श्रीमानको साथ पाउँदा सफलताको शिखरमा छिन् मिथिला कलाकी सारथि सरिता
घुंटन मिल्काउन मात्र उत्प्रेरित गरेनन्, एक उद्यमीको रूपमा घर बाहिर ल्याए
काठमाडौँबाट लगभग २०० किलोमिटर पूर्व दक्षिण तर्फको यात्रा पछि पुगिन्छ, मिथिला क्षेत्र । जहाँ सदियौँदेखि पल्लवित हुँदै विकास भएको मिथिला कलाको छुट्टै मौलिकता छ । त्यहाँको जीवनशैलीको निर्धारक बनेको हुँदा यो क्षेत्रको पहिचान नै मिथिला कलामा आधारित छ ।
ठूला आँखा अनि एउटा पाटो मात्रै देखिने अनुहार मिथिला चित्रकलाको प्रमुख विशेषता हो । मिथिला समुदायका महिलाले घुंगट (घुम्टो) लगाउने चलन छ । कसैसँग बोल्नुपर्दा घुम्टो आधा उघार्छन् । त्यही आधा उघ्रिएको अनुहारको बिम्ब चित्रकलामा आधा चेहराका रूपमा प्रतिविन्वित हुने गरेको छ।
मिथिला चित्रकलामा देखिए झैँ कुनै बेला घुम्टो भित्रै आफ्नो संसारमा रमाउँथिन्, धनुषाकी सरितादेवी मण्डल । जो अहिले मैथिली कलाको सारथि बनेकी छिन् । घुंगट ओढेर घर भित्रै बस्ने उनलाई श्रीमानले घुंटन मात्र मिल्काउन उत्प्रेरित गरेनन्, एक उद्यमीको रूपमा घर बाहिर ल्याएर उदाहरणीय पात्र समेत बनाए।
मिथिला लोककला सदियौँदेखिको संस्कारसँग जोडिएको छ । जुन परम्परा आज पनि कायम छ । गोबरले लिपेको भित्तामा गाउँघरमा पाइने प्राकृतिक रङले बनाइएका मिथिला चित्र सामाजिक परिवर्तनका मानक मानिन्छन् । तिनले परम्पराको रक्षा गर्दै समकालीन अवस्थाको समेत चित्र गरिरहेका भेटिन्छन् । घर, आँगन सुन्दर बनाउनका लागि भित्ताहरूमा पोतिने चित्रले आज सरितालाई स्वतन्त्रता मात्रै दिएको छैन, आत्मनिर्भर पनि बनाएको छ ।
‘घुम्टो बाहिर ल्याएर शिर उच्च पारि आज यसरी स्वतन्त्र भएर हिँड्न सक्ने भएको छु। आत्मनिर्भर भएको छु । यो सबै मेरा श्रीमान्का कारणले सम्भव भएको हो’, उनी श्रीमान्लाई सफलताको श्रेय दिन्छिन् ।
उनको विवाह हुँदा भर्खर ९ कक्षामा पढ्दै थिइन् । पढेर नर्स बन्ने उनको चाहाना थियो । तर, विवाहपछि भने उनले पढाइलाई निरन्तरता दिन सकिनन् । विवाह गर्दा उनी १६ वर्षकी मात्र थिइन् ।
विवाह भएको तीन चार वर्षसम्म त उनी पनि घुम्टोमै बसिन् । ‘बिहे भएको केही वर्ष त म पनि घुम्टोमै बसे । तर, पछि श्रीमानले साथ दिएर यहाँसम्म आए’, सरितादेवीले सुनाइन् ।
उनले विभिन्न पुरस्कार समेत पाइसकेकी छिन् । २०७९ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले उनलाई ललितकला विशेष पुरस्कार प्रदान गरेको थियो । त्यस्तो पुरस्कार उनले २०७५ सालमा पनि पाएकी थिइन । २०७७ सालमा ललितकलाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई प्रादेशिक प्रतिभा पुरस्कार दिएको थियो भने उद्योग मन्त्रालयले उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार दिएको थियो ।
त्यस्तै, उनले २०७८ सालमा राष्ट्रपति महिला समुन्नति पुरस्कार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट पाएकी थिइन । सो बेला उनले एक लाख रुपैयाँ नगद समेत पाएकी थिइन । २०८० को वैशाख १ गते जनसेवाश्री पञ्चम श्रेणिद्वारा विभूषित समेत भएकी थिइन ।
अहिले सफल उद्यमीको परिचय बनाइरहँदा त्यसको श्रेय पटक पटक श्रीमान्लाई दिन्छिन्, उनी । ‘कलामा आम्दानी मात्रै छैन । आत्मसन्तुष्टिसँगै सम्मान पनि छ । यो सन्तुष्टि, सम्मानको श्रेय मेरा श्रीमान् हुन्’, सरितादेवी भन्छिन् ।
मिथिला लोककलालाई संस्थागत रूपमा अगाडि ल्याउने काम सन् १९९२ तिर स्थापना भएको ‘नारी विकास केन्द्र’ले गरेको थियो । एक अस्ट्रेलियन नागरिकको पहलमा यो एक गैर सरकारी संस्था (एनजिओ)कामरूपमा स्थापना भएको थियो ।
केन्द्रले स्थानीय महिलालाई सङ्गठित गरी उनीहरूकै नेतृत्वमा स्थानीय स्रोत (मिथिला कला)को परिचालन गरी आयआर्जन बढाउने मूल ध्येय लिएको थियो । त्यो उद्देश्यले सफलता पाएसँगै अहिले यसै प्रकारका मिथिला कला सिर्जना गर्ने र विश्वभर बिक्री–वितरण गर्ने दर्जनौँ छन् । त्यसमध्येकी एक हुन्, सरितादेवी ।
उनले व्यवसायिकरुपमा कागजमा चित्र कोर्न थालेको डेढ दशक भइसक्यो । उनका श्रीमान् भने यो काममा लागेको तीन दशक भइसक्यो । अहिले उनीहरू दुवै जना मिलेर मिथिला नारी हस्तकला सेन्टर चलाइरहेका छन् ।
उनका श्रीमान् लक्ष्मण मण्डल पहिलेदेखि नै मिथिला चित्रको व्यवसायमा लागेका थिए । उनका श्रीमान्ले ५० रुपैयाँ लगानीमा मिथिला आर्टको व्यवसाय सुरु गरेका थिए । बिस्तारै उनले एउटा पसल खोले ।
लामो समय सामान्य पसल राखेर व्यवसाय गरेका उनले २०६५ सालमा भने उद्योग नै खोले । त्यस बेला उनीहरूले जनकपुरधामको धनौजी-२ मा सो उद्योग खोलेका थिए । अहिले उद्योगको काम मध्यपुर थिमी-५ भक्तपुरबाट पनि हुँदै आएको छ ।
उपत्यकाका ग्राहक बढ्दै गएपछि धनुषाबाट काठमाडौं उपत्यकामा उनीहरूले व्यवसाय विस्तार गरेका हुन् । कोरोना महामारीको केही महिना अगाडी उनीहरूले काठमाडौंको ठमेलमा उद्योग खोले । तर, कोरोना महामारीका कारण लामो समय लकडाउन हुँदा उनलाई लाखौँको घाटा भयो ।
‘काठमाडौंको ठमेलमा हस्तकला सेन्टर खोलेको केही महिनामै कोरोना आयो । लकडाउन भएपछि दुई वर्षसम्म केही गर्न सकिएन । घाटामा मात्रै भयो । पछि त्यहाँ छोडेर भक्तपुर सर्यौँ’, त्यस बेला समय सम्झिँदै उनी थप्छिन्, ‘‘त्यतिबेला त हामी रोएर बसेका थियौँ । पछि बिस्तारै उठेर यहाँसम्म आयौँ ।’
अहिले उनीहरूले बनाएका मिथिला आर्टहरू नेपालमा मात्रै होइन विदेशमा समेत निर्यात हुने गरेको छ । सरिताका अनुसार काठमाडौँका व्यवसायीहरूलाई उनीहरूले बिक्री गर्दै आएका छन् । त्यसबाहेक विभिन्न देशहरूमा माग अनुसार बिक्री गर्दै आएका छन् । उनले १० जनालाई रोजगारी समेत दिएकी छिन् ।
लोककलासँग महिला नै सुरुवातमा जोडिएका कारण मिथिला चित्रकलामा त्यस नगरीका महिलाहरू आबद्ध हुनु नौलो भने मानिँदैन त्यहाँ। तर, त्यही कलालाई व्यवसायमा बदल्न भने सङ्घर्ष गर्नु पर्छ । मधेसमा महिलाहरूलाई अझै पनि व्यवसायमा आउन घरदेखि नै सङ्घर्ष गर्नु पर्ने बाध्यता रहको उनले सुनाइन् ।
सरितादेवी भन्छिन्, ‘अन्य ठाउँमा जस्तो सहज छैन हाम्रोमा । मधेसका महिलाहरूले उद्यमी बन्छु, व्यवसाय गर्छु भने भने धेरैको परिवारले नै मान्दैन, गाह्रो छ’, उनी भन्छिन् ।
केही गर्छु भन्ने अठोट भएका महिलाहरूले सङ्घर्ष नै गरेर भएपनि चाहेको क्षेत्रमा लाग्न उनी सुझाव दिन्छिन् । सरितादेवी भन्छिन्, ‘केही गर्ने सोच छ भनेर जसरी हुन्छ गर्नु । मेहनत गर्नु एक दिन सफल हुन सकिन्छ । अरूको भरमा भन्दा आफ्नै भरमा जिन्दगी जिउनुको खुसी छुट्टै छ ।’
सरितादेवी मिथिला संस्कृतिदेखि महिला हिंसासम्मका चित्रहरू कोर्ने गर्छिन् । यस्ता चित्रहरू मधेसमा यदि महिलाहरूले कोरेका छन् भने त्यो पनि उनी काठमाडौँमा ल्याएर बिक्री गरिदिने गर्छिन् ।
(रिता राउत,आर्थिकन्यूजबाट)
प्रतिक्रिया