छापामार युद्धका महानायक अगस्टो साडिनो

ल्याटिन अमेरिकामा आधुनिक गुरिल्ला आन्दोलनका प्रणेता थिए अगस्टो साडिनो। १९२० को दशकमा निकारागुवामा उनले विद्रोह सुरु गरेका थिए । त्यसबेला अमेरिकाले निकारागुवामा सैनिक हस्तक्षेप गरेको थियो। त्यसका विरुद्ध साडिनोले जम्मा २९ जना साथीहरुका साथ अमेरिकी सेनाका विरुद्ध लडन थाले। अमेरिकी सेनासंगको प्रत्यक्ष लडाइँमा साडिनोको समूह टिक्न सकेन। उनका जम्मा ६ जना साथीहरु बाहेक अरु सबैको मृत्यु भयो। त्यस पछि साडिनोले नयाँ तरिका अपनाएर लड्न थाले। साडिनोको नयाँ रणनीति वास्तवमा छापामार युद्ध  थियो । त्यसका मुख्य तौरतरिकारहरु निम्नानुसार थिए–

-दुश्मनको बलियो र ठूलो शक्ति भएको ठाउँमा सकेसम्म नलड़नु

-कुनै ठाउँलाई कब्जा गरेर त्यो ठाउँमा टिकेर बस्न  नलड्ने बरु आक्रमण गरेर भाग्ने रणनीति अपनाउने

-सानो समुहमा बस्ने ताकि शत्रुले थाह नपाओस्

- भौगोलिक अवस्थाको राम्रो जानकारी र आम जनतासंगको राम्रो सम्बन्धमा आधारित भएर दुश्मनलाई झुक्याउने

यिनै रणनीतिमा आधारित लडन थालेपछि साडिनोको विद्रोही दलको व्यापक बिस्तार भयो। उनको विद्रोही सेनाको संख्या ६ जना बाट ६००० सम्म पुग्यो। साडिनोको नाम त्यो समय विश्व भर अत्याधिक चर्चित बन्यो। १९२८ मा चीनको राजधानी पेकिङ्ग कब्जा गर्ने कोमिन्ताङ्ग सेनाको नाम  साडिनो डिभिजन राखिएको थियो।

खुलायुद्धमा अभ्यस्त अमेरिकालाई साडिनोको विद्रोही समुहले आफ्नो गुरिल्ला युद्धकला–कौशलले हावाकावा खेलायो । आखिरमा १९३० को दशकको महामन्दीपछि अमेरिकी सेनाहरु निकारागुवाबाट घर फर्के। तर फर्किनुअघि अमेरिकाले निकारागुवामा नेसनल गार्ड भन्ने सेना गठन गर्यो। यही नेसनल गार्डले  निकारागुवामा समोज़ाको तानाशासी शासन सुरुवात गर्यो।

अमेरिकी सेना फर्केपछि साडिनो युद्धविराम र शान्तिवार्ताको लागि तयार भएका थिए। यही क्रममा १९३४ मा उनि निकारागुवाको रास्ट्रपति भवनमा आफ्ना साथीहरुसहित रात्रिभोजमा गएका थिए। रात्रिभोज खाएर रास्ट्रपति भवनबाट निस्किनेबित्तिकै गेटमै नेसनल गार्डका सैनिकहरुले साडिनोलाई समातेर गोली हानी हत्या गरे। समोजाको सरकारले साडिनोको सम्झनासमेत निकारागुवाको इतिहासबाट मेट्न खोज्यो। बिस्तारै उनलाई संसारले बिर्सिदै गयो। तर उनी निकारागुवाका जनताको मन र मस्तिस्कमा दन्त्यकथाको नायक जस्तै बनेर  बसिरहे।

https://cdn1.img.sputniknews.lat

१९६० को दशकमा निकारागुवाका युवा र बिद्यार्थीहरुले साडिनोका नाममा  स्याण्डीनिस्टा राष्ट्रिय मुक्ति मोर्चा (FSLN ) नामक बिद्रोही संगठन निर्माण गरे। उनीहरु फेरि साडिनोको विद्रोही समुहले विगतमा जंगल र पहाडहरुमा निर्माण गरेको आधार ईलाकाहरुमा फर्के।

यी नवीन विद्रोहीहरुले त्यहाँ बृद्ध भैसकेका थुप्रै साडिनोका सहयोद्धाहरु भेटे। उनीहरु युवा विद्रोहीहरुलाई सहयोग गर्न तत्पर थिए। त्यसै बेला एकजना स्याण्डीनिस्टा विद्रोही एउटा गरिव र बृद्ध किसानको झुपडीमा पुगे। नी बुढा किसानले स्याण्डीनिस्टा विद्रोहीलाई देखेर मुस्कुराउँदै भने- "मलाई थाहा थियो तिमीहरु फेरि फर्केर आउनेछौ भनेर। तिमीहरुले अघिल्लो पटक छोडेर गएको सामान मैले सुरक्षित राखिदिएको छु।" त्यसपछि ती बृद्ध किसानले आफ्नो खेतको एक ठाउँमा खनेर एउटा राइफल निकाले र विद्रोहीको हातमा थमाई दिए। त्यो राइफल ५० वर्ष अगाडि उनको बारीमा गाडिएको थियो, जब  साडिनो आफ्नो विद्रोही समुहको साथ ती पहाड र जङ्गलहरुमा घुम्ने गर्थे।

वास्तवमै, सबैतिर निभे जस्तो लागे पनि विद्रोह र क्रान्तिको फिलंगो खरानीभित्रको आगो जस्तै हुन्छ । त्यसको बीउलाई कहीँ न कहीँ कसैले बचाइ राखेको हुन्छ !