मान-सम्मान रक्षाको लागि गरिने आत्महत्या हारा-किरी

आफ्नो पेट चिरेर गरिने अनौठो आत्महत्या !

आत्महत्या ! आफ्नो जीवनलाई आफै अन्त्य गर्ने कार्यलाई आत्महत्या भनिन्छ । सामान्यतः कुनै पनि कारण जीवनदेखि घोर निराश भएका तथा घोर मानसिक अवसाद (depression) मा परेका व्यक्तिले आत्महत्या गर्ने गर्छन् । सामान्यतः कुनै पनि मान्छेको मृत्यु हुँदा बाँचेकाहरूमा ऊप्रति सहानुभूतिको भावना जाग्छ । तर आत्महत्या गर्ने व्यक्तिप्रति बाँचेकाहरूको मनमा सहानुभूति हैन, घोर घृणाको भावना जाग्ने गर्छ । समाजमा आत्महत्या गर्नेलाई कायर भनेर घृणा गर्ने गरिन्छ ।

तर यस संसारमा त्यस्तो आत्महत्या पनि हुन्छ, जसलाई त्यहाँको समाजले घृणा हैन, असीम सम्मान गर्ने गर्छन् । त्यसमा आत्महत्या गर्ने व्यक्ति जीवनदेखि निराश भएर हैन, कुनै मानसिक अवसादको कारण पनि हैन, आफ्नो सम्राटको आदेशको पालना र आफ्नो मुलुकको मान र आत्मसम्मानको रक्षाको लागि आत्महत्या गर्ने गर्छन् । त्यसैले, यस आत्महत्यालाई समाजले कायरताको रूपमा हैन, वीरताको रूपमा स्वीकार्छ र सम्मान गर्ने गर्छ । एकताका जापानी समाजमा प्रचलित यस आत्महत्यालाई हारा-किरी (Hara Kiri) भनिन्छ ।

यस संसारमा त्यस्तो आत्महत्या पनि हुन्छ, जसलाई त्यहाँको समाजले घृणा हैन, असीम सम्मान गर्ने गर्छन् । त्यसमा आत्महत्या गर्ने व्यक्ति जीवनदेखि निराश भएर हैन, कुनै मानसिक अवसादको कारण पनि हैन, आफ्नो सम्राटको आदेशको पालना र आफ्नो मुलुकको मान र आत्मसम्मानको रक्षाको लागि आत्महत्या गर्ने गर्छन् ।

जापानी भाषामा हारा-किरीको अर्थ हुन्छ- पेट चिर्नु। मध्यकालीन जापानको सामन्ती समाजका सामुराई भन्ने योद्धावर्गका माझ हारा- किरी गरेर अर्थात आफ्नो पेट आफैले चिरेर ज्यान त्याग्ने प्रचलन परम्पराको रूपमा थियो । वास्तवमा, हारा-किरीले आत्महत्या गर्ने व्यक्तिको मान सम्मानको रक्षाको लागि गरिने मृत्युवरणलाई प्रतिनिधित्व गर्दथ्यो । त्यसैले शुरूताका जापानका योद्धा जातिहरूमाझ प्रचलित यो प्रचलन पछि पूरै जापनी समाजमा लोकप्रिय भएको थियो ।

शत्रुको कब्जामा परेको अवस्थामा यसरी आत्महत्या गर्नेहरूलाई जापानी समाजमा ठूलो सम्मान र श्रद्धा गरिन्थ्यो ।

मध्यकालीन जापानको सामन्ती समाजमा लडाकाहरूको एउटा विशिष्ट वर्ग थियो । त्यो वर्गलाई सामुराई भनिन्थ्यो । मूलतः यो वर्गले लडाइको बेलामा शत्रुको कब्जामा आफू परेमा आफ्नो मान-सम्मानको रक्षाको लागि आफ्नो पेट चिरेर आत्महत्या गर्ने गर्थे । शत्रुको कब्जामा परेको अवस्थामा यसरी आत्महत्या गर्नेहरूलाई जापानी समाजमा ठूलो सम्मान र श्रद्धा गरिन्थ्यो ।

तर पछि आएर हारा-किरीको -दायरा अझ व्यापक बनेर गयो । जापानमा राजाज्ञाबाट हुने मृत्युदण्डलाई कार्यान्वयन गर्ने माध्यम नै हाराकिरी बन्नु पुग्यो । जापानको सम्राट (mikado) ले कुनै नागरिक विशेषतः योद्धालाई मुलुक र सम्राटको लागि उसको मृत्य आवश्यक छ भनेर आदेश मात्र दियो भने पनि ती योद्धाको लागि त्यो आदेश ठूलो सम्मानको विषय बन्न पुग्थ्यो । र, त्यसरी पाएको सम्राटको आदेशलाई ती योद्धाले सहर्ष हारा-किरी गरेर कार्यान्वयन गर्थे।

आत्महत्या गर्नेले चुपचाप, एकान्तमा आफनो कार्य सम्पन्न गर्ने गर्छ । तर जापानमा हारा- किरी गर्दा उत्सव गरेर गर्ने गरिन्थ्यो । यसको लागि हारा- किरीको आदेश पाएका योद्धाको घरको आँगनमा वा कुनै मन्दिरमा रातो कार्पेट ओछ्याइएको एउटा मञ्च निर्माण गरिन्थ्यो । हारा- किरी गर्नको लागि योद्धालाई निश्चित समयावधि प्रदान गरिएको हुन्थ्यो । साथै, हारा-किरी गर्नको लागि सम्राटको आदेशपत्रका साथ गहनाहरूले सज्जिएको धारिलो छुरी दिएको हुन्थ्यो ।

हारा-किरी गर्ने निश्चित दिनमा हारा-किरीका लागि तयार योद्धाले परम्परागत पहिरन लगाउँथ्यो र आफ्ना साथीहरू तथा सम्राटका प्रतिनिधिहरूका साथ रातो कार्पेट ओछ्याएर पहिल्यै तयार गरिएको मञ्चमा आफनो स्थान ग्रहण गरी हाराकिरी गर्न  तयार योद्धाले पहिले घुँडा टेकेर प्रार्थना गर्थ्यो । त्यसपछि उसले सम्राटका प्रतिनिधिबाट छुरी लिएर 'सार्वजनिक रूपमा आफ्नो गल्ती जसको कारण उसलाई हाराकिरी गर्ने आदेश दिइएको हुन्थ्यो, स्वीकार्थ्यो र हाराकिरी गर्थ्यो । हारा-किरी गर्दा योद्वाले आफ्नो कम्मरनेरबाट शुरू गरेर 'बायाँबाट दायाँतिर पेट चिर्दै विस्तारै माथितिर लान्थ्यो । अन्त्यमा, उसका साथी वा नातेदारले मरणासन्न उसको टाउको छिनालिदिन्थे ।

हारा-किरीको उत्सव सम्पन्न भएपछि हारा-किरी गर्न प्रयोग भएको रगतपच्छे छुरीलाई परम्परागत प्रथाअनुसार सम्राटसमक्ष प्रस्तुत गरिन्थ्यो ।

यसरी हाराकिरीको उत्सव सम्पन्न भएपछि हाराकिरी गर्न प्रयोग भएको रगतपच्छे छुरीलाई परम्परागत प्रथाअनुसार सम्राटसमक्ष प्रस्तुत गरिन्थ्यो । त्यसरी रगतयुक्त छुरा सम्राटसमक्ष प्रस्तुत गरिनुको खास कारण चाहिँ हाराकिरी गर्ने कार्य सम्पन्न भयो भन्ने कुराको प्रमाण पेश गर्नु हुन्थ्यो ।

बहादुरी र बफादारीका लागि विश्व प्रसिद्ध जापानको योद्धा जाति समुराई

https://wallpaperaccess.com

सन् १८६७ मा सम्राट मेजीको शासनकाल शुरु हुनुभन्दा पहिले जापानमा जमीन्दार एवं सामन्तहरुको शासन थियो । त्यसताका जापानको राजधानी टोक्यो नभएर क्योटो शहर थियो । जापानको 'भाग्य विधाता' सामन्तहरु राजधानी क्योटोमा बसेर शासन गर्ने गर्थे भने आफैले प्रत्यक्ष शासन एवं नियन्त्रण गर्न नसक्ने क्षेत्रहरुमा प्रशासनिक कार्य सम्पन्न गर्नका लागि उनीहरुले आफ्नै वंशका
प्रतिनिधिलाई छनौट गरेका हुन्थे र यी प्रतिनिधिलाई सघाउनका लागि स्थानीय योद्धा वर्गका मानिसहरुलाई समेत सहायकको रुपमा छनौट गरेका हुन्थे । सामन्तहरुको परिवारको प्रत्यक्ष निर्देशनमा काम गर्ने यी योद्धा वर्गहरु आफ्ना मालिक शासक वर्गप्रति अत्यन्तै बफादार र भक्त हुन्थे । यी योद्धाहरुको जातिलाई समुराई (Samurai) भनिन्थ्यो ।

सन् १९९२ तिर जापानमा समुराई वर्गका मिनामोतो पोरितोमोले जापानमा यी सैनिक शासन स्थापित गरेका थिए । यी सैनिक शासकलाई जापानको सम्राटले सी ताई सोगन (Scii tai shogun) को पद्वी र असीमित  अधिकार प्रदान गरेका थिए । यी शासकलाई शान्ति सुरक्षा खल्बल्याउने कुनै पनि व्यक्तिलाई मृत्युदण्डसमेत दिने र जापानका प्रान्तहरुमा प्रतिनिधि नियुक्त गर्ने समेत अधिकार थियो । जापानमा सम्राट एक किसिमले यी शासकहरुको नियन्त्रण र कब्जामा थिए र जापानका वास्तविक शासक चाहिँ यिनै सोगन थिए । जापानमा सोगनहरुको यो शासन सन् १९९२ देखि १८६७ सम्म निर्वाध चलेको थियो ।

आफूमा निहित अधिकार अनुसार, सोमन शासक वर्गले आफ्ना समुराई वर्गका अनुयायीहरुलाई विभिन्न प्रान्तका प्रतिनिधि नियुक्त गरेका थिए । त्यसपछि समुराई शब्दले योद्धाहरुको जाति बुझाउने अर्थमा मात्र नभई जापानका सैनिक शासकहरुले प्रतिनिधि नियुक्त गरेका जमीन्दार एवं सामन्तहरु (Daimyo) लाई प्रदान गर्ने पद्वीको अर्थ पनि राख्न थाल्यो ।

१४ औं शताब्दीमा आएर असिकागा सोगनको शासनकाल जापानमा शुरु भएपछि जापान झनै सामन्ती शासन व्यवस्थातिर लाग्यो । प्रतिनिधि शासक डाइम्योले प्रदान गरेका जमीनको रखवारी गर्नु र किसानहरुबाट कर संकलन गर्नु समुराई योद्धाहरुको मुख्य काम भयो । १५ र १६ औ सताब्दीमा जापानमा अस्थिर शासन चलेको बेला समुराईहरुले जापानमा रक्तपातपूर्ण संघर्षमा लीन विभिन्न सैनिक जत्थाहरुमाझ आफूलाई महत्वपूर्ण अंगको रुपमा स्थापित गरे । १६०३ मा जापानमा तोकुगावा सोगनको स्थीर शासन स्थापित भएपछि समुराईहरुले विशिष्ट वर्गको रुपमा मान्यता पाए र उनीहरु स्थापित भए । आफ्नो वर्गलाई चिनाउनको लागि समुराई योद्धाहरु दुई वटा भाला पहिरन्थे । उनीहरु तोकुगावाको शासनकालमा प्रतिनिधि-शासकका रुपमा स्थापित भए ।

तोकुगावाको शासनकाल शान्तिपूर्ण थियो । त्यसैले लड़ाका जातिका समुराईहरुको युद्ध एवं शौर्यको प्रयोग हुन सकेन । फलत: कतिपय समुराईहरु बन्दव्यापारतिर लागे भने कतिपय कला क्षेत्रतिर हाम्फाले । सन् १८६७ मा जापानमा सम्राट मेजीले शासन सत्ता आफ्नो हातमा लिएपछि अन्तिम सैनिक शासक (Shogun) ले राजीनामा दिए । सन् १८७१ मा आएर जापानमा विधिवत सामन्ती शासनको अन्त्य गरिएपछि समुराई वर्गको अधिकार पनि खोसियो । अब जापानमा कानूनी रुपमा नै युद्ध गर्ने वर्गको अन्त्य भयो ।

त्यस समय जापानमा करीब ४ लाख जति समुराईहरु थिए । उनीहरुलाई सरकारको तर्फबाट पेन्सन र जागिर प्रदान गरेर राहत प्रदान गरिएको थियो । यसपछि जापानमा समुराईलाई चिनाउने भाला भएको पोशाक लगाउन पनि प्रतिबन्ध भयो । १८७८ मा आएर प्रतिनिधि शासक बुझाउन शब्द डाइम्यो (daimyo) र समुराई (samurai) लाई समेत परिवर्तन गरेर क्रमश काजोकु (kazoku) र सिजोकु (shizoku) राखियो । जापानी भाषामा काजोकुले उच्च कुलीन वर्ग र सिजोकुले समाजमा राम्रो प्रतिष्ठा भएको वर्ग भन्ने जनाउँछ ।

समुराईहरुले कयौं शताब्दीसम्म जापानमा आफ्नो दबदबा कायम गरेका थिए । उनीहरु आफ्नो आचारसंहिताको कट्टरतापूर्वक पालना गर्थे ।
उनीहरुको आचारसंहितालाई बुशिदो (Bushido) भनिन्थ्यो, जसको अर्थ हुन्छ- योद्धाको नियम (The way of the warrior) । बुशिदो वफादारिता र सौर्यको नियम थियो । यिनीहरु अत्यन्तै स्वामीभक्त र बहादुर हुन्थे । आफ्नो स्वामीप्रति अटुट भक्ति र शत्रुको सामुन्ने अदम्य साहस र शौर्य प्रदर्शन उनीहरुका प्रमुख गुण थिए । यिनीहरु कलंक र अपमानपूर्ण जीवन बाँच्नुभन्दा मृत्युवरण गर्न रुचाउँथे । कुनै पनि कारण आफू वा आफ्नो कारण आफ्नो स्वामी वा मुलुकको मान-सम्मानमा आघात परेको खण्डमा यी योद्धा वर्गले स्वेच्छापूर्वक वा आफ्नो स्वामीको आदेशमा सहजै आफ्नो पेट चिरेर आत्महत्या गर्थे । यिनीहरुको आत्महत्या गर्ने यही शैलीलाई नै हारा- किरी भनिन्छ ।

यस्तो हारा -किरी सम्पन्न गर्ने कार्य पनि दुई अवस्थामा हुन्थ्यो । पहिलो, कुनै पनि अभियुक्तलाई सम्राटले हारा-किरी गर्ने आदेश दिएपछि । अर्को चाहिँ, कुनै पनि योद्धाले आफ्नो कारण सम्राट राष्ट्रको मान सम्मानमा आघात परेको छ भन्ने कुरा आफैँले गरेर यी दुई अवस्थामध्ये पछिल्लो अवस्थामा हाराकिरी गर्नेलाई जापानी समाजमा बढी सम्मान प्राप्त थियो । राजाज्ञा पाएपछि मात्र हारा-किरी गर्ने व्यक्तिको आधा सम्पत्ति राज्यले ग्रहण गर्थ्यो । तर राजाज्ञा नपाइकनै, आफ्नै चेतनाले सम्राट र मुलुकको सम्मान रक्षाको लागि हाराकिरी गर्ने योद्धाको सम्पत्ति भने पुरै उसको सन्तानलाई प्रदान गरिन्थ्यो । यसरी हारा - किरी गर्ने योद्धाको सम्मान पनि पुनस्थापित भएको मानिन्थ्यो ।

राजाज्ञा पाएपछि मात्र हारा-किरी गर्ने व्यक्तिको आधा सम्पत्ति राज्यले ग्रहण गर्थ्यो । तर आफ्नै चेतनाले हाराकिरी गर्ने योद्धाको सम्पत्ति भने पुरै उसको सन्तानलाई प्रदान गरिन्थ्यो ।

हारा-किरीको ऐतिहासिक स्वरूप यस्तो रहे पनि पछि जापानमा सबै वर्गले आत्महत्याको यस उपायलाई अंगीकार गरे र यसको अर्थ र सन्दर्भ पनि परिवर्तित हुँदै गयो । कतिपय अवस्थामा हारा- किरी मृतक मान्यजनप्रति आफ्नो असीम समर्पणभाव प्रदर्शन गर्ने उपायको रूपमा पनि जापानीहरूले उपयोग गर्न थाले । अझ विशेष गरेर, जापानीहरूले हारा-किरीलाई सरकारको कुनै नीतिविशेषको प्रतिरोध गर्ने प्रभावकारी माध्यमको रूपमा पनि बेलाबखतमा प्रयोग गर्दै आए । जापानी समाजमा यो विधि यति लोकप्रिय र व्यापक बन्यो कि शताब्दीयौंसम्म हारा-किरीको प्रचलन चलिनै रह्यो र वर्षेनी १५०० भन्दा बढी मृत्यु यही माध्यमबाट भएको थियो । यसमा पनि आधाभन्दा बढी हारा-किरी त सम्राटको आज्ञाबाट हैन, स्वेच्छाबाट  हुने गरेको थियो ।

युकियो मिशिमा: हारा-किरी गर्ने प्रसिद्ध जापानी लेखक

https://steemitimages.com

युकियो मिशिमा जापानका विश्वप्रसिद्ध उपन्यासकारहरूमध्ये एक मानिन्छन् । यी महान जापानी उपन्यासकारले सन् १९७० हारा-किरी गरेरै आफ्नो प्राण त्याग गरेका थिए ।

मिशिमा युकिओ (Mishima Yukio) को खास नाम किमिता के हिराओका थियो । उनी सन् १९२५ मा टोकियोमा जन्मेका थिए । दोस्रो विश्वयुद्धताका यिनी सैनिकमा भर्ना हुन खोजेका थिए तर उनलाई सैनिकमा लिइएन । त्यसपछि उनले केही समय एउटा प्लेन निर्माण गर्ने कारखानामा काम गरे ।

युद्ध सकिएपछि उनले कानूनको अध्ययन गरे र केही समय अर्थ मन्त्रालय अन्तर्गतको एउटा कार्यालयमा पनि काम गरेका थिए ।

मिशिमाले सर्वप्रथम सन् १९४८ मा उपन्यास लेखेका थिए । उनको पहिलो उपन्याको नाम Confessions of a Mask थियो । उनको यो उपन्यास अति नै लोकप्रिय भएको थियो र त्यसले उनलाई सशक्त लेखकको रूपमा जापानी समाजमा स्थापित गरायो । त्यसपछि उनले सन् १९५६ मा Temple of the Golden Pavilion लेखे । यस उपन्यासमा उनले परम्परा र सौन्दर्यप्रति आशक्त एक युवाको बारेमा लेखेका थिए । सन् १९६३ मा उनले युवास्थामा हुने आरिसको दुःखद् कथाले भरिएको उपन्यास The Sailor Who Fell from Grace with the Sea लेखे । सन् १९७० मा आएर उनको चार वटा खण्ड भएको महाकाव्य प्रकाशित भयो । The Sea of Fertility शीर्षकको सो महाकाव्यका चार खण्डहरूको शीर्षक क्रमश: Spring Snow, Runaway Horses, The Temple of Dawn र The Decay of the Angel थियो । यस काव्यमा उनले जापान कसरी गौरवशाली परम्परालाई चटक्कै विर्सेर आधुनिक तर आत्मसम्मान नभएको समाजमा रूपान्तरण हुँदैछ भन्ने कुराको चित्रण गरेका थिए ।

मिशिमा युकिओका उपन्यासहरूको मूल सार परम्परागत जापानी मूल्य मान्यता र उनका समकालीन जापानी समाजमा रहेको आध्यात्मिक खडेरीवीचको विभाजन थियो । उनले आफ्नो प्राचीन गौरवशाली परम्परालाई जीवन्त राख्नको लागि तातेनोकाइ (Tatenokai) नामक गोप्य समाज नै खोलेका थिए। करिब ८० जना शिष्यहरु रहेको यस समाजले परम्परागत शौर्यकला र शारीरिक सुसंगठन तथा मार्शल आर्टको रक्षा, सम्बर्द्धन र विस्तारमा जोड दिन्थ्यो भने उनी कम्युनिष्टहरुले गर्न सक्ने सम्भावित विद्रोहबाट जापानी सम्राटको रक्षा गर्ने कुरा गर्थे ।

नोबेल पुरस्कारका समेत दाबेदार मानिने यी लेखक प्राचीन गौरवशाली परम्पराप्रति कति आशक्त थिए भने उनले आफ्ना केही साथीहरुको सहयोगमा टोकियो नजिकै अवस्थित कमाण्डिङ जनरल अफिस कब्जा गरेर जापानी सैनिकहरूको एक रेजिमेन्टलाई दोस्रो विश्वयुद्धपछि जापानमा लादिएको संविधानलाई फ्याँक्न तथा विद्रोहका लागि उक्साउने कोशिस गरेका थिए । उनले त्यस क्रममा उपस्थित हज्जारौं सैनिक जवानहरुलाई करिब १० मिनेट प्रवचन समेत दिएका थिए तर त्यसमा उनी सफल भएनन् । त्यसपछि नै उनले हारा-किरी गरेका थिए । मिशिमाको यस हाराकिरीलाई आधुनिक जापानी समाजको कमजोरीविरूद्ध उनको विद्रोहको रूपमा लिने गरिन्छ ।

सन् १८६७ मा आएर जापानमा मेजी शासन शुरू भयो । त्यस शासनको शुरूवातले जापानमा सामन्तहरूको शासनको अन्त्य गर्यो र साथसाथै, सामन्ती शासनको एक  परम्पराको रूपमा रहेको हारा- किरीको प्रचलनमाथि पनि सन् १८६८ देखि कानूनी प्रतिबन्ध लाग्यो । त्यसपछि हारा-किरीको प्रचलन स्वाट्टै घटेर गयो । तर पूरै चाहिँ यो मासिएन ।

अहिलेको समयमा हारा-किरीको घटना सामान्यतः विरलै सुन्न पाइन्छ । तर दोस्रो विश्वयुद्धको बेला पराजित हुन पुगेका धेरै जापानी सैनिकहरूले आफूलाई शत्रुको कब्जामा पर्न दिनुभन्दा आफ्नो प्राचीन ‘गौरवशाली’ परम्परा हारा-किरीलाई अंगालेर मृत्युवरण गरेका थिए ।

प्रस्तुति: चन्द्र खाकी

स्रोत: MS encarta 1999, Encyclopediya Britannica, इन्टरनेटका विभिन्न वेभसाइटहरू पजाब केसरी

Title image: https://screenmusings.org/movie/blu-ray/Harakiri/images/Harakiri-080.jpg