‘हिउँको बादशाह’ पेन्गुइन !
संसारको सबैभन्दा चिसो ठाउँमध्येकै प्रमुख अन्टार्टिका । त्यहाँको तापक्रम–८९.२ डिग्री सेन्टिग्रेडसम्म पुग्छ । मार्च महिना लागेपछि त्यहाँ हिउँको प्रचण्ड आँधीवेहोरी चल्न थाल्छ । त्यसैले, त्यहाँ कमै संख्यामा बसोबास गर्ने समिति प्राणीहरु पनि मार्च महिना लाग्न थालेपछि सुरक्षका लागि अन्यत्र बसाइ सर्न थाल्छन् । त्यहँको प्रचण्ड जाडोमा सामान्यतः चिसो ठाउँमा बस्ने, चिसो नै रगत भएका प्राणी पनि बस्न सक्दैनन् । तर त्यस्तो प्रतिकुल मौसमको बेलामा पनि, त्यस्तो अत्यन्तै जाडो ठाउँमा पनि, तातो रगत भएको प्राणी भएर पनि, एउटा प्राणी भने डटेरै बस्छ । जस्तोसुकै चिसो ठाउँमा पनि लगातार डटेरै बस्न सक्ने त्यस्को त्यही विशेषताका कारण यस प्राणीलाई ‘ हिउँको बादशाह’ पनि भन्ने गरिन्छ । त्यो प्राणी हो–पेन्गुइन ।
सामान्यतः कालो टाउको र ढाड तथा छाती सेतो छाती हने चराको नाम नै पेन्गुइन हो । ६ वर्ग (Genus) र १८ प्रजाति (Specis) मा विभाजन गरिएको पेन्गुइन अधिकांश प्रजातीहरुको टाउको र घाटीमा रातो, सून्तले वा पहेले धब्बा हुन्छ । शरीरको पुछारमा दुइटा छोटा खुट्टा हुने पेन्गुइन बस्दा मान्छे जस्तै खडा भएर उभिन्छ । त्यसबेला यसको विचित्रको पखेटा शरीरको दुबै तिर मान्छेको हात जस्तो झुण्डिन्छ । त्यसरी यसको अवस्थामा परबाट झट हेर्दा यस्तो लाग्छ, मानौं कुनै ‘सुटेड–बुटेड’ मान्छे बसिरहेको होस् !
पेन्गुइनको मुख्य बासथलो अन्टार्टिका नै हो । तर यो अन्य हिउँ क्षेत्रहरुः अष्ट्रेलियाको तट, न्यूजिल्याण्ड, अफ्रिका, दक्षिण अमेरिका र गालापागोस् आइल्याण्डमा पनि पाइन्छ ।
पेन्गुइनका प्रजातीहरुमध्ये सबैभन्दा ठुलो प्रजाति किङ पेन्गुइन (King penguin) हो । यो ३६–३८ इन्च अग्लो हुन्छ । अझ एम्पेरर पेन्गुइन (Emperor penguyin) त ४८ इन्चसम्म अग्लो हुन्छ । यी दुबै प्रजातीहरु अन्टार्टिका आइस व्यारियर (Antractic ice barrier) क्षेत्रमा पाइन्छन् । पेनगुइनका प्रजातीहरु मध्ये सबैभन्दा सानो प्रजाती अष्ट्रेलिया र न्युजिल्यण्डको हिमक्षेत्रमा पाइने ब्लु पेन्गुइन (Blue penguin) हो । यसको उचाइ १६ इन्च सम्म हुन्छ ।
अन्य चराहरुभन्दा भिन्न तरिकाले यो चरा बाक्लो तर मसिना भुवादार भत्लाले ढाकिएको हुन्छ । पेन्गुइनको भुत्लाको माथिल्लो पत्र आपसमा जेलिएको हुन्छ र त्यो चिप्लो तेल जस्तो पदार्थले भिजेको हुन्छ । यसले गर्दा यसको भुत्ला पानीले हत्तपत्त भिज्दैन । अन्य धरै चराहरुको भुत्ला झर्ने र बड्ने क्रम चलिरहेको हुन्छ तर पेन्गुइनको सबै भुत्ला एकै चोटी झर्छ । पुरानो भुत्ला झर्ने र नयाँ आउने यो प्रक्रिया कैयौं हप्ता लामो समयसम्म पनि चल्न सक्छ । यसबेला पेन्गुइन खानेकुरा खोज्ना पानीमा पस्दैन ।
यसको सानो टाउको, छोटो खुट्टा र पखेटाले गर्दाखेरि ताप जोगाउन यसलाई मद्दत पुग्छ । फेरी यसको रौं मुनि बोसोको बाक्लो पत्र हुन्छ । धेरै प्रजातीहरु जाडोको लागि शारीरिक रुपमा नै राम्ररी तयारी भएका हुन्छन् । तीमध्ये २७ देखि किलो सम्म तौल हुने बादशाह पेन्गुइनलाई सबैभन्दा राम्रो तयारी भएको मानिन्छ ।
पेन्गुइनले आफ्नो पखेटा र खुट्टाको सहायताले छातीलाई समेत जमीनमा टेकाएर अगाडि उफ्रँदै हिँड्छ । जमीनमा यो विस्तारै हिँड्छ । यो हिउँमा औसत एक घण्टामा आधा माइल हिँड्छ । उड्न नसक्ने यो चरा पौडन भने अत्यन्तै फूर्तिलो हुन्छ । यसले पौडी खेल्नामा विशेषज्ञता नै प्राप्त गरेको हुन्छ । आफ्ना सिधा पखेटाका मद्दतले यो अत्यन्तै छिटो पौडी खेल्छ । यो हिउँले ढाकिएको समुद्रभित्रबाट रकेट हुत्तिएजस्तै गरी हिउँको प्वालबाट बाहिर निस्कन्छ । खानेकराको खाजीमा यो समुद्रभित्र १७५० फिट तलसम्म पुग्छ ।
पेन्गुइन सामुदायिक प्राणी हो । यिनीहरु समुद्रमा पौडी खेल्दा पनि समुहमा नै हुन्छन् । अझ आफ्नो बसोबास क्षेत्र (colonies) मा त एउटा समुहमा सय, हजार देखि लाखौंको संख्यामा समेत पेन्गुइनहरु हुन सक्छन् ।
यसको बोसो (तेलको लागि) र भुत्ला एवं छालाको लागि मान्छेले व्यापक संहार गर्न थालेका छन् । संयोगवश अन्टार्टिका दुर्गम र सजिलै पुग्न नसकिने क्षेत्र भएकोले यसको विनाश नै चाहिँ हुन पाएको छैन ।
मान्छेबाहेक, पेन्गुइनको प्राकृतिक शत्रुहरुमा चितुवा–सिल, किलर ह्वेल तथा अण्डा र बच्चाको मामलामा भने स्कूआ (एक किसिमको ठुलो चरा) (Skua) हुन् ।
बालबच्चा जन्माउने प्रक्रियाको दौरानमा पनि पेन्गुइनमा अचम्मको व्यवहार देखिन्छ । त्यसबेला यो समुद्र छोडेर अन्टार्टिकाको भित्री इलाकाहरुमा जान्छ । यिनीहरु हजारौ लाखौको संख्यामा एकै ठाउमा भेला हुन्छन् र पाथी पेन्गुइनले अण्डा पार्छ । विशेष गरी, एम्पेरर पेन्गुइनले त संसारको सबैभन्दा जाडो ठाउँको सबैभन्दा जाडो मौसममा (औसत–६२ डिग्री सेन्टिग्रेड तापक्रम भएकोबेला) अण्डा पार्छ । जाडोको त्यस्तो प्रचण्ड मौसममा अण्डा पारेपछि भाले पेन्गुइनको कठीन तपस्या शुरु हुन्छ । सबै भाले पेन्गुइनहरु एकैठाउमा समुह बनाएर बस्छन् र उनीहरु अण्डालाई आफ्नो खुट्टामाथिको भागमा राखी आफ्नो बाक्लो भुँवाले छोपेर सुरक्षित राख्छन् । (केही केही पेन्गुइनले चाहिँ गुँड पनि बनाउन् तर प्रायःले बनाउदै बनाउदैनन् ।) यो दौरानमा उनीहरु सामान्यताः हलचल नगरी र केही नखाइकन बसछन् । यसबेला उनीहरुलाई छाला मुनि रहेको बोसोले शरीरका लागि अत्याश्यक मात्रामा उर्जा आपूर्ति गर्ने र जीवन बचाउने काम गरिरहेको हुन्छ । यसरी समुहमा बस्दा उनीहरुबीचमा जाडोको असर पनि केही कम हुन्छ । अण्डा पारेपछि भालेको जिम्मामा अण्डा सुम्पेर पोथी पेन्गुइन खानेकराको खोजीमा समुद्र यात्रामा लाग्छ ।
एम्पेरर पेन्गुइनको अण्डाबाट करीब ५०–६५ दिनभित्र चल्ला निस्कन्छ । कोरलिएका अण्डामध्ये करीब ९० प्रतिशत अण्डाहरुबाट बच्चा निस्कन्छ । रोचक त के छ भने, चल्ला काडिएको बेला पारेरै खानेकुराको खोजीमा निस्केको पोथी पनि फर्केर आइपुग्छ आफ्नो बच्चा र भालेलाई खानेकुरा आकेलेर खुवाउँछ । यति लामो अवधिसम्म केही नखाएर बच्चा कोरलेर बस्दा भाले पेन्गुइनको तौल एक तिहाइ देखि आधा नै घटिसकेको हुन्छ ।
पोथी पेन्गुइनले धेरै दिनको लागी पुग्ने गरी खानेकुराहरु आफ्नो पेटामा संकलन गरेर ल्याएको हुन्छ । पोथी आएपछि भाले पनि बच्चालाई पोथीको जिम्मा लगाएर खानेकुराका खोजीमा समुद्रमा जान्छ । भाले र पोथी पेन्गुइन दुवैले बच्चाको स्याहार सुसार गर्छन् । जाडोको चिसोबाट बचाउन पेन्गुइनले आफ्नो बच्चालाई खुट्टामा आफ्नो बाक्दो भुँवाले छापेर राख्छ । अन्टार्टिकाको त्यस्तो प्रचण्ड जाडोमा करीब दुई महिनासम्म बच्चा पेन्गुइनले त्यसरी नै बिताउँछ । केही गरी त्यस सुरक्षित स्थानबाट बच्चा पेन्गुइनले बाहिर पर्यो भने, त्यसको दुई मिनेटमै त्यो कक्रिएर मर्न सक्छ । रोचक त के छ भने, पेन्गुइन र मान्छेको शरीरको तापक्रम झण्डै उत्तिकै (पेन्गुनको शरीरको तापक्रम ९६.८ डिग्री फरेनहाइट) हुन्छ । तर फरक यति हुन्छ अन्टर्टिकाको त्यो प्रचण्ड जाडोमा बस्दा मान्छेले दश किलोग्राम भारी कपडा लगाउदा पनि उसलाई जाडो नै महसुस हुन्छ भने, पेन्गुइनले चाहिँ आफ्नो बाक्लो भुत्ला र बोसोको पत्रकै भरमा त्यहाको जाडो खप्छ ।
अझ रोचक र आश्चर्य लाग्दो कुरा त के छ भने, पेन्गुइनको समाजमा बच्चाहरु हुर्काउने सामुहिक आघोषित नर्सरी नै हुन्छ । करीब करीब एकै समयमा जन्मेको बच्चाहरु माउको लगतारर निगरानी नचाहिने भए पछि समुहबद्ध भएर नर्सरीहरु (nurseries) मा बस्छन् । त्यहाँ उनीहरु आफ्ना माउले समुद्रबाट खोजेर ल्याउने खानेकुराको प्रतिक्षा गरेर बस्छन् । त्यस्तो विशाल संख्यामा रहँदा पनि माउ र चल्लाले एकले अर्कालाई सजिलै चिन्छन् । त्यसका लागी उनीहरुले विशेष संकेत ध्वनिको विकास गरेका हुन्छन् । नर्सरीमा फर्केपछि माउले निकालेको त्यो विशेष संकेत ध्वनिको आधारमा बच्चाहरुले आफ्नो माउलाई सजिलै चिन्छन् । माउले आफूले खोजेर ल्याएको तथा पेटमा राखेर पचाउन सजिलो तुल्याएको खानेकुरा बच्चालाई खुवाउँछ ।
प्रतिक्रिया