तँ - तिमी, तपाईं – हजुर
केही वर्षअघि एकपल्ट पूर्व पहाडतिर डुल्दाको कुरा हो । हामी दुईजना साथी थियौं, तर हामीले आफू चढ्न भनी लगेको घोडा भने एउटा मात्रै थियो । त्यसैले हामी आलोपालो गरी त्यसमा चढ्यौं । जब मेरा साथी घोडामा चढेका हुन्थे, बाटा र गाउँमा भेटिने मानिसहरू उनलाई सलाम गर्थे । जब म घोडामा हुन्थें र मेरा साथीको हिँड्ने पालो आउँथ्यो त्यसबेला सलाम खाने म हुन्थें । त्यस भेगका धेरै जनसभाहरूमा बोल्दा माथिको कुराको उदाहरण दिएर मैले भनें- “साथी हो, अब हामीले घोडालाई सलाम गर्न छाड्नुपर्छ ।”
हामी पनि त घोडा र गाईभैंसी भएका दरबार र मोटर भएका मानसिहरूलाई हजुर वा तपाईं भनी नमस्ते गछौं र गरिब गुरुवाहरूलाई भने तँ वा तिमी भन्छौं ।
ती निमुखा गाउँलेहरूमात्र हैनन्, आफूलाई शिक्षित सभ्य र प्रजातन्त्रवादी ठान्ने मजस्ता मानिसहरूसमेत घोडालाई सलाम गर्ने गर्छन् भन्ने कुराको त्यसबेला मलाई पटक्कै होस थिएन । तर आज म विचार गर्छु, अरूलाई उपदेश दिन कति सजिलो छ र त्यस उपदेशको आधा अंश पनि आफूले पालन गरेर हिँड्न कति गाह्रो छ । हामी पनि त घोडा र गाईभैंसी भएका दरबार र मोटर भएका मानिसहरूलाई हजुर वा तपाईं भनी नमस्ते गछौं र गरिब गुरुवाहरूलाई भने तँ वा तिमी भन्छौं । यस किसिमको व्यवहारबाट हामी वास्तवमा मानिसलाई नमस्ते नगरी उसलाई तपाईं नभनी घरखेत आदि जेथालाई नै मान गरिरहेका छैनौं त ?
म आफ्नो सहरका श्रीकृष्ण भन्ने एकजनाको कुरा देखाउन चाहन्छु । पहिले उनले तिलौरी, लट्टेपा र भटमास आदिको नाङ्ले पसल थालेका थिए । त्यसबेला म केटाकेटी थिएँ । मभन्दा ठूला मेरा मान्यजनहरू मलाई डोहोऱ्याउँदै
सो नाङ्ले पसलमा गएर भन्थे- "एक कृष्णे यसलाई एउटा तिलौरी दे त !” मेरो बालककाल बित्दा श्रीकृष्ण केही उक्सिसकेका थिए र उनले नाङ्ले पसलको ठाउँमा सान्सानो छाप्रो ठड्याएका थिए तथा केही बढी चिजबीज पनि बेच्न थालेका थिए । त्यस बेला मानिसहरू भन्थे- "ए श्रीकृष्ण दाइ, अचेल तिम्रो पसलमा निकै पो चल्ती देखिन्छ !" अहिले श्रीकृष्ण साहु भएका छन् र अघि तँ तथा तिमी भन्ने मानिस अब उनलाई साहुजी र तपाईं भन्छन् । कसै-कसैले हजुर पनि भन्न थालेको देखिन्छ । हो जातमा समेत आफूलाई ठूलो ठान्ने सम्पन्न वर्गका केही मानिसले भने उनलाई तपाईं भन्न अझै सकेका छैनन्, तर तिनीले तँ वा तिमी भन्न पनि उहिल्यै छोडिसके । अचेल श्रीकृष्णसँग ती पाँडेबोलीमा कुरा गर्छन् । तर अब उनीहरूले छिटै पाँडेबोलीबाट अघि बढ्नुपर्ने अवस्था निश्चित छ । किनभने, श्रीकृष्ण साहुका दुइटा ज्यास्ती नै ठूल्ठूला पसल, घरहरू बन्न थालिसकेका छन् ।
मेरा मनमा प्रश्न उठिरहेछन्- "हामी आफ्नो गुहु सोहर्न आउने च्यामेलाई किन तपाईंको सम्बोधन गर्दैनौं ? नागरिकताको दृष्टिबाट दुवैथरी बराबर छौं भन्ने कुरा मानी मानिकन पनि हामी किन आफू भने हजुर वा तपाईं भइरहन्छौं र अर्कालाई भने तँ वा तिमी भन्ने गछौं ?"
अहिले मेरा मनमा प्रश्न उठिरहेछन्- "हामी आफ्नो गुहु सोहर्न आउने च्यामेलाई किन तपाईंको सम्बोधन गर्दैनौं ? नागरिकताको दृष्टिबाट दुवैथरी बराबर छौं भन्ने कुरा मानी मानिकन पनि हामी किन आफू भने हजुर वा तपाईं भइरहन्छौं र अर्कालाई भने तँ वा तिमी भन्ने गछौं ?" यस किसिमका प्रश्न गर्दा मेरा केही साथी भन्छन्- "तर्कका दृष्टिबाट त तिम्रा यी प्रश्न अकाट्य छन् । तर, हामीले व्यावहारिकतालाई पनि बिर्सनुहुन्न । अर्को क्रान्तिद्वारा अथवा विकासकै क्रमअनुसार केही कालपछि सामाजिक व्यवस्थामा परिवर्तन हुनेछ । अनि त तिमीले कसैसँग यस्तो प्रश्न गर्नुपर्नेछैन । जसरी अघि हामीलाई तँ र तिमी भन्नेहरूले २००७ सालको क्रान्तिपछि आफैँ तपाईं भन्न थाले त्यस्तै हुनेछ ।"
माथिको जवाफ राम्रै जस्तो देखिन्छ । तापनि यसलाई मेरो चित्तले खान सकेको छैन । किनभने ०७ सालअघि हामीलाई तँ र तिमी भन्नेहरूमध्ये धेरैजनालाई परिवर्तन नभइछाड्ने छैन भन्ने थाहा थियो । तैपनि तिनले परिवर्तन छिटो ल्याउनामा बल नगरी सकेसम्म धेरै दिनसम्म पुरानै व्यवस्थालाई टिकाइरहन खोजे । यस किसिमको लिँडे स्वभाव तिनमा नभएको भए २००७ सालमा भएको परिवर्तन दश-बीस वर्षअघि हुनसक्दो हो र त्यस अनुपातबाट अहिलेसम्ममा हाम्रो देश कति अघि बढिसक्दो हो ! त्यसकारण मेरा प्रश्न छन्- "भरे हामीले जुन कुरा मान्ने भएका छौं, त्यसलाई अहिले नै किन नमान्ने ? अथवा त्यस दिशातिर लम्कँदै जान किन नखोज्ने ?"
०७ सालअघि हामीलाई तँ र तिमी भन्नेहरूमध्ये धेरैजनालाई परिवर्तन नभइछाड्ने छैन भन्ने थाहा थियो । तैपनि तिनले परिवर्तन छिटो ल्याउनामा बल नगरी सकेसम्म धेरै दिनसम्म पुरानै व्यवस्थालाई टिकाइरहन खोजे ।
हुनत त्यसबेला प्रगतिमा भाँजी हाल्नेहरूप्रति पछि त्यस्तै कठोर व्यवहार गरिएन र त्यस्तै नगरी हुन्न भन्ने पक्षमा पनि म छैन । किनभने, त्यस्ता मानिसमध्ये निकैजना धनी छन् र निकैजना प्रतिभावानहरू पनि । तिनका धन प्रतिभाबाट आज देशको नर्वानिर्वाणमा ठूलो बल मिल्न सक्छ । देशको उत्थानमा तिनको सहयोग पाउन थालेपछि पुराना कुरा कोट्याउनतिर नलागी हामीले तिनको कदरसमेत गर्न जान्नु जरूरी छ । त्यसैले आफ्ना पूँजी र अनुभवको सदुपयोग नगरी त्यस्ता मानिसहरूमध्ये केहीले देशै छाडी जानुपरेकामा मलाई चित्त बुझेको छैन । मेरो कामना त के छ भने त्यस्ता बूढा - पुरानाहरूमध्ये असल र खराब दुवैथरी अझै केही वर्षसम्म बाँचून् । त्यसोभए उनीहरूमध्ये असलचाहिँले आफ्ना सुनौला सपनाहरू साकार भएका देख्ने सुअवसरहरू पाउनेछन् । जो असल थिएनन्, तिनले पनि यस मुलुकलाई कति राम्रो र सम्पन्न पार्न सकिने रहेछ तथा यहाँका मानिसमा पारस्परिक प्रेम एवम् सद्भावनाजस्ता मानवीय सद्गुणहरू यति ज्यास्ती रहेछन् भन्ने कुरा आँखाभरि देख्न पाऊन्, जुन देशलाई उनीहरूले दरिद्रता, अशिक्षा, अव्यवस्थितता, छुल्याइँ कपट र बर्बरता आदिको दहगा डुबाइदिएका थिए ।
माथिको जस्तो विचारमा बुद्धिले पुऱ्याउने हुँदा देशको नयाँ निर्माणको लागि तम्सेका ठिटाठिटीबाट त्यस्ता मानिस नतर्सिउन् भनी उनीहरूका अघिल्तिर म जहिले पनि नम्र भएर कुराकानी गर्ने गर्छु । तर, मानिसमा बुद्धिमात्र नभएर भावना भन्ने कुरा पनि हुँदोरहेछ । त्यसैले जुनबेला तिनीहरूप्रति सद्भावना देखाइरहेको हुन्छु, त्यसबेला समेत अधिका कुराको सम्झना हुनेगर्छ र म आफ्नो हृदयभित्र तिनकाप्रति भएको घृणाको भावना निख्रन नपाएको अनुभव गर्छु तथा अचेल तीमध्ये करौले राम्रै कामकुरा गरे भने पनि तिनकाप्रति श्रद्धा नभएर मलाई शङ्का पो लाग्नेगर्छ । त्यसकारण म आज यस्तो पृष्ठभूमि तयार पार्नुपर्ने खाँचोतर्फ समेत औंल्याउन चाहन्छु जसमा भरेको परिवर्तनपछि पनि हामीभित्र पारस्परिक अविश्वास र घृणा आदिको भावना रहिरहन नपाओस् ।
म बुझ्न सक्तिनँ, हामी आफूकहाँ कामधन्दा गर्नेलाई तपाईं किन भन्दैनौं ? कामको नोकर को छैन ?
भरे सामाजिक व्यवस्थामा ठूलो परिवर्तन हुनेछ भन्दैमा च्यामे - पोडेजस्तालाई पनि अहिलेदेखि नै तपाईं भन्न थाल्नुपर्छ भन्ने कुरो त अचाक्ली भयो भन्नेहरूले हाल ज्यामी, खेताला र आर्थिकस्तर निम्न भएका अरू दाजुभाइहरूलाई तपाईं भन्ने गरी आफ्नो बानी सपार्न थालेको पनि देखिन्न । म बुझ्न सक्तिनँ, हामी आफूकहाँ कामधन्दा गर्नेलाई तपाईं किन भन्दैनौं ? कामको नोकर को छैन ? समाजमा बसेपछि आफूले सक्ने र जानेको काम त सबैले गर्नेपर्छ । तर कामको ज्याला वा तलब लिनुको अर्थ कसैबाट तं भनिन कबुलियत लेखिदिनु हो र ? त्यसै हो भने आफूलाई तलब दिएर काम लिनेले तँ वा तिमीभन्दा हामीलाई किन खपिनसक्नु हुन्छ ? के अरूभित्र पनि हामीमा भएजस्तै आत्मसम्मानको भावना हुँदैन ? हो, आर्थिक परवेशताले गर्दा ती आत्मप्रतिष्ठाको कुरा भिक्न अवश्य असमर्थ भएका छन्, तर आफ्नो व्यक्तित्व जसलाई पनि प्यारो हुन्छ र बाहिरबाट जस्तोसुकै दीनहीन देखिइने मान्छेमा पनि अहिलेको जस्तो मानिस भइकन मानिसलाई नै होच्याउने व्यवहारप्रति भित्रभित्रै ज्यादै ठूलो असन्तोष र विद्रोहको
भावना उम्लिरहेको होवैन भन्न सकिन्न ।
मेरो विचार के छ भने हामीले मान्छेको बाहिरी खाँचो मात्र नहेरी भित्री भावनाहरू पनि बुझिदिने गर्नुपर्छ । त्यसोभएमात्र समाज निरोगी रहन सक्छ ।
केही मानिसको भनाइ छ- "तँ वा तिमीको सट्टा आफूलाई तपाईं भनेको सुन्न पाउँदैमा गरिबहरूको आर्थिक अवस्था उक्सने होइन । तपाईं भन्ने यस किसिमको रहर खाली भावुकता हो ।" यस कुरालाई पनि म होइन भन्दिनँ । किनभने मेरो अनुभवले ले नै त्यसो भन्न दिँदैन । '०७ सालपछि म धेरैका निम्ति तिमीबाट तपाईं भएर पनि न मैले खेती गरेर खान एक चौटा खेत पाएँ, न बस्नलाई एउटा थलो, न त जागिर अथवा कुनै कामको तालिम वा बौद्धिक शिक्षा नै । तिमीबाट मान बढी तपाईं भएर मलाई त्यस्तो गहकिलो लाभ के भयो र खोइ ? यसो भइकन पनि मेरो विचार के छ भने हामीले मान्छेको बाहिरी खाँचो मात्र नहेरी भित्री भावनाहरू पनि बुझिदिने गर्नुपर्छ । त्यसोभएमात्र समाज निरोगी रहन सक्छ । किन मानिसहरू सुनको खोरभित्र थुनिई मीठो खाएर र राम्रो लाएर बस्नुभन्दा नमीठो खान परे पनि राम्रो लाउन नपाए पनि, फुक्का हुनुमै आनन्द अनुभव गर्दछन् ? यसको अर्थ उनीहरूले विपन्नता रूचाएको भन्ने कदापि होइन । यस उदाहरणले मनोवैज्ञानिक दृष्टिबाट समेत मानिसलाई तृप्तिको आवश्कयता पर्दोरहेछ भन्ने कुरा नै देखाएझैँ मलाई लाग्छ ।
एकातिर आर्थिक समानताको समेत कुरा गरेर हिँड्ने, तर अर्कोतिर भने आफ्ना नागरिक दाजुभाइहरूलाई तँ र तिमी भन्न नछाड्नेहरूका कुरा म पटक्कै बुझ्न सक्तिनँ । जसले बोली- वचनमा त समताको व्यवहार गर्न सकेका छैनन्, तिनले आफ्ना जेथा बाँडचुँड गरेर आर्थिक समानता ल्याउलान् भन्ने कुरामा पत्यार मान्नु मलाई मुख्याइँ झैँ लाग्छ । अर्को कुरा, तँ तिमी भनिआएकालाई तपाईं भन्ने गर्न भावना बलियो भएमा नै पुग्छ भने आर्थिक समानता भन्ने कुरा भावनामात्र बलियो भएर नै हुने होइन । त्यसको निम्ति धेरै कुराहरू मिल्नु - मिलाउनुपर्छ, केही वर्षको समय पनि चाहिन्छ । त्यसैले तिमी तपाईंको प्रश्न उठ्दा आर्थिक समानता वा हाल हुन नसक्ने यस्तै ठूल्ठूला विषय झिकी कुरा छल्ने गरिएको हो कि भन्ने पनि ममा पर्न गएको छ । त्यस्तो कुरा जेसुकै होस्, तर हामी सबैजसोबाट मानहानिको कसुर भने अवश्य भइरहेको छ । अहिलेसम्ममा हामीबाट भएका मानहानिबारे मुद्दा चल्दो हो त साहित्यकार, नेता, मन्त्री र न्यायाधीश आदि समाजका ठूल्ठूला कहलिएका मानिसहरूले समेत दण्डको रूपमा आफ्नो सम्पत्तिबाट निकै ठूलो अंश तिरिसक्ने थिए अथवा धेरै वर्षसम्म जेल- सजाय भोग्ने थिए । तर, यस्तो कारबाही केही हुन नपाएर होला उनीहरूले तँ र तिमी भनी अरूलाई होच्याएर बोल्न छाडेका छैनन् ।
जसले बोली- वचनमा त समताको व्यवहार गर्न सकेका छैनन्, तिनले आफ्ना जेथा बाँडचुँड गरेर आर्थिक समानता ल्याउलान् भन्ने कुरामा पत्यार मान्नु मलाई मुख्याइँ झैँ लाग्छ ।
गरिब गुरुवालाई तपाईंभन्दा तिनले हेप्छन् भन्ने पनि केही मानिसको भनाइ छ । यो कुरा हो कि होइन भनी मैले दुई-चारपल्ट विचार गरी हेरेँ । उदाहरणका लागि होटेल रेस्टुराँ आदिमा काम गर्ने ठिटाहरूको कुरा गरूँ । मैले
उनीहरूलाई 'ए बाबु, फलानोथोक ल्याऊ त । र 'ए फलानोथोक ले !' भनेर दुवै किसिमबाट अराइहेरें । हुन त राम्रो मुखले तिमी भनेर अराउँदा पनि मेरो काम नचलेको होइन, तर मैले कड्केर तँ भनी अराएको ठाउँमा जस्तो फूर्तीसँग भने राम्रो मुखले अराउँदा काम भएको प्रायः देखिएन । त्यसकारण राम्रो मुख गर्नेको हाम्रो समाजमा प्रायः भाउ हुनेगर्दैन भन्ने कुरा म मान्दैनमान्न भने सक्तिनँ । मैले यसो हुनाको कारण पनि जान्न खोजें । धेरै दिनसम्मको विचारपछि म निधोमा पुगेको छु भने तिमी भन्नेको भन्दा तँ भन्नेको अहोट झट्ट तामेल गर्नेहरूले आफूलाई तँ भन्नेहरूको व्यवहार मन पराएर त्यसो गर्ने गरेका होइनन् । त्यस्तो उल्टो व्यवहार गर्नाको अभिप्राय के हो भने उनीहरूलाई तिमी भन्ने भन्दा तँ भन्नेहरू नै आर्थिक दृष्टिबाट प्रायःसम्पन्न हुने गर्छन् । यहाँनिर पनि घोडालाई सलाम गर्ने नियम लागू भइरहेको हुन्छ ।
“तपाईं भने पनि त मान पुगिहाल्छ नि, फलनालाई हजुर नै नभनी हुन्न भन्ने के छ र ?" भन्ने एकजना साथीलाई अर्का एकजना साथीले एकपल्ट यसरी जवाफ दिएथे- "अघिदेखि हजुर भइआएकालाई अहिले तपाईं भनिएको सुन्दा नराम्रो पनि त लाग्न सक्छ । उनलाई हजुर भन्दैमा हामी साना हुँदैनौं । नम्रता त ठूलो गुन पो हो । वचनमा पनि केही दरिद्रयाइँ ?" दासत्व मनोवृत्ति नलिइकन नम्रता प्रकट गर्नुपर्ने खालका मानिसप्रति विशेष आदर जनाउन नै 'हजुर' को प्रयोग गरिन्छ भने त्यसबारे मेरो केही उजुर छैन । तर 'वचन जाबोमा पनि केको गरिब्याइँ ?' भन्नेहरू किन अर्को ठाउँमा पनि यसै गरी उदार हुन सक्तैनन् ? किन ती कसैलाई तँ र तिमीको सट्टा तपाईं भन्न दच्किन्छन् ? किन तिनै सार्की हाम्रो जुत्ता छाडी शु-हाउसका प्रोप्राइटर भएर बस्नासाथ तपाईं भनिन थाल्छन् वा हामी तिनलाई तँ तिमी भन्न छाडिहाल्छौं ? घाटको धोबी हाम्रा निम्ति किन तं- तिमी हुन्छन् र धुलाइ कार्यालयका मालिक भई कुर्सीमा जमेपछि किन तिनलाई तँ भन्न सकिन्न ? टेलरिङ हाउस खोल्न सक्नेचाहिँ दमाईलाई कसैले तँ भन्न किन सक्तैन ? वस्ताज र कवि किन तपाईं हजुर ? गाइनेहरू किन तँ - तिमी ?
तँ तिमी र हजुर शब्दलाई कोशबाट झिकी खालि 'तपाईंलाई रहन दिइयोस् अथवा सबले सबैलाई तपाईंमात्र भनून् भन्ने अभिप्राय कत्ति छैन । म आफ्नो धनी शब्दकोशलाई गरिब बनाउने मूर्खता गर्न चाहन्नँ । फेरि, कसैलाई तं वा तिमी भन्नेबित्तिकै हेला हुन्छ भन्ने मेरो भावना छैन । किनभने हामीले आफ्ना भाइ बहिनी र छोरा-छोरीहरूलाई हेलाँ गरेर होइन माया गरेर नै तिमी वा तँ भन्ने गरेका हौं, कत्ति मानिसहरू बाबु-आमालाई र आफूले मान्ने ईश्वरलाई समेत पनि त तिमी भन्छन् । यसो भन्दैमा ती मानिसले आफूभन्दा मान्यको मान नराखेका हुन् भनी म भन्दिनँ । किनभने तं वा तिमी भनेका बेलामा मानिसको भावना कस्तो रहेको छ भन्ने कुराको नै हामीले मुख्य विचार गर्नुपर्छ । यसो भन्दा केही भलादमीहरू जवाफ दिन्छन्- 'गरिबलाई तँ - तिमीभन्दा हाम्रो हृदयमा स्नेह र आदरकै भाव रहेको हुन्छ ।' उनीहरूको भावना त्यस्तै असल छ भने बेसे कुरा हो । तर, बा, आमा र ईश्वरलाई तँ तिमी भन्नेहरू तपाईं हजुर पनि भन्ने गर्छन् । त्यसकारण, त्यस्ता भलाद्मीले साधनविपन्न आफ्ना दाजुभाइहरूलाई तं- तिमीका साथै तपाईं - हजुर पनि भन्न थालिदिए हुन्थ्यो । अथवा सधैँ हजुर र तपाईं भनी आएका महानुभावहरूप्रति हृदयमा आदरको भावना राखेर मुखले चाहिँ कहिलेकाहीँ त तिमी भन्ने गरे पनि त होला नि ।
(२०१४ फागुन २५ / १९५८ मार्च ८)
श्यामप्रसादका निबन्धहरूबाट साभार
प्रतिक्रिया