बाबुराम भट्टराईको चेतावनी– ‘लाटो खान्छ एक बल्ड्यांग, बाठो खान्छ दश बल्ड्यांग नहोस्!’

पूर्व प्रधानमन्त्री एवं कुनै जमानामा हालका प्रधानमन्त्रीका सबैभन्दा नजिक रहेर राजनीति गरेका डा. बाबुराम भट्टराईले ‘संवेदनशील भूराजनीतिक द्वन्द बढ्दै गैरहेको वेला मूलतः तीन प्रमुख बाह्य शक्तिवीच सन्तुलन मिलाउनु  सट्टा आफ्नो लहड वा निजी स्वार्थमा कहिले कोसंग कहिले अर्कोसंग टाँसिने र अर्कोलाई चिढ्याउने तरिकाले देशको सार्वभौमिकता/स्वाधीनताको रक्षा हुन्छ कि खतरामा पर्छ?’ भनी गम्भीर प्रश्न गरेका छन् ।

आफ्नो फेसबुकमा एक पोष्ट गर्दै डा. भट्टराईले ‘जनयुद्धका सर्वोच्च कमाण्डरले पटपटक प्रम हुँदा शान्तिप्रकृया पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्दैन?शान्तिप्रक्रियाका प्रमुख हिस्सेदार कांग्रेस र एमाले र तीसंग जोडिएका शक्तिकेन्द्रहरू सबैलाई साथ लिएर शान्तिप्रक्रिया टुंगिन्छ कि आफ्नो कुर्सीकाल लम्ब्याउन कहिले कोसंग कहिले कोसंग टाँसिने र अर्कोलाई धोका दिने तरिकाले टुंगिन्छ?’ भनी उल्लेख गरेका छन् ।

उनले ‘धूल चेहरे पर थी और मैं आइना साफ करता रहा !’ भन्ने कवितालाई उल्लेख गर्दै  ‘हाम्रा प्रम राम्रो परिणाम आएन भनेर पटकपटक गठबन्धन र मन्त्रीहरू फेरिरहनु भएको छ तर आफ्नो आधारभूत सोंच, नीतिकार्यक्रम, प्राथमिकता र कार्यशैलीमा पो त्रुटी छ कि भन्नेतिर पटक्कै ध्यान दिएको देखिन्न।’ भनेर आलोचना गरेका छन् ।

प्रचण्डको ‘म बाँचुन्जेल देशमा उथलपुथल भइरहन्छ’ भन्ने भनाइमाथि कटाक्ष गर्दै डा. भट्टराइले ‘अग्रगामी कि पश्चगामी उथलपुथल? परिणामविहीन अस्थीरता र त्यसले ल्याउने आर्थिक संकट, युवा पलायन, बाहिरी चलखेल आदि गर्व गर्नलायक कुरा हो?’ भनी प्रश्न तेर्स्याएका छन् ।

चेतावनीका रुपमा उनले भनेका छन्– ‘लाटो खान्छ एक बल्ड्यांग, बाठो खान्छ दश बल्ड्यांग नहोस्!’