सर्वहारा अधिनायकत्व र मार्क्सवादी दृष्टिकोण

मानव समाजको विकास र मार्क्सवाद–७

मानव–समाजको विकासको क्रममा आउने समाजका विभिन्न चरणबारे मार्क्स र एङ्गेल्सले उन्नाइसौं शताब्दीको अघिल्लो अर्ध–शताब्दीका पश्चिम युरोपेली देशहरूका पुँजीवादी समाजको विश्लेषण गर्दै त्यहाँ पुँजीवादपछि समाजवाद र अनि साम्यवाद आउने विश्वास गर्नुभएको थियो । उहाँहरूले समाजवादी समाजलाई एउटा सङ्क्रमणको अवस्था मान्नुभयो अर्थात् पुँजीवादबाट साम्यवादमा पुग्ने क्रममा बीचको सङ्क्रमण अवधि ठान्नुभयो । यो सङ्क्रमण अवधिमा सर्वहारा वर्गको अधिनायकत्व रहने कुरा मार्क्सको विचार थियो ।

द्वन्द्वात्मक भौतिकवाद र वैज्ञानिक समाजवादको धारणा मार्क्सले आफ्नो मनोगत इच्छाअनुसार गर्नुभएको कुनै सिफारिस होइन । समाज विकासको प्रक्रियाका नियमबारे वैज्ञानिक अध्ययनबाट सर्वहारा अधिनायकत्व अनिवार्य रुपले आउने र समाजमा केही समयसम्म रहने कुरा उहाँले देख्नुभयो र त्यसलाई सबैका सामु खुलस्त पार्नुभयो ।

मार्क्सवाद एक विज्ञान हो । यही कुरा राम्ररी नबुझेर धेरै समस्या भएको छ । मानव–समाजको विकासबारेको मार्क्सको वैज्ञानिक विश्लेषणलाई राम्ररी विचार नगरी सतही रुपले सोच्नेहरूबाट पनि समस्या भएको छ । उनीहरूले आफूलाई मार्क्सका अनुयायी भनी घोषणा गर्ने, अनि आफू र आफ्नो पार्टीलाई मार्क्सवादीको बिल्ला भिर्नचाहिँ रुचाउने तर मार्क्सवादकै विपरीत बोल्ने गरेको कुरा हामी देख्छौं । सर्वहारा अधिनायकत्व, जन–गणतन्त्र र बहुदलीयताका बारेमा मार्क्सवादी दृष्टिकोणबाट वस्तुगत विवेचना नगरी मनोगत ढङ्गले आफ्नो इच्छा र रुचिअनुसार सोच्ने र बोल्ने गरेको देखेका छौं । त्यसैले यी विषयमा मार्क्सवादी दृष्टिकोणबाट छलफल गर्नु निकै जरुरी देखिएको छ ।

मानव–समाजको विकासबारेको मार्क्सको वैज्ञानिक विश्लेषणलाई राम्ररी विचार नगरी सतही रुपले सोच्नेहरूबाट पनि समस्या भएको छ । उनीहरूले आफूलाई मार्क्सका अनुयायी भनी घोषणा गर्ने, अनि आफू र आफ्नो पार्टीलाई मार्क्सवादीको बिल्ला भिर्नचाहिँ रुचाउने तर मार्क्सवादकै विपरीत बोल्ने गरेको कुरा हामी देख्छौं ।

सर्वहारा अधिनायकत्व

सबभन्दा पहिले सर्वहारा अधिनायकत्वबारे विचार गरौं । हाम्रो देशमा धेरै कम्युनिस्ट कार्यकर्ता र केही नेताले पनि आधुनिक युगको मागअनुसार र ‘कम्युनिस्ट सिद्धान्तलाई जनतान्त्रिकरण गर्ने’ भन्दै ‘सर्वहारा अधिनायकत्व जरुरी छैन र ठीक पनि छैन’ भन्ने गरेको सुनिन्छ ।

केही समयअघि सरकारमा रहेका एक शीर्षस्थ कम्युनिस्ट नेतृले जिम्मेवार मन्त्रीकै हैसियतले प्रेससित कुरा गर्दै अङ्ग्रेजी भाषामा बोल्नु हुँदा भन्नुभएको वाक्य यस्तो थियो – We, as communists, are committed to democracy. We are opposed to any kind of dictatorship, whether bourgeois dictatorship or proletarian dictatorship । (हामी कम्युनिस्टहरू जनतन्त्रप्रति प्रतिबद्ध छौं । हामी कुनै पनि प्रकारको तानाशाहीको विरोध गर्छौं, चाहे त्यो पुँजीवादी वर्गको तानाशाही होस् वा सर्वहारा वर्गको तानाशाही) ।

यस विषयमा मनोगत विचार दिने वा व्यक्तिगत भावावेशको कुरा गर्नु भन्दा समाज–विकासको वैज्ञानिक अध्ययनबाट अर्थात् मार्क्सवादी दृष्टिकोणबाट विश्लेषण गर्नु उपयुक्त हुन्छ । आफूलाई मार्क्सका अनुयायी ठान्नेहरूले मार्क्सले गर्नुभएको व्याख्यातिर ध्यान दिनु जरुरी छ । मार्क्स र एङ्गेल्सबाट संयुक्त रुपमा जनवरी १८४८ मा जर्मन भाषामा तयार गरिएको र सर्वप्रथम जून १८४८ मा फ्रेञ्च भाषामा प्रकाशित भएको प्रसिद्ध ‘कम्युनिस्ट घोषणापत्र’को प्रस्तावनापछिको अध्याय १ (‘पुँजीपति र मजदुर’ शीर्षकको अध्याय) को सुरु वाक्यमै ‘आजसम्मको समाज विकासको इतिहास वर्ग–सङ्घर्षको इतिहास हो’ भनिएको छ ।

घोषणापत्रको यो महत्त्वपूर्ण घोषणाको व्याख्या गर्दै एङ्गेल्सले मार्क्सको मृत्यु भइसकेपछि सन् १८८८ मा प्रकाशित घोषणापत्रको अङ्ग्रेजी भाषाको संस्करणको भूमिकामा यो महत्त्वपूर्ण घोषणालाई मार्क्सको विचार भन्नुभएको छ । उहाँले लेख्नुभयो–‘कम्युनिस्ट घोषणापत्र’ हामी दुई जनाको संयुक्त कृति भए पनि यसको केन्द्रबिन्दुको मूलभूत प्रस्थापना मार्क्सको हो । मार्क्सको यो विचारलाई व्याख्या गर्दै उहाँले भन्नुभयो– ‘मानव जातिको पूरै इतिहास वर्ग–सङ्घर्षको इतिहास रहेको छ, शोषक र शोषितको बीचको, शासक वर्ग र शासित वर्गबीचको सङ्घर्षको इतिहास ।’ अनि उहाँले थप्नुभयो– ‘वर्ग–सङ्घर्षको इतिहासको यो क्रम अहिले त्यस्तो चरणमा पुगिसकेको छ, जुन चरणमा शोषित, उत्पीडित वर्ग: सर्वहारा वर्गले पूरै समाजलाई सधैंभरिका लागि सबै प्रकारका शोषण, वर्गभेद र वर्ग–सङ्घर्षबाट मुक्त नपारीकन शोषक वर्गको शासनबाट आफू मुक्त हुन सक्दैन ।’

एङ्गेल्सले मार्क्सको मृत्यु भइसकेपछि सन् १८८८ मा प्रकाशित घोषणापत्रको अङ्ग्रेजी भाषाको संस्करणको भूमिकामा लेख्नुभयो–‘कम्युनिस्ट घोषणापत्र’ हामी दुई जनाको संयुक्त कृति भए पनि यसको केन्द्रबिन्दुको मूलभूत प्रस्थापना मार्क्सको हो ।

समाजमा जबसम्म वर्ग–विभाजन र वर्गभेद रहन्छ, तबसम्म एक वर्गद्वारा अर्को वर्गमाथि गरिने थिचोमिचो र वर्गीय शोषण रहिरहन्छ । आजसम्मको मानव–समाजको इतिहास हेर्दा विभिन्न चरणमा विभिन्न वर्गबीच वर्ग–सङ्घर्ष भइरहेको छ । दास समाजमा दासहरूले दास–मालिकविरुद्ध विद्रोह गरे । त्यसैको फलस्वरुप दास समाजको पतन हुन गयो र सामन्तवादको उदय भयो । सामन्तवादी समाजमा सामन्त वर्गले जोताहा किसानको शोषण गर्ने नयाँ प्रकारको शोषण सुरु भयो । त्यसपछि सामन्त वर्ग र सामन्तवादविरुद्ध पुँजीवादी चिन्तकहरूले अर्थात् पुँजीवादी क्रान्तिकारीहरूले किसानहरूलाई सङ्गठित पारी परिचालन गर्दै उनीहरूलाई विद्रोहमा उतारे । त्यसकै फलस्वरुप सामन्तवाद पतन भयो र पुँजीवादी समाज स्थापना भयो । यो नयाँ समाज मजदुर वर्ग वा औद्योगिक मजदुर–वर्ग वा सर्वहारा वर्गमाथि पुँजीपति वर्गले शोषण गर्ने नयाँ किसिमको शोषण थियो ।

माथि सामन्तवादको विरुद्ध सङ्घर्षको कुरा उल्लेख गर्दा ‘पुँजीवादी क्रान्तिकारीहरू’ भन्ने शब्द प्रयोग गरिएको छ । नयाँ शोषक वर्गलाई ‘क्रान्तिकारी’ भन्ने शब्द किन प्रयोग गरियो भन्ने प्रश्न उठाउनेहरू पनि होलान् । पुँजीवादीहरूले त्यतिखेर क्रान्तिकारी काम गरेका थिए । क्रान्तिको अर्थ आमूल परिर्वतन हो । उनीहरूले सामन्तवादका केही कुराको मात्र विरोध गर्ने सुधारवादी प्रकृतिका काम गरेका थिएनन्, उनीहरूले सामान्तवादी व्यवस्थालाई पूरै नष्ट गरेका थिए । त्यसैले पुँजीवादी आन्दोलनकारीहरूलाई त्यस बेलाको सन्दर्भमा क्रान्तिकारी भन्नु उपयुक्त हुन्छ ।

नयाँ शोषक वर्गलाई ‘क्रान्तिकारी’ भन्ने शब्द किन प्रयोग गरियो भन्ने प्रश्न उठाउनेहरू पनि होलान् । पुँजीवादीहरूले त्यतिखेर क्रान्तिकारी काम गरेका थिए । क्रान्तिको अर्थ आमूल परिर्वतन हो ।

जेहोस्, यसरी सुरुदेखि पुँजीवादी समाजको स्थापनासम्मको इतिहास वर्ग–सङ्घर्षको इतिहास हो । आदिम समाज, साझा भूस्वामित्वको समाजको विकासदेखि पुँजीवादी समाजको स्थापनासम्म वा ‘कम्युनिस्ट घोषणापत्र’ लेखिएको समय सन् १८४८ सम्मको, अर्को शब्दमा ‘लिखित इतिहास’ भएको अवधिभरिको मानव–समाजको इतिहास वर्ग–सङ्घर्षको इतिहास थियो । त्यो इतिहास सँधैभरि नै शोषित, उत्पीडित र शासित समूहले विद्रोह गरी विद्यमान समाज–व्यवस्थालाई धराशयी पारिएको, तर फेरि अर्कोचाहिँ शोषण व्यवस्थायुक्त समाजको स्थापना भएको इतिहास थियो । तर पुँजीवादको विकासले ल्याएको औद्योगिक समाजका उत्पीडित सर्वहारा वर्गको वा औद्योगिक मजदुर वर्गको सङ्घर्ष पहिले–पहिलेका उत्पीडित वर्गको सङ्घर्षभन्दा भिन्नै खालको सङ्घर्ष हुन्छ भनी मार्क्सले ठम्याउनुभयो ।

औद्योगिक मजदुर वर्ग वा सर्वहारा वर्गको यो सङ्घर्ष पहिले–पहिलेका वर्ग–सङ्घर्षजस्तै विद्यमान व्यवस्थालाई फाल्ने सङ्घर्ष मात्र होइन । अर्थात् त्यसको शोषणलाई अन्त्य गरी अर्को चाहिँ नयाँ प्रकारको शोषण व्यवस्था भएको समाज स्थापना गर्ने सङ्घर्ष होइन यो । यो त मानिसद्वारा मानिसमाथि गरिने शोषणकै अन्त्य हुने अन्तिम लडार्इँको सङ्घर्ष हुने कुरा मार्क्स र एङ्गेल्सले देख्नुभयो । समाजमा वर्ग–विभाजन र वर्ग–भेद रहेसम्म अर्को वर्गमाथि एक वर्गको शोषण हुन्छ । त्यसैले शोषणको अन्त्य हुनुको मतलब वर्गभेदको अन्त्य भएको समाजमा वर्गीय विभाजनको अन्त्य हुने र वर्गीय अन्र्तविरोधको अन्त्य हुँदै आखिरमा गई वर्गहिन समाजको स्थापना हुने हो । त्यस्तो समाज भनेको साम्यवादी समाज हो र त्यस समाजतर्फ पुग्ने सङ्क्रमणको समाज समाजवादी समाज हो ।

समाजमा वर्ग–विभाजन र वर्ग–भेद रहेसम्म अर्को वर्गमाथि एक वर्गको शोषण हुन्छ । त्यसैले शोषणको अन्त्य हुनुको मतलब वर्गभेदको अन्त्य भएको समाजमा वर्गीय विभाजनको अन्त्य हुने र वर्गीय अन्र्तविरोधको अन्त्य हुँदै आखिरमा गई वर्गहिन समाजको स्थापना हुने हो ।

सर्वहारा वर्गको वर्ग–सङ्घर्ष त्योभन्दा पहिलेका समय–समयमा उत्पीडित वर्गद्वारा गरिएका वर्ग–सङ्घर्षभन्दा कसरी फरक खालको हुन्छ त ? यसबारेमा राम्ररी बुझ्न सर्वहारा वर्गको प्रकृतिलाई राम्ररी बुझ्नु जरुरी छ ।

मार्क्सले समाज–विकासको ऐतिहासिक क्रमलाई अध्ययन गरी एउटा सत्य पत्ता लगाउनु भएको थियो । त्यो सत्य के हो भने इतिहासका प्रत्येक युगमा जुन प्रकारका आर्थिक उत्पादन र विनियमको पद्धति प्रचलित छ, त्यसकै अनुरुप सामाजिक सङ्गठन उत्पन्न भएको हुन्छ । त्यस सङ्गठन वा सामाजिक बनौट नै त्यस युगको इतिहास, राजनीतिक र बौद्धिक इतिहासको आधार हो । फ्रान्समा सर्वहारा वर्गले विद्रोह गरी सत्ता कब्जा गर्‍यो र सर्वहारा वर्गकै सत्ता–पेरिस कम्युनको स्थापना पनि गरेको थियो । तर त्यो क्रान्तिकारी शासन–सत्ता ७२ दिनभन्दा लामो समय टिक्न सकेन, विदेशी र स्वदेशी प्रतिक्रियावादीहरूको संयुक्त प्रहारको सामु टिक्न सकेन ।

शुरुमा मार्क्स र एंगेल्सले मजदुर वर्गले (सर्वहारा वर्गले) आफ्नो मुक्ति प्राप्त गर्नको लागि राज्यसत्ता नै कब्जा गर्नुपर्दछ भन्ने कुरामा मात्र जोड दिनु भएको थिएन र त्यसले उहाँहरुले “सर्वहारावर्गको अधिनायकत्व” बारे कुरा उठाउनु भएन, शायद त्यसको आवश्यता महसुस गर्नुभएको थिएन ।

मार्क्सले जोड दिनुभएअनुसार “मजदुर वर्गले आफ्नो मुक्तिको अधिकार युद्धको मैदानबाट जितेर लिनु पर्दछ ।”

सन् १८४८ मा लेखिएको “कम्युनिष्ट घोषणापत्र” मा उहाँहरुले लेख्नुभयो, “मजदुर वर्गको क्रान्तिको पहिलो कदम के हो भने सर्वहारा वर्गलाई शासक वर्गको स्थितिमा पुर्‍याउने, जनतन्त्रको लडाइँ जित्ने ।” त्यसबेला उहाँहरुले “सर्वहारा अधिनायकत्व” को कुरा उल्लेख नगरे पनि पेरिस कम्युन (सन् १८७१) को स्थापना र पतनको घटनाक्रमलाई नियालेर हेरेपछि मात्रै मानव इतिहासको पहिलो सर्वहारा राज्यसत्ताको अनुभवबाट सार खिँची मजदुर वर्गले “तयारी स्थितिको राज्य संयन्त्रलाई खुरुक्क कब्जा गरेर आफ्नो उद्देश्य–पूर्तिको लागि चलाउन” सक्दैन र तसर्थ पुरानो राज्य–संयन्त्रलाई “तोड्न” र “सर्वहारावर्गको अधिनायकत्व” स्थापना गर्नुपर्छ भन्ने क्रान्तिकारी सिद्धान्तको प्रतिपादन गर्नुभयो । यो सर्वहारा वर्गको पहिलो अर्थ नै सर्वहारा वर्गको सेना गठन हो । मार्क्सले जोड दिनुभएअनुसार “मजदुर वर्गले आफ्नो मुक्तिको अधिकार युद्धको मैदानबाट जितेर लिनु पर्दछ ।”

सर्वहारा वर्गले शासन–सत्ता कब्जा गरेपछि साम्यवादतर्फ सङ्क्रमणको रुपमा वा सङ्क्रमण–अवधिको व्यवस्था, समाजवादी व्यवस्थाको अवधिमा पनि वर्ग–सङ्घर्ष चलि नै रहन्छ ।

 

https://www.commune1871.org

पेरिस कम्युनको ऐतिहासिक अनुभवबाट के शिक्षा पाइन्छ भने औद्यौगिक मजदुर वर्गले राज्यसत्ता कब्जा गरे पनि त्यही विद्यमान राज्य–संयन्त्रबाट मजदुर वर्गले आफ्नो उद्देश्य पूरा गर्न सक्दैन । सर्वहारा वर्गले शासन–सत्ता कब्जा गरेपछि साम्यवादतर्फ सङ्क्रमणको रुपमा वा सङ्क्रमण–अवधिको व्यवस्था, समाजवादी व्यवस्थाको अवधिमा पनि वर्ग–सङ्घर्ष चलि नै रहन्छ । त्यस समयको वर्ग–सङ्घर्षको स्वरुप सर्वहारा वर्गको अधिनायकत्व हो । मार्क्सले ‘प्रेस्क्रिप्सन’को रुपमा ‘सर्वहारा अधिनायकत्व’ प्रस्तावित गर्नुभएको होइन, उहाँको धारणाअनुसार यो त आइहाल्ने व्यवस्था हो । मार्क्सको शब्दमा ‘वर्ग–सङ्घर्षको अनिवार्य परिणाम सर्वहारा वर्गको अधिनायकत्व हुन्छ’ र ‘यो अधिनायकत्व सबै वर्गको उन्मूलन र वर्गविहिन समाजतर्फ सङ्क्रमणको रुपमा मात्र रहन्छ ।’

मार्क्सको यो उक्तिमा दुई वटा कुरा मननयोग्य छन् । एउटा, सर्वहारा वर्गको अधिनायकत्व हाम्रो मनोगत इच्छाअनुसार रहने–नरहने कुरा होइन, मानव–समाजको विकासको क्रममा अनिवार्य रुपमा आउने कुरा हो । दोस्रो, यो अधिनायकत्वको सङ्क्रमण अवधि ‘सबै वर्गको उन्मूलन नभएसम्म’ भन्नुको अर्थ शोषक र शोषित वर्गबीचको भेद अन्त्य नभएसम्म मात्र होइन, शोषक–शोषितको सम्बन्ध नभएका वर्गहरू, अझ क्रान्तिको मित्रशक्तिको रुपमा रहेका किसान र मजदुरका बीचमा रहेका भिन्नताको अन्त्य नभएसम्म पनि सङ्क्रमण अवधि रहन्छ । सर्वहारा अधिनायकत्व कति लामो वा छोटो समयसम्म रहन्छ भन्ने कुराको निर्धारण विभिन्न देशको आर्थिक उत्पादनको स्थितिअनुसार हुन्छ ।

मार्क्सले लेख्नुभएअनुसार यो सर्वहारा अधिनायकत्व रहने अवधि सर्वहारा वर्गले शासन–सत्ता कब्जा गरेको समयदेखि समाजवादमा पुग्ने समयसम्मको सङ्क्रमण अवधिभरि रहने हुनाले छोटो समयको मात्र हुन्छ । सङ्क्रमण अवधिसम्बन्धी मार्क्सको यो विचारलाई स्पष्ट व्याख्या गर्दा ‘सङ्क्रमणकालको अवधि’ सर्वहारा वर्गको नेतृत्वमा पुँजीवादी–जनवादी क्रान्ति वा समाजवादी क्रान्ति भएको समयदेखि साम्यवादमा प्रवेश गरेको समयसम्मको अवधिसम्म हुन्छ भन्न सकिन्छ । यो अवधिमा पुँजीवादको विकासको दृष्टिले कम–विकसित देशमा जनताको जनवादी अधिनायकत्व र विकसित देशमा सर्वहारा वर्गको अधिनायकत्व लागू हुन्छ ।

वस्तुगत परिस्थितिको कुनै विचार नगरी मार्क्स र लेनिनका भनाइलाई ‘शास्त्रको अकाट्य वाक्य’जस्तै ठान्ने गरेको देखिन्छ । कसैले मार्क्सको भनाइ उद्धृत गरी सर्वहारा अधिनायकत्व छोटो समय मात्र रहन्छ भनी भन्ने, कसैले लेनिनले भनेको वाक्य उद्धृत गरी यो समय लामो हुन्छ भन्ने गर्छन् ।

https://img-s-msn-com.akamaized.net/

लेनिनले पनि मार्क्सकै सिद्धान्त अनुसरण गरी सर्वहारा अधिनायकत्व सङ्क्रमण अवधिसम्म मात्र रहने भन्नुभए पनि रुसको स्थिति फरक भएकाले अलि लामो समय नै सर्वहारा अधिनायकत्व रहन्छ भन्नुभयो । अब यी वस्तुगत परिस्थितिको कुनै विचार नगरी मार्क्स र लेनिनका भनाइलाई ‘शास्त्रको अकाट्य वाक्य’जस्तै ठान्ने गरेको देखिन्छ । कसैले मार्क्सको भनाइ उद्धृत गरी सर्वहारा अधिनायकत्व छोटो समय मात्र रहन्छ भनी भन्ने, कसैले लेनिनले भनेको वाक्य उद्धृत गरी यो समय लामो हुन्छ भन्ने गर्छन् । यी दुई थरीका कुरा परस्पर विपरीत देखिए पनि दुवै थरी एकै ड्याङ्गका मुला हुन् । दुवै पक्ष अन्धसिद्धान्तवादी हुन्, वैज्ञानिक विश्लेषणमा आधारित होइनन् ।