मार्क्सको द्वन्द्वात्मक भौतिकवाद

मानव समाजको विकास र मार्क्सवाद–५

यो प्रकरणमा यहाँ मानव–समाजको विकासको सम्बन्धमा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबारे मात्र केही उल्लेख गरौं । भनौं, मानव–समाजको विकासको क्रममा मानव–चिन्तनमा देखा परेका आदर्शवाद र भौतिकवादको द्वन्द्वको क्रममा एउटा विकसित उन्नत चिन्तन वा दर्शनको रुपमा द्वन्द्वात्मक भौतिकवादको उदय कसरी भयो र त्यसको मूलभूत सार–सङ्क्षेप के हो भन्नेबारे मात्र केही उल्लेख गरौं ।

अध्यात्मवाद र आदर्शवादले त भौतिक पदार्थ, यथार्थ र वस्तुगत परिस्थितिलाई बेवास्ता गर्ने तथा अस्तित्वलाई नै नमान्ने हुनाले तिनले सत्य जान्न र खोज्न सक्दैनन् । भौतिकवादी विचारले पनि सही वैज्ञानिक आधार अर्थात् व्यवहारको कसीमा नजाँचीकन मनोगत विचारकै बलमा मात्र भौतिकवादी धारणा लियो भने त्यस्ता भौतिकवादी दर्शन पनि आदर्शवादी धापमा नै भासिन पुग्दछन् । प्राचीन कालमै भौतिकवादी दर्शनहरू निस्के पनि ती दर्शन भौतिक पदार्थ (matter) र पदार्थका स्वरुप र नियमसम्बन्धी ज्ञान राम्ररी लिन नसक्दा सत्यको समिपमा पुग्न सकेनन् । फलस्वरुप तिनले अध्यात्मवाद र आदर्शवादलाई परास्त गर्न सकेनन् ।

भौतिकवादी विचारले पनि सही वैज्ञानिक आधार अर्थात् व्यवहारको कसीमा नजाँचीकन मनोगत विचारकै बलमा मात्र भौतिकवादी धारणा लियो भने त्यस्ता भौतिकवादी दर्शन पनि आदर्शवादी धापमा नै भासिन पुग्दछन् ।

चार्वाकजस्ता प्राचीन कालका अन्य भौतिकवादीले र ईशाको सत्रौं–अठारौं शताब्दीका भौतिकवादीले भौतिकवादलाई कट्टरपन्थी अन्ध सिद्धान्तवादी दृष्टिकोणले हेरे, सबथोक भौतिक पदार्थबाटै निर्णय हुन्छ भन्ने धारणा लिए अनि मनको अस्तित्व र भूमिकालाई पनि उपेक्षा गरे । एकातिर अध्यात्मवाद र आदर्शवादले भौतिक पदार्थको अस्तित्व र भूमिकालाई उपेक्षा गरी सबथोक परमात्माको लीला हो भने । आदर्शवादीहरूले सबथोक विचारबाट निर्धारित हुन्छ, भौतिक पदार्थको केही भूमिका नै छैन भन्ने जिद्दी लिए । र, त्यसको ठीकविपरीत यान्त्रिक भौतिकवादीहरूले सबथोक भौतिक पदार्थले नै निर्धारित गर्दछ भन्ने अर्को छेउको उग्र धारणा लिई मनको भूमिकालाई पनि नकारे । उनीहरूका विचारअनुसार मन भन्ने चिज वा मनले गर्ने काम त भौतिक शरीरको क्रियाकलाप मात्रै हो, मनले गर्ने वा बुद्धिले गर्ने बौद्धिक कार्य भन्ने वस्तुको शरीरभन्दा अलग कुनै खास भूमिका नै हुँदैन । यो यान्त्रिक भौतिकवादी दृष्टिकोणले जन्माएको भनाइ भयो । वास्तवमा मन र मस्तिष्क भौतिक पदार्थकै उपज भए तापनि मनले पनि भौतिक पदार्थमाथि प्रभाव पार्न सक्दछ, विचारले पनि वस्तुगत अवस्थामाथि प्रभाव पार्न सक्दछ ।

यान्त्रिक भौतिकवादीहरूले जस्तै विचारको भूमिकालाई पूरै नकार्ने गल्ती पनि मार्क्सवादले गर्दैन ।

मार्क्सवादको सार भौतिकवाद भएता पनि यो यान्त्रिक भौतिकवादी विचारभन्दा भिन्न छ । भौतिक पदार्थलाई मूल–तत्त्व मान्ने हुनाले मार्क्सवादलाई भौतिकवादी दर्शन मानिन्छ । तर यान्त्रिक भौतिकवादीहरूले जस्तै विचारको भूमिकालाई पूरै नकार्ने गल्ती पनि मार्क्सवादले गर्दैन । मार्क्सको द्वन्द्वात्मक भौतिकवादले विचार र पदार्थको सम्बन्धको बारेमा भन्छ, ‘पदार्थ प्रमुख हो, त्यसपछि मात्र विचार आउँछ, पदार्थबाटै विचारको उत्पत्ति हुन्छ, तर यही विचारले पनि समाजमा गहिरो जरा लिएपछि भने पदार्थलाई नै वस्तुगत स्थितिलाई नै ठूलो प्रभाव पार्न सक्दछ ।’ यस दृष्टिले हेर्दा मार्क्सको द्वन्द्वात्मक भौतिकवादलाई मात्र सच्चा अर्थको र सही प्रकारको भौतिकवाद भन्न सकिन्छ ।

पहिलेका भौतिकवादी दार्शनिकहरु जत्तिकै महान् विचारक र तीक्ष्ण बुद्धि भएका प्रतिभा भए पनि विज्ञानको राम्ररी विकास भइनसकेको समयमा भएकाले उनीहरूले सही ढङ्गले वा त्रुटिहीन रुपबाट भौतिकवादलाई अगाडि बढाउन सकेनन् । साँच्चै भनौं भने कैयौं कारक–तत्त्वले गर्दा मार्क्सको द्वन्द्वात्मक भौतिकवाद आदर्शवादी धापबाट मुक्त हुन सकेको हो र भौतिकवादी यान्त्रिकताबाट पनि मुक्त हुन सकेको हो । ती महत्वपूर्ण कारकतत्त्व हुन्, सामन्तवादविरोधी सङ्घर्षमा पुँजीवादी जनतन्त्रले सामन्तवादलाई परास्त गरेर, समानताको विचार र आस्थालाई प्रचार गर्नु, मानवअधिकार र मानवतावादी विचारलाई क्रान्तिकारी पुँजीवादले अगाडि बढाउनु, पुँजीवादले ल्याएको औद्योगीकरणबाट सर्वहारा वर्गको जन्म हुनु, विज्ञानको विकास द्रुतगतिले अगाडि बढ्दै गई चार्ल्स डार्बिनलगायतका वैज्ञानिकले विकासवादी सिद्धान्तको आविष्कार गर्नु, मानव सभ्यताको सुरुदेखि मानिसले स्वाधीनताका लागि चलाइएको सङ्घर्ष उच्चतम स्थितिमा पुग्नु आदि ।

भौतिकवादले द्वन्द्वात्मक तरिकामाथि विश्वास गर्दछ । द्वन्द्वात्मकताको ठीक अर्थ आत्मतत्त्व ज्ञानले जस्तै कुनै पनि प्रक्रियाको अध्ययन गर्दा समाज वा कुनै पनि वस्तु स्थिर भनेर मान्दैन, परिवर्तनशील संसारमा सबथोक निरन्तर बदलिरहेको छ भन्ने कुरालाई ध्यान दिन्छ ।

अर्को कुरा, मार्क्सको भौतिकवादलाई द्वन्द्वात्मक भौतिकवाद भनी किन नामकरण गरियो त ? यसको कारण के हो भने भौतिकवादले द्वन्द्वात्मक तरिकामाथि विश्वास गर्दछ । द्वन्द्वात्मकता (dialectics)को ठीक अर्थ आत्मतत्त्व ज्ञान (metaphysics) ले जस्तै कुनै पनि प्रक्रियाको अध्ययन गर्दा समाज वा कुनै पनि वस्तु स्थिर भनेर मान्दैन, परिवर्तनशील संसारमा सबथोक निरन्तर बदलिरहेको छ भन्ने कुरालाई ध्यान दिन्छ । केही उदाहरणबाट यो कुरा स्पष्ट गरौं ।

विभिन्न राजनीतिक शक्तिको बलको कुरा गर्दा अहिलेको स्थितिलाई हेरेर निष्कर्षमा पुग्ने होइन, किनभने अहिले कमजोर देखिए पनि उदीयमान शक्तिलाई नै बलियो मान्नुपर्दछ । उदाहरणका लागि, राणाशासन भनौं वा कुनै बलियो सैनिक तानाशाही तत्काल जतिसुकै बलियो भए पनि जनतान्त्रिक शक्तिहरू तीव्र गतिले वृद्धि हुँदै गएको अवस्था हेर्दै हामीले प्रतिगामी तानाशाही शक्ति छिट्टै पतन हुन्छ भनी मान्नुपर्दछ ।

परिवर्तनमाथि विचार गर्दा परिवर्तन कसरी हुन्छ, परिवर्तनको प्रक्रिया कुन नियमले चल्दछ भन्ने कुरा जान्नुपर्दछ । परिवर्तनका तीन वटा नियम छन्:

१)      परिवर्तन भनेकै वा प्रगति भनेकै लेनिनले भन्नुभएझैं ‘दुई परस्पर विपरीत वस्तुको सङ्घर्षबाट प्रगति आउँछ ।’

२)      परिवर्तन स्थिर रुपले एउटै गति वा एकै खालले लगातार जाने होइन । परिमाणात्मक परिवर्तन हुँदै गएर एक स्थितिमा पुगेपछि गुणात्मक परिवर्तन हुने हो ।

३)      निषेधको निषेध (negation's negation) बाट विकासको क्रम अगाडि बढ्दै गर्दा पनि त्यही क्रममा निषेध हुन्छ र यो निषेधपछि विकास हुन्छ । समाजभित्रका घटना र प्रक्रियामा, भौतिक जगत्मा र प्रत्येक प्रक्रियामा यही नियम लागू हुन्छ । भौतिक जगतमा निरन्तर परिवर्तन र विकासको प्रक्रिया चलिरहन्छ । निरन्तर परिवर्तन भनेकै पुरानोको नाश भई नयाँ जन्म हुने प्रक्रिया हो । बोटबिरुवा, पशु, प्रकृति सर्वत्र यो नियम लागू हुन्छ । पुरानोको नाश वा पतनको बीउ पुरानोमै हुन्छ । पुँजीवाद नाश हुने कारण त्यहीँभित्रको अन्तर्विरोध हो । अङ्ग्रेजी साहित्यका प्रसिद्ध कवि शेलीले भन्नुभएको थियो – 'Every system has a seed of its own decay' (जुनसुकै व्यवस्थामा पनि आफ्नो अन्त्यको वा विकासको बीउ त्यसैभित्र हुन्छ) । पुँजीवादले औद्योगीकरणलाई तीव्र गतिले अगाडि बढायो । त्यसबाट औद्योगिक मजदुर वा सर्वहारा वर्गको जन्म भयो । त्यही सर्वहारा वर्गको आन्दोलनले पुँजीवादी व्यवस्थालाई धराशयी पार्दछ ।

पुँजीवाद नाश हुने कारण त्यहीँभित्रको अन्तर्विरोध हो । अङ्ग्रेजी साहित्यका प्रसिद्ध कवि शेलीले भन्नुभएको थियो 'Every system has a seed of its own decay' (जुनसुकै व्यवस्थामा पनि आफ्नो अन्त्यको वा विकासको बीउ त्यसैभित्र हुन्छ) ।

मार्क्स र एङ्गेल्सले लेखेको ‘कम्युनिस्ट घोषणापत्र’को अध्याय १ (‘पुँजीपति र मजदुर’ शीर्षकको अध्याय) को अन्तिम वाक्यमा भनिएको छ, ‘आधुनिक उद्योगको विकासले पुँजीवादी उत्पादन र शोषणको आधारलाई नै तहसनहस पार्दछ । तसर्थ, मुख्य कुरा के भने पुँजीपति वर्गले आफ्नो चिहान खन्नेहरूलाई जन्म दिन्छ । त्यस वर्गको पतन र सर्वहारा वर्गको विजय अनिवार्य छ ।’

भौतिक पदार्थ वा वस्तुको परिवर्तनका यी तीन सिद्धान्तलाई द्वन्द्वात्मक भौतिकवादका प्रमुख विषय, अझ द्वन्द्वात्मक भौतिकवादका तीन सिद्धान्तसम्म पनि भन्ने गरिन्छ ।

प्रस्तुत विचार हामीले प्रसिद्ध मार्क्सवादी विचारक प्राध्यापक माणिकलाल श्रेष्ठको पुस्तक 'मानव समाजको विकासबारे मार्क्सवादी दृष्टिकोण'बाट लिएका हौं । हामी उक्त पुस्तकका बाँकी अंशहरु क्रमश: प्रकाशित गर्दै जानेछौं ।