जनावर र पिसाबको कुरा

कुनै खास जग्गा, जमीन र क्षेत्रमा मानिसको स्वामित्व वा अधिकार क्षेत्र हुन्छ । त्यस्तो स्वामित्व प्रमाणित गर्नको लागि ऊँसग कानूनी कागज र लिखतहरु हुने गर्छन् ।

मानिसमा जस्तो जनावरहरुको पनि कुनै खास क्षेत्रमा स्वामित्व हुने गर्छ । विशेष गरेर शिकार क्षेत्रका सम्बन्धमा उनीहरुको त्यस्तो अधिकार क्षेत्र हुने गर्छन् । तर उनीहरुमा मानिसले जस्तै कानूनी कागज वा लिखतमा त्यस्तो स्वामित्वको अधिकार क्षेत्र निर्धारण गरिएको हुँदैन । त्यसका लागि उनीहरुले आफ्नो क्षेत्र सीमाङ्कन गर्न विशेष तरिका अपनाउने गर्छन् । त्यो तरिकाअन्तर्गत कतिपय जनावरहरुले आफ्नो शिकार क्षेत्रका रुखहरुमा कोपरेर, विशेष गन्धहरु छोडेर सीमा निर्धारण गर्ने गर्छन् । अधिकांश जनावरहरुले चाहिँ पिसाब गरेर आफ्नो क्षेत्र छुट्याउने गर्छन् । वैज्ञानिकहरुले यसलाई रासायनिक सञ्चार (chemical communication) को संज्ञा दिएका छन् ।

त्यसरी कुनै जनावरले कुनै निश्चित क्षेत्रका रुखहरुमा कोपरेर वा पिसाब गरेर आफ्नो शिकार क्षेत्र छुट्याउनुको अर्थ उसले त्यस क्षेत्रमा आफ्नो स्वामित्व रहेको उद्घोष गर्नु हो । त्यसको अर्थ अरु जनावरहरुलाई “त्यस क्षेत्रमा नपस्” भन्ने चेतावनी दिनु पनि हो । त्यसरी एउटा जनावरले शिकार गर्ने क्षेत्रमा अर्को जनावर हत्तपत्त पस्ने गर्दैन ।

यसरी शिकार क्षेत्र निर्धारण गर्ने जनावरहरुको यो प्राकृतिक तरिका उपयोग गरेर वैज्ञानिकहरुले दुर्लभ जनावरहरुलाई जोगाउन सकिने आशा गरेका छन् । प्रयोगात्मक रुपमा यो उपाय अहिले दक्षिणी अफ्रिकाको बोत्स्वाना नामक देशमा उपयोग पनि गरिएको छ । वैज्ञानिकहरुले अफ्रिकाका दुर्लभ जंगली कुकुरहरुलाई यस संसारबाट लोप हुनबाट बचाउनका लागि प्रयोगको रुपमा यो तरिका अपनाउने गरेका छन् ।

कुनै जमानामा अफ्रिकाका घाँसे मैदानहरुमा लाखौंको संख्यामा विचरण गर्ने यो कुकुर अहिले करीब ५००० को संख्यामा छ । यस अर्थमा यो कुकुर लोप हुने अवस्थामा पुगेको छ ।

समूहमा मिलेर शिकार गर्ने र कहिलेकाहीँ सिंहजस्ता विशाल एवं भयानक प्राणीको समेत शिकार गर्ने अफ्रिकाका जंगली कुकुरहरुले शिकारका लागि निक्कै ठूलो क्षेत्र (करीब ३९०० किलोमिटरसम्म) विचरण गर्ने गर्छ । तर मानिसको उर्लंदो जनसंख्या सँगसँगै बढ्दो आवादी र त्यसले निम्त्याएको बनविनाशको कारण अहिले अफ्रिकी जंगली कुकुरको शिकार क्षेत्र र त्यसले शिकार गर्ने जनावर पनि माँसिदै गइरहेको छ । त्यसले गर्दा मानिस र यो जनावरको जम्काभेट हुने क्रम र कहिलेकाहीँ शिकार फेला नपर्दा घरपालुवा जनावर समेत यसले मार्ने गरेको घटना बढ्दो छ । फलतः मानिसले पनि यस कुकुरको शिकार गर्ने क्रममा तीब्रता आएको छ । मानिस र घरपालुवा जनावरसँगको सम्पर्ककै कारण रेविज लगायत विभिन्न घातक रोगहरु अफ्रिकी जंगली कुकुरमा सर्ने र त्यसले पनि उनीहरुको विनाशमा भूमिका खेल्ने गरेको छ ।

   यस पृष्ठभूमिमा वैज्ञानिकहरुले यो कुकुरलाई मानिससँगको जम्काभेटबाट टाढै राख्नको लागि शिकार क्षेत्र छुट्याउन पिसाबले सीमाङ्कन गर्ने उसैको तरिका उपयोग गरेका हुन् । वैज्ञानिकहरुले यस तरिकालाई जैविक काँडेबार (Bio Fancing) को संज्ञा दिएका छन् । यस उपायअनुसार, वैज्ञानिकहरुले कुकुरको पिसाब छर्केर जंगली कुकुरलाई मानिसको वस्तीबाट टाढै रहन चेतावनी संकेत गर्नेछन् ।

स्रोतः national Geography

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।