किन आकाशिँदै गयो विश्वबजारमा सुनको भाउ ?
विश्वभरका केन्द्रीय बैंकले सुन थुपार्दा मूल्यमा नयाँ रेकर्ड
संयुक्त राज्य अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भको ब्याजदर सम्बन्धी नीति, विश्वव्यापी केन्द्रीय बैंकको खरिद प्रवृत्ति र विश्व व्यापारका महत्त्वपूर्ण मुद्राहरूको गतिशीलतामा आएको परिवर्तनले गर्दा सुनको मूल्य विश्व बजारमा (हिजो) बिहीबार रेकर्ड उचाइमा पुग्यो। पछिल्लो परिप्रेक्ष्यले डलरलाई कमजोर बनाएको छ र सुनको आकर्षण बढाएको छ।
बिहिबार प्रति औँस (२.४३ तोला वा ३१.१० ग्राम) २२०३.६८ अमेरिकी डलरमा अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार भएको छ । यसरी अन्तर्राष्ट्रिय बजारमा सुनले मूल्यमा नयाँ रेकर्ड बनाउँदै गर्दा नेपाली बजारमा पनि सुनको मूल्यमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ ।
विश्वभरका केन्द्रीय बैंकहरूले सुनको मूल्यलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। सन् २०२३ मा पीपुल्स बैंक अफ चाइना शीर्ष सुन खरिदकर्ताको रूपमा देखा पर्यो । पोल्याण्ड र सिंगापुरले पनि ठुला खरिदकर्ताको रुपमा महत्त्वपूर्ण स्थान ओगटे । त्यसबाहेक चीन र भारतमा सुनको खुद्रा मागमा आएको बढोत्तरीले पनि यो बहुमूल्य धातुको मूल्यबृद्दिमा महत्त्वपूर्ण प्रभाव पारेको छ।
यो क्रमलाई विश्लेषण गर्दै विश्लेषकहरूले सन् २०२४ को अन्तमा सुनको मूल्य प्रति औंस २,३०० अमेरिकी डलरसम्म पुग्ने अनुमान गरेका छन्। यो विश्लेषणलाई सहयोग पुग्ने गरी केन्द्रीय बैंकहरूले सुन खरिदको परिमाण बढाइरहेका छन् । गएको जनवरीमा मात्र केन्द्रीय बैंकहरुले विश्वव्यापी सुनको भण्डारमा ३९ टन थपेका छन्। यो डिसेम्बरमा भएको १७ टनको खरिद भन्दा दोब्बर भन्दा बढी थियो। टर्की र चीनले फेरि पनि उच्च खरिददारहरूका रुपमा आफुलाई प्रस्तुत गरे ।
छ वटा केन्द्रीय बैंकहरूले जनवरी महिनामा उनीहरूको सुनको भण्डार (एक टन वा सो भन्दा बढीले) बढाए। जसमध्ये टर्कीको केन्द्रीय बैंक सबैभन्दा ठुलो खरिदकर्ता थियो। यसले आधिकारिक सुन होल्डिङ १२.२ टनले बढ्यो बढ्यो । यसको भण्डारमा कुल सुनको होल्डिङ ५५२ टन पुगेको छ ।
उता पिपुल्स बैंक अफ चाइनाले जनवरीमा सुनको सञ्चिति १० टनले बढायो । यसरी यसले सुनको संचिति बढाएको यो १५ औँ महिना हो । चीनसँग कुल सुनको होल्डिंग अब २ हजार २४५ टन रहेको छ, जुन अक्टोबर २०२२ को अन्त्यको तुलनामा झन्डै ३०० टन बढी छ ।
भारतीय रिजर्भ बैंकले लगभग ९ टन थप्यो। यो अक्टोबर २०२३ पछिको सुनको भण्डारमा पहिलो मासिक वृद्धि हो र जुलाई २०२२ पछिको सबैभन्दा ठुलो हो। यसको सुनको होल्डिङ अहिले जम्मा ८१२ टन छ। त्यस्तै काजकिस्तानको नेशनल बैंकले ६ टन सुन किन्यो।
जोर्डनको केन्द्रीय बैंकले जनवरीमा ३ टन सुन खरिद गर्यो। चेक नेशनल बैंकले लगभग २ टन थप्यो। लगातार एघारौँ महिना सुन खरिद गरेर यो बैंकले सुनको भण्डार १२ टनबाट ३२ टन (+१७०%) भन्दा बढी पुर्याएको छ।
विश्व गोल्ड काउन्सिलका अनुसार अघिल्लो वर्षको अक्टोबरमा मात्र विभिन्न देशको भण्डारमा ४० टनभन्दा बढी सुन थपिएको थियो । केन्द्रीय बैंकहरूले यसरी सुन खरिद गर्ने क्रम अहिले पनि जारी राखेका छन् ।
सन् २०२३ को अक्टोबरमा कुल मासिक ४२ टन नेट सुन खरिद भएको रिपोर्टमा उल्लेख गरिएको छ प्रकाशित प्रतिवेदन अनुसार यो सङ्ख्या सेप्टेम्बरको कुल ७२ टनको तुलनामा ४१ प्रतिशत कम हो, तर जनवरी–सेप्टेम्बरको मासिक औसत ३४ टनको तुलनामा २३ प्रतिशत बढी हो ।
जनवरीको खरिदले सन् २०२४ भरी केन्द्रीय बैंकको सुनको मागलाई बढाउने देखिएको छ । विशेष गरी उदीयमान बजारहरूका केन्द्रीय बैंकहरूले सन् २०१० देखि सुन सञ्चितिको लागि दीर्घकालीन रणनीति बनाएको देखिन्छ ।
सुन नै किन ?
केन्द्रीय बैंकहरूले आर्थिक सुरक्षण खोज्ने क्रममा "भरपर्दो सुरक्षित आश्रय" का रुपमा सुन किन्छन् किनभने यसले अस्थिर मुद्राहरू वा घट्दो बन्ड मूल्यहरू विरुद्ध स्थिर मूल्य कायम राख्छ । साथै, लगानीकर्ताहरूले यसको व्यापार गर्न कुनै विशेष सरकारमा भर पर्नु पर्दैन ।
वाशिंगटनसँग बढ्दो राजनीतिक तनावको बिचमा अमेरिकी डलरबाट आफूलाई टाढा राख्न उदीयमान बजारहरू मध्ये पनि चीनले सुन खरिद गर्ने प्रवृत्तिको नेतृत्व गरेको देखिन्छ । विगतमा बढ्दो मुद्रास्फीतिले उपभोक्ताहरूलाई यो बहुमूल्य धातु खरिद गर्न प्रेरित गरेपछि टर्कीको केन्द्रीय बैंकले बढ्दो चालू खाता घाटालाई नियन्त्रण गर्न सुनको आयातलाई रोक्नको लागि आफ्नो होल्डिङ कम गर्ने नीति लिएको थियो । तर, फेरी सुन भण्डारणमा यो मुलुक सक्रिय बन्यो ।
यसैबिच, उदीयमान बजारका बैंकहरूले डलर कमजोर हुँदा सुनलाई युरो, युआन वा येन जस्ता जुनसुकै मुद्रामा साट्न सकिने भएकाले त्यसलाई विविधीकरण गर्न सुन किनिरहेका छन् । भूराजनीतिक र आर्थिक झट्काबाट सुरक्षाका लागि पनि उदीयमान र विकसित केन्द्रीय बैंकहरूले सुन खरिद गर्ने अर्को कारण हो ।
चर्को आर्थिक मन्दीको दिशामा विश्व अग्रसर हुँदै गर्दा चुनौती सामना गरिरहेका उदीयमान राष्ट्रहरूले निकट र भविष्यमा सुन सङ्कलन गर्न जारी राख्नेछन् । हालैको सर्वेक्षणले यी सबै मुलुकका केन्द्रीय बैंकहरूले लामो समयसम्म चलिरहेको मुद्रा (डलर) को बढ्दो अविश्वास र रुस-युक्रेन द्वन्द्वका कारण उत्पन्न हुने राजनीतिक जोखिमहरूबाट आफुलाई जोगाउन यो धातु सङ्कलनमा चासो राखेको देखिएको छ ।
प्रतिक्रिया