केही रोचक रमाइला जानकारीहरु– १

हातले टेकेर हिँड्नु !

यस दुनियाँमा मानिसहरुले अचम्म अचम्मको काम गर्ने गर्छन् । त्यस्तै एउटा अचम्मको काम अस्ट्रेलियाका जोहान हुर्लिङ्गर नामक व्यक्तिले पनि सन् १९०० मा गरेका थिए । त्यसबेला उनले खुट्टाको सट्टा हातले मात्रै टेकेर हिँड्दै ८७१ माइल लामो दूरी –अस्ट्रियाको राजधानी भियनादेखि फ्रान्सको राजधानी पेरिससम्म) पार गरेका थिए । उक्त दूरी पार गर्नका लागि उनले दैनिक १० घण्टा हातले हिँडेर ५५ दिन लगाएका  थिए । त्यसरी हातले उनी दिनको औसत रुपमा एक घण्टा बराबर १.५८ माइलको दूरी पार गर्ने गर्थे ।

कुकुरको यो क्षमता

कुकुरमा गन्ध थाहा पाउने क्षमता अति तीब्र हुन्छ । यसको यो शक्ति मानिसको भन्दा ४० गुना बेसी हुन्छ । कतिसम्म भने एउटा ठूलो बाटाभरिको पानीमा एक चम्चा नून घोलेर राख्ने हो भने पनि कुकुरले त्यो कुरा पत्ता लगाउन सक्छ ।

बुद्धिमान प्राणी लोखर्के

लोखर्के तपाईं हामीले देखिरहेकै जीव हो । हेर्दा सानो र चुलबुले लाग्ने यो जीव बुद्धिमान पनि हुँदो रहेछ । यस जीवले जाडो महिनामा आफूलाई तातो राख्नको लागि आफ्नो गुँड बनाउन आफ्नै पुच्छरको लामा–बाक्ला भुत्लाहरु समेत थुतेर प्रयोग गर्ने गर्दोरहेछ !

बाघको आधा संख्या भारतमै

संसारबाट लोप हुने खतराको अवस्थामा पुगेका जनावरहरुमध्ये बाघ पनि एक हो । हाल विश्वमा यसको जम्मा संख्या ६ हजारको हाराहारीमा छ । त्यो मध्ये पनि आधाजसो बाघ त एक्लो भारतमा मात्रै रहेका छन् । भारतमा बाघ संरक्षणका लागि २९ वटा विशेष बाघ संरक्षित क्षेत्र तथा अन्य जनावरहरुसमेतका लागि ५०० वटाभन्दा बढी वन्यजन्तु संरक्षण क्षेत्रहरु रहेका छन् ।

टेलिस्कोपको आविष्कारक को ?

धेरैतिर पढ्न पाइन्छ– टेलिस्कोपको आविष्कार ग्यालिलियोले गरेका हुन् । तर अनुसन्धानकर्ताहरु यो कुरामा विश्वास गर्दैनन् । उनीहरुको विश्वासमा यसको आविष्कार अरु कोही व्यक्तिले गरेका हुन्, जसको पत्ता अझै लागेको छैन । ग्यालिलियो त त्यसको वैज्ञानिक प्रयोग गर्ने पहिलो व्यक्ति मात्र हुन् ।

हाँस्दा पनि मर्ने डर

हास्नु स्वास्थ्यको लागि राम्रो मानिन्छ । भनिन्छ, धेरै रोगहरु हाँस्दा नै निको हुने गर्छ । हुन पनि हाँस्नु भनेको आनन्दको द्योतक हो । तर यस संसारमा यस्ता मानिसहरु पनि हुन्छन्, जसलाई हाँस्यो भने मरिन्छ भन्ने डर लाग्ने गर्छ । वास्तविक जीवनमा भइनहाल्ने तर कतिपय मानिसलाई मानसिक रुपमा हुने यस्ता निरर्थक डरहरुलाई फोबिया भनिन्छ । हाँस्दा खेरि पनि मरिन्छ कि भन्ने डरलाई चाहिँ चेरोफोबिया (Cherophobia) भनिन्छ ।

अन्धोपनको एउटा कारण

अन्धोपन विभिन्न कारणले हुने गर्छ । कोही जन्मजात त कोही दुर्घटनामा परेर तथा आँखासम्बन्धी विभिन्न रोगहरुका कारण पनि मानिसहरु अन्धो बन्ने गर्छन् । तर धेरैजसो अन्धोपन चाहिँ मोतियाबिन्दूको सही र बेलैमा उपचार नहुँदा पनि हुने गर्छ । एक तथ्यांकअनुसार भारतमा मात्रै अन्धोपन हुनेहरुमध्ये मोतियाबिन्दूको कारण हुने अन्धोपनको संख्या ६२ प्रतिशत रहेको छ । कतिसम्म भने भारतमा प्रत्येक मिनेटमा आठजना मानिसहरुको मोतियाबिन्दू अपरेशन हुने गर्छ । यसका लागि प्रत्येक वर्ष एक लाखको संख्यामा आँखा दानको जरुरत पर्ने गर्छ तर भारतमा वर्षेनी २० हजार मात्र आँखाको दान हुने गर्छ । बेलैमा उपचार हुने हो भने ८० प्रतिशत अन्धोपनलाई रोक्न सकिन्छ ।

थोप्लो नचाहिने शब्द

कतिपय शब्दहरुको संक्षेप शब्द हुने गर्छन्, जसलाई थोप्लो चिन्ह (.) चाहिँदैन, तर पनि मानिसहरुले त्यसको प्रयोग गरिरहेका हुन्छन् । उदाहरणको लागि, Mr, Dr, जस्ता संक्षेप शब्दहरुका पछाडि डट चिन्ह लगाउनु पर्दैन । त्यसै गरी देश वा संगठनका संक्षेप रुप, जस्तै USA, EU आदिमा पनि यो चिन्ह लगाउनु आवश्यक हुँदैन ।

विषालु सर्प भाइपर

भाइपर सर्प विषालु हुन्छ । तर यसका पनि विभिन्न जातहरु हुन्छन् र जातैपिच्छे आकारहरु पनि फरक फरक हुने गर्छन् । त्यसैले यस जातका सबै सर्पले मानिसलाई टोकिहाल्न सक्दैन । यस जातका केही सर्पले त मानिसका हात र खुट्टाका औंलाका कापहरुमा मात्रै टोक्न सक्छ ।

आवाजको यो रहस्य

प्रायः आवाज कम्पनबाट पैदा हुन्छ । मानिसले एक सेकेण्ड बराबर १५ हजारसम्म वा त्योभन्दा कम कम्पनबाट पैदा भएका आवाजहरु मात्र सुन्न सक्छ । त्योभन्दा माथिको कम्पनबाट पैदा हुने आवाजलाई मानिसको कानले ठम्याउन सक्दैन । तर चमेराले भने एक सेकेण्डबराबर १ लाख २० हजार कम्पनबाट पैदा भएको आवाजलाई पनि ठम्याउन सक्छ ।

क्षुद्रग्रहको यो संख्या

ग्रहहरुका बीचमा तथा सौर्यमण्डलमा रहेका ग्रह वा उपग्रहको रुपमा लिन नसकिएका स–साना आकाशीय पिण्डहरुलाई क्षुद्रग्रह भनिन्छ भन्ने कुरा नवयुवाका प्रायः पाठकहरुलाई थाहा नै छ । अहिलेसम्म वैज्ञानिकहरुले हाम्रो सौर्यमण्डलमा रहेका ३२०० वटा जति क्षुद्रग्रहहरुको पहिचान गरिसकेका छन्  । यसरी पहिचान गरिएका क्षुद्रग्रहहरु स–साना पनि छन् भने अति ठूलाहरु पनि छन् । अहिलेसम्म फेला परेका सबैभन्दा ठूलो क्षुद्रग्रह सेरेस हो । यसको फैलावट १००० किलोमिटर रहेको छ ।

लेन्सको प्रयोग

तपाईंले हाते लेन्सको प्रयोग गर्नुभएको होला । विज्ञानका जिज्ञासु छात्रछात्राहरुले हातेलेन्सको मद्दतले सूर्यको किरणलाई एकत्रित गरेर कागज वा सुख्खा चिजहरुमा आगो बाल्ने रमाइलो प्रयोग पनि गर्ने गर्छन् । तर प्राचीन कालमा ग्रीकबासीहरुले यस्तो लेन्सजस्तो ऐनाको प्रयोग शत्रुका विरुद्ध पनि गर्ने गर्थे । त्यसबेला त्यस्ता विशाल ऐनाहरुबाट सूर्यको प्रकाशलाई परावर्तन गरेर शत्रुको जहाजमा पारिन्थ्यो, जसले गर्दा शत्रुका जहाजहरुमा आगलागी हुने गर्थ्यो । आर्किमिडिजले पनि यस्तो ऐनाको प्रयोग गर्ने गरेको कुरा इतिहासमा पढ्न पाइन्छ ।

प्रस्तुति: रामप्रसाद अधिकारी

 स्रोतः Chlidren's Illustrated Dictionary, Wisdom, Chlidren's Encyclopedia

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।