जीवनका विविध आयाममाथि कवितात्मक स्पर्श अन्तःसंवेदना –कवितासङ्ग्रह
परम्परागत लोकप्रिय पद्यशैलीमा लेखिएका ३६ वटा कविताको आकर्षक सङ्ग्रह हो अन्तःसंवेदना कवितासङ्ग्रह । नेपाली भाषासाहित्यका विद्वान् प्राध्यापक, चर्चित निबन्धकार र समालोचक राजेन्द्र सुवेदीका उन्नत जीवन अनुभव, अनुभूति, दार्शनिक ज्ञान, जीवनदर्शन र काव्यचेतनाको सङ्गमका रुपमा लिन सकिने कतिपय कविताहरु यस सङ्ग्रहमा सङ्कलित हुन आएका छन् ।
भावात्मक प्रवाहमा रसोच्छलन, भावुकतामय भाषासन्धान, प्रतीकात्मक तथा बिम्बात्मक अभिव्यञ्जनाका प्रयत्नभन्दा पनि स्वाभाविक किसिमले आफ्ना अनुभव एवं विचारलाई पद्यमा सजाएर सुन्दर स्थापत्य निर्माण गर्ने प्रयत्नजस्ता लाग्ने यी कविताहरुले एक प्रगाढ अनुभवी प्राध्यापकको जीवन र जगत् सम्बन्धी सोचविचार र भावानुभूतिलाई आस्वाद्य बनाएर प्रस्तुत गरेका छन् । यसैले पनि यी पद्य कविताहरु एक पटक अध्ययन गर्नै पर्ने आग्रहका रहेका छन् ।
काव्यिक रचनाविधानमा गद्य कविताको आफ्नै गतिप्रवाह हुन्छ र त्यस प्रवाहले कविका काव्यात्मक प्रतिभाको वेग र बगाउने सामथ्र्यलाई प्राप्तिका रुपमा अनुभूत गर्न सकिन्छ भने तिनै भाव विचार अनुभूति र गतिलाई पद्यकरण गर्दा छन्दोविधान प्रविधिका साथमा कविताहरुलाई भाव सम्वेदना प्रवाह र काव्यात्मकतामा ढाल्नु भाषिक स्थापत्य निबन्धन कलाको सफल प्रणयनसमेत हुने हुनाले पद्यरचना तुलनात्मक रूपले बढी अभ्यास र प्रतिभापेक्षी प्रयत्न पक्कै हो । प्रतिभा र प्रयत्नको वेग समान भयो भने पद्यकविता पनि गद्यवत् स्वाभाविक भाषाप्रवाहमा प्रवाहित हुन सक्छन् महाकवि लक्ष्मीप्रसादका जस्तै । त्यो सर्वसुलभ प्राप्ति होइन र पनि माधव घिमिरे र बालकृष्ण समले झन्डै समानान्तर ढाँचाका फरक फरक प्राप्तिका नमूना पेस गरेका छन् । महाकवि देवकोटाले त आफ्ना प्रवाह र सीमाको साबिती बयानसमेत पनि दिएका छन् शाकुन्तलमा । लेखनाथ पौड्यालबाट शुरु भएको पद्यकविताको यस समृद्ध एवं प्रान्जल परम्परामा आजका पद्यकविहरूलाई सतहबाट माथि उठ्न कति सहज साबित भएको छ यो सापेक्ष्य अध्ययनको विषय हो । कलात्मक भाषानुभूतिमा जीवन र जगतलाई पाठक तथा श्रोताहरूसमक्ष आकर्षक आस्वाद्य बनाएर पस्कनु लर्तरो काम होइन । यस सङ्ग्रहका सिद्धहस्त कवि सुवेदीले संस्कृतायत भाषामा रुचिशील भावक पाठक तथा श्रोताहरूका लागि रोचक बनाउने अभिप्रायले रचना गर्नुभएको मान्न सकिने छन्दोबद्ध कविताहरू कविले देखेभोगेका समय र समाज बुझ्न सहायक बन्ने आतुरीमा दगुरेका अनुभव गर्न पाइन्छन् । संस्कृत काव्यपरम्पराको कान्तासम्मित अभिधाकलाका दृष्टिले यस सङ्कलनमा ठाउँ ठाउँमा मन छुने अभिव्यक्ति र सूक्तिहरू पनि भेटिन्छन् ।
प्रतिभा र प्रयत्नको वेग समान भयो भने पद्यकविता पनि गद्यवत् स्वाभाविक भाषाप्रवाहमा प्रवाहित हुन सक्छन् महाकवि लक्ष्मीप्रसादका जस्तै । त्यो सर्वसुलभ प्राप्ति होइन र पनि माधव घिमिरे र बालकृष्ण समले झन्डै समानान्तर ढाँचाका फरक फरक प्राप्तिका नमूना पेस गरेका छन् । महाकवि देवकोटाले त आफ्ना प्रवाह र सीमाको साबिती बयानसमेत पनि दिएका छन् शाकुन्तलमा ।
कवि सुवेदीले जीवननिर्माणका उपादानहरूमाथि कविता रचना गरेका छन् । हावापानी, आकाश धर्ती र सूर्यमाथिका उहाँका कविता कृतज्ञतापरक र जीवनबोधक छन् । जस्तै रत्नगर्भा शीर्षक कविताका अन्तमा असीम जिजीवीषा भावमा भिजेर कवि सुवेदी भन्छन्, “यो भूमिमा नै जब टेक्न आएँ । घस्रेर जे मिल्छ टिपेर खाएँ । पस्रेर छाती शिर यो उठाएँ । आजन्म खाए पनि खै अघाएँ ।”
प्रबुद्ध प्राध्यापक समेत रहेका कवि सुवेदी समकालीन राजनीतिप्रति पनि असचेत थिएनन् । समयका सही गलत पदचापमाथि पनि इतिहास सापेक्ष्य रुपमा सचेत नजर राख्थे ।
“पेटीमा गणतन्त्र बन्दुक भिरी तैनाथ टम्मै थियो ।
बाटामा जनतन्त्र ढसमस भरी गाडी गुडेको थियो ।
के यस्तै गणतन्त्र पाउन भनी मान्छे यहाँ उभ्भियो ?
थाहा भो पछि पो महामहिमको भोक्ता सवारी थियो ।”
कथित गणतन्त्रमा पनि सामन्तीतन्त्रकै सम्झना नवीकरण गर्ने ठान, मान र शानको राष्ट्रपति र प्रधानमन्त्रीका राजकीय सवारीका तामझाम र सडक व्यवधानलाई व्यङ्ग्य गर्ने कवि सुवेदीको ‘गणतन्त्रीय सवारी’ शीर्षक यस कवितामा समकालीन समयको विद्रूपता मूर्त भएको अनुभूत हुन्छ ।
प्रकृतिवर्णनमा पनि कवि सुवेदी पछि परेका छैनन् । मन्दाक्रान्ता छन्दमा सृजित कञ्चनजङ्घा शीर्षक कविताको अन्तिम पद्यमा कवि सुवेदीको प्रकृतिप्रेमी काव्यात्मकता हेरौँ —
“बस्छिन् देवी मृदु मधुरतासाथ तापर घाम ।
गर्छन् शैलेश्वर पनि जटाजूट कस्दै प्रणाम ।
खस्नै लागे कित रवि कतै टेकिने छैन ठाम ।
को भन्देला क्षितिजपरि झन् पल्टँदा राम राम !”
यसैगरी कवि सुवेदीका कलम शीर्षक कविताका शुरुका यी चार पाउ कविताले थोरैमा धेरै कुरा भनेको छ, जस्तै —
“म हूँ लेखनी आँसुमा बोल्न सक्छु ।
म पीडा र हाँसो स्वयम् घोल्न सक्छु ।
म ढोका नयाँ ज्ञानको खोल्न सक्छु ।
तिमीले चलाए युगौँ चल्न सक्छु ।”
तिहारको दीपावली चाडमा पीडितहरूको मनमा उमडिने साझा विरहवेदनालाई व्यक्त गर्दा कवि सुवेदी गरिव नेपाली जनमनको नजिक पनि देखिन्छन् । जस्तै—‘के गर्नु दीपावली’ शीर्षक कविताका यी पङ्क्तिहरू हेरौँ—
“सारा देश छ अन्धकार मनमा विक्रान्त ज्वाला जली ।
सल्केको छ अथाह भोक घरमा आव्याप्त शङ्कावली ।
व्यर्थै कुकुर कागमा पनि यहाँ केको चढाउँ बली ?
भित्रै छैन प्रकाश बाहिर यसै के गर्नु दीपावली ?”
कवि सुवेदीले आफ्ना बाल्यकाल एवं किशोरवयका सम्झनामा लेखेका कविताहरूमा स्वभावोक्ति तथा सहजानुभूति सौन्दर्यको आनन्द लिन सकिन्छ । कविता मिठा छन् । ‘स्मृति मेरो बाल्यकालको’ शीर्षक कविताको दुई पद्य जस्तै—
“काबेलीतटमा चुमी पयरले डाँडो सिरानी गरी
पल्टेको अमरापुरी पुरसरी गाउँ छ पाखाभरी
सल्लो उत्तिस सालका बनहरू बस्छन् तरेली परी
अहिले बल्झिरहेछ दृश्य हरियो मेरा परेलीभरी ।।
बारीमुन्तिर खेतका डिलहरू नाघेर हाम्फालियो ।
मेरो उत्तर बाल्यको वय बित्यो खेलेर डण्डीबियो ।
गाईबस्तु चराउँदै बन घुमी सिम्टा टिपी खाइयो ।
बास्दा झ्याउँकिरी फिरेर घरमा गाई लिई आइयो ।”
‘मेरो कैशोर बितेको ठाउँ’ शीर्षक कविताको अर्को एउटा पद्य, जस्तै—
“यही टिष्टा रेलीबिच नगरको दुःख प्रसुन ।
फुलेका डाँडामा पुलकित बनी कालिमपुङ ।
खसेको देखिन्थ्यो हिमगिरि जहाँ दक्षिण कुम
किशोरावस्थाको वय अलि भयो आखिर गुम ।”
नेताहरूको देवत्वकरण गरिएको समकालीन दलदलमय दलीय व्यवस्थाप्रति पनि कविले ‘अहिंसाव्रती’ शीर्षक कवितामा आफ्नो विद्रोहभाव व्यक्त गरेका छन् । जस्तै—
“धाउने हो भने छन् शयौँ मन्दिर ।
प्रार्थना गर्नमा छौ तिमी माहिर ।
छिर्न सक्छौ भने टाँगभित्रै छिर ।
नाथका पाउमा नै चढाऊ शिर ।
मान नेता सवै आजका देवता !”
यसरी अन्तःसंवेदना कवितासङ्ग्रहमा कवि राजेन्द्र सुवेदीले विभिन्न शीर्षकका कविताद्वारा समकालीन समयका नीति, संस्कृति, राजनीति र यसैबीच आफ्नो बाल्यावस्थादेखि प्रौढावस्थासम्मका विविध अवस्था र तिनका आयामहरूमाथि आफ्ना भावना, संवेदना र विचार व्यक्त गरेका छन् । सङ्ग्रहका हरेक कविताले कविका अन्तःसंवेदना बोकेका छन् । यस परिप्रेक्ष्यमा सङ्ग्रहको शीर्षक पनि समीचीन देखिन्छ । पुस्तकको गेटअप आकर्षक छ । आजको मूल्यवृद्धिका परिवेशमा पुस्तकको मूल्य पनि धेरै भन्न मिल्दैन ।
प्रतिक्रिया