जागिर खान लिखित प्रतियोगिता परीक्षा लिने प्रचलन कहाँबाट शुरु भयो ?
स्थायी सरकारी जागीर खानको लागि निश्चित प्रक्रियाहरु पुरा गर्नु पर्छ । ती मध्ये लिखित प्रतियोगिता परीक्षा पनि हो । लोक सेवा आयोगले सञ्चालन गर्ने त्यस्तो लिखित परिक्षामा राम्रो अंक ल्याउने परिक्षार्थीले सरकारी जागीर खाने मौका पाउछ । सरकारी बाहेक अन्य संस्थाहरुले पनि यस्ता लिखित परिक्षाहरु लिने गरेका छन् ।
यसरी परिक्षा लिएर राम्रो अंक ल्याउनेलाई नोकरीको लागि छान्दा योग्य मानिसहरु छानिने संभावना बढी रहन्छ ।
तर के तपाई थाहा छ–संसारमा यस्तो प्रचलनको शुरुवात काहाबाट थियो भन्ने कुरा ?
वास्तवमा जागिर खानका लागि लिखित परीक्षा लिने प्रचलन कहिलेदेखि र कहाँबाट शुरु भयो भन्नेबारे तोकेरै भन्न अलि गाह्रो कुरा हो । तथापि, विश्वको इतिहास केलाउँदै जाने भने, लिखित प्रतियोगिता परीक्षाको शुरुवात सबैभन्दा पहिले दोस्रो शताब्दीतिर चीनबाट भएको विश्वास गरिन्छ । त्यसबेला चीनमा सरकारी तथा सार्वजानिक सेवाहरुमा परीक्षा प्रणालीबाट योग्य व्यक्तिलाई छान्ने चलन शुरु भएको थियो । त्यसबेला तिनै व्यक्तिहरुलाई छनौट गरिन्थ्यो, जो लिखित प्रतियोगिता परीक्षामा प्राप्ताङ्कको दृष्टिकोणले क्रमश: अगाडि हुन्थे । खास गरी, सम्बन्धित पदका लागि आवश्यक ज्ञान र जानकारी भएका मानिसलाई छान्ने चलन त्यसबेलाबाटै शुरु भएको थियो । तर ठीकै त्यस बेलातिर, संसारका अन्य देशहरुमा सरकारी जागीरमा सत्तामा रहेका व्यक्तिहरुका नाता कुटुम्बाहरुले मात्रै प्राथमिक्ता पाउँथे ।
६१८ इं. देखि ९०६ ई.का बीच चीनमा तांग राजबंशले शासन गरेको थियो । त्यस समयमा चीनमा सरकारी जागिरमा योग्यताको आधारमा उम्मेदवरलाई चयन गर्नको लागि केन्द्रीकृत प्रतियोगिता परीक्षाको व्यवस्था पनि गरिएको थियो । उक्त परिक्षामा कुनै भेदभाव गरिदैनथ्यो, सबैले समान रुपमा भाग लिन पाउँथे ।
विभिन्न सरकारी ओहोदाहरुका लागि हुने ती प्रतियोगिताहरुको परीक्षा कैयौं दिनसम्म पनि चलिरहन्थ्यो । रोचक कुरा त के थियो भने, त्यस बेलाको परीक्षामा अहिले जस्तो २–३ घण्टाको सीमित समय सीमा राखिएको हुँदैनथ्यो । प्रतियोगीहरुलाई उत्तर लेख्नका लागि पूरै दिनभरिको समय प्रदान गरिन्थ्यो । परीक्षामा अनियमितता वा धाँधलीहरु हुन दिइदैन थियो, अत्यन्तै कडाइका साथ परीक्षा सञ्चालन गरिन्थ्यो ।
त्यसरी परीक्षा लिइसकेपछि प्रत्येक उत्तर पुस्तिकाको प्रतलिपि तयार गरिन्थ्यो । यसरी प्रतिलिपि तयार गर्ने काम पनि अलग अलग व्यक्तिहरुले गर्ने गर्थे । र, त्यसरी तयार गरिएको प्रतिलिपि चाहिँ जाँचिन्थ्यो, त्यसरी प्रतिलिपि तयार गराइनुको कारण चाहिँ परीक्षकले परीक्षार्थीलाई नचिनोस् र कुनै किसिमको पक्षपात नहोस भन्ने नै थियो ।
त्यसरी अत्यन्तै कडाइका साथ लिइएको परीक्षामका जुन परीक्षार्थीले सबैभन्दा बेसी अंक प्राप्त गर्थ्यो, त्यही व्यक्ति नै सम्बन्धित पदका लागि सबैभन्दा योग्य व्यक्तिको रुपमा छनौट गरिन्थ्यो । सबैभन्दा बेसी अंक ल्याउनेहरुलाई अंकका आधारमा उच्च पदहरु दिइन्थे । त्यसैले आम रुपमा नै के धारणा बन्न गएको थियो भने, जसले बेसी अंक ल्याउने छ, उसैले नै राम्रो र उच्च पदक पाउने छ !
यता युरोपतिर चाहिँ मध्यकालमा आएर लिखित परीक्षाको प्रचलन शुरु भएको विश्वास गरिन्छ । त्यसबेला सम्बन्धित उम्मेदवारको क्षमता र ज्ञानलाई अनौपचारिक तरिकाले जाँच्ने गरिन्थ्यो । त्यसक्रममा लिखित परीक्षा समेत लिने गरिएको तर त्यो व्यापक रुपमा प्रचलित नरहेको मानिन्छ ।
पछि अठारौं–उन्नाइसौं शताब्दीतिर कर्मचारीतन्त्रको व्यवस्थित विकास भएपछि चाहिँ कुनै पनि सार्वजनिक वा सरकारी पदहरुमा नियुक्तिका लागि विषयविज्ञता, ज्ञान तथा क्षमता जाँच्नका लागि व्यवस्थित ढङ्गले लिखित परीक्षा लिने र छानिएका व्यक्तिलाई अन्तर्वार्ता समेत लिने प्रचलन विकसित भएको हो । सरकारी पदहरुमा भनसुन र व्यक्तिको सामाजिक हैसियतका आधारमा भन्दा पनि योग्य र सक्षम व्यक्ति छनौट गर्नका लागि व्यवस्थित परीक्षा प्रणालीको शुरुवात भएको हो ।
यसक्रममा सरकारी पदहरुमा नियुक्तिका लागि सन् १८५० को दशकमा बेलायती निजमती सेवामा गरिएका सुधारलाई मुख्य कदम मानिन्छ । त्यहीँबाट सरकारी सेवामा लिखित परीक्षा लिने काम शुरु भएको हो । त्यस सुधारले सम्बन्धित पदमा उम्मेदवारको ज्ञान, क्षमताहरुको परीक्षण लिखित–मौखिक परीक्षाबाट गर्ने र त्यसआधारमा सबैभन्दा योग्यलाई छान्ने माइता विकसित भएको हो । अझ, २० औं शताब्दीमा आएर त सरकारी पदमा मात्र हैन, अन्य विभिन्न गैर सरकारी पदहरुमा समेत लिखित परीक्षा लिएर मात्रै योग्य व्यक्तिलाई छनौट गर्ने क्रम शुरु भएको थियो । शुरुमा यस किसिमका परीक्षाहरु सरल र सहज हुन्थे भने पछि त्यसैमा परिमार्जन हुँदै व्यक्तिको व्यक्तित्वको परीक्षण, क्षमताको जाँच, अन्तर्वार्ता, कार्य नमूना तथा पृष्ठभूमिबारे जानकारी हासिल गरेर नियुक्त गर्ने प्रक्रियाहरु विकसित भए ।
प्रतिक्रिया