मानिसको मासुको स्वाद कस्तो हुन्छ ?
स्व:जातिभक्षण पशु जगतमा हुने सामान्य परिघटना हो। एउटा अध्ययनअनुसार पशु जगतका करिब १३०० प्रजातिमा स्वजातिभक्षण हुने गरेको पाइएको छ। अरु प्रजातिमा भए जस्तो व्यापक स्वरुपमा नभए पनि मानव जातिमा समेत स्वजातिभक्षण प्राचिन कालदेखि अहिलेसम्म पनि छिटपुट रुपमा देखिदै आएको छ। तर मानव समाजमा नरभक्षणलाई स्वाभाविक रुपमा लिइदैन। यसलाई नैतिक, सामाजिक, कानूनी सबै प्रकारले वर्जित मानिन्छ।
प्राय सबै धर्म र संस्कृतिमा नरभक्षणलाई वर्जित मानिन्छ। यसको मुख्य कारण धर्मशास्त्रमा मृतकप्रतिको सम्मान र मानव जीवनको मूल्यलाई ठान्ने सर्वोपरी ठान्ने नै हो। त्यस्तै यसको अर्को पक्ष मनोवैज्ञानिक पनि छ। नरभक्षणले मानव समाजमा गहिरो मनोवैज्ञानिक असर पार्ने गर्छ। किनकि मानिसमा व्यक्ति चाहे त्यो जीवित होस् या मृत त्यसको व्यक्तित्वलाई पहिचान र प्रतिनिधित्व गर्न सक्ने अद्भुत क्षमता हुन्छ। १९७२ मा दक्षिण अमेरिकाको एन्डिज पर्वतमालामा उरुग्वेको एउटा प्लेन दुर्घटनामा परेको थियो। हिउ नै हिउले ढाकिएको त्यो अनकन्टार पहाडमा दुर्घटनाबाट बाँचेका यात्रीहरुले भोकमरीले मर्ने अवस्थामा मात्र नरभक्षणको उपाय अपनाएका थिए। सो दुर्घटनामा बाँच्न सफल एकजना यात्री रोबेर्टो क्यान्सेसालाई आफ्ना सहयात्रीहरुलाई खाँदा उनीहरुको आत्मा चोरेको र चरम अपमानको गहिराइमा पतन भएको अनुभव भएको थियो।
नरभक्षणले मानिसमा अपराधबोध, घृणा र आघातको भावना सिर्जना गर्दछ। त्यस्तै यसले मानव अवशेषहरुसंग कसरी व्यबहार गर्ने भन्ने नैतिक र परम्परागत मान्यताहरुलाई समेत चुनौती दिन्छ। सोही प्रकारले नरभक्षणले मानव स्वास्थ्यमा हानि पुर्याउने जोखिम पनि हुने गर्दछ। मानव मांसभक्षणले अनेक घातक प्रकारका रोगहरु सर्ने सम्भावना पनि रहन्छ। पपुवा न्युगिनीको फोरे नामक एउटा आदिवासी समुदायमा आफ्ना मरेका आफन्तहरुको आत्माको मुक्तिका लागि अन्तिम संस्कारको क्रममा मृतकको गिदीलाई पकाएर खाने चलन थियो। जसका कारण त्यो समुदायमा कुरू (Kuru) भन्ने निको नहुने रोग लाग्ने गरेको थियो। यो रोगको कुनै उपचार पनि थिएन। १९६० को दशकमा यो प्रथामा बन्देज लगाएपछि यस रोगको संक्रमण पनि बन्द भयो।
नरभक्षण सभ्य मानव समाजमा बर्जित भए पनि एउटा जिज्ञासा उठ्ने गर्छ - मान्छेको मासुको स्वाद कस्तो हुन्छ भनेर ? यो ठ्याकै उत्तर दिन सहज छैन। तर जसले नरमांस भक्षण गरेका छन् उनीहरुले भनेका र लेखेका कुराहरुबाट यसको जवाफ खोज्न सकिन्छ। ओशिनिया महादेशमा रहेको पोलिनेसिया दीपसमुहमा रहेका मारकेश टापुमा रहेका नरभक्षी मानिसहरूले मान्छेको मासुलाई सुँगुरको मासुसंग मिल्दोजुलो भएको हुनाले "लामो सुँगुर" भन्ने गर्थे।
१९२४ मा पोल्याण्डका एकजना कुख्यात आम हत्यारा पनि नरभक्षणमा संलग्न थिए। कार्ल डेन्केले आफ्नो गिरफ्तारी र आत्महत्याभन्दा अगाडि करिब ४० जना मानिसहरुको हत्या गरेका थिए। उनले आफूले मारेका मानिसका शरीरका अंगहरुलाई भाडोमा अचार बनाएर बजारमा सुँगुरको मासुको नाममा बेच्ने गर्थे। त्यस्तै सोही समयमा अर्का आमहत्यारा थिए जर्मनीका फ्रिन्ज़ हारमान। उनले ह्यानोभर सहरमा २४ जना व्यक्तिको हत्या गरेका थिए। उनले मुख्यतया पुरुष वेश्याहरुको हत्या गर्ने गर्थे। भनिन्छ, उनले आफ्ना शिकारहरुको मासुलाई सुँगुरको मासु (पोर्क) भनेर बेच्ने गर्थे। फ्रिन्ज़ हारमानलाई १९२५ मा टाउको काटेर मृत्युदण्ड दिइयो ।
नरभक्षणको बारेमा सबैभन्दा बिस्तृत रुपमा लेख्ने काम चाहिँ प्रख्यात अमेरिकी अखबार न्युयोर्क टाईम्सका पत्रकार विलियम्स व्यूहलर सिब्रुकले गरेका छन्। उनले एक शताब्दी अगाडि पश्चिम अफ्रिकाको व्यापकरुपमा भ्रमण गरेका थिए। यस बारे उनले १९३१ मा जंगल वे (Jungle Ways ) भन्ने पुस्तक लेखेका थिए। उनले त्यहा मानिसको मासुको थुप्रो देखेको बताएका छन्। जुन गाई/गोरुको मासु (बिफ) जस्तै देखिन्थियो भनेर लेखेका छन्। सिब्रुकले मानिसको मासुको स्वादको बारेमा वर्णन गर्दै भन्छन- यो राम्रोसंग सप्रेको बाछाको मासु(भिल) जस्तो थियो। तर बिफ जस्तो चाहिँ नभइसकेको। यो त्यस्तै थियो र मैले अहिलेसम्म चाखेको मासु जस्तो थिएन। यो निक्कै राम्रो, पूर्णरुपमा बिकसित भील जस्तै थियो। मलाई लाग्छ, खानपिनमा सोखिन कुनै पनि सामान्य संवेदनशीलता भनेको व्यक्तिले बाछाको मासुबाट छुट्टाउन सक्दैन। यो हल्का र राम्रो मासु थियो। जसमा बाख्रा, सिकार गरिने जनवार र सुँगुरको मासुजस्तो तिक्ष्ण खालको फरकरुपमा व्याख्या गर्न सकिने स्वाद थिएन। यसको कवाफ भने भिल भन्दा अलिक चाम्रो थियो। यसको सेकुवा जसको बीचको टुक्रा मैले खाएको थिए, त्यो कोमल थियो। यसको रंग, बनावट, गन्ध र स्वादले यो कुरामा बल दियो कि हामीले स्वभावत: थाह पाउने सबै मासुहरु मध्ये बाछाको मासु नै एउटा मासु हो जसलाई यससंग सटिक रुपमा तुलना गर्न सकिन्छ। केही समय पछि सिब्रुकको दाबी माथि प्रश्न उठ्न थाल्यो। उनले पछि स्वीकार गरे कि शंकालु आदिबासीहरुले उनलाई उनीहरुको समारोहहरुमा भाग लिन कहिलै दिएनन्। त्यसको साटो उनले फ्रान्सको राजधानी पेरिसमा रहेको एउटा अस्पतालमा दुर्घटनामा मारिएको एउटा स्वस्थ मानिसको शरीरको टुक्रा त्यहा कार्यरत एक जना मेडिकल इन्टर्नबाट प्राप्त गरे। जसलाई उनले पकाएर खाए।
नरभक्षणबारे सबै भन्दा पछिल्लो घटना जर्मनीको रहेको छ। जर्मनीका कुख्यात अपराधी आर्मिन मेइवेसले २००१ मा एक जना व्यक्तिलाई क्रुरतापुर्वक मारेर उसको २० किलो जति मासु खाएका थिए। उनलाई जेलमा रहँदा मान्छेको मासुको स्वाद कस्तो हुँदोरहेछ भनेर सोधिएको थियो। जसको जवाफमा उनले भनेका थिए- मासुको स्वाद सुँगुरको जस्तै हुन्छ। अलिकति चाम्रो तर यसको स्वाद एकदमै राम्रो हुन्छ।
मानिसको मासुको खाइसकेका अनेकौ व्यक्ति मध्ये एक जनाले बाछा(भिल) र अरु सबैले सुँगुर (पोर्क) संग मिल्ने बताएका छन्। यी विभिन्न नरभक्षकहरुको बयानको आधारमा के भन्ने गरिन्छ भने मानिसको मासुको स्वाद सुँगुरको मासु(पोर्क) जस्तै हुन्छ।
प्रस्तुति: केदार सिटौला
Source: https://www.theguardian.com/ऽ https://www.smithsonianmag.com/s
प्रतिक्रिया