इतिहासमा कसरी भएको थियो राजतन्त्रको उदय, किन मासिनु जरुरी थियो र छ ?
डायनासोरदेखि ‘राजा’सम्मको यात्राको संक्षिप्त नालीबेली !
एकछत्र शासन डायनासोरको ! हो, एक समय उसकै साम्राज्य थियो पृथ्वीमा, करिब साढे १६ करोड वर्षसम्म ! अचम्म लाग्छ, अहिले त्यो जीव संसारमा कतै छैन ! अहिले हो र त्यो लोप भएको ? करिब साढे ६ करोड वर्षपहिले नै त्यसको सम्पूर्ण अस्तित्व नै विनाश भयो ।
एउटा देश वा प्रदेशको होइन, सम्पूर्ण पृथ्वीमा डायनासोरको राज थियो त्यसबेला । सिङ्गो पृथ्वीमा डायनासोरको रजगज थियो । अर्थात् सिङ्गो पृथ्वीमा– डायनासोरको शासन थियो ।
हामी सबैलाई थाहा छ, डायनासोर कुनै मान्छेको नाम होइन । त्यो त यस्तो जीवको नाम हो, जसको शरीर विशाल हुन्थ्यो । डायनासोर घिस्रेर हिँड्ने जनावर हो । त्यस्ता जनावरहरुमा आजभोलि छेपारो, माउसुली, सर्प, गोही, कछुवा आदि पर्छन् । आकार–प्रकार हेर्दा डायनासोर केही मात्रामा छेपारो वा माउसुलीसँग मिल्दथ्यो ।
डायनासोरको उदय पृथ्वीमा आजभन्दा करिब २३ करोड वर्षपहिले भयो भने त्यसको लोप आजभन्दा करिब साढे ६ करोड वर्षपहिले भयो । वैज्ञानिकहरुले पृथ्वीका विभिन्न भागको जमिनमा गाडिएर रहेका डायनासोरका जीवावशेषहरुको अध्ययनबाट यी कुरा पत्ता लगाएका हुन् ।
डायनासोरको समयमा पृथ्वीमा मानव–जातिको अस्तित्व थिएन । मानव–जाति त डायनासोर लोप भएको करोडौं वर्षपछि मात्रै पृथ्वीमा आएको हो । त्यसैले त्यस समयमा पृथ्वीमा सबभन्दा शक्तिशाली जीव भनेको डायनासोर नै थियो ।
डायनासोरको समयमा पृथ्वीमा मानव–जातिको अस्तित्व थिएन । मानव–जाति त डायनासोर लोप भएको करोडौं वर्षपछि मात्रै पृथ्वीमा आएको हो । त्यसैले त्यस समयमा पृथ्वीमा सबभन्दा शक्तिशाली जीव भनेको डायनासोर नै थियो । अहिले जसरी मानव–जाति पृथ्वीका सबै महादेशहरुमा विभिन्न जातजातिहरुमा विभाजित भई फैलिएको छ, त्यसरी नै त्यस समयमा डायनासोर पनि सबै महादेशहरुमा विभिन्न जाति–प्रजातिहरुमा विभाजित भई फैलिएको थियो । डायनासोरहरुमध्ये सबभन्दा भीमकाय शरीर भएको जाति टिरानोसाउरसका कैयौं जीवावशेषहरु मङ्गोलिया, अमेरिकाको उत्तर–पश्चिम भाग र क्यानाडामा भेटिएका छन् । यसको अर्थ ती ठाउँहरुमा टिरानोसाउरस डायनासोरको राज थियो । त्यो डायनासोर यति भीमकाय थियो कि त्यसको शरीरको लम्बाइ साढे १२ मिटर, उचाइ ५ मिटर र वजन ५ मेट्रिक टनसम्मको हुन्थ्यो । त्यसले आधा टनसम्मको खाना एकैपटकमा खान्थ्यो ।
डायनासोरहरु पनि मानिसहरुजस्तै कुनै मांसाहारी र कुनै शाकाहारी हुन्थे । खासगरी मांसाहारी डायनासोरहरु त्यस समयका राजाको रुपमा रहे । किनकि जन्तुहरुमध्ये सबभन्दा शक्तिशाली तिनीहरु नै रहे । अहिले पनि जङ्गलमा सबभन्दा शक्तिशाली र धेरै किसिमका अन्य जीवहरुलाई सिकार गर्नसक्ने जन्तु सिंहलाई ‘जङ्गलको राजा’ भन्ने चलन छ । सिंह त जङ्गलको मात्र राजा हो, किनकि जङ्गलबाहिर बुद्धिको कारणले त्योभन्दा शक्तिशाली प्राणी मान्छेको रजगज रहेको छ । तर डायनासोरको पालामा त पृथ्वीभरिमा त्योजत्तिको शक्तिशाली अर्को जीव नै थिएन । त्यसैले त्यसलाई आफ्नो समयको पृथ्वीकै शासक भन्न सुहाउँछ ।
तर अफसोच ! परिवर्तित पृथ्वीमा त्यसअनुकूल आफूलाई बदल्न नसक्दा सय दुई सय, हजार दुई हजार र लाख दुई लाख हो र ? करोडौं वर्षसम्म पृथ्वीमा एकछत्र राज गरिसकेको र त्यत्रो बलवान डायनासोरको नामोनिसान नहुनेगरी सम्पूर्ण रुपमै त्यो लोप हुनपुग्यो । र, डायनासोरको साम्राज्य करोडौं वर्ष पहिलेदेखि एउटा कथाको रुपमा नै पृथ्वीको गर्भभित्र रहन बाध्य भयो ।
परिवर्तित पृथ्वीमा त्यसअनुकूल आफूलाई बदल्न नसक्दा सय दुई सय, हजार दुई हजार र लाख दुई लाख हो र ? करोडौं वर्षसम्म पृथ्वीमा एकछत्र राज गरिसकेको र त्यत्रो बलवान डायनासोरको नामोनिसान नहुनेगरी सम्पूर्ण रुपमै त्यो लोप हुनपुग्यो ।
अहिले हामीकहाँ डायनासोरको होइन, मानव–जातिको राजतन्त्रको चर्चा चलिरहेछ । मानव–राजाको बारेमा बहसहरु चलिरहेछन् । कोही मानिसहरु भनिरहेका छन्– राजा त देवता हुन्, अनन्त कालदेखि ती पृथ्वीमा रहँदै आएका छन् र अनन्त कालसम्म रहिरहने छन् । के इतिहास यस्तै छ ? आउनुहोस्– इतिहासमा राजा र राजतन्त्र कहाँबाट आए, त्यसबारे केही चर्चा चलाऔं ।
के राजतन्त्र अनन्त कालदेखि रहँदै आएको हो ?
धेरै मानिसहरुलाई के भ्रम छ भने राजा भनेको ईश्वरको रुप हो र यो अनन्त कालदेखि रहँदै आएको छ । त्यसैले विगतमा नेपालमा गणतन्त्रको चाहना राखी भएको आन्दोलनलाई देखेर जिब्रो टोक्ने मानिसहरुले ‘राजाबिना पनि नेपाल हुन्छ र’ भन्ने तर्क गरी नेपालमा साँच्चिकै अनिष्ट हुनलागेको प्रचार गर्ने मानिसहरु पनि थिए । उनीहरु गणतन्त्र आएको यत्तिका वर्ष बितिसक्दा पनि अझै राजा चाहियो भनेर हिँडिरहेका छन्, माग गरिरहेका छन्, आन्दोलन गरिरहेका छन् । त्यसरी राजाको शासनको चाहना गर्नेहरुमा कोही मानव–समाजको इतिहासबारे सामान्यज्ञान पनि नराख्नेहरु छन् भने कोही अज्ञानी र सीधासादा सर्वसाधारणलाई भ्रममा पारी राजतन्त्रलाई फेरि फर्काउने चाहना राख्नेहरु र त्यसअनुसार प्रयत्न प्रयत्न गरिराखेकाहरु छन् ।
जुनबेला कुनै जीवको पनि नामोनिसान थिएन, त्यसबेला ईश्वरको अस्तित्व हुने पनि कुरै भएन । र, ईश्वरको रुप भनाउँदो राजाको अस्तित्व हुने पनि कुरै भएन ।
जीव–विकासको अलिकति पनि ज्ञान राख्नेहरुलाई के थाहा छ भने पृथ्वीमा कुनै बेला यस्तो समय पनि थियो, जुनबेला मानव–जातिको त के कुरा एककोषीय सूक्ष्म जीवको समेत अस्तित्व थिएन । त्यसबेला पृथ्वीमा मान्छे पनि थिएन, ईश्वर पनि थिएन । किनकि ईश्वरले मान्छे होइन, मान्छेले ईश्वरको सृष्टि गरेको हो । त्यसैले जुनबेला कुनै जीवको पनि नामोनिसान थिएन, त्यसबेला ईश्वरको अस्तित्व हुने पनि कुरै भएन । र, ईश्वरको रुप भनाउँदो राजाको अस्तित्व हुने पनि कुरै भएन ।
महाविष्फोटबाट बनेको अपरिमेय ब्रम्हाण्डको एउटा अत्यन्तै नगण्य हिस्सा सूर्यबाट उछिट्टिएर आएको वा ब्रम्हाण्डमा छरिएर रहेका चट्टानका धुलाहरु एकत्रित भई बनेको एक आगोको डल्लोको रुपमा रहेको पृथ्वी सुरुमा अत्यन्त तातो गोलो वस्तु थियो । वैज्ञानिकहरुले पृथ्वीको चट्टानको सूक्ष्म अध्ययन गरी के कुरा पत्ता लगाएका छन् भने त्यसरी पृथ्वी बन्ने घटना आजभन्दा करिब साढे चार अर्ब वर्षपहिले भयो । अत्यन्त तातो गोलो वस्तु भएकोले सुरुकालमा पृथ्वीमा न पानी र जमीनको अस्तित्व थियो, न त हावा र बादलको नै । ती सबै कुराहरु तातो पृथ्वी विस्तारै सेलाउँदै गएपछिको करोडौं वर्षयतामात्र विकसित भए । र, पानी तथा बादलको विकासपछि नै बल्ल त्यतिखेरका बादल र पानीमा भएका विभिन्न रासायनिक पदार्थहरुबीच प्रतिक्रिया भई एककोषीय सूक्ष्म जीवको उत्पत्ति भयो । जीवको त्यो प्रारम्भिक रुप पनि करोडौं करोड वर्षसम्म करिब–करिब उस्तै रुपमा त्यतिकै रहिरह्यो । र, बल्ल आजभन्दा करिब ५७ करोड वर्षपहिले मात्र एककोषीय जीवबाट बहुकोषीय साना जीवहरु विकसित भएको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
एकपटक पृथ्वीमा जीवको उत्पत्ति भएपछि त्यसबाट विस्तारै क्रमिक रुपमा सूक्ष्म, साना र सरल जीवबाट क्रमशः झन्भन्दा झन् ठूला र जटिल प्रकारका जीवहरु विकसित हुँदै आए । यो प्रक्रिया ‘प्राकृतिक छनौटको सिद्धान्त’अनुसार भएको कुरा महान् वैज्ञानिक चार्ल्स डार्विन (१८०९–१८८२)ले पत्ता लगाए ।
हो, भीमकाय शरीर भएको जीव डायनासोर आजभन्दा २३ करोड वर्षपहिले उत्पत्ति भई साढे ६ करोड वर्षपहिले लोप हुनपुग्यो । त्यसको करोडौं वर्षपछि मात्र प्राकृतिक छनौटको प्रक्रियाबाट नै जङ्गली ढेडू बाँदरको पुर्खाबाट छुट्टिएर नयाँ प्रजाति अर्थात् मान्छेको विकास भयो ।
मान्छेको पहिलो पुर्खाको विकास भएको एक करोडभन्दा बढी समयसम्म मान्छे जङ्गली मान्छेको रुपमा नै रहिरह्यो ।
त्यतिखेरको जङ्गली ढेडू बाँदर भनेपछि अहिलेको ढेडू बाँदरलाई बुझ्नुहुँदैन । किनकि त्यो समयदेखि अहिलेसम्ममा ढेडू बाँदरको रुप, रङ्ग र आकारमा पनि धेरै परिवर्तन भइसकेको छ । कुनै पनि जीव स्थिर अवस्थामा छैन, निरन्तर परिवर्तनको प्रक्रियामा छ । खालि गुणात्मक रुपमै अर्कै जीवमा बदलिन्छ कि मात्रात्मक रुपमा मात्रै परिवर्तित हुन्छ भन्ने कुरा उल्लेखनीय हुन्छ । त्यतिखेरको ढेडूको कुनै जाति मान्छेमा विकसित हुनु भनेको गुणात्मक परिवर्तन हो । र, ढेडूको ढेडू नै रही केही रुप, रङ्ग र आकारमा मात्र परिवर्तित भई अहिलेको अवस्थाको ढेडूसम्म आउनु भनेको केवल मात्रात्मक परिवर्तन हो ।
मान्छेको पहिलो पुर्खाको विकास भएको एक करोडभन्दा बढी समयसम्म मान्छे जङ्गली मान्छेको रुपमा नै रहिरह्यो । उनीहरु मूलतः जङ्गलमा नै बसोबास गर्दथे । किनकि त्यतिखेर उनीहरुको एकमात्र पेशा सिकार थियो । गुफालाई घरको रुपमा प्रयोग गर्ने ती आदिम मानिसहरु दिनभरि यताउति डुली सबै मिलेर सिकार गरी ल्याएको मासु राति गुफामा आई बाँडीचुँडी खान्थे । त्यतिखेर त्यहाँ न राज्य थियो, न त शासक र शासित नै थिए । राज्य नै नभएको अवस्थामा राजा रहने त झन् कुरै भएन ।
यतिसम्म कि त्यहाँ बाबु पनि रहने गर्दैनथ्यो । त्यहाँ केवल आमा हुन्थी र अन्यमा केटाकेटी तथा महिला–पुरुषहरु हुन्थे । किनकि एकनिष्ठ विवाहको प्रचलन शुरु भइसकेको थिएन । त्यसबेला अहिलेको जस्तो यौन व्यवहारका मापदण्डहरु निर्धारित भइसकेको थिएन । परिवारको आधुनिक संरचना निर्माण भइसकेको थिएन । त्यहाँ जुनसुकै पुरुषको जुनसुकै महिलासँग यौन–सम्पर्क हुन्थ्यो । र, त्यसैले कुनै महिलाले बच्चा जन्माउँदा आमा चिनिए पनि बाबु चिनिँदैनथ्यो । अहिलेको जस्तो नातासम्बन्धहरु निर्धारित भइनसकेकोले जोसुकैका बीच पनि यौन–सम्पर्क हुनसक्थ्यो ।
त्यतिखेर त्यहाँ न राज्य थियो, न त शासक र शासित नै थिए । राज्य नै नभएको अवस्थामा राजा रहने त झन् कुरै भएन ।
त्यसैले त्यहाँ महिला र पुरुष गरी दुई वर्गमात्र हुन्थे । छोराछोरीहरु जन्माउने तथा हुर्काउने सबै काम आमाले नै गर्थिन् । र, उनी पुरुषसरह सिकारमा पनि सँगसँगै सहभागी हुन्थिन् । त्यो समाज मूलत: आमाको नेतृत्वमा चल्थ्यो । अर्थात् त्यो मातृसत्तात्मक समाज थियो । त्यतिखेर कसैको पनि व्यक्तिगत सम्पत्ति थिएन । सिकार सबै मिलेर गर्थे र सिकार गरी ल्याएको खाद्यपदार्थ सबैले बराबर बाँडीचुँडी खान्थे । त्यसकारण त्यहाँ वर्ग थिएन, शोषण थिएन, धनी–गरिब थिएन । त्यो समाज वास्तवमा समानताको समाज थियो । अर्थात् त्यो साम्यवादी समाज थियो । त्यसलाई समाजशास्त्रीहरु ‘आदिम साम्यवाद’ पनि भन्दछन् ।
जङ्गली युगको आदिम साम्यवादी समाज लाखौं वर्षसम्म चल्यो । त्यही समाजको विकास क्रममै मानिसहरुले आजभन्दा करिब २५ लाख वर्षपहिले ढुङ्गे हतियारको आविष्कार गरे, आजभन्दा करिब साढे ७ लाख वर्षपहिले आगोको आविष्कार गरे अनि मानव–समाजलाई गुणात्मक मोडमा ल्याइपुर्याए । किनकि तरह–तरहका ढुङ्गाको हतियार तथा आगोको आविष्कारले उनीहरुलाई पहिलेभन्दा अतुलनीय शक्ति र सुरक्षा प्राप्त भयो । करिब–करिब आगोको आविष्कारसँगसँगै नै आदिम मानवले बोलेर भाव सञ्चार गर्न भाषाको विकास गरेको तथ्य वैज्ञानिकहरुले फेला पारेका छन् ।
मानिसहरुले आजभन्दा करिब ११ हजार वर्षपहिले अहिलेको पश्चिम एसियामा अर्थात् हाल प्यालेष्टाइन, इजरायल, लेबनान, जोर्डन आदि देशका भूभागमा खेती सुरु गरेका थिए । र, खेतीको आविष्कारपछि मात्र मानिसहरुले गुफाबाट बाहिर आई स्थायी रुपमा छाप्रो बनाई बसोबास गर्न थाले ।
त्यसैले अहिलेको आधुनिक मानव–समाजको इतिहास भनेको बढीमा ११ हजार वर्ष पुरानो इतिहास हो । यो इतिहासको सुरुमा समाज अहिलेजस्तो जटिल थिएन । मानिसहरु सानो–सानो झुण्डमा बसोबास गर्थे । र, त्यो झुण्ड पनि एउटै रगत नाताका मानिसहरुबाट बनेको हुन्थ्यो । किनकि खेती गर्नका लागि र सुरक्षाको दृष्टिले उनीहरु आफ्नो बसोबासभन्दा धेरै टाढा जानसक्दैनथे । र, समाजलाई निरन्तरता प्रदान गर्नका लागि अझै एउटै परिवार तथा रगत नाताभित्रका समेत महिला–पुरुषबीच यौन–सम्पर्क भई सन्तान जन्माउने काम हुन्थ्यो । उनीहरु सबै कुरामा आत्मनिर्भर थिए । आर्थिक, सामाजिक तथा सांस्कृतिक गरी सबै क्षेत्रमा पूर्ण आत्मनिर्भर भएको एउटै परिवार वा एउटै रगत नाताका मानिसहरुको त्यो झुण्डलाई जनसमाज वा कविलाशाही भनिन्छ ।
अहिलेको आधुनिक मानव–समाजको इतिहास भनेको बढीमा ११ हजार वर्ष पुरानो इतिहास हो । यो इतिहासको सुरुमा समाज अहिलेजस्तो जटिल थिएन ।
त्यतिखेर जनसमाजहरु अलग–अलग ठाउँमा आ–आफ्नो क्षेत्र तोकी बसोबास गरिरहेका हुन्थे । एउटा जनसमाज अर्को जनसमाजबाट घना जङ्गल वा नदीले छुट्टिएको हुन्थ्यो । क्षेत्राधिकारको कुरालाई लिएर जनसमाजहरुबीच एकआपसमा युद्धहरु पनि भइरहन्थे । यसबेलासम्ममा मानव–समाजले मुखले बोलेर सञ्चार गर्ने भाषाको राम्रो विकास गरिसकेको थियो ।
जङ्गली युगबाट जनसमाजको स्थितिमा उक्लिँदासम्म पनि मानव–समाजमा नेतृत्व महिलाकै हातमा कायम थियो । विस्तारै समाजमा पहिलेको तुलनामा जनसंख्या धेरै बढ्दै गयो । र, त्यसभित्र थुप्रै साना साना परिवारहरु वा कबिला समूहहरु हुन थाले । यसबाट समाजलाई व्यवस्थित गर्न नयाँ तरिकाहरु आविष्कार गर्ने आवश्यकता देखापर्यो । र, उनीहरुले सानासाना कबिला समूहहरुको प्रतिनिधिमूलक संघको आविष्कार गरी समाजलाई बढी व्यवस्थित गर्ने प्रयत्न गरे ।
जनसमाजभित्र आन्तरिक झगडाहरु पनि हुन्थे । ती झगडाहरु सुल्झाउन जनसमाजको पञ्चायत (प्रतिनिधिमूलक न्यायिक निकाय) बस्थ्यो । र, बाह्य झगडा अथवा कुनै अर्को जनसमाजसँग आफ्नो विचरण भूमिलाई लिएर युद्ध गर्नुपर्यो भने सम्पूर्ण वयस्क पुरुषहरु ढुङ्गा, काठ, हाड आदिबाट निर्मित आ–आफ्ना हतियारहरु या धनुषवाण लिएर लड्न जान्थे ।
जनसमाजको संगठन सबैको मतबाट चुनिएको प्रतिनिधिमूलक संस्था हुन्थ्यो । त्यो शासन व्यवस्थालाई जनतन्त्र वा गणतन्त्र भनिन्छ । जन र गण शब्दले मोटामोटी रुपमा एउटै अर्थ बोकेको छ ।
‘जनसमाजको शासनमा खालि आन्तरिक न्याय र बाह्य युद्धको मात्रै काम हुन्नथ्यो, बरु सम्पूर्ण जनसमाजको आर्थिक योजनाको सञ्चालन पनि त्यसैले गर्नुपर्दथ्यो । जाडोयामका लागि छालाका कोट वा कुर्ता, न्यानो लुगा, इन्धन, खानेकुरा कसरी जुटाउने ? हिमपात र ब्वाँसाहरुबाट बच्नका लागि के बन्दोबस्त गर्ने ? वर्षातको बाढी र गर्मीको घाम, आँधी आदिबाट बच्न के उपाय निकाल्ने ? खानपिनको बन्दोबस्त कसरी गर्ने ? यस्ता समस्याबारे निर्णय लिने र योजना बनाउने काम जनसमाजको संगठनले गर्थ्यो ।’ (हेर्नुहोस्: राहुल सांकृत्यायन मानव–समाज)
जनसमाजमा व्यक्तिगत सम्पत्ति भन्ने कुरा थिएन । जेजति सम्पत्ति हुन्थे, ती सबै जनसमाजको सामूहिक सम्पत्तिको रुपमा नै रहन्थे । र, त्यसको सञ्चालन जनसमाजको संगठनले गर्थ्यो । जनसमाजको संगठन सबैको मतबाट चुनिएको प्रतिनिधिमूलक संस्था हुन्थ्यो । त्यो शासन व्यवस्थालाई जनतन्त्र वा गणतन्त्र भनिन्छ । जन र गण शब्दले मोटामोटी रुपमा एउटै अर्थ बोकेको छ ।
जंगली युग अर्थात् आदिम साम्यवादी समाजमा महिला र पुरुषको बीच श्रम विभाजन स्वाभाविक र सरल खालको थियो । पुरुषहरु लडाइँ गर्न जान्थे, माछा मार्न जान्थे र पशुहरुको सिकार गर्न जान्थे । र, उनीहरुले खानेकुरा तथा हतियारहरु ल्याउने गर्थे । महिलाहरु भने मूलतः घरको कामकाज नै गर्थे । उदाहरणका लागि खाना पकाउने, लत्ताकपडाको व्यवस्था, सिलाइ–बुनाइको काम । तर त्यतिखेर सञ्चय गरिराख्ने मूल्यवान वस्तुहरु खास केही नभएको कारणले गर्दा स्वामित्वको सवालमा महिला पुरुष कसैले पनि हानथाप गर्दैनन् । र, नेतृत्व महिलाको नै चल्यो । सम्पत्तिको सवालमा सबै सम्पत्ति सामूहिक अर्थात् गणको स्वामित्वमा नै रहने गर्यो । व्यक्तिगत रुपमा कोही पनि सम्पत्तिको मालिक बनेन ।
तर यो स्थिति जनसमाजमा आएर परिवर्तन भयो । त्यस समयमा समाजले पशुपालन गर्न सिक्यो । र, पशुलाई आफ्नो अधीनमा ल्याई पाल्नु र बचाउनु पुरुषको काम हुनपुग्यो । जीविकाको महत्वपूर्ण साधनको रुपमा पशु विकसित भयो । अर्को कुरा, सञ्चयमा रहने स्थायी खालको धन पनि पशु भयो । विस्तारै जनसंख्या वृद्धि भएअनुसार जनसमाजमा परिवारहरुको संख्या बढ्न थाल्यो र परिवार–परिवार बीच पशुधन अरु चीजबीजसँग साटासाट गर्ने विनिमय वस्तुको रुपमा विकसित भयो । र, पुरुषले पशुधनलाई अब आफ्नो सम्पत्तिको रुपमा लिई आर्थिक रुपमा आफू बलवान हुने बाटो रोज्यो । यसरी जनसमाजमा आएर श्रम विभाजनका साथसाथै सम्पत्तिको विभाजन पनि हुनथाल्यो । पुरुष महत्वपूर्ण सम्पत्तिको मालिक बन्नपुग्यो ।
जनसमाजमा आई अब एउटै परिवारभित्रको यौन–सम्बन्धलाई वर्जित गरियो । भाइ–बहिनी, बाबु–छोरी, आमा–छोरामात्र होइन, एउटै रगतका धेरैजसो अरु नातेदारसँगको यौन–सम्बन्धलाई पनि निषेध गरियो ।
जनसमाजमा आएर यौन सम्बन्धका बारेमा नयाँ मान्यता र प्रचलनहरु स्थापित भए । यौन स्वच्छन्दतालाई निश्चित नीति–थितिहरुले व्यवस्थित गर्न थालियो । यसअघिसम्म जोसुकै महिला र पुरुषको बीचमा यौन–सम्बन्ध भई सन्तान जन्मनसक्थ्यो । तर जनसमाजमा आई अब एउटै परिवारभित्रको यौन–सम्बन्धलाई वर्जित गरियो । भाइ–बहिनी, बाबु–छोरी, आमा–छोरामात्र होइन, एउटै रगतका धेरैजसो अरु नातेदारसँगको यौन–सम्बन्धलाई पनि निषेध गरियो । अर्थात् यस समयमा कुनै एक पुरुषको आफ्नो नाता नपर्ने कुनै स्त्रीसँग मात्र यौन–सम्पर्क हुनसक्ने वैधानिक प्रथाको सुरुवात भयो । यो भनेको विवाह प्रथाको सुरुवात हुनु हो । तर जनसमाजले महिलालाई एउटै पुरुषसँग मात्र यौन–सम्बन्ध राख्ने नियम ल्याए पनि यो नियम पुरुषको हकमा भने लागू गर्न सकेन ।
यसरी एकातिर सम्पत्तिमाथि विस्तारै व्यक्तिगत स्वामित्व, त्यसमा पनि पुरुषको स्वामित्व कायम हुँदै जानु र विवाह प्रथाले महिलाको स्वतन्त्रतामात्रै हनन् गरेको कारणले गर्दा मातृसत्तात्मक जनसमाज विस्तारै पितृसत्तात्मक समाजमा बदलियो । अब समाजमा महिलाको बोलबाला हुनछोड्यो, पुरुषको बोलबाला हुनथाल्यो ।
जनसमाजको अन्त्यसम्म पनि मानव–समाजमा सम्पत्ति हुने र सम्पत्ति नहुने, अधिकार हुने र अधिकार नहुने अर्थात् जम्माजम्मीमा शोषक र शोषित वर्गहरुको उदय भएको थिएन । किनकि, त्यसबेलासम्म जनसमाजको जति पनि सम्पत्ति हुन्थे, ती सबैमा सबैको समान हक लाग्थ्यो र त्यसको सञ्चालन प्रतिनिधिमूलक संस्थाले गर्थ्यो । वर्ग नभएको त्यस समाजमा राज्यको पनि अस्तित्व थिएन ।
जनसमाजको अन्त्यसम्म पनि मानव–समाजमा सम्पत्ति हुने र सम्पत्ति नहुने, अधिकार हुने र अधिकार नहुने अर्थात् जम्माजम्मीमा शोषक र शोषित वर्गहरुको उदय भएको थिएन ।
जब विस्तारै समाजमा वर्गको अस्तित्व देखापर्न थाल्यो, तबमात्रै सम्पत्ति तथा अधिकार हुनेहरुले आफ्नो सम्पत्ति र अधिकारको रक्षार्थ नियम कानुन, प्रहरी, प्रशासन र सेनाको व्यवस्था गरी एक व्यवस्थित समाज सञ्चालन गर्न थाले । र, त्यसले नै राज्यको रुप धारण गर्यो । त्यसैले मानव–समाजको इतिहासमा के देखिन्छ भने पितृसत्तात्मक समाजसँगसँगै वर्गको उत्पत्ति भयो र वर्गसँगसँगै राज्यको ।
गणपति नै राजा !
पितृसत्ताको उदयसँगसँगै राज्यको उत्पत्ति भयो । यसको अर्थ राज्यमा नेतृत्व पनि पुरुषकै कायम रहन गयो । तर राज्यको सुरुवातसँगै राजतन्त्रको उदय भएको भने होइन ।
पितृसत्ताको सुरुवातसम्म पनि मानव–समाज एउटै गणका मानिसहरुबीच चल्थ्यो । त्यसैले राज्य पनि एउटै गणका मानिसहरुबीच स्थापित भयो । र, पितृसत्ता जनतन्त्रकै परिवर्तित रुप भएको कारणले गर्दा त्यसबेला राज्य सञ्चालन विधि जनतान्त्रिक नै रह्यो । अर्थात् राज्य प्रतिनिधिमूलक संस्थाद्वारा चलाइन्थ्यो र राज्य सञ्चालनका लागि नेतृत्व पनि चुनिएर नै जान्थ्यो । जो चुनिएर गयो, त्यो राजा हुन्थ्यो र त्यसले प्रतिनिधिमूलक संस्थाले बनाएको नियम–कानुनअनुसार राज्य सञ्चालन गर्थ्यो । अघिल्लोपटक चुनिएको राजा पछिल्लोपटकको चुनावमा पराजित भयो भने त्यो पुनः साधारण नागरिकमा परिणत हुन्थ्यो । अहिले हाम्रो समयमा भएका राजाहरुजस्तै वंशजको नाताले राजा हुने प्रथा त्यतिखेर स्थापित भइसकेको थिएन । वास्तवमा त्यतिखेरको राजा भनेको नेतृत्वको जिम्मा सम्हालेको मूली थियो । अर्थात् त्यतिखेर गणको नेता अर्थात् गणपति नै राजा हुन्थ्यो । त्यसैले त्यतिखेरको राजा राजतन्त्रबिनाको राजा थियो । गणको रखबारी गर्न चुनिएको नाइके नै यसरी पछि राजा बन्नपुगेको र उसले विस्तारै एकलौटी शासन गर्न थालेको विषयमा भारतीय विद्वान जवाहरलाल नेहरुले पनि राम्रो प्रकाश पारेका छन् । छोरी इन्दिरा गान्धीलाई उनले लेखेको चिठ्ठी विश्वविख्यात पुस्तकको रुपमा चर्चित छ: ‘नेहरुज् लेटर’को नाममा ।
अघिल्लोपटक चुनिएको राजा पछिल्लोपटकको चुनावमा पराजित भयो भने त्यो पुनः साधारण नागरिकमा परिणत हुन्थ्यो । अहिले हाम्रो समयमा भएका राजाहरुजस्तै वंशजको नाताले राजा हुने प्रथा त्यतिखेर स्थापित भइसकेको थिएन ।
२६ सय वर्षअघि कपिलवस्तुमा शाक्यवंश अर्थात् शाक्यगणका मानिसहरुको सानो राज्य थियो । गौतम बुद्ध त्यही राज्यका नागरिक थिए । उनका पिता शुद्धोदन त्यस राज्यका राजा थिए । तर उनी वंशजको आधारमा राजा भएका थिएनन् । उनी शाक्यहरुबीच चुनिएर राजा भएका थिए । त्यसैले गौतम बुद्धलाई पछिल्ला साहित्यहरुमा राजकुमार भनेर व्याख्या गरिए पनि उनी आधुनिक राजकुमारहरुजस्तो राज्याधिकार प्राप्त राजकुमार थिएनन् । (हेर्नुहोस् राजेन्द्र महर्जन, बुद्ध: गणतन्त्रवादी, नवयुवा पूर्णाङ्क ८७)
राजतन्त्रको उदय
वास्तवमा कपिलवस्तु राज्यको शासन व्यवस्था पितृसत्तात्मक गणतन्त्र थियो, राजतन्त्र थिएन । समकालीन समयमा मिश्र (अहिलेको इजिप्ट), प्यालेस्टाइन, इरान, भारत आदि सबै ठाउँमा पितृसत्तात्मक गणतन्त्रात्मक राज्यहरुको नै अस्तित्व भेटिन्छ, राजतन्त्रको होइन ।
तर पछि के भयो भने विभिन्न गणराज्यहरुको बीचमा एकले अर्कालाई लडाइँ गरी सम्पत्ति हात पार्ने होड चल्दा आफ्नो गणराज्यको रक्षार्थ वा अर्को गणराज्यलाई पराजित गर्ने हेतुले बहादुरीका साथ लड्ने सेनापतिहरुलाई गणराज्यका मान्छेहरुले राजा बनाएर स्थायी रुपमा शासनाधिकार सुम्पन थाले । र, अर्कोतिर त्यतिखेर धार्मिक क्रियाकलापहरु गरी जीविकोपार्जन गर्ने एउटा छुट्टै ब्राम्हण वर्गको उदय पनि भइसकेको थियो ।
सुरुमा राजा र पुरोहित दुवै चुनिन्थे । पछि ब्राम्हण वर्ग र राजा मिलेर राजतन्त्रको स्थापना गरे ।
प्रसिद्ध लेखक राहुल सांकृत्यायनले आफ्नो किताव ‘मानव–समाज’मा गंगा–उपत्यकामा राजतन्त्रको उदयको बारेमा के लेखेका छन् भने आर्यहरु पश्चिम एसियाबाट भारततर्फ आई गंगा–उपत्यका पुग्दा उनीहरुले राजतन्त्र लिएर आएका थिएनन् । वेदमा भएको तथ्य उल्लेख गर्दै राहुलले आर्यहरुले त्यतिखेर भारतमा आई गंगा–उपत्यकामा कुरु र पञ्चाल गरी दुई शक्तिशाली राज्यको स्थापना गरेको कुराको राम्रो व्याख्या प्रस्तुत गरेका छन् । उनीहरुले त्यहाँका अनार्यहरुलाई युद्धमा पराजित गरी ती राज्यहरु स्थापना गरेका थिए । तर अनार्यहरुसित आर्यहरुको पटक–पटक युद्धहरु भइरहन्थे । ती लडाइँहरुमा वीरतापूर्वक लड्ने सेनानायकहरुलाई कुरु–पञ्चालका आर्य जनहरुले राजाका रुपमा स्थायी शासनाधिकार सुम्पे । यसरी त्यहाँ एकातिर शासन गर्ने राजाहरु र अर्कातिर धार्मिक क्रियाकलाप गर्ने ब्राम्हण पुरोहितहरु दुई भिन्नाभिन्नै वर्गको उदय भयो ।
सुरुमा राजा र पुरोहित दुवै चुनिन्थे । पछि ब्राम्हण वर्ग र राजा मिलेर राजतन्त्रको स्थापना गरे । अनार्यहरु आर्यहरुको शासनबाट सन्तुष्ट थिएनन् । जब राजतन्त्रको स्थापना भयो, तब आर्य र अनार्यको अधिकारलाई समान बनाइयो । यसले गर्दा अनार्यहरुले आफूहरु शासनाधिकारबाट वञ्चित भएपनि आर्यहरुसँग समान हुन पाउँदा चित्त बुझाउन पुगे । यसरी गंगा–उपत्यकामा विधिवत् राजतन्त्रको उदय भएको कुरा राहुल सांकृत्यायनले पुष्टि गरेका छन् ।
इरानमा राजतन्त्र अलि बेग्लै ढंगले भएको देखिन्छ । इरानका प्रथम राजा देवक मद्र (मृत्यु ६५५ ई.पू.) थिए । त्यस समयमा इरानका विभिन्न भागमा फैलिएर रहेका साना–साना गणराज्यमा जनसंख्या वृद्धिका साथसाथै आन्तरिक झैझगडाहरु प्रशस्त मात्रामा हुन थाले । त्यसले त्यहाँको समाजलाई निकै नै अप्ठ्यारो पार्यो । त्यहीबेला न्याय–निसाफ गर्ने कुरालाई लिएर देवकको ख्याति निकै बढिरहेको थियो । र, इरानका मानिसहरुले आफूहरुबीचको न्यायको समस्यालाई हल गर्न देवकलाई बोलाई राजाको रुपमा स्थापना गरे । (हेर्नुहोस्, राहुल सांकृत्यायन, मानव–समाज)
यसरी के देखिन्छ भने पहिलेको गणतन्त्रात्मक राज्यका गणपतिजस्ता शासक नै पछि गएर राजा बने र उनीहरुद्वारा राजतन्त्रको स्थापना हुनपुग्यो । तर राजतन्त्रको पूर्ण संस्थागत विकास भने पछि सामन्तवादी समाजमा आएरमात्र भएको देखिन्छ ।
चीरस्थायी छैन राजतन्त्र
त्यसैले राजा र राजतन्त्र अनन्त कालदेखि रहँदै आएका होइनन् । र, यो चीरस्थायी हुन्छ भन्ने कुरा पनि होइन । जसरी साढे १६ करोड वर्षसम्म पृथ्वीमा एकछत्र राज गर्ने डायनासोरहरु चीरस्थायी रहन सकेनन्, त्यस्तै नै विश्वमा बढीमा ४/५ हजार वर्ष पुराना इतिहास रहेका राजतन्त्रात्मक शासन व्यवस्था पनि अब धेरै समयसम्म नरहने कुरा पक्का छ । अहिलेको विश्वमा भएका दुई सयभन्दा बढी देशहरुको बीचमा राजतन्त्रात्मक देशहरु करिब दुई दर्जनजति मात्र बाँकी रहेका छन् । तीमध्ये पनि ज्यादाजसो त आफूलाई राजकीय सत्ताको स्रोत वा दैवी प्राधिकारप्राप्त वर्गका रुपमा हैन, जनतालाई नै देशको सर्वोच्च शक्ति मान्न तयार भएका ‘संवैधानिक राजतन्त्र’को रुपमा रहेका छन् । तिनले राज्य सञ्चालनको काममा पटक्कै हस्तक्षेप गर्दैनन् । जनताले चुनेर बनेको सरकारको कामलाई चुपचाप स्वीकार्नु तिनको काम हुनेगर्छ । जनतालाई सर्वोच्च शक्ति नमान्ने र आफैंलाई सबैभन्दा ठूलो ठान्ने राजतन्त्रहरु भने जताततै अलोकप्रिय र बदनाम बन्दै गएका छन्, माँसिँदै गएका छन् । नेपालमा राजतन्त्रको अवसान त्यसैको एउटा ताजा उदाहरण हो । अझै पनि विश्वका कतिपय ठाउँहरुमा जनताले बाध्य भएर तिनको अनावश्यक र हानिकारक बोझ झेल्नु परिरहेको छ ।
विश्वमा भएका दुई सयभन्दा बढी देशहरुको बीचमा राजतन्त्रात्मक देशहरु करिब दुई दर्जनजति मात्र बाँकी रहेका छन् । तीमध्ये पनि ज्यादाजसो त आफूलाई राजकीय सत्ताको स्रोत वा दैवी प्राधिकारप्राप्त वर्गका रुपमा हैन, जनतालाई नै देशको सर्वोच्च शक्ति मान्न तयार भएका ‘संवैधानिक राजतन्त्र’को रुपमा रहेका छन् ।
आधुनिक विश्वमा राजतन्त्रात्मक भनिएका मुलुकहरुमा नै पनि त्यहाँका जनताहरुले राजतन्त्रबारे यथार्थ कुरा थाहा पाउन थालेका छन् । पहिले–पहिले व्यापक रुपमा रहेको ‘राजा भनेको ईश्वरको अवतार हो’ भन्ने पुरानो मान्यता ढल्दै जान थालेको छ । जनताले अब बुझ्न थालेका छन्, राजा भनेको कुनै अलौकिक अवतार होइन, यही धर्तीमा जनसमूहको व्यवस्थापन गर्न स्थापित नाइकेकै पछिल्लो रुप हो । समय क्रममा राजाहरुले चलाखी र सैन्यबलको भरमा आफ्नो वंशमा मात्र राज्य सीमित गर्ने परिपाटी चलाएका हुन् । एक राजाले अर्कोलाई हराएर, लखेटेर, थुनेर, मारेर, अर्को राजा भएका हाम्रा इतिहासहरुले पनि पुष्टि गरेका छन्: राजतन्त्र वास्तवमा बलको भरमा स्थापित कुरा हो । यो कुनै कथित अलौकिक शक्तिले सिर्जना गरेको कुरा हैन ।
सन्दर्भ सामग्रीहरु:
१. मानव–समाज, राहुल सांकृत्यायन
२. Dictionary of Prehistoric Life
३. Anthropology by Carl Ember & Melvin Ember
प्रतिक्रिया