कर्मचारीसँग बयान लियो । बयानमा यात्रीले डाँकाहरुद्वारा एकै साथ रेलगाडीको ड्राइभर र सुरक्षाकर्मीलाई गोली हानिएको कुरा बतायो । तर टिकट काउण्टरको कर्मचारीले भने डाँकाहरुद्वारा पहिले सुरक्षाकर्मी मारिएको र पछि ड्राइभरलाई गोली हानिएको कुरा बतायो ।

एउटै घटना पनि फरक फरक अवस्था र स्थानमा रहेका दर्शकहरुका लागि फरक फरक समयमा घटित भएको अनुभव हुन्छ ।

बयान लिइसकेपछि प्रहरीलाई टिकट काउण्टरको कर्मचारीको भनाइ सही हो कि यात्रीको भनाइ सही हो, छुट्याउन कठीन निकै भयो ।

वास्तवमा, ती दुवै भनाइहरु फरक फरक भए पनि यात्री र कर्मचारी दुबै सही थिए । किनकि, डाँकाहरुले रेलगाडीको सबभन्दा अघिल्लो छेउमा रहेको ड्राइभरलाई र पछिल्लो छेउमा रहेको सुरक्षाकर्मीलाई एकैसाथ गोली हानेको भए तापनि बन्दूक पड्केको आवाज सुन्नमा रेलगाडीको बीच भागमा रहेको यात्रीलाई र रेलगाडीको बीच भागमा रहेको यात्रीलाई र रेलगाडीकोपछिल्लो छेउ नजिक बाहिर स्टेशन काउण्टरमा रहेको कर्मचारीलाई फरक फरक समय लागेको थियो । रेलगाडीका अघिल्ला र पछिल्ला दुई छेउहरुमा बन्दूक पड्केको आवाज बीचको डिब्बामा रहेको यात्रीकहाँ एकैसाथ पुग्दथ्यो । किनकि, त्यो ठाउँसम्म पुग्न दुई ठाउँका आवाजहरुले उत्तिकै दूरी पार गर्नुपथ्यो । तर, स्टेशनको टिकट काउण्टर चाहिँ रेलगाडीको सुरक्षाकर्मी भएको पछिल्लो डिब्बाबाट धेरै नजिक भएकोले त्यहाँ पड्केको आवाज काउण्टरको कर्मचारीले चाँडै सुन्यो र टाढाको अघिल्लो ड्राइभरलाई हानेको बन्दूकको आवाज भने उसले ढिलो मात्र सुन्यो ।

त्यसैले यसबाट के बुझिन्छ भने, एउटै घटना पनि फरक फरक अवस्था र स्थानमा रहेका दर्शकहरुका लागि फरक फरक समयमा घटित भएको अनुभव हुन्छ । अर्थात्, समय सबैको लागि एउटै अथवा निरपेक्ष नभई यो पनि तुलनामा बुझ्नु पर्ने चीज हो अथवा यो सापेक्ष कुरो हो ।

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको ‘सापेक्षताको सिद्धान्त’ को एक मुलभूत, महत्वपूर्ण र क्रान्तिकारी कुरो पनि ‘समय  सापेक्ष’ हुन्छ भन्ने विचार नै हो । यस अघिसम्म संसारले अर्का महान वैज्ञानिक न्यूटनको ‘समय निरपेक्ष’ हुन्छ अर्थात् समय दाँजोमा आउने चीज नभई सबैको लागि उही र एउटै हुने कुरो हो भन्ने विचार नै मान्दै आएको थियो ।

आइन्स्टाइनको ‘सापेक्षताको सिद्धान्त’ ले विश्व  ब्रम्हाण्डमा कुनै पनि चीज निरपेक्ष छैन भन्ने कुराको पुष्टि गर्दछ । त्यसले लम्बाइ, द्रव्य वा पिण्ड (mass), शक्ति, स्थान वा अन्तरिक्ष, समय र गति सबै कुराहरु सापेक्ष छन् भन्ने पुष्टि गर्छ । अर्थात्, तिनीहरुलाई तुलनामा वा दाँजोमा (relatively) मात्र बुझ्न र व्याख्या गर्न सकिन्छ भन्ने कुराको पुष्टि गर्छ । ‘सापेक्षताको सिद्धान्त’ले हाम्रो सम्बन्धमा रहेका वस्तुहरुको स्वभावको यथार्थ वर्णन हाम्रो ज्ञानको सीमाको सापेक्षतामा मात्र सम्भव हुन्छ भन्ने कुरा बताउँछ ।

विकास क्रम

‘सापेक्षताको सिद्धान्त’को विकास क्रमलाई हेर्दा हामी एकछिन न्यूटन, ग्यालिलियो र २३ सय वर्ष अगाडिका अरस्तुको समयसम्म फर्कनु पर्ने हुन्छ ।

https://hips.hearstapps.com/

अरस्तुले निरपेक्ष स्थिरता र निरपेक्ष गतिको कुरा गरेका थिए ।तर, पछि ग्यालिलियो (सन् १५६४–१६४२) र न्यूटन (सन् १६४२–१७२७) ले अरस्तुको विचार गलत भएको पुष्टि गरिदिए ।

वस्तु र प्रकृतिको सन्दर्भमा व्याख्या गर्ने क्रममा अरस्तुले ‘वस्तुको प्राकृतिक अवस्था वा स्थिति स्थिरतामा रहन्छ र यसलाई कुनै बाहिरी बल वा झट्का दिएमा मात्र यो चल्दछ अथवा यो गतिमा जान्छ’ भन्ने विचार व्यक्त गरेका थिए । उनले ‘पृथ्वी स्थिर छ र यसको सतहमा गह्रौं वस्तुहरु बढी बल हुनुका कारणले चाँडै खस्छन्, हलुङ्गा वस्तुहरु कम बल हुनुका कारणले ढिलो खस्छन्’ भन्ने कुरा गरेका थिए । अरस्तुले यी कुराहरु बताएर निरपेक्ष स्थिरता र निरपेक्ष गतिको कुरा गरेका थिए ।

तर, पछि ग्यालिलियो (सन् १५६४–१६४२) र न्यूटन (सन् १६४२–१७२७) ले अरस्तुको विचार गलत भएको पुष्टि गरिदिए । ग्यालिलियोले गणितशास्त्रद्वारा पृथ्वी स्थिर नभई यो सूर्यलाई परिक्रमा गर्न गतिमा रहेको कुराको पुष्टि गरिदिए । त्यस्तै, उनले पीसा शहरको ढल्केको धरहरा (लिनिङ्ग टावर) माथि गई गह्रौ र हलुका दुईवटा वस्तुहरु एकैसाथ खसालेर तिनीहरु एकै समयमा जमीनको सतहमा खस्ने कुराको प्रयोगात्मक ढंगले नै पुष्टि गरिदिए ।

न्यूटनले ग्यालिलियोकै विचारलाई विकसित गरेर विश्व ब्रम्हाण्डमा सबै वस्तुहरु गतिमा रहेको र बाहिरी बलले वस्तुको गतिमा मात्र परिवर्तन ल्याउने कुराको पुष्टि गरे । उनले विश्व ब्रम्हाण्डमा कुनै पनि कुराको निरपेक्ष स्थिरता (वा विश्राम) र निरपेक्ष गति नभएको तथ्य पत्ता लगाए । विश्व ब्रम्हाण्डमा चन्द्रमाले पृथ्वीलाई, पृथ्वीले चन्द्रमालाई समेत लिई सूर्यलाई, सबै ग्रहहरुले आ–आफ्ना उपग्रहहरुलाई साथ लिई सूर्यलाई परिक्रमा गरिरहेका छन् । सूर्यले सबै ग्रह, उपग्रह र सौर्य परिवारमा रहेका सबै वस्तुहरुलाई साथ लिई हाम्रो तारापुञ्ज आकाशगंगाको केन्द्रलाई परिक्रमा गरिरहेको छ । त्यस्तै आकाशगंगा तारापुञ्जले पनि आफूभित्र रहेका करिब डेढ खरब ताराहरु तथा त्यसभित्र रहेका सबै वस्तुहरुलाई साथमा लिई कुनै अनिश्चित दिशातिर यात्रा गरिरहेको छ ।

यसरी न्यूटनले सापेक्ष विश्राम र सापेक्ष गतिको अवधारणालाई विकसित गरे । उनले गतिसम्बन्धी प्रसिद्ध तीन नियमहरु (newton's Law of Motion) प्रतिपादन गरे । साथै, उनले गुरुत्वाकर्षणको सिद्धान्त पनि निर्माण गरे ।

https://assets.editorial.aetnd.com/

न्यूटन ‘परम ईश्वर’ को विचारलाई अँगाल्दथे । आफ्नै सिद्धान्तले आफ्नो आस्थामाथि धावा बोल्दा उनी निकै चिन्तित भएका थिए । उनले आफ्नो आस्थालाई छोड्न सकेनन् ।

न्यूटनका गतिसम्बन्धी नियमहरु र गुरुत्वाकर्षणको सिद्धान्तले न्यूटनलाई पृथ्वीमा रहेका वा अन्तरिक्षमा रहेका वस्तुहरुको अवस्था (Position)  वा स्थान (space) पनि निरपेक्ष नभई सापेक्ष हुने टुंगोमा पुर्‍याइसकेको थियो । उनका सिद्धान्तहरुको जगमा उभिँदा त्यही निष्कर्ष निक्लिन्थ्यो । तर, उनी ‘परम ईश्वर’ को विचारलाई अँगाल्दथे । आफ्नै सिद्धान्तले आफ्नो आस्थामाथि धावा बोल्दा उनी निकै चिन्तित भएका थिए । उनले आफ्नो आस्थालाई छोड्न सकेनन् । त्यसैले उनले अन्त्यसम्ममा पनि सापेक्ष स्थान वा सापेक्ष अवस्थाको विचारलाई स्वीकार्न सकेनन् । उनले निरपेक्ष गतिलाई अस्वीकार गरे पनि निरपेक्ष स्थान (Absolute space) लाई भने स्वीकारेका थिए । त्यस्तै, न्यूटनले समयलाई पनि निरपेक्ष नै हुने चीजको रुपमा लिएका थिए ।

निरपेक्ष स्थान र निरपेक्ष समय हुन्छ भन्ने सवालमा अरस्तु र न्यूटन एकै ठाउँमा उभिए ।

न्यूटनका अनुसार, प्रकाश कुनै स्रोतबाट यसका कणहरु (Light corpuscles) उछिट्टिएर फैलिने प्रक्रियाबाट स्थानान्तरण हुन्छ । र, यसको गति सबैका लागि समान हुँदैन ।

https://upload.wikimedia.org/

हिगेन्सको विचारलाई मान्ने हो भने, ब्रम्हाण्डमा इथर नै एक निरपेक्ष विश्राम (absolute rest) मा बसेको वस्तु हो भन्ने कुरा स्वीकार्नु पर्ने हुन्छ ।

सन् १६७८ मा अर्का वैज्ञानिक हिगेन्सले प्रकाश कणहरुमार्फत् नभई तरङ्गको रुपमा फैलने विचार व्यक्त गरे । उनको विचार अनुसार, जसरी पोखरीमा ढुंगा हान्दा पानीको सतहमा विभिन्न वृत्तहरु बनाई तरंग फैलिन्छ र जसरी हावाको माध्यमबाट ध्वनि– तरङ्ग फैलिन्छ, त्यसरी नै अन्तरिक्ष र पृथ्वीलगायत कुनै पनि शून्य ठाउँ र वस्तुभित्र पनि व्याप्त एक अनुमानित माध्यम इथर (ether) मार्फत् प्रकाशका तरङ्गहरु फैलिन्छन् । हिगेन्सका अनुसार, इथर एक यस्तो माध्यम हो, जसको तौल, पिण्ड (mass) केही पनि हुँदैन । त्यसैले प्रकाश कुनै पनि शून्य स्थानमा र काँचजस्तो ठोस वस्तुमा समेत जान सकेको हो भन्ने विचार हिगेन्सको थियो ।

हिगेन्सको विचारलाई मान्ने हो भने, ब्रम्हाण्डमा इथर नै एक निरपेक्ष विश्राम (absolute rest) मा बसेको वस्तु हो भन्ने कुरा स्वीकार्नु पर्ने हुन्छ । त्यस्तै, इथरको दाँजोमा कुनै पनि वस्तुको निरपेक्ष गति (absolute velocity) निकाल्न सकिन्छ भन्ने कुरा पनि मान्नुपर्ने हुन्छ ।

यसैबीच, सन् १६७६ मा डेनिस खगोलशास्त्री ओले क्रिस्टेन्सेन रोमरले प्रकाशको गति पहिले विश्वास गरिएजस्तै अनिश्चित नभई निश्चित भएको र त्यो १ लाख ४० हजार माइल प्रतिसेकेण्ड (हाल पुष्टि भएको १ लाख ८६ हजार माइल प्रतिसेकेण्ड) भएको तथ्य अगाडि ल्याए । त्यस्तै, सन् १८६५ मा बेलायतका भौतिकशास्त्री जेम्स क्लर्क म्याक्सवेलले विद्युत चुम्बकीय तरङ्ग (electro magnetic wave) पत्ता लगाए ।

म्याक्सवेलको समयसम्म आइपुग्दा प्रकाश भन्ने कुरा तरङ्गहरु भएर नै फैलिने विचारमा धेरैको सम्मति कायम भइसकेको थियो र त्यो तरङ्ग अरु नभई विद्युत चुम्बकीय तरङ्ग नै हो भन्ने सम्मति पनि धेरैको भइसकेको थियो । तर, प्रकाशका तरङ्गहरुको माध्यम भनेर मानिएको इथरको अस्तित्वको बारेमा भने शंका उपशंका छँदै थियो ।

यदि इथर हुँदो हो त सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्यको दिशामा चालमा जाँदा निरपेक्ष स्थिरताको स्थितिमा अन्तरिक्षमा रहेको इथरलाई यसले चिरेर गएको हुनुपर्छ र त्यस्तो अवस्थामा इथरको हुरीको कारणले प्रकाशको गति बढ्नुपर्छ । त्यस्तै, पृथ्वी सूर्यको विपरीत दिशामा जाँदा प्रकाशको गति घट्नुपर्छ । यी कुराहरुलाई पुष्टि गर्न सन् १८८७ मा अमेरिकी वैज्ञानिकहरु अल्बर्ट माइकेल्सन र एडवार्ड मोर्लीले उपयुक्त उपकरणको माध्यमबाट फरक फरक स्थितिमा प्रकाशको गति नाप्ने काम गरे । उनीहरुले जुनसुकै स्थितिमा पनि प्रकाशको गति ओले क्रिस्टेन्सेन रोमरले भनेजस्तै एउटै भएको पाए । उनीहरुको परीक्षणलाई अझ सन् १८८७ देखि १९०५ सम्मको समयमा डच भौतिकशास्त्री हेण्डरिक लरेन्ट्जले पटकपटक दोहोर्‍याएर हेरे  र उनले पनि प्रकाशको गति सधैँ एउटै भएको पाए ।

इथरको माध्यमबाट प्रकाशका तरङ्गहरु  फैलिँदा पनि सधैँ प्रकाशको गति एउटै किन भयो भन्ने सवाल वैज्ञानिकहरुको दिमागमा सुल्झिन नसकेको समस्याको रुपमा रहिरहेको थियो ।

अल्बर्ट आइन्स्टाइनले इथरको अस्तित्व नभएको र जसरी अरु विद्युत चुम्बकीय तरङ्गहरुलाई फैलिनका लागि कुनै माध्यमको जरुरी हुँदैन, त्यसरी नै प्रकाशका तरङ्गहरुलाई पनि कुनै माध्यमको जरुरी नभएको पुष्टि गरिदिए ।

ठीक यही समयमा सन् १९०५ मा अल्बर्ट आइन्स्टाइनले त्यो समस्यालाई बुझ्न निरपेक्ष विश्राममा रहेको इथरको अस्तित्व र निरपेक्ष समयको कुरालाई त्याग्नु पर्ने विषयमा आफ्नो प्रसिद्ध ‘सापेक्षताको सिद्धान्त’ मा प्रकाश पारे । उनले इथरको अस्तित्व नभएको र जसरी अरु विद्युत चुम्बकीय तरङ्गहरुलाई फैलिनका लागि कुनै माध्यमको जरुरी हुँदैन, त्यसरी नै प्रकाशका तरङ्गहरुलाई पनि कुनै माध्यमको जरुरी नभएको पुष्टि गरिदिए ।

आइन्स्टाइनले आफ्नो ‘सापेक्षताको सिद्धान्त’ लाई दुई प्रमुख सिद्धान्तहरुमा व्याख्या गरेका छन् ।

(१) विशेष सापेक्षताको सिद्धान्त (Theory of Special Relativity)

सन् १९०५ मा आइन्स्टाइनले प्रतिपादन गरेको यस सिद्धान्तले मुख्य रुपमा पाँच कुराहरुलाई औंल्याउँछ:

(क) जतिसुकै वेगमा रहेका भए पनि स्वतन्त्र रुपले गतिमा रहेका सबै दर्शकहरुका लागि विज्ञानका सबै नियमहरु समान रुपले लागु हुन्छन् ।

(ख) दर्शकहरु जुनसुकै गतिमा रहेका भए पनि सबैले प्रकाशको गति एउटै भएको पाउँछन् । यो कुरालाई वैज्ञानिकहरु माइकेल्सन र मोर्लीको परीक्षणले पुष्टि गरिदिएको  छ, जुन माथि उल्लेख भइसकेको छ ।

(ग) पदार्थ (mass) र शक्ति एउटै हुन् (खासमा mass अर्थात् पिण्ड भएकोलाई नै पदार्थ मान्ने भएकोले यहाँ mass लाई पदार्थको पर्यायवाचीको रुपमा लिइएको छ) । यिनीहरु एक अर्कामा बदलिन सक्छन् । आइन्स्टाइनले यसका लागि एक विशेष सूत्रको आविष्कार गरे ।

E‍=mc2 यहाँ E ले शक्ति, m ले पिण्ड वा पदार्थ र c ले प्रकाशको गति जनाउँछन् । यस सूत्रअनुसार, शक्तिलाई पदार्थको मात्रा र प्रकाशको गतिको वर्गको गुणनफलले नाप्न सकिन्छ ।

यस सिद्धान्तअनुसार, पदार्थ गतिमा जाँदा शक्तिमा बदलिन्छ र शक्ति स्थिरतामा आउँदा पदार्थमा बदलिन्छ । त्यसैले पदार्थ र शक्ति दुबै सापेक्ष कुराहरु हुन् । यो कुरालाई वैज्ञानिकहरुले अनुसन्धानशालाहरुमा प्रमाणित गरी देखाइसकेका छन् । जस्तो गामा किरण (gamma–ray) भन्ने पिण्ड (mass) नभएको शक्तिशाली किरणबाट ‘इलेक्ट्रोन’ र ‘पोजिट्रोन’ भन्ने दुई कणहरु पैदा भएको कुरा वैज्ञानिकहरुले उल्लेख गरेका छन् । त्यस्तै पिण्ड (Mass)  भएका ‘इलेक्ट्रोन’ र ‘पोजिट्रोन’ कणहरु मिलेर ‘गामा किरण’ मा परिवर्तित भएको पाइएको छ । त्यस्तै, परमाणु बममा १ ग्राम पदार्थ बिलाउँदा २१ अरब किलो क्यालोरी ताप शक्ति उत्पन्न हुन्छ । यो भनेको, दिनको १० हजार लिटर मट्टितेल जम्मा गर्दै गई २३ वर्षसम्म जम्मा गर्दा जति जम्मा हुन्छ, त्यो सबैलाई एकैचोटि बाल्दा जति ताप शक्ति उत्पन्न हुन्छ, त्यति बराबरको ताप शक्ति १ ग्राम पदार्थ बिलाउँदा उत्पन्न हुन्छ ।

प्रकाशको गतिमा वस्तु चलायमान हुन खोज्छ भने त्यसको पिण्डमा दोब्बरले बृद्धि भई त्यसलाई त्यो गतिमा कायम राख्न त्यसको सम्पूर्ण पदार्थ शक्तिमा बदल्नुपर्ने हुन्छ । यसले गर्दा वस्तुको गति प्रकाशको गतिभन्दा बढी हुन पाउँदैन ।

(घ) कुनै पनि वस्तुको गति प्रकाशको गतिभन्दा बढी हुन सक्दैन । किनकि, वस्तुको पिण्ड त्यसको गतिको सापेक्षतामा कायम भएको हुन्छ । वस्तु जति बढी गतिमा जान्छ, त्यति नै त्यसको पिण्डमा बृद्धि हुन्छ । यदि वस्तुलाई प्रकाशको गतिको आधा गतिमा लाने हो भने, त्यसको पिण्डमा डेढीले बृद्धि हुन्छ, तर जति बढी पिण्डमा बृद्धि हुन्छ, त्यति नै फेरि वस्तुलाई गतिमा लाने शक्तिको पनि जरुरत हुन्छ । त्यसैले प्रकाशको गतिमा वस्तु चलायमान हुन खोज्छ भने त्यसको पिण्डमा दोब्बरले बृद्धि भई त्यसलाई त्यो गतिमा कायम राख्न त्यसको सम्पूर्ण पदार्थ शक्तिमा बदल्नुपर्ने हुन्छ । यसले गर्दा वस्तुको गति प्रकाशको गतिभन्दा बढी हुन पाउँदैन ।

(ङ) समय निरपेक्ष नभई यो पनि अरु जस्तै सापेक्ष छ । यो पूर्णतः स्वतन्त्र नभई यसले अन्तरिक्षसित मिली अन्तरिक्ष समय (Space–time) भन्ने चीज बनाउँछ ।

२) सामान्य सापेक्षताको सिद्धान्त (Theory of General Relativity)

विशेष सापेक्षताको सिद्धान्तको जगमा सामान्य सापेक्षताको सिद्धान्त उभिएको छ । सामान्य सापेक्षताको सिद्धान्तले गुरुत्वाकर्षणको नियम र प्रकृतिका अन्य बलहरुसँगको यसका सम्बन्धहरुलाई व्याख्या गर्दछ । आइन्स्टाइनले यो सिद्धान्त सन् १९१५ मा प्रतिपादन गरेका हुन् । यस सिद्धान्तलाई पनि मुख्य रुपमा पाँच कुराहरुमा केन्द्रित गर्न सकिन्छ:

(क) अन्तरिक्ष तथा अन्तरिक्ष समय पहिले विश्वास गरिएझैं चेप्टो नभई यो बक्र आकार (curved or warped) मा छ ।

(ख) न्यूटनले भनेजस्तै ग्रहहरु गुरुत्वाकर्षणको कारणले घुमाउरो कक्ष (orbit) मा रही घुमिरहेको नभई घुमाउरो अन्तरिक्षमा सबभन्दा छोटो र सोझो बाटोलाई पछ्याउँदै जाँदा सूर्यलाई घुम्न पुगेका हुन् ।

(ग) अन्तरिक्षमा कुनै पनि पिण्डले जहिले पनि चार आयामिक अन्तरिक्ष समय (four dimensional space–time) मा सोझो बाटो नै पछ्याएको हुन्छ ।

(घ) सूर्यजस्तो ठूलो पिण्डको गुरुत्वाकर्षणको क्षेत्रमा प्रकाश बाङ्गिन पुग्छ ।

यो कुरालाई सन् १९१९ को खग्रास सूर्य ग्रहणको समयमा सूर्य नजिक देखिएका ताराहरुको अवलोकनबाट बेलायती वैज्ञानिकहरुले पुष्टि गरेका छन् ।

(ङ) कम गतिमा रहँदाभन्दा बढी गतिमा रहँदा समय ढिलो चल्छ । अर्थात्, दर्शकको गतिअनुसार समय ढिलो वा चाँडो चल्ने हुन्छ ।

यसरी न्यूटनको गतिसम्बन्धी नियमले अन्तरिक्षमा निरपेक्ष स्थान (absolute position in space) को विचारलाई अन्त्य गरिदियो भने आइन्स्टाइनको ‘सापेक्षताको सिद्धान्त’ ले ‘निरपेक्ष समय’ को विचारलाई पनि अन्त्य गरिदियो ।

सन्दर्भ स्रोतहरुः

–  विज्ञानका केही कुरा

– A brief History of Time : by Stephan Hawking

– Abert Einstein: Ideas and Opinion

– The Crisis in Physics : by Christopher Caudwlle

प्रथम प्रकाशन: मूल्याङ्कन मासिक । पछिल्लो आद्यावधिक: २०८१ वैशाख २६ गते ।