युवा कालमै महान बनेका वैज्ञानिक
“उमेर तीस त पुग्याछैन, भर्खरको ठिटो छ, कसरी पाको बुद्धि होस् त ! त्यस्तोको के भर गर्न सकिन्छ र ? त्यो शिक्षकले पढाउने हो भने त खोइ क्लास लिइन्छ कि लिइन्न ! भन्न सकिन्न है यार !”
विश्वविद्यालयमा स्नातक पढ्ने एक विद्यार्थीले भर्खरै विश्वविद्यालयमा प्रवेश गरेका एक नयाँ युवा शिक्षकको बुद्धिमाथि आफ्ना सहपाठीहरुसँग शंकाको दृष्टिले टिप्पणी गर्दै थिए । उनको कुरा नसकिँदै अर्का विद्यार्थीले उनलाई सम्झाउँदै भने, “उमेर कम भनेर नहेप् है ! तँलाई थाहा छ कि छैन आइन्स्टाइनले २९ वर्षको उमेरमै सापेक्षतावादको सिद्धान्त आविष्कार गरेर वैज्ञानिक जगतमा नयाँ युगको शुरुवात गरेका थिए ।”
साथीको कुरा सुनेर पहिलो विद्यार्थी झसङ्ग भयो ।
हो, हामीकहाँ कयौँ युवाहरु तीस वर्षको उमेरसम्ममा त घुमेर, डुलेर र खेलेर मोजमस्ती गर्नुपर्छ भन्ने धारणा राख्दछन् । उनीहरुले स्कूल कलेजमा पढ्ने गरे पनि त्यस उमेरलाई गम्भीर काममा लाग्ने नभई मनोरञ्जनमा डुब्ने समयको रुपमा बुझ्ने गर्छन् । तर मानव ज्ञान र सभ्यताको इतिहास हेर्ने हो भने धेरै विश्वविख्यात व्यक्तित्वहरुले त्यही ३० वर्षको उमेरभित्र नै महान कामहरु गरिभ्याएका छन् । वास्तवमा इतिहासले हामीलाई के पाठ सिकाएको छ भने, जसले आफ्नो युवा काललाई गम्भीर खोज, अनुसन्धान र सिर्जनामा लगाए, उनीहरु नै इतिहासका सारथी बने ।
युवावस्था, हो जीवनको यस कालखण्डमा नै मान्छे सबैभन्दा ऊर्जाशील, संवेदनशील र सिर्जनशील हुन्छ । त्यसैले, जसले यस कालखण्डलाई जानेर खेर फालेनन्, तिनले इतिहासको पानामा आफ्नो नाम लेखाएका छन् । साहित्य, संस्कृति, सामाजिक सेवा, राजनीति, विज्ञान आदि कुनै पनि क्षेत्रका हस्तीहरुको अतीत हेर्ने हो भने उनीहरुको युवाकाल गम्भीर, ऊर्जाशील, सिर्जनशील र मेहनती भएको पाइन्छ ।
तर यहाँ हामीले सबै फाँटका नभई विज्ञान जगतका केही विख्यात हस्तीहरु, जसले ३० वर्षको युवाकाल नबित्दै नै विश्व हल्लाउने वैज्ञानिक कामहरु गरेर गए, उनीहरुको मात्र चर्चा गर्न लागिरहेछौं ।
चौबीस वर्षमै महान बन्ने वैज्ञानिक सर आइज्याक न्यूटन
बस्तु माथिबाट तल किन खस्छ ? बस्तुको तौल किन हुन्छ ? आदि प्रश्नहरु गुरुत्वाकर्षणसंग सम्बन्धित भएको कुरा आजभोलि स्कूल पढेका भर्खरका नवयुवाहरु धेरैलाई थाहा छ । किनभने, गुरुत्वाकर्षणसम्बन्धी न्यूटनको सिद्धान्त आजभोलि हाइस्कूलदेखि विश्वविद्यालयसम्म नै पढाइन्छ । कलेज पढ्दै गरेका धेरै युवाहरुले न्यूटनलाई महान गणितज्ञका रुपमा पनि चिन्दछन् । किनकि, न्यूटनले आफ्नो वैज्ञानिक सिद्धान्तको पुष्टि गर्न बायोनोमियल तथा क्याल्कुलसजस्ता विशिष्ट गणितको समेत आविष्कार गरेका थिए ।
यी कार्यहरुबाट न्यूटनले सत्रौं शताव्दीमा यन्त्रविज्ञानको युग नै शुरु गरेका थिए । यन्त्रविज्ञानको विकासले विज्ञान र प्रविधिमा अभूतपूर्व क्रान्ति त ल्यायो नै, साथसाथै यसले बिचार, चिन्तन र दर्शनमा पनि युगान्तकारी परिवर्तन ल्याइदियो । यसले समाजको सम्पूर्ण क्षेत्र जस्तो कि संस्कृति, सामाजिक व्यवहार तथा राजनीतिक चिन्तनमा समेत महत्वपूर्ण प्रभाव पा¥यो । साँच्ची मानव जीवनको सम्पूर्ण फाँटमा उथलपुथल ल्याउने वैज्ञानिक सिद्धान्त सर आइज्याक न्यूटनले कति वर्षको उमेरमा आविष्कार गरेका हुन् ?
मात्र चौबीस वर्षको उमेरमा । हो, २४ वर्षको युवा कालमा नै न्यूटनले गुरुत्वाकर्षणको सिद्धान्तको आविष्कार गरेका थिए । उनले त्यसबेलासम्ममा बायोनोमियल तथा क्यालकुलसजस्ता विशिष्ट गणितको पनि आविष्कार गरिसकेका थिए ।
न्यूटन: जन्मदेखि युवा कालसम्म
सर आइज्याक न्यूटनको जन्म सन् १६४२ डिसेम्बर २५ तारिखको दिन इंग्ल्याण्डको उल्सथोर्पको लिंकनसार भन्ने स्थानमा भएको थियो । संयोग के रहेको छ भने न्यूटनको जन्म वर्ष र अर्का महान वैज्ञानिक तथा गणितज्ञ ग्यालिलियोको मृत्यु वर्ष एउटै रहेको छ । ग्यालिलियोले यन्त्रविज्ञानको अवधारणालाई शुरु गरेर गए । त्यसलाई न्यूटनले पूरा गरिदिए । ग्यालिलियोले ग्रहहरुले सूर्यलाई घुम्छन् भन्ने सिद्धान्तलाई स्थापित गरेर गए । न्यूटनले ग्रहहरुले सूर्यलाई गुरुत्वाकर्षणको कारणले घुम्छन् भन्ने कुराको पुष्टि गरिदिए । यसरी न्यूटनको जन्म ग्यालिलियोका वैज्ञानिक उत्तराधिकारको रुपमा भयो ।
एक किसान परिवारमा जन्मेका न्यूटन जन्मेदेखि नै शारीरिक कमजोरीमा रहे । सायद यसै कारणले नै होला उनी अन्तर्मुखी स्वभाव अर्थात् अरु मानिसहरुसंग त्यति नबोल्ने र एक्लै बसी आफ्नै मनमा अनेक कुराहरु खेलाई बस्ने खालका व्यक्तिका रुपमा रहे । बच्चैमा उनी दैनिक रुपमा धेरैजसो समय एक्लै कोठामा बसी सौर्यघडी, चंगा तथा अन्य विभिन्न नमूना यन्त्रहरु बनाउनमा व्यस्त रहन्थे ।
न्यूटनको समयमा इंगल्याण्डमा पनि सानै उमेरदेखि स्कूल गएर पढ्ने चलन आएको थिएन । उनी ११ वर्षको उमेरमा सन् १६५३ मा बल्ल प्राथमिक तहको शिक्षाको लागि उल्सपोर्थस्थित ग्रान्थम ग्रामर स्कूलमा भर्ना भए । उनलाई सो स्कूलमा उनकी आमाले भर्ना गरिदिएकी हुन् ।
स्कूलमा न्यूटन पाठ्य–पुस्तकमा त्यति ध्यान नदिने विद्यार्थीका रुपमा परिचित थिए । उनलाई शिक्षक तथा उनका सहपाठीहरु कम बुद्धि भएका व्यक्तिका रुपमा चिन्दथे । उनीहरु उनीभित्रको वैज्ञानिक प्रतिभा चिन्दैनथे । वास्तवमा न्यूटनलाई पाठ्यपुस्तकभित्रको विषयबस्तुले भन्दा प्रकृतिका विविध कुराहरुले आश्चर्यचकित तुल्याउथे । र, उनी हरेक कुराको सन्दर्भमा आफ्नै मनलाई थुप्रै प्रश्नहरु गर्न पुग्थे । साथै ती प्रश्नहरुको उत्तर पनि उनी आफ्नै मनले दिन प्रयत्न गर्थे । उनी सानैदेखि स्वचालित यान्त्रिक खेलौना बनाउने कार्यमा निपूण थिए । उनले सानैमा बनाएको पानी घडीले ठीक ठीक समय दिन्थ्यो ।
स्कूलमा उनलाई कम बुद्धि भएका अर्थात् मन्दबुद्धिका बिद्यार्थीका रुपमा अरुले चिने पनि परीक्षाको नतिजामा भने उनी उत्कृष्ट बिद्यार्थी नै ठहरिए । उनले १७ वर्षको उमेरमा सन् १६५९ मा स्कूलको पढाइ सिध्याए । स्कूलको पढाइपछि दुई वर्षसम्म न्यूटनले पढाइलाई थाँती राखी खेतीपातीमा आमालाई सघाउन घरमै बसे । त्यसपछि सन् १६६१ मा १८ वर्षको उमेरमा उनी इंग्ल्याण्डको क्याम्ब्रिज विश्वविद्यालयको टिनिटी कलेजमा गणित शिक्षा अध्ययन गर्नको निम्ति भर्ना भए ।
न्यूटन जन्मनु ३ महिनाअगाडि नै उनका पिताको निधन भएको थियो । त्यसपछि उनकी आमाले दोस्रो बिबाह गरेकी थिइन् । तर न्यूटन १० वर्षको छँदा उनकी आमाको दोस्रो पतिको पनि मृत्यु भएको थियो । त्यसैले क्याम्ब्रिजमा रहंदा न्यूटनको परिवारको आर्थिक हालत राम्रो थिएन । घरमा कमाउने भनेको आमामात्रै हुन् । न्यूटनकी आमालाई क्याम्ब्रिजमा न्यूटनको लागि खर्च जुटाउन साह्रै नै गाह्रो पर्यो र आफ्नो छोराको पढाइ जारी रहोस् भनेर उनले खर्च जुटाउनको लागि त्यहाँ कलेजका संचालकहरुकहाँ घरायसी कामकाजहरुसमेत गर्न पुगिन् । न्यूटनको वैज्ञानिक अध्ययन र अनुसन्धानमा उनकी आमाको योगदान उदाहरणीय र स्मरणीय छ ।
कलेजमा पढ्दा पनि आफैं विभिन्न परीक्षण तथा सिर्जना गर्ने काम न्यूटनले जारी नै राखे । यसै क्रममा उनले प्रिज्ममा सूर्यको प्रकाश छिराई त्यसको नतिजा जान्न खोजे । नतिजा के भयो भने प्रिज्मबाट छिरेर बाहिर आउँदा सूर्यको प्रकाश सात वटा रंगका किरणहरुमा बिभाजित हुन पुग्यो । यो परीक्षणबाट उनले सूर्यको प्रकाशमा सात वटा रंगका किरणहरु मिलेर रहने तथ्य पत्ता लगाए । न्यूटनले यो तथ्य सन् १६६४ मा आफू २२ वर्षको हुँदा पत्ता लगाएका हुन् । त्यतिबेला उनको स्नातक तह नै पनि पूरा भइसकेको थिएन । उनले सन् १६६५ मा आएर मात्र स्नातक उत्तीर्ण गरेका थिए । यसबाट स्नातक हुनुअगावै न्यूटनले महान वैज्ञानिक कार्य सम्पन्न गरेको पुष्टि हुन्छ । स्नातक उत्तीर्ण गरेको लगत्तै उनले त्यही वर्ष अर्थात् सन् १६६५ मा २३ वर्षको उमेरमा बायोनोमियल र क्यालकुलसजस्ता विशिष्ट गणितको आविष्कार गरे ।
युगान्तकारी सिद्धान्तको आविष्कार
सामान्यजस्तो देखिने प्राकृतिक घटनालाई पनि कोट्याएर हेर्ने, कारण बुझ्न खोज्ने, आम मानिसहरुको धारणामा शंका गरी हेर्ने र तत्काल बुझ्न नसकिएको घटनाको कारण पत्ता लगाउन प्रयत्न गर्ने न्यूटनको स्वभाव थियो । त्यसैले स्नातक गरिसकेपछि सन् १६६५ मा उल्सपोर्थमा रहँदा एक दिन बगैंचामा रहेको स्याउको बोटमुनि बसेर चिन्तनमा ध्यान मग्न भइरहेको अबस्थामा अचानक बोटबाट एक दाना खसी उनको टाउकोमा बज्रिन पुग्दा उनले स्याउ माथि नगई तल नै किन खस्यो भनी सोच्न पुगे । सामान्य मानिसको लागि त्यो घटना स्वभाविक नै
थियो ? तर न्यूटनले त्यसलाई स्वभाविक नठानी त्यसको कारण खोज्ने र त्यो भन्दा उल्टो घटना किन घटेन भन्ने प्रश्नको उत्तर खोज्नेतिर आफ्नो खोजलाई अगाडि बढाए । त्यही क्रममा नै न्यूटनले सन् १६६६ मा गुरुत्वाकर्षणसम्बन्धी युगान्तकारी सिद्धान्तको आविष्कार गरे । त्यतिखेर उनको उमेर २४ वर्षको मात्र थियो । गुरुत्वाकर्षणको सिद्धान्तको आविष्कारपछि उनी क्याम्ब्रिज विश्वविद्यालयमा एक प्रतिष्ठित वैज्ञानिकको रुपमा स्थापित हुन पुगे । अचम्म लाग्ने कुरा के छ भने संसारलाई नै हल्लाउने उक्त गुरुत्वाकर्षणको सिद्धान्तको आविष्कार गर्दासम्म पनि उनको स्नातकोत्तरको पढाइ सकिएको थिएन । उनले आफू प्रतिष्ठित वैज्ञानिकको रुपमा स्थापित भएको दुई वर्षपछाडि अर्थात् सन् १६६८ मा २६ वर्षको उमेरमा स्नातकोत्तर सिध्याए । र, त्यसको एक वर्षपछाडि २७ वर्षको उमेरमा सन् १६६९ मा उनी क्याम्ब्रिज विश्वविद्यालयको अति प्रतिष्ठित पद लुकासियन प्रोफेसरको पदमा नियुक्त भए ।
क्याम्ब्रिज विश्वविद्यालयमा अध्यापनको कार्यमा रहँदारहँदै नै सन् १६७० मा २८ वर्षको उमेरमा न्यूटनले विकसित परावर्तनीय दूरदर्शक यन्त्र (Reflecting Telescope) को आविष्कार गरे । यसले खगोल विज्ञानको अध्ययनमा ठूलो योगदान पुर्यायो । त्यस्तै सन् १६७२ मा ३० वर्षको उमेरमा उनी बेलायतको प्रतिष्ठित वैज्ञानिक समाज शाही समाज (Royal Society) को सदस्य बने । र, सन् १७०१ मा उनी त्यस समाजको अध्यक्षमा निर्वाचित भए ।
आवाजलाई तारबाट प्रसारण गर्ने वैज्ञानिक अलेक्जेण्डर ग्राहम बेल
शहरबजारमा त आजभोलि टेलिफोन भनेको सामान्य कुरो भइसकेको छ । उद्यमी, उद्योगी, व्यापारी, व्यवसायी, कर्मचारी, शिक्षक आदिजस्ता मानिसहरुको दैनिक कारोवार त अब टेलिफोन बिना नचल्ने नै भइसकेको छ । अहिले झन् विदेशमा गई रोजगारी गर्न गएकाहरुको लागि त यदि टेलिफोन नहुँदो हो त उनीहरुले यहाँ आफ्नो देशमा रहेको परिवारसँग प्रत्यक्ष कुराकानी वर्षौंपछाडि मात्र गर्न पाउँने थिए । तर टेलिफोनले गर्दा उनीहरु मन लागेको बेलामा तत्काल हजारौं किलोमिटर टाढाबाट आफ्नो परिवारसँग प्रत्यक्ष कुराकानी
गर्न पाउँछन् । त्यसैले टेलिफोन अब समाजको आधारभूत आवश्यकताको रुपमा रहन आएको छ । तर धेरैलाई यसका आविष्कारकका बारेमा कम हेक्का हुन सक्छ ।
ग्राहम बेल, हो उनी नै हुन्, जसले २९ वर्षको युवावस्थामा नै टेलिफोनको आविष्कार गरी विश्वलाई चकितमात्र तुल्याएनन्, ठूलो गुन नै लगाए । टेलिफोनको आविष्कारले आज यो विश्व नै साँघुरो भइसकेको छ । यसैको माध्यमबाट हामी अमेरिका, यूरोप, अफ्रिका कुनै पनि ठाउँमा छिनभरमै सम्पर्क गर्न सक्छौं, प्रत्यक्ष कुराकानी गर्न सक्छौं ।
युवावस्थामै ग्राहम बेलले कसरी टेलिफोनको आविष्कार गरे ?
अलेक्जेण्डर ग्राहम बेलको जन्म सन् १८४७ को मार्च ३ तारिखको दिन स्कटल्याण्डको इडिन्वर्गमा भएको थियो । उनले प्राथमिक शिक्षा इडिन्वर्गको शाही हाइस्कूलबाट प्राप्त गरेका थिए । उनी शुरुदेखि नै पढाइमा तीक्ष्ण थिए । उनले चौध वर्षको उमेरमा नै इडिन्वर्ग विश्वविद्यालयबाट स्नातक गरेका थिए । त्यसपछिको उच्च शिक्षा भने उनले लण्डन विश्वविद्यालयबाट गरे ।
ग्राहम बेलको परिवार सन् १८७० मा क्यानाडा र पछि सन् १८७१ मा संयुक्त राज्यमा बसाइँ सर्यो । ग्राहम बेलका पिता अलेक्जेण्डर मेलभेले वाक शिक्षण तथा बोली सिकाउने उपचार पद्धति (स्पीच थेरापी) का शिक्षक थिए । ग्राहम बेलले आफ्नो पिताबाट वाक शिक्षण तथा स्पीच थेरापी सिकेका थिए । साथै उनले आफ्नो पिताले आविष्कार गरेको बहिराहरुलाई दृश्य देखाएर सिकाउने भाषा प्रणाली पनि सिकेका थिए ।
सधैं नयाँ नयाँ परीक्षण गर्न रुचाउने ग्राहम बेलले १८ वर्षको उमेरमा नै आवाजलाई प्रसारण गर्ने परीक्षणहरु गर्न थाले । अनुसन्धान र परीक्षणकै सिलसिलामा उनले सन् १८७४ मा २७ वर्षको उमेरमा हार्मोनिक टेलिग्राफ (एकैपटक एउटै तारबाट धेरै सूचनाहरु पठाउने टेलिग्राफ विधि) को परीक्षण गरे । त्यस परीक्षणको सिलसिलामा आकस्मिक रुपमा ग्राहम बेलले आफ्ना सहायक थोमस वाट्सनको सहयोगमा तारबाट ध्वनि प्रसारण हुने तथ्य पत्ता लगाए । वास्तवमा थुप्रै सूचनाहरुलाई एकैसाथ एउटै तारबाट पठाउने विधिको विकास गर्न गरिएको परीक्षणको क्रममा उनीहरु कुनै एक भूल गर्न पुगेका थिए । तर त्यही भूलबाट अर्को नयाँ तथ्य पत्तो हुन पुग्यो ।
त्यसपछि ग्राहम बेल भूलवश पत्ता लागेको तथ्यलाई प्रविधिको रुपमा विकास गर्न लागी परे । उनले तारबाट ध्वनि वा आवाज प्रसारण गर्ने प्रणालीलाई शुरुमा बोल्ने टेलिग्राफ र पछि टेलिफोन भनी नामाकरण गरे ।
शुरुमा तारबाट ध्वनि प्रसारण हुन्छ भन्ने तथ्य पत्तो लागे पनि त्यसलाई प्रयोगात्मक र प्राविधिक रुपमा विकास गर्न बाँकी नै थियो । त्यसैले त्यस कार्यका लागि ग्राहम बेलले एउटा छुट्टै प्रयोगशालाको स्थापना गर्नु पर्ने महशूस गरे । र, उनले सन् १८७४ मा बोस्टन शहरको एउटा रेष्टुरा भएको घरको एउटा तल्लामा आफ्नो प्रयोगशाला स्थापना गरे । छिँडीमा रेष्टुरा र त्यसको माथि प्रयोगशाला रहेका थिए । वैज्ञानिक ग्राहम बेल र उनका सहायक वाट्सन अनुसन्धान र परीक्षण कार्यमा यति हदसम्म व्यस्त हुन्थे कि, उनीहरु खाना खानको लागिमात्र तल रेष्टुरामा झर्दथे । अन्य सम्पूर्ण समय तिनीहरु प्रयोगशालामै बिताउँथे ।
यसरी अत्यन्त गहन अनुसन्धान तथा परीक्षण्पछि अन्तमा सन् १८७६ को मार्च १० को बिहान वैज्ञानिक ग्राहम बेलले–“वाट्सन यहाँ आउनहोला, म तपाइँलाई चाहन्छु” भन्ने वाक्य प्रसारण गरी टेलिफोनको सफल परीक्षण गरे । त्यतिबेला ग्राहम बेलको उमेर २९ वर्ष ३ दिनको पुगेको थियो ।
ग्राहम बेलले २९ वर्षको युवाकालमा आविष्कार गरेको टेलिफोन नै पछि विकसित हुँदै गई अहिले ताररहित टेलिफोनहरु, मोबाइल फोनहरु आदि विकास भएका छन् । आज टेलिफोनको सञ्जालले विश्वलाई पूरै ढाकिसकेको छ । यतिमात्र होइन अन्तरिक्षमा जाने अन्तरिक्षयात्रीहरुसँग पनि पृथ्वीबाट कुराकानी गर्न मानिसहरु सक्षम भएका छन् ।
विश्वविद्यालयको प्रवेश परीक्षामा फेल भएका महान् वैज्ञानिक मार्कोनी
https://images.slideplayer.com
हामीकहाँ आजभोलि कलेजमा पढ्नको लागि एस.एल.सि.मा उत्कृष्ट अंक ल्याएको र कलेजको प्रवेश परीक्षामा उत्तीर्ण भएको हुनु पर्ने कुरा सामान्य नियमको कुराको रुपमा रहेको छ । यो प्रचलन विश्वभरि नै छ । तर कलेजको प्रवेश परीक्षामा फेल भएका व्यक्ति पनि पछाडि गएर महान वैज्ञानिक हुनसक्छन् भन्ने कुरा सजिलै विश्वास गर्न गाह्रो हुन्छ । रेडियोका आविष्कारक इटालियाई महान वैज्ञानिक मार्कोनीको सवालमा त्यही विश्वास गर्न गाह्रो कुरा नै लागु भयो । सोह्र वर्षको उमेरमा स्कूलको पढाइ सिध्याएर विज्ञानको अध्ययनको लागि मार्कोनी इटालीको बोलोग्नो विश्वविद्यालयमा भर्ना हुन गए । तर उनी प्रवेश परीक्षामा नै असफल भए । भविष्यका महान वैज्ञानिक विज्ञानको प्रवेश परीक्षामा फेल भए । परीक्षा लिनेहरु कसलाई के थाहा उनीहरु भविष्यका एक महान वैज्ञानिकलाई असक्षम घोषित गर्दै तिरस्कार गर्दैछन् भनेर ? मार्कोनी आफ्नो असफलताबाट अलिकति पनि विचलित भएनन् । उनले कुनै पनि हालतमा विज्ञानमा अध्ययन तथा अनुसन्धान गर्ने अठोट गरे । र, उनी पछि आफूलाई महान वैज्ञानिकको रुपमा प्रस्तुत गर्न सफल भए ।
एक्काइस वर्षको उमेरमा रेडियोको आविष्कार
सन् १९९५ मा मार्कोनीको उमेर केबल एक्काइस वर्षमात्र थियो । तर त्यो कलिलो उमेरमा नै उनले विश्वलाई चकित तुल्याउने रेडियोको आविष्कार गरेका थिए । त्यतिखेर टाढा टाढासम्म संचारको लागि अत्याधुनिक प्रविधि भनेको तारबाट सन्देश पठाउने टेलिग्राफ प्रविधि थियो । तारबिना पनि सन्देश पठाउन सकिन्छ भन्ने कुरा त त्यतिखेर मानिसहरुले कल्पनै गरेका थिएनन् । मार्कोनीले रेडियोको आविष्कार गरेपछि संचार क्षेत्रमा क्रान्ति नै भयो ।
मार्कोनीको जन्म सन् १८७४ को अप्रिल २५ तारिखमा इटालीको बोलोग्ना शहरमा भएको थियो । उनको पूरा नाम मार्चेज गुग्लिल्मो मार्कोनी हो । मार्कोनीको स्कूलको पढाइ इटालीकै अर्को शहर फ्लोरेन्समा शुरु भयो । उनी अङ्ग्रेजीमा राम्रा थिएनन् । त्यसैले कक्षा कोठामा सबैले उनलाई हाँसोका पात्र बनाउँथे । यसले गर्दा उनले स्कूलको पढाइलाई मन पराएनन् । त्यसैले उनलाई स्कूलमा पढाइ सिध्याएर कहिले घर जाऊँजस्तो लाग्थ्यो । र, स्कूलको नियमित पढाइ सकिनासाथ उनी दौडेर आई घरको बुँइगलमा एक्लै के के सोचेर बसिरहन्थे । स्कूल पढ्दै गर्दा अन्य नियमित विषयहरुमा त्यति चाख नभए पनि मार्कोनीलाई विज्ञान र वैज्ञानिकहरुको जीवनी पढ्न औधि मन लाग्थ्यो । र, उनले आफ्नो बाबुको निजी पुस्तकालयमा बसी त्यहाँ रहेका विज्ञान तथा वैज्ञानिकहरुको जीवनी समावेश भएका किताबहरु प्रसस्त मात्रामा पढे । त्यहीँबाट उनले वैज्ञानिक बेन्जामिन फ््रयांकलिनले आकासमा बिजुली चम्कनुको कारण त्यहाँ प्राकृतिक बिजुली उत्पन्न हुनु हो भन्ने पत्ता लगाएको कुरा थाहा पाए । र, उनले तेह्र वर्षको उमेरमा नै फ्रयाङ्कलिनको भनाइ हो होइन थाहा पाउन परीक्षण नै गरेर हेरे । उनले आकाशमा कालो बादल गड्याङगुडुङ गरेको बेला आफ्नै घरको छानामा जस्तापाताको बाण आकारको एक लामो पाता ठड्याई त्यसबाट तार जोडेर ल्याई त्यस तारलाई भुइँ तल्लाको ढोकामा जडान गरिएको बिद्युतीय घण्टीमा जोडिदिए । बादलहरु मडारिएको सँगसँगै त्यो बिद्यतीय घण्टी बज्न थाल्यो । यसरी उनले वैज्ञानिक फ्रयांकलिनको भनाइलाई आफैले परीक्षण गरी सत्य भएको पुष्टि गरे ।
बोलोग्नो विश्वविद्यालयमा प्रवेश गर्न नपाए पनि मार्कोनीले लेघोर्न शहरको एक प्राविधिक स्कूल ‘लेघोर्न टेक्निकल इन्ष्टिच्यूट’ मा भने पढाइ जारी नै राखे । उनी त्यहाँ तेह्र वर्षको उमेरमा भर्ना भएका थिए ।
मार्कोनीले बोलोग्न विश्वविद्यालयमा प्रवेश गर्न नपाए पनि त्यहाँ पढाउने प्रोफेसर रिघिको सहयोगमा त्यस विश्वविद्यालयको पुस्तकालय प्रयोग गर्न भने पाएका थिए । र, उनले त्यहाँ विद्युतसम्बन्धी प्रशस्त किताबहरु पढे । त्यतिखेर संचारका लागि तारबाट सूचनाहरु पठाउने टेलिग्राफको प्रचलन थियो । त्यो प्रविधिको लागि ‘मोर्स कोड’ (अर्का वैज्ञानिक मोर्सले आविष्कार गरेको विद्युतीय सन्देशलाई लिखित भाषामा परिणत गर्ने प्रविधि) प्रयोग गर्ने गरिन्थ्यो । त्यतिखेर यूरोपबाट अमेरिकामा टेलिग्राफ सम्पर्कका लागि आन्ध्रमहासागरको पीँधमा तारहरु विछ्याइएका थिए । यो साह्रै जटिल र खर्चिलो प्रविधि थियो । तर त्यतिखेर अर्को उपाय पनि थिएन । मार्कोनीको मनमा के उब्ज्यो भने यदि तार बिना नै टेलिग्राफ सन्देशलाई टाढासम्म पठाउन सकियो भने तार बिछ्याउँदाको जटिलता झेल्नु नै पर्ने थिएन । र, उनले त्यसको आविष्कारको सम्भावनाको अनुसन्धान गर्ने अठोट गरे । मार्कोनीको त्यो कल्पना नै
Wireless प्रविधि अर्थात् रेडियो संचारबारेको पहिलो कल्पना वा बिचार थियो । त्यसपछि मार्कोनी आफ्नो मनमा आएको कल्पनालाई साकार पार्न लगातार अध्ययन र परीक्षणमा व्यस्त रहे । उनले परीक्षणको लागि आफ्नै घरको बुइँगलमा नै प्रयोगशालको स्थापना गरेका थिए ।
मार्कोनीले अध्ययनको क्रममा जर्मन वैज्ञानिक हेनरिक हर्जले बिद्युतीय तरंगहरु एक ठाउँबाट अर्को ठाउँसम्म बिनातार पनि पुग्न सक्ने एक परीक्षणबाट पत्ता लगाएको कुरा थाहा पाए । त्यस्तै उनले अध्ययनकै क्रममा स्कटल्याण्डका वैज्ञानिक तथा गणितज्ञ जेम्ब क्लार्क म्याक्सवेलले विद्युत–चुम्बकत्व पत्ता लगाएको र त्यस विद्युत–चुम्बकत्वका तरंगहरु ठोस, ग्याँस र तरल अवस्थाका वस्तु भएर मात्र होइन कि, हावा नै नभएको ठाउँ अर्थात् भ्याकुम भएरसमेत फैलन सक्ने पुष्टि गणितीय निष्कर्षबाट निकालेको कुरा पनि थाहा पाए । यी दुई वटा कुराहरु थाहा पाइसकेपछि मार्कोनीले विद्युत–चुम्बकत्वको प्रसारणबाट मोर्स कोडको सन्देश टाढा टाढासम्म पठाउन सकिने तार्किक निष्कर्ष निकाले । र, त्यस निष्कर्षलाई प्रयोगात्मक रुपमा पुष्टि गर्न आफ्नो प्रयोगशालामा दिन रात परीक्षणमा जुट्दै गरे । उनलाई परीक्षण कार्यमा उनका दाजु अल्फोन्सोले साथ दिएका थिए भने दिन रात लगातार अनुसन्धान र परीक्षणमा व्यस्त रहँदा प्रयोगशालामै चिया, खाजा र खाना ल्याई उनकी आमाले सहयोग गरिन् ।
आखिर, सन् १८९५ को सेप्टेम्बर महिनामा मार्कोनीले तारबिनाको सन्देश पठाउने विधि (Wireless) अर्थात् रेडियो–संचारको सफल परीक्षण गरे । पहिले बुइँगलको एक छेउबाट हर्को छेउमा, त्यसपछि घरबाट बगैंचा र झन् टाढा टाढा सर्दै अन्त्यमा घर नजिकको पहाड पछाडिसम्म मार्स कोडको टेलिग्राफी सन्देश सफलतापूर्वक पठाएर मार्कोनीले आफ्नो परीक्षण पूरा गरे । मार्कोनीले एक्काइस वर्षको उमेरमा इटालीमा आविष्कार गरेको यस रेडियो सन्देशको पेटेण्ट भने आविष्कार गरेको दुई वर्ष पछाडिमात्र सन् १८९७ मा इंग्ल्याण्डमा भयो । पेटेण्ट प्राप्त गर्दा मार्कोनीको उमेर मात्र तेइस वर्षको थियो ।
आइन्स्टाइन: २९ वर्षको उमेरमै सापेक्षतावादको सिद्धान्तको आविष्कार
https://static.independent.co.uk
अमेरिकी विश्वप्रशिद्ध पत्रिका ‘टाइम’ले केही समयअघि चालू २१ औं शताव्दी शुरु हुँदा गत वीसौं शताव्दीका शताव्दी पुरुष आइन्स्टाइन भएको घोषणा गर्यो । ‘टाइम’ पत्रिकाको उक्त घोषणालाई विश्ववैज्ञानिक जगत तथा विश्वजनमतले मौन स्वीकृति दिए । हुन पनि सन् १९०५ देखि बीसौं शताव्दीभरि नै विश्वमा आइन्स्टाइनको चर्चामा कहिल्यै कमी आएन ।
आइन्स्टाइनको कुन सिद्धान्तले उनलाई त्यति चर्चामा ल्यायो ?
सापेक्षवादको सिद्धान्त !
हो, सापेक्षवादको सिद्धान्तले नै उनलाई बीसौं शताव्दीभरि नै सर्वाधिक चर्चामा ल्याएको थियो । अहिले २१ औं शताव्दी शुरु भइसक्दा पनि उनको चर्चामा अझै कमी आएको छैन । विश्वले यस वर्ष उनले आविष्कार गरेको सापेक्षतावादले एक सय वर्ष पार गरेको उपलक्ष्यमा ‘आइन्स्टाइन तथा भौतिकशास्त्र वर्ष’ मनाउँदैछ । वास्तवमा आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तले भौतिकशास्त्रलाई एउटा नयाँ युगमा प्रवेश गराएको छ । त्यसअघिसम्म भौतिकशास्त्र न्यूटनको यन्त्रवादमा आधारित थियो । आइन्स्टाइनले सापेक्षतावादको आविष्कार गरेर भौतिकशास्त्रलाई सापेक्षतावादको दिशामा मोडिदिए । यस्तो महान सिद्धान्तको आविष्कार गर्दा आइन्स्टाइनको उमेर कति थियो त ?
मात्र उनन्तीस वर्ष । हो, सन् १९०५ मा सापेक्षतावादको सिद्धान्तको आविष्कार गर्दा आइन्स्टाइनको उमेर मात्र उनन्तीस वर्षको थियो । अर्थात् त्यतिखेर उनी युवा नै थिए ।
महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको जन्म सन् १८७९ मार्च १४ तारिखमा जर्मनीको प्रख्यात शहर म्युनिखबाट ८५ माइल पश्चिममा रहेको उल्म भन्ने ठाउँमा भएको थियो । पछाडि आइन्स्टाइनको परिवार म्युनिखमा बसाइँ स¥यो । र, आइन्स्टाइनको पढाइ लेखाइ म्युनिखबाट नै शुरु भयो । आइन्स्टाइन जन्मेको तीन वर्षसम्म बोल्न जान्दैनथे । ६ वर्षको उमेरमा स्कूल प्रवेश गरेका उनी स्कूलमा मन्दबुद्धिका बिद्यार्थीको रुपमा गनिएका थिए ।
सानामा बाबुले बजारबाट किनेर ल्याइदिएको दिशासूचक यन्त्र (कम्पास) देखेर चकित भएका बालक आइन्स्टाइन जिज्ञासु स्वभावले नै पछि महान वैज्ञानिक बने । उनको स्वभाव थियो, कुनै पनि कुरामा उनी शंकाको दृष्टिमा हेर्ने र हरेक कुरामा जिज्ञासा राख्ने । उनी कसैको कुरामा पनि भनिदिएको आधारमा नै विश्वास गर्दैनथे । शिक्षकले भनेको कुरामा पनि उनी त्यतिकै विश्वास गर्दैैनथे । त्यस्तै उनी कसैले सोधेको प्रश्नमा आफ्नो मनमा पर्याप्त तर्क गरिसकेपछि मात्र जवाफ दिने गर्थे । किनकि उनलाई हचुवा प्रकारको वा आफूलाई थाहा नभएको कुराको जवाफ दिने रुचि लाग्दैनथ्यो । त्यसैले कक्षा कोठामा पनि शिक्षकले कुनै प्रश्न गर्दा त्यतिकै हचुवा पारामा उनी जवाफ दिंदैनथे । तर यो बानीलाई शिक्षकहरुले मन्दबुद्धिका रुपमा बुझे ।
सन् १८९४ मा आइन्स्टाइनको परिवारले पुनः इटालीको मिलान शहरमा बसाइँ सर्यो । केही समयसम्म आइन्स्टाइन जर्मनीमै बसिरहे ।
तर पछि उनी आफ्नो परिवारको साथमा बस्न मिलानमै गए । शुरुमा म्युनिखमा पढाइ छाडेर आएकोले आइन्स्टाइनसँग उनको परिवार खुशी भएन । आइन्स्टाइनले स्विट्जरल्याण्डको जूरिचमा गई त्यहाँको संघीय प्रविधि संस्थानमा पढ्न जाने कुरा गरेपछि मात्र उनका बाबुआमाले चित्त बुझाए । तर ज्यूरिचको उक्त संस्थानमा प्रवेशको लागि दिइएको परीक्षामा आइन्स्टाइन फेल हुन पुगे । पछि उनी स्विट्जरल्याण्डकै अर्को शहर आराउस्थित एक स्कूलमा भर्ना भए ।
आराउमा आइन्स्टाइनले जर्मनीमा भन्दा भिन्दै र उत्साहप्रद वातावरण पाए । त्यहाँ म्युनिखको स्कूलमा जस्तो पाठ कण्ठस्थ पार्ने ढंगले मात्र पढाइँदैनथ्यो र विद्यार्थीहरुलाई स्वतन्त्र विचार गर्न पूर्ण छूट दिइन्थ्यो । त्यस्तै, विद्यार्थीहरुले शिक्षकहरुका साथमा आफ्ना रुचिका विषयहरुमा बहस–छलफल पनि गर्न पाउँथे । आराउको त्यो वातावरणबाट आइन्स्टाइन निक्कै नै प्रभावित भए । त्यतिखेर उनले गणित र भौतिकशास्त्रको अध्ययनमा आफूलाई समर्पित गरी भविष्यमा त्यस विषयको प्राध्यापक बन्ने योजना मनमनै बनाए ।
सन् १८९६ मा आइन्स्टाइनले आराउको स्कूलमा पढाइ सिध्याए । त्यसबाट ज्यूरिचको संघीय प्रविधि संस्थानमा भर्ना हुने बाटो खुल्यो र उनी तुरुन्तै त्यहाँ गणित तथा भौतिकशास्त्रको अध्ययन गर्न भर्ना भए । र, त्यहाँबाट सन् १९०० मा आइन्स्टाइनले स्नातक गरे । स्नातक गरेपछि आइन्स्टाइन स्विट्जरल्याण्डमा जागीर पाउन एक शहरबाट अर्को शहर चाहर्दै हिँडे । अन्तमा उनले सन् १९०२ मा बर्न शहरको एक पेटेण्ट अफिसमा तृतीय श्रेणीको विशेषज्ञको पदमा जागीर पाए । त्यस पदमा रही काम गर्दागर्दै नै आइन्स्टाइनले ज्यूरिच विश्वविद्यालयमा पी.एच.डि.को शोधपत्र बुझाए । त्यस शोधपत्रलाई विश्वविद्यालयले सन् १९०५ मा स्वीकृति दियो र आइन्स्टाइनलाई पि.एच.डि.को उपाधि प्रदान गर्यो । उक्त शोधपत्रको शीर्षक 'आणविक आयामहरूको नयाँ निर्धारणबारे' (A New Determination of Molecular Dimensions) भन्ने थियो ।
आइन्स्टाइनको ‘विशेष सापेक्षतावाद सिद्धान्त’ को अर्को शोधपत्र पहिलो पटक सन् १९०५ मा एक जर्मन पत्रिका ‘अन्नालेनडेर फिजिक’ मा छापियो । उनको त्यस शोधपत्र उनकै अक्षरमा ३० पृष्ठको थियो । पत्रिकामा छापिएर आएपछि त्यस सिद्धान्तलाई बर्लिन, पेरिस, लण्डनलगायत यूरोपभरिका वैज्ञानिकहरुले पढे । आइन्स्टाइनको सिद्धान्त नयाँमात्र थिएन, त्यसले भौतिकशास्त्रमा न्यूटनको युगलाई चुनौति दिएको थियो । त्यसैले विश्ववैज्ञानिक जगतमा तुरुन्तै तहल्का मच्चियो । र, आइन्स्टाइन महान वैज्ञानिकको रुपमा चाँडै नै स्थापित हुन पुगे । आइन्स्टाइनले उनलाई महान बनाउने सापेक्षतावादको पहिलो सिद्धान्त ‘विशेष सापेक्षतावादको सिद्धान्त’ आविष्कार गर्दा उनको उमेर उनन्तीस वर्षको थियो ।
पछि आइन्स्टाइनले सन् १९१५मा सापेक्षतावादको अर्को सिद्धान्त ‘सामान्य सापेक्षतावाद’को पनि आविष्कार गरे । त्यस्तै उनले ‘प्रकाशको विद्युतीय प्रभाव’ सिद्धान्तको पनि आविष्कार गरे । उनले यो सिद्धान्तको आविष्कार पनि सन् १९०५ मै गरेका थिए । आइन्स्टाइनलाई यसैमा पछि नोबेल पुरस्कार प्रदान गरियो ।
युवाकाल: सर्वाधिक ऊर्जाशील काल
हामीले चार जना महान वैज्ञानिकहरुले कसरी युवाकालमै महान वैज्ञानिक कामहरु गरे भन्ने कुरा माथि उल्लेख गर्यौं । ती वैज्ञानिकहरुले तीस वर्षभन्दा कम उमेरमै ती कार्यहरु गरेका थिए । उनीहरु अध्ययनको सिलसिलामा कुनैबेला असफल पनि भएका देखिन्थे । तर आफ्नो कामप्रति विश्वास, निष्ठा र मेहनतले उनीहरु पछि महान वैज्ञानिक बन्न सफल भए । वास्तवमा युवाकाल भनेको जीवनको सबभन्दा ऊर्जाशील, संवेदनशील र महत्वपूर्ण समय हो । त्यस समयमा यदि गम्भीर अध्ययन अनुसन्धान गरिन्छ भने त्यसले केही न केही उपलब्धी दिन्छ दिन्छ । हामीले वैज्ञानिकहरुको जीवनी र कार्यबाट पाउने शिक्षा यही नै हो ।
भूलसुधार
यस लेखमा पहिले उल्लेख भएको 'त्यही शोधपत्रमा नै आइन्स्टाइनको ‘विशेष सापेक्षतावाद’ को सिद्धान्त संलग्न थियो, जसले उनलाई पछि महान बनायो' भन्ने वाक्य त्रुटीपूर्ण रहेकोले त्यसलाई 'उक्त शोधपत्रको शीर्षक 'आणविक आयामहरूको नयाँ निर्धारणबारे' (A New Determination of Molecular Dimensions) भन्ने थियो ।' भनी क्षमायाचनासहित सच्याइएको छ ।
–दायित्वबोध
प्रतिक्रिया