शक्तिशाली शिकारी चरा हर्पी चील

सबैभन्दा शक्तिशाली शिकारी चराको नाम लिँदा हर्पी नामक चील (Harpy Eagle) को नाम लिनुपर्ने हुन्छ । करीब १ मिटरसम्म लम्बाइ हुने यो चीलले आफनो पखेटा फैलाउँदा त्यसको नाप २.५ मिटरसम्म हुन्छ । यसको तौल ७.५ देखि ९ किलोसम्म हुने गर्छ । पोथीको तुलनामा यो चीलको भालेको तौल केही कम हुने गर्छ ।

हर्पी चील संसारका सबैभन्दा प्रभुत्वशाली शिकारी चरा हो भन्दा फरक पर्दैन ।  यस चीलेका खुट्टामा तीखा नङ्ग्राहरु हुने गर्छ । त्यो नङ्ग्रा शक्तिशाली मानिने ग्रिज्ली भालुकोभन्दा पनि लामो हुने गर्छ । यसको खुट्टा पनि निक्कै बलियो हुन्छ ।

दक्षिणपूर्वी मेक्सिकोदेखि उत्तरी अर्जेन्टिना र दक्षिणी ब्राजिलका घना जंगलहरुमा बढी पाइने यो चीलले रुखमा बसोबास गर्ने स्तनपायी जनावरहरु जस्तै, बाँदर, स्लथ, र जमीनमा बस्ने ससाना अन्य स्तनधारी प्राणीहरु तथा ठूला ठूला चराहरुलाई समेत आफ्नो आहारा बनाउने गर्छ । यसले आफ्नो शरीरको तौलभन्दा आधा तौल हुने शिकारलाई सजिलै बोकेर आकाशमा उड्न पनि सक्छ ।

अरु शिकारी चराहरुको जस्तै हर्पी चीलको देख्ने शक्ति पनि विलक्षणको हुने गर्छ । आफ्नो त्यही दृश्यशक्तिका कारण यसले निक्कै माथि र परबाट समेत आफ्नो शिकारलाई पहिल्याउन, ठम्याउन र पिछा गर्न सक्छ ।

यो सम्भवतः अस्ट्रिज चरापछिको सबैभन्दा ठूलो र बलियो चरा हो भनेर भन्दा फरक नपर्ला । चील समूहका चराहरुमा त यो नै सबैभन्दा ठूलो र शक्तिशाली चरा हो । यसको पखेटाको फैलावट नै ११ फीटसम्म हुने गर्छ । रमाइलो के छ भने भालेको तुलनामा पोथी हर्पी चील केही ठूलो हुने गर्छ । यसको तौल ८ केजीसम्मको हुने गर्छ ।

यो चीलले आफ्नो बसोबास क्षेत्रको सबैभन्दा अग्ला रुखहरु छानेर त्यसको टुप्पो भागतिर विशाल गुँड बनाउने गर्छ । यस चीलको पोथीले प्रत्येक २३ वर्ष मा एउटा वा दुईटा मात्रै अण्डा पार्ने गर्छ । ओथारो बसेको करीब ५३ देखि ५८ दिनमा बच्चा निक्सने गर्छ । पहिलो अण्डाबाट बच्चा निस्केपछि दोस्रो अण्डालाई यो चीलले त्यति वास्ता गर्दैन । बच्चा जन्मेको करीब ४ देखि ६ महिनाभित्रमा उड्न सक्ने हुन्छ । यो चीलको बच्चा करीब १ वर्षसम्म आफ्नै माउका साथ बस्ने गर्छ । 

Title image: https://c02.purpledshub.com

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।