समाजवाद र साम्यवादको जन्म अवश्यम्भावी
मानव समाजको विकास र मार्क्सवाद–६
मार्क्सवाद भन्नेबित्तिकै ‘मार्क्सवाद भनेको साम्यवाद हो’ भन्ने गलत धारणा व्यापक रुपमा फैलिएको छ । हो, जरुर पनि मार्क्सले समाजवाद र साम्यवादको आगमन वा साम्यवादको विजय अवश्यम्भावी छ भन्नुभएको हो । मार्क्सले त मानव–समाजका विभिन्न चरण: दास समाज, सामन्तवाद, पुँजीवाद, समाजवाद, साम्यवाद आदिको व्याख्या गर्नुभएको थियो । त्यसको अर्थ मार्क्सवादलाई नै एउटा चरण साम्यवादको पर्याय ठान्नु उचित हुँदैन ।
फेरि समाजवाद र साम्यवादका कुरा मार्क्सभन्दा पहिले अरु धेरै दार्शनिक र राजनीतिक चिन्तकले पनि गरिसकेकै हुन् । आजभन्दा झन्डै अढाइ हजार वर्षपहिले प्राचीन ग्रीसका एक दार्शनिक प्लेटोले आफ्नो ‘रिपब्लिक’ भन्ने कृतिमा मानव जातिको सुख–समृद्धिका लागि एउटा आदर्श राज्य भनी ‘साम्यवादी समाज’ सिफरिस गर्नुभएको थियो । तर त्यही कृतिमा उहाँले नै यस्तो समाज त आउँदैन होला, तर त्यस्तो समाज निर्माण गर्न पाए हुन्थ्यो भनी साम्यवादलाई आफ्नो ‘सपनाको आदर्श’को रुपमा चित्रण गर्नुभएको थियो ।
समाजवाद र साम्यवादका कुरा मार्क्सभन्दा पहिले अरु धेरै दार्शनिक र राजनीतिक चिन्तकले पनि गरिसकेकै हुन् ।
पछि युरोपमा सामन्तवादविरुद्ध लड्दै पुँजीवादी समाज स्थापना हुन थालेपछि सुरुमा त्यसको स्वागत गरेका क्रान्तिकारीमध्ये धेरै मानिसले पुँजीवादले ल्याएको शोषण, दुःख–कष्ट देखेर त्यसलाई अन्त्य गरी समाजवाद ल्याउनुपर्यो भनी नारा उठाएको देखियो ।
थोमस मूर (Thomas Moore) नामक प्रसिद्ध राजनीतिक चिन्तक–लेखकले ‘युटोपिया’ (utopia) पुस्तक लेखी सामन्तवाद र पुँजीवादको शोषण नहुने र सबै प्रकारका शोषण, दमन, अन्यायबाट मुक्त आदर्श समाज (समाजवादी समाज) को कल्पना गरे । यी लेखकको कल्पनाका अतिरिक्त सें सिमों, रोबर्ट ओवेन आदि राजनीतिक आन्दोलनकारीले पनि पुँजीवादविरुद्ध लड्दै समाजवादको स्थापनाको नारा दिए ।
पहिलेका समाजवादीले ‘पुँजीवादलाई हटाएर समाजवाद ल्याउनुपर्छ’ भन्ने मनोगत इच्छाको आधारमा उनीहरूको ‘आदर्श समाज’ समाजवाद ल्याउनुपर्छ भनी भनेका थिए भने मार्क्सले ‘समाजवाद ल्याउनुपर्छ’ भन्ने होइन ‘समाजको प्रक्रियाअनुसार आउनु अवश्यम्भावी छ । तपाईंको इच्छासँग केही सम्बन्ध छैन, तपाईंले चाहे पनि नचाहे पनि यसरी आउँछ’ भनी विश्लेषण गर्नुभयो ।
मार्क्सले पनि समाजवाद र साम्यवादको कुरा उठाउनुभयो, तर उहाँले पहिलेका समाजवादीले जस्तै ‘पुँजीवाद अन्यायपूर्ण समाज भएकाले त्यसलाई खतम गरी समाजवाद ल्याउनुपर्छ’ भनी भन्नुभएन । बरु मानव–समाजको विकास–क्रमको इतिहासको अध्ययन गरी विभिन्न समयमा आएका दास–समाज, सामन्ती समाज र पुँजीवादी समाजको अध्ययन गर्नुभयो । र, ती समाजको स्वरुप, परिवर्तनका कारक–तत्त्व पत्ता लगाई अब कता जान्छ भनी वैज्ञानिक अध्ययन गर्नुभयो । पुँजीवादका अन्तर्विरोधको अध्ययन गर्दै त्यस व्यवस्थाको पतन र समाजवादको जन्म अनिवार्य छ भनी पत्ता लगाउनुभयो । पानी तताएपछि उम्लिन्छ भन्ने ज्ञान व्यवहार र प्रयोगबाट थाहा पाएझैं समाज–परिवर्तनको नियमअनुसार समाजवादको आगमन अवश्यम्भावी रहेको र त्यो परिवर्तन समाजको नियमअनुसार नै आउने भए पनि नियमलाई ऊर्जा दिएर परिवर्तनलाई तीव्र पार्ने कारक शक्ति पुँजीवादी समाजबाटै निस्केका औद्योगिक मजदुर (सर्वहारा) वर्ग हो भनी देखाउनुभयो । पहिलेका समाजवादीले ‘पुँजीवादलाई हटाएर समाजवाद ल्याउनुपर्छ’ भन्ने मनोगत इच्छाको आधारमा उनीहरूको ‘आदर्श समाज’ समाजवाद ल्याउनुपर्छ भनी भनेका थिए भने मार्क्सले ‘समाजवाद ल्याउनुपर्छ’ भन्ने होइन ‘समाजको प्रक्रियाअनुसार आउनु अवश्यम्भावी छ । तपाईंको इच्छासँग केही सम्बन्ध छैन, तपाईंले चाहे पनि नचाहे पनि यसरी आउँछ’ भनी विश्लेषण गर्नुभयो । त्यही आधारमा उहाँले समाजवादी चरणपछि साम्यवाद आउँछ भनी प्रमाणित गर्नुभयो । त्यस कारण मार्क्सवादभन्दा पहिलेका समाजवादी चिन्तकहरूको समाजवादलाई आदर्शको समाजवाद (युटोपियाको समाजवाद) भनिन्छ भने मार्क्सको समाजवादलाई ‘विज्ञानको नियमअनुसार आउने समाजवाद’ भन्न सकिन्छ । त्यही कारण लेनिनले मार्क्सले भन्नुभएको समाजवादलाई ‘वैज्ञानिक समाजवाद’ भनी जोड दिनुभयो । स्वयं मार्क्सले ‘कम्युनिस्ट घोषणपत्र’ मा आफूले हिमायत गरेको समाजवाद ‘युटोपियन’ होइन, ‘वैज्ञानिक समाजवाद’ हो भन्नुभएको छ ।
सर्वहारा वर्गको शासन स्थापना हुने कुरा अवश्यम्भावी
सत्य जान्न वा थाहा पाउन विज्ञानको तरिका मानव–समाजको विकासको प्रक्रिया वा समाजमा भइरहने घटनाबारे जान्न प्रयोग गर्न सकिँदैन भन्ने गैर–मार्क्सवादी र खास गरी मार्क्सवादविरोधी दार्शनिकहरूको धारणा रहेको यसअघि उल्लेख भइसकेको छ । उनीहरूको मुख्य तर्क के छ भने समाज मानिसहरूको समूह हो, यसको विकासक्रम र यसमा भइरहने घटनाको प्रक्रिया मानिसको इच्छामा भर पर्दछ । त्यसैले जड–पदार्थको विकास र परिवर्तनबारे जान्ने तरिका: प्रयोग र अवलोकन समाजको प्रक्रियामाथि लागू गर्न सकिँदैन । अतः मानव–समाजको विकासको प्रक्रिया जान्न र बुझ्न विज्ञानको तरिका प्रयोग गर्न सकिँदैन । तर मार्क्सवादीहरूको विचारअनुसार ‘विज्ञानको तरिका’ भन्नुको अर्थ प्रयोगशालामा प्रयोग र परीक्षण गरेर हेर्नु मात्र होइन, मानव–समाजको परिवर्तन र विकासको सुरुदेखि आजसम्मको इतिहास हेरेर पनि त्यसबाट सामान्यीकरण गरी प्रक्रियाको नियम जान्न सकिन्छ । यसैले मार्क्सको दर्शनलाई ‘द्वन्द्वात्मक भौतिकवाद’का साथै ‘द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद’ पनि भनिएको हो ।
मार्क्सवादविरोधी दार्शनिकहरूको मुख्य तर्क के छ भने समाज मानिसहरूको समूह हो, यसको विकासक्रम र यसमा भइरहने घटनाको प्रक्रिया मानिसको इच्छामा भर पर्दछ । त्यसैले जड–पदार्थको विकास र परिवर्तनबारे जान्ने तरिका: प्रयोग र अवलोकन समाजको प्रक्रियामाथि लागू गर्न सकिँदैन ।
बरु यसका लागि समाज विकासको क्रमको इतिहासलाई हेर्दा पूर्ण रुपले वस्तुगत दृष्टिकोणबाट हेर्नुपर्दछ, त्यसमा अलिकति मात्र पनि मनोगत धारणा घोलियो भने, अध्ययनकर्ताको पूर्वाग्रह मिसिन गयो भने गलत निष्कर्षमा पुग्न जान्छ । मानव सभ्यताको उन्नति वा मानव–समाजको विकासको इतिहास अवलोकन गरेर हेर्दा केही महत्त्वपूर्ण तथ्य देखापर्दछ । सुरुमा एप्–प्रजातिका जीव अर्थात् बाँदर समूहभित्रको वनमानिसबाट विकसित भई मानिसको उदय भएको तथ्य देखिन्छ । तिनै आदिम मानिसले सिकार गरी आफ्नो जीविका गुजार्ने गरेको स्थितिमा त्यसबेलाको आदिम समाजमा मानिसहरू समूहमा बस्थे, समूह नै गई सिकार खेल्थे र फेला परेका वस्तु: पशु, चरा आदि जीव र वनस्पती सबैले बाँडीचुँडी खान्थे । त्यसबेला सबै बराबर थिए, उत्पादनका साधनमा सबैको नियन्त्रण थियो । कुनै एक समूहको एकाधिपत्य भइ सकेको थिएन । त्यसैले समाजमा वर्ग–विभाजन भइसकेको थिएन, वर्ग–शोषण पनि शुरु भएको थिएन । समूह, जुन एउटा एकाइ–समूहमा मानिस रहेका थिए, त्यस समूहको सबैभन्दा जेठी महिला वा नेतृ–आइमाइको नेतृत्वमा सबै सदस्य सङ्गठित हुन्थे, समूहभित्र मालिक र नोकरको विभाजित अवस्था पनि थिएन ।
सिकारी अवस्थाबाट अगाडि बढ्दै मानव–समाज पशु–पालक समाजमा परिणत भयो ।... मानव–समाज पशुपालक समाज बनेको बेलातिर मातृप्रधान समाजको संरचना ढलेर पितृसत्तात्मक समाजको थालनी भएको देखिन्छ ।
अलि पछि गएर मानिसहरूमा सिकारमा मात्र निर्भर रहन गाह्रो हुने, आँधी–हिमपात भएको बेला सिकारमा जान सकिँदैन, भोकै बस्नुपर्ने स्थिति आउँछ भन्ने चेतना आयो । र, सिकारमा भेट्टिएका सबै पशु नमारी उनीहरूले केहीलाई समातेर ल्याई पाल्ने र कुनै प्रकारले पशु, खास गरी गाईगोरु र अरु आवश्यक पशु पालेर पशुसङ्ख्या वृद्धि गर्न थाले । यसरी सिकारी अवस्थाबाट अगाडि बढ्दै मानव–समाज पशु–पालक समाजमा परिणत भयो ।
पशु–पालनमा पशुलाई नियन्त्रणमा राख्न चाहिने भाला, फन्दा, डोरी चलाउने काम लोग्नेमानिसको हातमा पर्यो, शारीरिक रुपमा महिलाभन्दा पुरुष अलि बलियो हुनाले । ठीक यही समयतिर, मानव–समाज पशुपालक समाज बनेको बेलातिर मातृप्रधान समाजको संरचना ढलेर पितृसत्तात्मक समाजको थालनी भएको देखिन्छ । यसबाट के सिद्ध हुन्छ भने उत्पादनको साधनमा अर्थात् त्यसबेला पशुपालनका लागि चाहिने उपकरणमा नियन्त्रण पुरुषको हातमा पर्न गएकाले समाजमा पुरुष–प्रधान वा पितृसत्तात्मक संरचना स्थापना भएको हो ।
उत्पादनको साधनको मालिक बनेको समूह समाजको मालिक बन्यो र अर्को समूह दास बन्यो । यस्तो समाजमा दास–मालिक र दास दुई वर्गमा विभाजित भई दास–प्रथा सुरु भयो ।
मानिसले पशुपालन कार्य गरेपछि पशुपालनका साथै जमिन जोतेर अन्न उत्पादन गर्न वा कृषि कार्य पनि गर्न थाले । पशुपालन र कृषि कार्यका लागि काम गर्ने मानिस चाहियो । पहिले–पहिले सिकार जाँदा एक समूहले अर्को समूहका मानिससित लड्नुपर्ने हुन्थ्यो । कुनै अरु परिस्थितिमा एक समूह र अर्को समूहका बीच लडाइँ हुने बेला जित्ने समूहले हार्ने समूहलाई मार्ने गर्दथ्यो । तर पछि ती हारेकालाई नमारीकन बन्दी बनाएर ल्याउने र दास बनाएर पशुपालन र खेतीमा उनीहरूको श्रम प्रयोग गर्ने काम गरियो । उत्पादनको साधनको मालिक बनेको समूह समाजको मालिक बन्यो र अर्को समूह दास बन्यो । यस्तो समाजमा दास–मालिक र दास दुई वर्गमा विभाजित भई दास–प्रथा सुरु भयो । यसरी उत्पादनका साधनमाथि नियन्त्रण कायम गरेको वा स्वामित्व भएको वर्गले समाजमा आधिपत्य कायम गरेको देखियो ।
त्यसपछि व्यापक रुपले खेती गरी विभिन्न खालका कृषि–उब्जनी फलाउन थालेपछि कृषि–कार्य नै समाजको प्रमुख उत्पादनका साधन बन्यो । त्यसपछि त्यस उत्पादनको साधन अर्थात् जमिनको मालिक समाजको मालिक भयो अनि जमिन जोत्ने जोताहा र ज्यालादारी कृषि–ज्यामी अथवा हरूवा, चरुवा र हलीहरू समाजका उत्पीडित समूहमा परे । यही विभाजित स्वरुप नै त्यस कृषि समाजको वर्ग–विभाजनको स्वरुप बन्यो । यही समाज नै विकसित हुँदै जाने क्रममा दास प्रथाको अन्त्यपछि सामन्तवादको उदय भयो र सामन्ती प्रथा सुदृढ हुँदै गयो ।
समाजको उत्पादनका साधनमाथि नियन्त्रण गरिरहेको, उत्पादनका साधनको स्वामित्व आफ्नो हातमा लिएको वर्ग पुँजीपति वर्ग भयो । र, त्यही वर्ग समाजको मालिक वर्ग बन्यो र उत्पादन कार्यमा श्रम दिने वर्ग श्रमिक वर्ग त पुँजीपति वर्गमा आश्रित स्थानमा रह्यो ।
सामन्तवादको पतन भएर पश्चिम युरोपका देशहरूमा पुँजीवादी व्यवस्था उदय भएर पुँजीवाद सुदृढ र विकसित हुँदै जाने क्रममा औद्योगिक समाजको विकास भएको इतिहास हाम्रोसामु छ । यो औद्योगिक समाजमा उत्पादनको मुख्य साधन उद्योग कलकारखाना हो । त्यहाँ ती साधनको मालिक अर्थात् समाजको उत्पादनका साधनमाथि नियन्त्रण गरिरहेको, उत्पादनका साधनको स्वामित्व आफ्नो हातमा लिएको वर्ग पुँजीपति वर्ग भयो । र, त्यही वर्ग समाजको मालिक वर्ग बन्यो र उत्पादन कार्यमा श्रम दिने वर्ग श्रमिक वर्ग त पुँजीपति वर्गमा आश्रित स्थानमा रह्यो ।
यसरी मानव–समाजमा वर्ग–विभाजन सुरु भएदेखि आजसम्मकै समाज–विकासको इतिहास अवलोकन गर्दा हामी के देख्दछौं भने विकास क्रममा मानव–समाजले विभिन्न चरण पार गरेको छ । र पनि ती विभिन्न चरणमा अर्थात् पशु–पालक समाज, दास–प्रथाको समाज, सामन्तवादी समाज र पुँजीवादी समाजमा जुन वर्गले उत्पादन–साधनमा नियन्त्रण ग¥यो, त्यही वर्गले समाजमा आधिपत्य जमाउँदै आएको छ ।
समाज विकासका विभिन्न चरणको स्वरुपमा उत्पादनका साधनमा जुन वर्गको नियन्त्रण रहन्छ, समाजमा आधिपत्य त्यही वर्गले जमाउँछ ।
वस्तुगत अवलोकनबाट अर्थात् वैज्ञानिक तरिकाबाट अध्ययन गर्दा हामीले जानेको तथ्य हो: समाज विकासका विभिन्न चरणको स्वरुपमा उत्पादनका साधनमा जुन वर्गको नियन्त्रण रहन्छ, समाजमा आधिपत्य त्यही वर्गले जमाउँछ । समाजमा वर्ग आधिपत्य रहने चेतनाको आधारमा, समाज–विकासको प्रक्रियाको नियमको ज्ञानको आधारमा मानव–समाजको आगामी परिवर्तन कस्तो हुन्छ भनी निष्कर्ष निकालौं ।
पुँजीवादको उच्च विकास भइसकेको समाजमा निकै उच्च स्तरमा औद्योगीकरण भइसकेको छ । यस्ता विकसित पुँजीवादी वा तीव्रतम औद्योगिक विकास भइसकेका देशमा ठूलठूला औद्योगिक कारखानामा हजारौं औद्योगिक मजदुर वा सर्वहारा वर्गका श्रमिक एकै ठाउँमा काम गर्छन् । एकै छानामुनि जम्मा भएका ती मजदुर व्यक्तिगत रुपमा कमजोर र निरीह भए तापनि सामूहिक रुपमा भने निकै बलियो शक्ति भइसकेका छन् र समाजको उत्पादन–साधनमा उनीहरूको नियन्त्रण भइसकेको छ । उदाहरणका रुपमा उन्नत औद्योगिक समाजमा तेल–कारखाना वा इन्धन–ऊर्जा केन्द्रमा मजदुरहरूले केही दिन हडताल मात्र गरे पनि तेल नभएर स्कुल, कलेज, सरकारी कार्यालय, सार्वजनिक यातायात सबै बन्द हुन्छन्, समाज नै ठप्प हुन जान्छ । यसको अर्थ के हो भने उत्पादन–साधनमा नियन्त्रण गरिसकेका मजदुर–वर्गमा समाज नै उथल–पुथल गर्ने शक्ति आइसकेको छ । ‘उत्पादन–साधनमा नियन्त्रण गरेका वर्गले समाजमा आधिपत्य जमाउने’ सामाजिक विकासको नियमअनुसार अब मजदुर– वर्गले छिटै समाजमा पक्कै आधिपत्य कायम गर्ने छ । यसबाट के सिद्ध हुन्छ भने उन्नत औद्योगिक समाज रहेका देशमा औद्योगिक मजदुर वर्ग वा सर्वहारा वर्गको हातमा शासन–सत्ता जाने कुरा समाज–विकासको नियमअनुसार अवश्यम्भावी छ ।
पुँजीवाद ढलेर सर्वहारा वर्गले राज्यसत्ता कब्जा गर्ने अथवा समाजवादको स्थापना जरुर हुने मार्क्सको भविष्यवाणी उहाँको मनोगत विचारबाट होइन, विज्ञानको तरिकाबाट अध्ययन गरी वस्तुगत रुपमा पुगेको निष्कर्ष हो ।
प्रस्तुत विचार हामीले प्रसिद्ध मार्क्सवादी विचारक प्राध्यापक माणिकलाल श्रेष्ठको पुस्तक 'मानव समाजको विकासबारे मार्क्सवादी दृष्टिकोण'बाट लिएका हौं । हामी उक्त पुस्तकका बाँकी अंशहरु क्रमश: प्रकाशित गर्दै जानेछौं ।
प्रतिक्रिया