नरेन्द्र मोदीको राष्ट्रिय राजनीतिमा आक्रामक उदय र भारतको सम्भावित भविष्य
(भारतको अठारौँ आमनिर्वाचनको परिप्रेक्ष्यमा)
नरेन्द्र मोदी सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट मुक्त भएपछिका अत्यन्त शक्तिशाली प्रधानमन्त्रीहरूमध्ये एक हुन् । सम्भवतः भविश्यमा उनले सबैभन्दा लामो समयसम्म सत्तामा आसिन र सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीको रूपमा आफ्नो नाम दर्ज गर्ने छन् । उनले लगभग डेढ दशकको अवधिमा राष्ट्रिय राजनीतिको नेतृत्व लिन र एकदशकभन्दा पनि कम समयमा राष्ट्रिय राजनीतिमाथि आक्रामकरूपले नियन्त्रण कायम गर्न सफलता हासिल गरे । एक प्रकारले आज भारत मोदीमय भएको छ । राज्यका सम्पूर्ण अङ्गहरू (सुरक्षा निकायहरू, कर्मचारीतन्त्र, न्यायपालिका, सञ्चार माध्यमहरू) माथि उनको नियन्त्रण कायम छ । खुला बजारमा आफ्नो मूल्य लगाएर बसेका साना र क्षेत्रीय राजनीतिक दलहरूलाई पद र लाभ दिएर उनले आफ्नो अधिनस्थ गरेका छन् । उनको अधिनस्थ हुन नचाहने क्षेत्रीय वा राष्ट्रिय राजनीतिक दलहरूलाई राज्यका विभिन्न निकायहरूलाई उपयोग गरेर वा कानुनहरू संशोधन गरेर तह लगाउँदै आएका छन् । भारतीय जनता पार्टी (भाजपा) इतर राजनीतिक दलहरूका प्रान्तीय सरकारहरू सम्बन्धमा पनि उनले त्यही गरेका छन् । दिल्लीको मुख्यमन्त्री अरबिन्द केजरीवालको गिरफ्तारी त्यसको पछिल्लो एउटा उदाहरण हो । यसरी अहिले देशमा उनी प्रजातन्त्रका जानी दुश्मन निरङ्कुश शासकका रूपमा स्थापित भएका छन् ।
त्यसका साथै, नरेन्द्र मोदीको कार्यकालमा भारत आर्थिक तथा सैन्य दृष्टिका साथै आधुनिक प्रविधिको दृष्टिबाट विश्व महाशक्ति राष्ट्रको रूपमा पनि स्थापित भएको छ । यो कुरालाई लिएर देशको उपल्लोतह र मध्यमतहको एउटा ठूलो हिस्साको विश्वास जित्न नरेन्द्र मोदीले काफी सफलता पनि हासिल गरेका छन् ।
नरेन्द्र मोदीको कार्यकालमा भारत आर्थिक तथा सैन्य दृष्टिका साथै आधुनिक प्रविधिको दृष्टिबाट विश्व महाशक्ति राष्ट्रको रूपमा पनि स्थापित भएको छ ।
यस परिप्रेक्षमा आगामि १९ अप्रिल २०२४ मा भारतमा अठारौँ आमनिर्वाचन हुन गइरहेको छ । विश्वको ठूलो प्रजातान्त्रिक अभ्यासको रूपमा लिइएको यस निर्वाचनको विशेषता यो हो कि यसको परिणाम पहिले नै निश्चित छ : हालको प्रधानमन्त्री नरेन्द्र मोदी र उनको राजनीतिक दल भाजपा तेस्रो कार्यकालको निम्ति सत्तामा आसिन हुने देखिन्छ ।
नरेन्द्र मोदी र उनको पार्टीको निम्ति सङ्घीय संसदमा हालको सिट सङ्ख्या सुरक्षित गर्नु कुनै कठिनाइको कुरा होइन । तर, तिनीहरूको रणनीतिक लक्ष्य प्राप्तिको निम्ति हालको यो सङ्ख्या पर्याप्त छैन । त्यसका लागि तिनीहरूलाई दुवै सदनहरूमा एकल दुईतिहाई सिट सङ्ख्या जित हासिल गर्न अनिवार्य छ । यस निर्वाचनमा नरेन्द्र मोदी र भाजपाको यो आवश्यकता पूरा हुने सम्भावना देखिँदैन । यो कुरालाई तिनीहरूले पनि राम्ररी बुझेको देखिन्छ । त्यसैले, तिनीहरू यस निर्वाचनमा रणनीतिक लक्ष्यको अधिनस्थ कतिपय उद्देश्यहरूको प्राप्तिलाई केन्द्रमा राखेर अघि बढेका छन् ।
त्यसको लागि नरेन्द्र मोदी र उनको नेतृत्वको भाजपा यस निर्वाचनमा हालको सङ्ख्यामा बृद्धि गरेर तल्लो र माथिल्लो दुवै सदनहरूमा एकल बहुमत हासिल गर्ने आक्रामक लक्ष्य लिएर अघि बढेको छ । यो लक्ष्य प्राप्त गरेर तिनीहरू कतिपय प्रश्नहरूमा हाल समीकरणमा रहेका क्षेत्रीय र साना राजनीतिक दलहरूबाट आउनसक्ने असन्तुष्टि वा अवरोधबाट बच्न चाहन्छन् । अर्को, तल्लो सदनबाट पारित आफ्ना एजेण्डाहरूलाई माथिल्लो सदनमा समेत निर्वाधरूपले पारित गराउन चाहन्छन् ।
नरेन्द्र मोदी र उनको नेतृत्वको भाजपा यस निर्वाचनमा हालको सङ्ख्यामा बृद्धि गरेर तल्लो र माथिल्लो दुवै सदनहरूमा एकल बहुमत हासिल गर्ने आक्रामक लक्ष्य लिएर अघि बढेको छ ।
संविधानअन्तर्गत रहेर कानुनहरू संशोधन वा परिमार्जन वा नयाँ समस्याहरूको समाधानार्थ नयाँ कानुनहरूको निर्माण नरेन्द्र मोदी र उनको पार्टी भाजपाको उद्देश्य बिल्कुल होइन । उनीहरूको रणनीतिक लक्ष्य भारतलाई हिन्दु-राज्य घोषणा गर्ने र इसाई एवं मुस्लिम धर्मावलम्बी अल्पसङ्ख्यक समुदायहरूलाई दोस्रो तहको नागरिकहरूको हैसियतमा धकेल्नु हो । भारतको संविधानले देशलाई धर्म निरपेक्ष घोषणा गरेको छ । त्यसले सङ्ख्याको आधारमा कुनै पनि भाषा–भाषी, जातजाति, धर्मबीच अन्तर गर्दैन, ती सबैलाई समान हैसियत दिएको छ । भारत र पाकिस्तान विभाजन भएर दुई मुलुक बनेपछि मुस्लिम बाहुल्यतालाई आधार बनाएर पाकिस्तानी राजनीतिक नेतृत्वले त्यसलाई मुस्लिम राष्ट्र घोषणा गर्यो । जब कि स्वतन्त्र सङ्ग्राम हाँकेका भारतीय नेताहरूले मुलुकमा असी प्रतिशत हिन्दु धर्मावलम्बीहरू हुनुका बाबजुद प्रजातान्त्रिक मूल्य र मान्यताहरू र बीसौँ शताब्दीको मुख्य प्रवृत्तिलाई ध्यान दिँदै मुलुकलाई धर्म निरपेक्ष घोषणा गरेर प्रशंसनीय काम गरे । नरेन्द्र मोदी र उनको पार्टी भाजपाको राष्ट्रिय राजनीतिमा उदयपछि भारतको तत्कालिन राजनीतिक नेतृत्वको यो निर्णय र संविधानको यो आधारभूत व्यवस्था खतरामा परेको छ ।
उनी कट्टर हिन्दुवादी सङ्गठन राष्ट्रिय स्वयं सेवक सङ्घ (आर एस एस) का पैदावार हुन् जसको एक मात्र उद्देश्य सबै भारतीयहरूलाई हिन्दु बनाउनु; कसैले त्यो कुरालाई अस्विकार गरे तिनलाई देश छोड्न बाध्य पार्नु; र, भारतलाई हिन्दु राष्ट्र घोषणा गर्नु रहेको छ ।
नरेन्द्र मोदी कुनै राजनीतिक विचारधारा, कार्यक्रम र राजनीतिक सङ्गठनको भट्टीमा खारिएर आएका पात्र होइनन् । उनी कट्टर हिन्दुवादी सङ्गठन राष्ट्रिय स्वयं सेवक सङ्घ (आर एस एस) का पैदावार हुन् जसको एक मात्र उद्देश्य सबै भारतीयहरूलाई हिन्दु बनाउनु; कसैले त्यो कुरालाई अस्विकार गरे तिनलाई देश छोड्न बाध्य पार्नु; र, भारतलाई हिन्दु राष्ट्र घोषणा गर्नु रहेको छ । नरेन्द्र मोदीको राष्ट्रिय राजनीतिमा उदयपछि उनले आर एस एसको एजेण्डालाई राष्ट्रिय राजनीतिको एजेण्डा बनाएका छन् ।
निश्चयै पनि हिन्दुहरूको अत्यधिक बाहुल्यता रहेको भारतमा नरेन्द्र मोदी र भाजपाले हिन्दुत्वको नारा दिएर आफूलाई शक्तिशाली बनाउँदै लगिरहेका छन् । तिनीहरूले भारतमा आफूलाई चुनौतीरहित शक्तिको रूपमा स्थापित गरेका छन् । तर भारतमा नरेन्द्र मोदी र भाजपा यसरी शक्तिशाली हुनुभनेको भारतको विश्व महाशक्ति राष्ट्रको रूपमा उठ्ने सपना पूरा हुनु होइन । नरेन्द्र मोदी सरकारको इसाइ, मुस्लिम आदि अल्पसङ्ख्यक समुदायहरूप्रतिको नीति र कट्टर हिन्दुवादी सङ्गठन आर एस एसका एजेण्डाहरूलाई राष्ट्रिय राजनीतिको एजेण्डाको रूपमा अगाडि बढाउने आदि नीतिहरू, पाकिस्तान र पश्चिम एसियामा अधिकांश मुस्लिम मुलुकहरू भएको परिप्रेक्षमा, भारतको लागि प्रत्युत्पादक सिद्धि हुन सक्दछ । साथै, नरेन्द्र मोदी सरकारका यी नीतिहरू स्वयं पश्चिमा शक्तिराष्ट्रियहरूद्वारा परिभाषित प्रजातन्त्रको परिभाषाभित्र नपर्ने भएकोले त्यसले ठूलो विरोधको सामना गर्नुपर्ने हुन्छ ।
त्यसैगरेर, चीनको अहस्तक्षेपकारी छिमेक–नीति रहेको पृष्ठभूमिमा नरेन्द्र मोदी सरकारको हस्तक्षेपकारी छिमेक–नीतिले त्यसलाई यस क्षेत्रमा कमजोर बनाउन सक्दछ – क्षेत्रीय शक्तिको रूपमा उठ्नको निम्ति छिमेकीहरूसँगको सम्बन्ध सुमधूर हुन अनिवार्य छ ।
राजनीतिमा नरेन्द्र मोदी र उनको पार्टी भाजपा जति बढी शक्तिशाली हुन्छन् भारतमा प्रजातन्त्र त्यति नै बढी कमजोर बन्दै जानेछ; छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध त्यति नै बढी कमजोर बन्दै जानेछन्…
यो समग्र स्थितिको अध्ययनबाट के भन्न सकिन्छ भने राजनीतिमा नरेन्द्र मोदी र उनको पार्टी भाजपा जति बढी शक्तिशाली हुन्छन् भारतमा प्रजातन्त्र त्यति नै बढी कमजोर बन्दै जानेछ; छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध त्यति नै बढी कमजोर बन्दै जानेछन्; पश्चिम एसियाका मुलुकहरू, जुन भारतको आर्थिक विकासका चालक शक्तिहरू हुन्, सितको सम्बन्ध बिग्रन सक्दछ; मुस्लिम अल्पसङ्ख्यकहरू प्रतिका गलत नीति र व्यवहारहरूका कारणले मुस्लिम कट्टरवादी सङ्गठनहरूको भारतमा प्रवेश हुन सक्दछ, जुन गृहयुद्धको कारण बन्न सक्दछ; इसाइ अल्पसङ्ख्यक समुदायहरू प्रतिको गलत नीति एवं व्यवहारका कारणले पश्चिमाहरूको असन्तुष्टि बढेर जान सक्दछ; परिणामतः पूरै भारत जातीय, क्षेत्रीय र भाषिक द्वन्द्वमा फस्न सक्दछ । यो स्थिति विश्व शक्तिको रूपमा उठ्न प्रचूर सम्भावना भएको र त्यस सम्भावनालाई मूर्तिकृत गर्न अघिबढिरहेको भारतका निम्ति प्रत्युत्पादक हुनेछ । त्यसैले, यदि भारतको राजनीतिक नेतृत्व र आम जनता आफ्नो यो लक्ष्य साँच्चिकै प्राप्त गर्न चाहन्छ भने तिनीहरूले यस निर्वाचनमा नरेन्द्र मोदी र भाजपालाई अरूबढी मजबूत बनाउने होइन बरु अकल्पनीय रूपबाट कमजोर बनाउनुपर्छ । त्यसैले यो अठारौँ आमनिर्वाचन भारतीय जनताको निम्ति एउटा कोशेढुङ्गा हो ।
प्रतिक्रिया