समाजवाद नै किन ?
के त्यस्तो व्यक्तिले समाजवादको बारेमा विचार व्यक्त गर्नु उचित छ, जो आर्थिक–सामाजिक मामिलाहरुको विशेषज्ञ होइन ? कयौं कारणहरुले गर्दा मलाई लाग्छ– यो उचित छ ।
अर्थशास्त्र र समाजवाद
सबैभन्दा पहिले वैज्ञानिक ज्ञानको दृष्टिकोणबाट यस सवालमाथि विचार गरौं । खगोल–विज्ञान र अर्थशास्त्रबीचको कार्यपद्धति (मेथोडोलोजी)मा कुनै मूलभूत भिन्नता नै छैन भन्ने लाग्न सक्छ । यस्तो प्रतीत हुनसक्छ, यी दुबै क्षेत्रहरुमा वैज्ञानिकहरुले कुनै घटना–क्रियाहरु (फेनोमेना) का अन्तरसम्बन्धहरुलाई यथासम्भव स्पष्ट ढंगले सम्झन–बुझ्न लायक बनाउनका लागि ती घटना–क्रियाहरुको एउटा सीमित समूहका लागि सामान्य स्वीकार्य नियमहरु खोज्ने प्रयास गर्दछन् । तर, वास्तवमा, यी दुबै विज्ञानहरुका बीच कार्यपद्धतिको भिन्नता विद्यमान छ । अर्थशास्त्रको क्षेत्रमा सामान्य नियमहरुको खोज विभिन्न कारणले कठिन हुन्छ । किनकि जुन आर्थिक घटना–क्रियाहरुको हामी निरीक्षण गर्छौं, तीनलाई धेरै त्यस्ता कुराहरुले प्रभावित गर्दछन्, जसको मूल्यांकन अलग ढंगले गर्न निकै कठिन छ । यसका अतिरिक्त, सबैलाई थाहै छ– मानव इतिहासको तथाकथित सभ्यकालको शुरुदेखि नै संचित अनुभवहरु त्यस्ता कारणहरुबाट धेरै नै बढी प्रभावित र सीमित भैरहेका छन्, जुन स्वभावतः कुनै पनि हिसाबले आर्थिक कारण मात्र होइनन् । उदाहरणका लागि, इतिहासमा धेरैजसो ठूला राज्यहरुको अस्तित्वको आधार भनेको बल प्रयोगद्वारा गरिएको विजय थियो । विजेताहरुले कानूनी र आर्थिक रुपले आफूलाई विजित देशका विशेषाधिकार प्राप्त वर्गको रुपमा स्थापित गरे । तिनीहरुले भू–स्वामित्वको क्षेत्रमा आफ्नो एकाधिकार कायम गरे र आफूहरु बीचका मानिसहरुमध्येबाट नै पुरोहित नियुक्त गरे । पुरोहितहरुले शिक्षामाथि नियन्त्रण राख्ने काम गरे । समाजको वर्ग– विभाजनलाई एउटा स्थायी संस्थाको रुप दिए । अनि उनीहरुले मूल्यहरुको एउटा व्यवस्थाको रचना गरे, जसबाट त्यसै समयदेखि धेरै हदसम्म अचेतन रुपले मानिसहरुको आफ्नो सामाजिक व्यवहार निर्देशित हुनथाल्यो ।
मानव इतिहासको तथाकथित सभ्यकालको शुरुदेखि नै संचित अनुभवहरु त्यस्ता कारणहरुबाट धेरै नै बढी प्रभावित र सीमित भैरहेका छन्, जुन स्वभावतः कुनै पनि हिसाबले आर्थिक कारण मात्र होइनन् ।
थोस्टियन वेब्लेन१द्वारा बताइएको मानव विकासको ‘लूटपाटको अवस्था’ भनेको, भन्नलाई मात्रै विगतका दिनहरुको ऐतिहासिक परम्परा हो, किन्तु हामी आजसम्म पनि त्यो अवस्थाभन्दा अगाडि बढ्न सकेका छैनौं । जुन आर्थिक तथ्यहरुको हामी निरीक्षण गर्न सक्छौं, ती त्यही अवस्थाका हुन्, र त्यसबाट निकालिएको नियम पनि अन्य अवस्थाहरुमाथि लागू हुन सक्दैन । समाजवादको वास्तविक लक्ष्य सुनिश्चित रुपले मानव विकासलाई यस लूटपाटको अवस्थाबाट पार गराउनु र यस अवस्थाबाट अगाडि बढाउनु हो, त्यसैले आफ्नो वर्तमान स्थितिमा आर्थिक–विज्ञानले भविष्यको समाजवादी समाजमाथि अलिकति भए पनि प्रकाश पार्न सक्छ ।
दोस्रो विचारणीय पक्ष के हो भने समाजवादको विकासको दिशा एउटा सामाजिक–नैतिक लक्ष्यतिर निर्देशित छ । विज्ञानले न लक्ष्यहरुको निर्माण गर्न सक्छ, न त त्यसलाई मानिसहरुभित्र पोख्न नै सक्छ । विज्ञानले बढीभन्दा बढी कुनै लक्ष्यहरुलाई प्राप्त गर्ने साधन जुटाउन सक्छ । तर यी लक्ष्यहरु स्वयं उदात्त नैतिक आदर्शले युक्त व्यक्तित्वहरुद्वारा मात्र तय गरिन्छ । यदि यी लक्ष्यहरु मुर्दा नभैकन, जीवन्त र ओजस्वी छन् भने ती धेरै धेरै मानिसहरुद्वारा अपनाइने छन् अनि अगाडि पनि बढाइने छन् । यस्ता मानिसहरुले अर्धअचेतन रुपले भए पनि समाजको मत्थर–विकासलाई निर्धारित गर्नेछन् ।
समाजवादको वास्तविक लक्ष्य सुनिश्चित रुपले मानव विकासलाई यस लूटपाटको अवस्थाबाट पार गराउनु र यस अवस्थाबाट अगाडि बढाउनु हो, त्यसैले आफ्नो वर्तमान स्थितिमा आर्थिक–विज्ञानले भविष्यको समाजवादी समाजमाथि अलिकति भए पनि प्रकाश पार्न सक्छ ।
यिनै कारणहरुले गर्दा, मानवीय समस्याहरुको सवालमाथि हामीले विज्ञान र वैज्ञानिक पद्धतिहरुलाई आवश्यकताभन्दा बढी आँकेर हेर्नु हुँदैन । र यिनै कारणहरुले गर्दा समाजको संगठनलाई प्रभावित गर्ने सवालहरुबारे अभिव्यक्तिको अधिकार केवल विशेषज्ञहरुलाई मात्र छ भनेर पनि मान्नु उचित हुँदैन ।
सामाजिक संकटको समाधान?
अनगिन्ती मानिसहरु केही समययतादेखि के कुरामाथि जोड दिइरहेका छन् भने मानव समाज एउटा संकटको स्थितिबाट गुज्रिरहेको छ र यसको स्थिरता भयंकर रुपले छिन्न–भिन्न भएको छ । यो एउटा यस्तो स्थितिको लक्षण हो, जब मानिसहरु पहिलेदेखि आफू जोडिएको सानो वा ठूलो समूहप्रति उदासीन वा अनासक्त हुन थाल्छन्, कहिले काँही त शत्रुतापूर्ण भाव समेत महसूस गर्न थाल्छन् । आफ्नो यो कुरालाई स्पष्ट पार्नका लागि म एउटा निजी अनुभव बताउन चाहन्छु । हालै मैले एकजना प्रबुद्ध सज्जनसँग एउटा अर्को युद्धको खतराको बारेमा कुराकानी गरें, जुन युद्धले मेरो विचारमा मानवताको अस्तित्वलाई नै गम्भीर संकट पैदा गर्नेछ । मैले उनलाई के भने भनें त्यस्तो खतराबाट केवल एउटा राष्ट्र–राष्ट्रभन्दा माथिको (सुप्रानेशनल) संगठनले मात्र रक्षा गर्न सक्दछ । यसबारेमा मेरो अतिथिले अत्यन्त शान्त र ठण्डा ढंगले भने– “तपाईं मानव जाति नष्ट हुने कुराविरुद्ध यति गम्भीरतापूर्वक किन विरोध गर्नुहुन्छ ?”
म यकीनका साथ भन्नसक्छु: कमसेकम एक शताब्दी अगाडिसम्म कसैले पनि यति हलुका ढंगले यस सम्बन्धमा यस्तो किसिमको विचार दिएको छैन होला । यो एउटा त्यस्तो मानिसको विचार हो, जसले आफूभित्र सन्तुलन स्थापित गर्नका लागि निरर्थक प्रयास गरिरहेको छ र धेरै हदसम्म यसमा सफल हुने आशा समेत मारिसकेको छ । यो एउटा यस्तो दर्दनाक एक्लोपन र पीडादायी अलगावको अभिव्यक्ति हो, जसबाट आजभोलि धेरै मानिसहरु पीडित छन् । यसको कारण के हो ? के यसको कुनै समाधान त छ ?
व्यक्ति सोच्न, महसूस गर्न, प्रयास गर्न र कार्य गर्नमा आफैं सक्षम छ । किन्तु ऊ आफ्ना शारीरिक, बौद्धिक तथा भावनात्मक अस्तित्वका लागि समाजमाथि यति बढी निर्भर छ कि समाजको सीमाभन्दा बाहिर उसको विषयमा विचार गर्नु र त्यसलाई बुझ्नु असम्भव प्रायः छ ।
यस्ता प्रश्नहरु गर्नु सजिलो छ, तर कुनै पनि हदसम्मको भरोसिलो जवाफ दिन कठिन छ । फेरि पनि जहाँसम्म सकिन्छ, म जवाफ दिने प्रयास अवश्य गर्नेछु । यद्यपि हाम्रा अनुभूतिहरु र हाम्रा प्रयासहरु धेरैजसो यति अन्तरविरोधी र दुरुह हुन्छन् कि ती सजिला र सिधा–साधा सूत्रहरुमा व्यक्त गर्न नै सकिंदैनन् भन्ने तथ्यप्रति म काफी सचेत छु ।
समाज र व्यक्तिको अन्तरसम्बन्ध
मानिसहरु एकै समयमा र एकैसाथ एक्लो प्राणी पनि हुन् र सामाजिक प्राणी पनि । एउटा एक्लो प्राणीको हैसियतले मानिसले स्वयंको र आफ्ना सबैभन्दा नजिकका मानिसहरुको रक्षाको प्रयास गर्दछ र आफ्ना निजी इच्छाहरुको तृप्तिको प्रयत्न गर्दछ तथा आफ्ना सहज योग्यताहरुको विकासका लागि प्रयत्न गर्दछ । एक सामाजिक प्राणीको रुपमा उसले आफू निकट रहने मानिसहरुबीच मान्यता पाउन, तिनीहरुबाट स्नेह पाउन, उनीहरुका खुशीहरुमा भाग लिन र उनीहरुको दुःखका बेलामा आरामको व्यवस्था गर्न तथा उनीहरुको जिन्दगीका कठिन परिस्थितिहरुमा सुधार गर्न कोशिस गर्दछ । कुनै पनि मानिसको विशिष्ट चरित्रका पछाडि केवल यस्तै विविध र अत्यन्त परस्पर विरोधी प्रयासहरुकै अस्तित्व हुन्छ । यिनै प्रयासहरुको विशिष्ट संयोजनले नै त्यस सीमालाई निर्धारण गर्दछ, जुन सीमासम्म कुनै मानिसले आन्तरिक सन्तुलन प्राप्त गर्न सक्छ तथा समाजको हितका लागि योगदान गर्न सक्छ । के कुरा बिलकुल संभव छ भने यी दुबै प्रवृत्तिहरुको सापेक्षित शक्तिको निर्धारण मुख्यतः वंशानुक्रमद्वारा हुन सक्छ । किन्तु, अन्तिम रुपमा जुन व्यक्तित्व विकसित भएर अगाडि देखा पर्छ, त्यस व्यक्तित्वको निर्धारण गर्ने काम मुख्यरुपमा सामाजिक परिवेशबाट हुन्छ । व्यक्ति स्वयंले आफ्नो विकासको क्रममा पाउने त्यस परिवेशद्वारा, ऊ हुर्कने–बढ्ने समाजको त्यस ढाँचाद्वारा, त्यस समाजका परम्पराहरुद्वारा र खास खास व्यवहारहरुप्रति त्यस समाजको मूल्यांकनद्वारा उसको व्यक्तित्व निर्धारण गर्ने काम हुन्छ । कुनै पनि एक्लो व्यक्तिका लागि ‘समाज’सम्बन्धी अमूर्त धारणाको अर्थ होः आफ्ना समकालीनहरु र अघिल्लो पुस्ताका सबै मानिसहरुसँग उसको प्रत्यक्ष र परोक्ष सम्बन्धहरुको कुल जोड । व्यक्ति सोच्न, महसूस गर्न, प्रयास गर्न र कार्य गर्नमा आफैं सक्षम छ । किन्तु ऊ आफ्ना शारीरिक, बौद्धिक तथा भावनात्मक अस्तित्वका लागि समाजमाथि यति बढी निर्भर छ कि समाजको सीमाभन्दा बाहिर उसको विषयमा विचार गर्नु र त्यसलाई बुझ्नु असम्भव प्रायः छ । यो त्यही नै ‘समाज’ हो, जसले मानिसलाई भोजन, वस्त्र, आवास, कामको औजार, भाषा, विचारहरुको रुप र त्यसको अधिकांश अन्तर्वस्तु दिन्छ, उसको जीवन वर्तमान र विगतका ती लाखौं–लाख मानिसहरुको श्रम र कौशलको कारणले मात्रै चलिरहेको हुन्छ, ती सबै मानिसहरु यस छोटो शब्द ‘समाज’को पछाडि हराइरहेका हुन्छन् ।
मानिसको प्राकृतिक र साँस्कृतिक संरचना
त्यसैले के कुरा स्पष्ट छ भने समाजमाथि व्यक्तिको निर्भरता प्रकृतिको एउटा त्यस्तो वास्तविकता हो, जसलाई समाप्त पार्न सकिंदैन’, ठीक कमिला र माहुरीहरुको विषयमा जस्तै ! तर जहाँ कमिला र माहुरीहरुको पूरा जीवन–प्रक्रियाको सानोभन्दा सानो कुरा पनि सख्त वंशानुगत प्रवृत्तिहरुद्वारा निर्धारित हुन्छ, त्यहीँ मानिसका तौर–तरिकारहरु र अन्तरसम्बन्धहरु चाहिँ परिवर्तनशील हुन्छन् र परिवर्तनप्रति अति संवेदनशील हुन्छन् । स्मृति, नयाँ संयोजनहरु निर्माण गर्ने क्षमता र मौखिक संवादको गुणद्वारा मानिसमा त्यस्ता विकासहरु सम्भव भएको छ, जुन जैविक आवश्यकताहरुद्वारा निर्दिष्ट हुँदैनन् । यस्ता विकासहरुले परम्पराहरु, संस्थाहरु र संगठनहरुमा, साहित्यमा, वैज्ञानिक एवं इन्जिनियरिङ्गका उपलब्धिहरुमा, कलाकृतिहरुमा स्वयंलाई अभिव्यक्त गर्दछन् । यसबाट स्पष्ट हुन्छ– मानिसले कसरी एउटा निश्चित अर्थमा आफ्नो जीवनलाई स्वयं आफ्नै व्यवहारद्वारा प्रभावित गर्न सक्छ । यस प्रक्रियामा सचेत चिन्तन र चाहनाले एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् भन्ने कुरा पनि यसबाट स्पष्ट हुन्छ ।
आधुनिक नृतत्वशास्त्रले तथाकथित आदिम संस्कृतिहरुको तुलनात्मक खोजमार्फत् हामीलाई सिकाएको छ– मानिसहरुका सामाजिक व्यवहारहरुमा व्यापक अन्तर हुन सक्दछ, किनकि यी कुराहरु समाजमा प्रभुत्व जमाइरहेका प्रचलित सांस्कृतिक प्रतिमानहरु र संगठनका स्वरुपहरुमा निर्भर हुन्छन् ।
मानिसले जन्मेदेखि नै आनुवंशिकतामार्फत् प्रकृतिका स्वाभाविक आवश्यकताहरुसहित एउटा जैविक संरचना पाउँछ, जुन आवश्यकताहरु मानव जातिका लाक्षणिक विशेषताहरु हुन् । यो संरचनालाई हामीले स्थिर र अपरिवर्तनीय मान्न सक्छौं । यसका साथै, आफ्नो जीवनकाल व्यतीत गर्ने क्रममा उसले एउटा सांस्कृतिक संरचना पनि पाउँछ, जसलाई उसले संवादहरु र अन्य धेरै प्रकारका प्रभावहरुमार्फत् समाजबाट ग्रहण गर्दछ । यो सांस्कृतिक संरचना नै त्यो चीज हो, जुन समयसँगसँगै परिवर्तन हुँदै जान्छ । सबैभन्दा महत्वपूर्ण कुरा, यही सांस्कृतिक संरचनाले नै व्यक्ति र समाजबीचको सम्बन्धलाई अति धेरै हदसम्म तय गर्दछ । आधुनिक नृतत्वशास्त्रले तथाकथित आदिम संस्कृतिहरुको तुलनात्मक खोजमार्फत् हामीलाई सिकाएको छ– मानिसहरुका सामाजिक व्यवहारहरुमा व्यापक अन्तर हुन सक्दछ, किनकि यी कुराहरु समाजमा प्रभुत्व जमाइरहेका प्रचलित सांस्कृतिक प्रतिमानहरु र संगठनका स्वरुपहरुमा निर्भर हुन्छन् । कुनै मानव समुदायको उन्नतिका लागि प्रयासरत मानिसहरुले आफ्ना आशाहरु के कुरामाथि आधारित गर्न सक्छन् भने आफ्नो जैविक संरचनाको फलस्वरुप, एक अर्काको विनाश गर्नका लागि वा कुनै क्रूर र आत्मघाती स्थितिको दयामा भर परिरहनका लागि मानव जाति अभिशप्त छैन ।
मानौं, हामीले आफैंलाई प्रश्न गर्यौं: मानव जीवनलाई यथासम्भव सन्तोषजनक बनाउनका लागि समाजको संरचना तथा व्यक्तिको सांस्कृतिक दृष्टिकोण कसरी बदल्ने ? यसको जवाफ खोज्दा हामीले बदल्न नै नसकिने केही विशिष्ट परिस्थितिहरु हुन्छन् भन्ने वास्तविकताको बारेमा हामी सतत रुपमा सचेत रहनुपर्छ । मैले अगाडि नै के भनिसकेको छु भने– व्यवहारिक अर्थमा मानिसको जैविक प्रकृतिलाई परिवर्तन गर्न सकिँदैन । त्यस्तै गरी विगतका केही शताब्दीहरुका प्राविधिक र जनसांख्यकीय विकासद्वारा निर्मित परिस्थितिहरु पनि यथावत् रहिरहने कुरा हुन् । अपेक्षाकृत रुपमा धना बस्ती भएका आबादीहरुको अस्तित्वका लागि अपरिहार्य सामग्रीको आपूर्ति गर्न एउटा चरम श्रम–विभाजन तथा अत्यन्त केन्द्रिकृत उत्पादनतन्त्र परम आवश्यक हुन्छ ।
मानिसहरुको छोटो जीवन खतरा नै खतराले भरिएको छ, त्यसैले मानिसहरुले छोटो जीवनमा स्वयं आफूलाई समाजप्रति समर्पित गरेरै मात्र सार्थकता प्राप्त गर्न सक्छन् ।
अतीततिर हेर्दा निकै रमणीय लाग्ने त्यो समय, सधैँको लागि गुज्रिसकेको छ, जुनबेला व्यक्ति वा सापेक्षिकरुपमा सानो समूह समेत पूर्णतः आत्मनिर्भर रहन सक्दथ्यो । मानव जातिले अहिले मात्रै उत्पादन र उपभोगको एउटा विश्वव्यापी समुदायको रचना गरेको हो भन्ने कुरा भन्नु धेरै अतिशयोक्तिपूर्ण नहोला ।
हाम्रो जमानाको अत्यावश्यक संकट
अब म त्यस विन्दुमा आइपुगेको छु, जहाँबाट म आजको संकटको सारतत्वतिर अलिकति संकेत गर्न सक्छु । यो कुरा समाजसँग व्यक्तिको सम्बन्धसित गाँसिएको छ । व्यक्ति समाजमाथिको आफ्नो निर्भरताप्रति पहिलेभन्दा बेसी सचेत हुन थालेको छ । किन्तु ऊ यस निर्भरतालाई एउटा सकारात्मक गुणको रुपमा, एउटा जीवन्त बन्धनको रुपमा, एउटा रक्षक शक्तिको रुपमा महसूस गर्दैन । बरु ऊ यसलाई आफ्ना प्राकृतिक अधिकारहरुका लागि, यहाँसम्म कि आफ्नो आर्थिक अस्तित्वका लागि समेत खतराको रुपमा महसूस गर्दछ । त्यसमाथि पनि समाजमा उसको स्थिति कस्तो छ भने उसको मानसिक संरचनामा निहित स्वार्थी प्रवृत्तिहरु निरन्तर प्रबल हुँदै गइरहेका छन्, जब कि उसका समाजिक प्रवृत्तिहरु, जो स्वभावैले कमजोर छन्, भने झन् तेज गतिले नष्ट हुँदै गइरहेका छन् । सबै मानिसहरु, चाहे समाजमा उनीहरुको जुनसुकै स्थान किन नहोस्, नष्ट हुने यस प्रक्रियाको शिकार भइरहेका छन् । थाहा नपाउँदा–नपाउँदै, आफ्नै स्वार्थहरुको कैदी बन्दै उनीहरुले स्वयं आफूलाई असुरक्षित र एक्लो भएको महसूस गरिरहेका छन् । उनीहरुले जीवनका निष्कपट, सरल र स्वाभाविक आनन्दहरुबाट बंचित भएको महसूस गर्न थालेका छन् । निश्चित रुपमा, मानिसहरुको छोटो जीवन खतरा नै खतराले भरिएको छ, त्यसैले मानिसहरुले छोटो जीवनमा स्वयं आफूलाई समाजप्रति समर्पित गरेरै मात्र सार्थकता प्राप्त गर्न सक्छन् ।
मेरो विचारमा दुष्टता र अनिष्टताको सक्कली स्रोत भनेको वर्तमान पूँजीवादी समाजको त्यो आर्थिक अराजकता हो, जुन यहाँ आज विद्यमान छ ।
मेरो विचारमा दुष्टता र अनिष्टताको सक्कली स्रोत भनेको वर्तमान पूँजीवादी समाजको त्यो आर्थिक अराजकता हो, जुन यहाँ आज विद्यमान छ । हाम्रासामु विशाल उत्पादक समुदाय छ, जसका सदस्यहरुले बल प्रयोगद्वारा होइन, बरु समग्रतामा विश्वसनीय रुपले कानूनतः स्थापित नियमहरु प्रयोग गरी अरुलाई सामूहिक श्रमको फलबाट वन्चित गर्नका लागि कोशिस गर्दैछ । यसै सन्दर्भमा के कुरा अनुभव गर्नु महत्वपूर्ण छ भने उत्पादनको साधन अर्थात् समस्त उत्पादक क्षमता, जुन उपभोक्ता सामग्रीका साथसाथै पूँजीगत सामग्री पैदा गर्नका लागि आवश्यक छ, कानूनी रुपले व्यक्तिहरुको निजी सम्पत्ति हुन सक्छ र अधिकतम रुपमा त्यस्तै नै छ ।
गरिखानेहरुको श्रम र पुँजीपतिहरुको उत्पीडन
सरलताको दृष्टिले अबको बहसमा म ती सबै मानिसहरुलाई श्रमजीवी (वर्कर्स) भन्नेछु, जसको उत्पादनका साधनहरुको मालिकत्वमा कुनै हिस्सेदारी छैन । यद्यपि यो यस शब्द परम्परागत प्रयोगअनुरुप छैन । उत्पादनका साधनहरुका मालिकहरु श्रमजीवीहरुको श्रमशक्ति किन्न सक्ने स्थितिमा हुन्छन् । उत्पादनका साधनहरुको प्रयोग गरेर श्रमजीवीहरुले जुन नयाँ सामग्रीहरु उत्पादन गर्छन्, ती पूँजीपतिको सम्पत्ति बन्न पुग्छन् । यस प्रक्रियामा सबैभन्दा महत्वपूर्ण पक्ष होः श्रम र ज्यालाबीचको सम्बन्ध । श्रमजीवीहरुले श्रम गरी जति उत्पादन गर्छन् र जति उनीहरुले ज्याला पाउँछन्, यी दुवैलाई वास्तविक मूल्य (real value) को रुपमा यसलाई नाप्दा यी दुबैबीच कुनै तालमेल हुँदैन । श्रम अनुबन्ध (Labour Contract) को ‘मुक्त हुन्छ, त्यसैले श्रमजीवीहरुले जे–जति ज्याला पाउँछन्, त्यो उनीहरुद्वारा उत्पादित सामग्रीको वास्तविक मूल्यबाट निर्धारित हुँदैन, बरु उनीहरुका न्यूनतम आवश्यकताहरुमा आधारित हुन्छ । र कामको खोजीको क्रममा प्रतिस्पर्धामा लागिरहेका श्रमजीवीहरुको संख्या पनि उनीहरुको ज्याला निर्धारणमा कारण बन्न पुग्छ । उनीहरुको संख्या धेरै बेसी छ भने त्यसकै अनुपातमा उनीहरुको ज्याला कम हुँदै जान्छ । धेरैजसो स्थितिमा पूँजीपतिहरुलाई आवश्यक भएको संख्याभन्दा बेसी श्रमजीवी श्रम–बजारमा उपलब्ध भइरहने हुनाले उनीहरुले निकै थोरै ज्याला पाउँछन् । यहाँ के कुरा थाहा पाउनु महत्वपूर्ण छ भने सैद्धान्तिक रुपमा मात्रै पनि श्रमजीवीहरु ज्याला उनीहरुको उत्पादनको मूल्यद्वारा निर्धारण गरिँदैन ।
संसद्मा जुन व्यक्तिहरु राजनैतिक पार्टीहरुबाट छानिएर वा जन निर्वाचित भएर जान्छन्, उनीहरु पूँजीपतिहरुबाट धेरैजसो आर्थिक रुपले लगानी गरिएका हुन्छन् वा निजी पूँजीबाट प्रभावित हुन्छन् । यसै नतिजास्वरुप सबै व्यावहारिक मामिलाहरुमा निर्वाचित सांसदहरु आफ्ना मतदाता जनताहरुबाट अलग हुन्छन् ।
पूँजीवादमा निजी पूँजी मुठ्ठीभर मानिसहरुको हातमा केन्द्रित हुन्छ । पूँजीवादी प्रतिद्वन्द्विताको कारणले र प्रविधिको विकासको कारणले ठूलठूला कारखानाहरु स्थापना गरिन्छन् र जसमा श्रमको विभाजन लगातार बढ्दै जान्छ । यी सबै कुराहरुको परिणाम के हुन्छ भने साना उत्पादकहरुले ठूलो हानी बेहोर्नु पर्ने हुन्छ । पूँजीपतिहरुको एउटा उच्च कुलीनतन्त्र (oligarchi) स्थापित हुनजान्छ र त्यस तन्त्रको अपार शक्तिलाई प्रजातान्त्रिक ढंगले संगठित एउटा राजनीतिक समाजले पनि प्रभावकारी ढंगले नियन्त्रित गर्न सक्दैन । संसद्मा जुन व्यक्तिहरु राजनैतिक पार्टीहरुबाट छानिएर वा जन निर्वाचित भएर जान्छन्, उनीहरु पूँजीपतिहरुबाट धेरैजसो आर्थिक रुपले लगानी गरिएका हुन्छन् वा निजी पूँजीबाट प्रभावित हुन्छन् । यसै नतिजास्वरुप सबै व्यावहारिक मामिलाहरुमा निर्वाचित सांसदहरु आफ्ना मतदाता जनताहरुबाट अलग हुन्छन् । यसको परिणाम के हुन्छ भने जनताका प्रतिनिधि सांसदहरुलाई आफूले समाजका दुर्बल र अधिकारविहीन वर्गका हितहरुका बारेमा सोच्नु जरुरी छ भन्ने महसूस समेत हुन छोड्छ ।
यसबाहेक वर्तमान परिस्थितिमा पूँजीपति वर्गले प्रत्यक्ष वा परोक्ष ढंगले संचारका साधनहरुमाथि, जस्तो प्रेस, रेडियो, टेलिभिजन तथा शिक्षामाथि आफ्नो नियन्त्रण स्थापित गर्दछ । यसप्रकारले नागरिकहरुले वस्तुगत र सही निर्णयसम्म पुग्नका लागि तथा आफ्ना राजनेतिक अधिकारहरुको बुद्धिमत्तापूर्ण ढंगले प्रयोग गर्नका लागि निकै ठूलो कठिनाइ व्यहोर्नु पर्दछ, यहाँसम्म कि धेरैजसो मामिलामा त यस्तो काम गर्नु असंभव प्रायः नै हुन्छ ।
नाफाका लागि निजी स्वामित्व
सम्पत्तिको निजी मालिकत्वमाथि आधारित अर्थव्यवस्थामा अडेको वर्तमान स्थितिलाई दुई मुख्य सिद्धान्तद्वारा स्पष्ट पार्न सकिन्छ । पहिलो, उत्पादनका साधनहरु (पूँजी)माथि निजी मालिकत्व रहन्छ र मालिकले जस्तो मन लाग्छ, त्यसरी नै तिनलाई प्रयोग गर्छ । दोस्रो, श्रमजीवीसँगको श्रम–अनुबन्ध स्वतन्त्र हुन्छ । यस अर्थमा एउटा वास्तविक ‘शुद्ध’ पूँजीवादी समाजको अस्तित्व हुन सक्दैन । विशेष रुपमा, के कुरा उल्लेखनीय छ भने श्रमजीवीहरुका लामा लामा र तीखा राजनीतिक संघर्षहरुद्वारा ‘स्वतन्त्र श्रम सम्झौता’को अलिकति सुधारिएको रुप केही निश्चित श्रेणीका श्रमजीवीहरुले पाउन सफल भएका छन् । तर समग्रतामा हेर्दा आजको अर्थव्यवस्था ‘शुद्ध’ पूँजीवादभन्दा धेरै बेशी भिन्न चाहिँ छैन ।
मुनाफाखोरीको प्रवृत्तिका साथसाथै पूँजीपतिहरुबीच हुने आपसी प्रतिद्वन्दिताका कारण पूँजी–निर्माण र यसको समुचित प्रयोगमा बाधा उत्पन्न हुन जान्छ । यसले क्रमशः भयानक मन्दीको चरणतिर डोर्याउन थाल्छ ।
उत्पादन नाफाका लागि गरिन्छ, उपभोगका लागि होइन । कामका लागि इच्छुक सबै सक्षम मानिसहरुले सधैँ काम पाउँछन् भन्ने त्यस्तो कुनै सुनिश्चित प्रावधान हुँदैन किनकि “बेरोजगारहरुको फौज” लगभग सधैँ विद्यमान रहिरहन्छ । श्रमजीवीहरु हरपल कामबाट हटाइने पो हो कि भन्ने भयले ग्रस्त हुन्छन् । निश्चित रुपमा बेरोजगार र अति कम ज्याला पाउने श्रमजीवीहरुमाथि आधारित भएर एउटा लाभदायक बजार निर्माण हुन सक्दैन् । यसैले उपभोग्य– वस्तुहरुको उत्पादन अत्यन्त सीमित रहन्छ, जसको परिणाम हुन्छ– श्रमजीवीहरुका लागि भयंकर कठीनाई । प्राविधिक उन्नतिको फलस्वरुप बेरोजगारहरुको संख्यामा अत्यधिक बृद्धि हुन्छ र प्राविधिक उन्नतिबाट सबैका लागि कामको बोझा हलुका भइहाल्छ नि भन्ने कुरा बलिकुल असंभव झैं हुनथाल्छ । यी कुराहरु मैले अगाडि नै उल्लेख गरिसकेको छु ।
संकटको समाधान हो समाजवाद
मुनाफाखोरीको प्रवृत्तिका साथसाथै पूँजीपतिहरुबीच हुने आपसी प्रतिद्वन्दिताका कारण पूँजी–निर्माण र यसको समुचित प्रयोगमा बाधा उत्पन्न हुन जान्छ । यसले क्रमशः भयानक मन्दीको चरणतिर डोर्याउन थाल्छ । असीमित प्रतिद्वन्दिताकै कारणले प्रायःजसो श्रमको ठूलो बर्बादी हुन्छ । यसले व्यक्तिहरुको सामाजिक चेतनालाई कुण्ठित पार्दछ ।
म व्यक्तिहरुको सामाजिक चेतनालाई कुण्ठित बनाउने प्रक्रियालाई पूँजीवादको सबैभन्दा नराम्रो अभिशाप मान्दछु । हाम्रो सम्पूर्ण शिक्षा व्यवस्था यही अभिशापले ग्रस्त छ । यस्तो व्यवस्थामा विद्यार्थीहरुको मनमा एउटा अतिरंजित प्रतियोगी र प्रतिद्वन्दिताको भावना पैदा गर्ने काम गरिन्छ । तथा उनीहरु भावी जीवनयात्रा (करियर)को तयारी गर्ने–गराउने नाममा कमाऊ खालको सफलतालाई मात्रै पूजा गर्न सिकाउँछ ।
यी तमाम गम्भीर अनिष्ट र अभिशापहरुबाट मुक्त हुने एकमात्र उपाय हो, समाजवादी अर्थव्यवस्थाको स्थापना गर्नु र यो सँगसँगै सामाजिक लक्ष्यहरुतिर झुकाव भएको शिक्षा–व्यवस्थाको प्रचलन शुरु गर्नु ।
मेरो दृढ विश्वास छ– यी तमाम गम्भीर अनिष्ट र अभिशापहरुबाट मुक्त हुने एकमात्र उपाय हो, समाजवादी अर्थव्यवस्थाको स्थापना गर्नु र यो सँगसँगै सामाजिक लक्ष्यहरुतिर झुकाव भएको शिक्षा–व्यवस्थाको प्रचलन शुरु गर्नु । यस्तो अर्थव्यवस्थामा उत्पादनका साधनहरुमाथि समाजको स्वामित्व हुन्छ र यसको प्रयोग नियोजित ढंगले हुन्छ । एउटा त्यस्तो नियोजित अर्थव्यवस्था (Planned Economy), जसले उत्पादनलाई समाजको आवश्यकता अनुरुप समायोजित गर्छ, हो त्यस्तो व्यवस्थाले मात्रै काम गर्न सक्षम सबै मानिसहरुलाई रोजगार दिनसक्छ र प्रत्येक स्त्री, पुरुष र बच्चाहरुलाई जीविकाको प्रत्याभूति (ग्यारेण्टी) दिन्छ । त्यस्तो समाजमा नयाँ शिक्षा व्यवस्थाले व्यक्तिहरुभित्र लुकिरहेका असीमित क्षमताहरुलाई फलाउने–फुलाउने काम गर्दछ अनि उनीहरुको अगाडि हाम्रो वर्तमान समाजका सत्ता–शक्ति र सफलताको महत्वलाई बढाइ–चढाइकन रंगीन ढंगले प्रस्तुत गर्नुको सट्टा त्यसले उनीहरुभित्र आफूजस्तै बाँचिरहेका मानव–वन्धुहरुप्रतिको दायित्वबोधलाई जागृत गर्दछ ।
यी सबका बावजूद के कुरा याद गरिराख्नु जरुरी छ भने नियोजित अर्थव्यवस्था नै समाजवाद होइन । नियोजित अर्थव्यवस्थाअन्तर्गत व्यक्ति पूर्णतः दास पनि हुन सक्छ । समाजवादको उपलब्धि केही अत्यन्त नै जटिल सामाजिक–राजनैतिक समस्याहरुको समाधान प्रस्तुत गर्न सक्नुमा निर्भर हुनेछ । जस्तो: राजनैतिक र आर्थिक शक्तिको व्यापक केन्द्रीकरण हुने स्थितिमा शासनतन्त्र (नोकरशाही)लाई अति शक्तिसम्पन्न, प्रभुतापूर्ण र अहंकारी हुनबाट कसरी रोक्न सकिन्छ ? व्यक्तिका अधिकारहरुको सुरक्षा हुन सक्छ ? र यसका साथसाथै शासनयन्त्र र (नोकरशाही)को शक्तिलाई निष्प्रभावी बनाउन सक्ने खालका प्रजातान्त्रिक शक्तिहरुलाई सुनिश्चित रुपमा कसरी स्थापित गर्न सकिन्छ ?
हाम्रो यस संक्रमण कालमा समाजवादका समस्याहरुका बारेमा उद्देश्यको स्पष्टता अनि नै आवश्यक छ । निश्चित रुपमा वर्तमान परिस्थितिमा यी– यस्ता समस्याहरुमाथि निर्बिघ्नतापूर्वक चिन्तन गर्ने कार्य एक प्रकारले प्रतिबन्धित हुँदै गइरहेको छ । त्यसैले यस पत्रिका (मन्थली रिभ्यू)को प्रकाशनको शुरुवातलाई म एउटा अत्यन्त महत्वपूर्ण समाजसेवा मान्दछु ।२
(१. थोस्टियन वेब्लेन (१८५७–१९२९) अर्थशास्त्री तथा समाजशास्त्री थिए ।
२. यो लेख अल्बर्ट आइन्स्टाइनले जीवनको उत्तरार्द्धमा स्वतन्त्रता र मानवताप्रतिको उज्ज्वल भविष्यका लागि समाजवादको सपना देख्ने क्रममा लेख्नुभएको थियो । ‘मन्थ्ली रिभ्यूको प्रकाशनको शुरुवातको अवसरमा शुभकामना दिँदै लेखिएको Why Socialisam? नामक यो लेख मूल रुपमा Monthly Review Vol 1, no 1, May 1949, Albert Einstein: Ideas and Opinions, इतिहासबोध र वर्तमान साहित्य पत्रिकाबाट अनुवाद गरिएको हो ।)
अनुवादक: राजेन्द्र महर्जन । ‘समाजवादको सपना’ पुस्तकबाट साभार
प्रतिक्रिया