युद्धप्रसाद मिश्रका केही कविताहरु

सन्दर्भ: गणतन्त्रवादी कवि मिश्रका ३४ औं स्मृति दिवस (फागुन ६)

कुन गीत गाऊँ?
यो छिन्न-भिन्न उरले कुन गीत गाऊँ ?
यी भाव भग्नहरू कुन् रितले सजाऊँ ?
पारौं म कोमल कसोरि कठोरलाई
उद्दीप्त भै रगतका सरिता बगाई


हुन्छन् प्रयासहरू दुर्बल भै हतास
सम्पन्नताबिच ठूलो चलदा बतास
उतुङ्ग हुन्छ उर वारिधिभित्र छाल
सुन्दैन बिन्ति अहिले बहिरो छ काल


जागर्तिको प्रबलता सहसा नुहुन्छ
राहू उठी हृदयको शशिलाई छुन्छ
उत्सर्ग खण्डित भई अनुपात हुन्छ
सानन्द सुन्दर विषे अभिघात हुन्छ


पाषण या कठिन लौहसमान साहो
पर्दा कुनै मिलनका बिचमा तगारो
वारी रहन्छु म अभीष्ट रहन्छ पारी
मेरो अटूट गतिको प्रतिभा बिगारी

हेर्यो यहाँ जन-परिश्रम नाश हुन्छ
मानीसका रगतको उपहास हुन्छ
प्रासाद भग्न म पुनः कसरी सजाऊँ
यो छिन्न-भिन्न उरले कुन गीत गाऊँ ?

 

मसानको आवाज
डढेको लास चिच्याई चितादेखि उठ्यो फेरि
जलेको देशवासीको कदम् चर्को उठ्यो फेरि

रगत सिँगान गरी हाम्रो जगाएको बगैंचामा
मरुभूमि गर्न सामन्तीहरूको दल जुट्यो फेरि

सबैले न्याय पाउने बनाएको थियो देश
खरानी त्यो कुरा भयो सब धुवाँ कालो छुट्यो फेरि

कतै डाँका कतै चोरी जनानामाथि बलात्कार जोरी
बढेको घूसखोरीले हरे ! दुनियाँ लुट्यो फेरि

अनादर भूमिको नसक्ने भैसकें खप्न
अवस्था देशको देखी मुटु मेरो फुट्यो फेरि

पुराना जीर्ण थाड्नाले लपेट्ने देहका टुक्रा
करोडौँ दुःखीका खोला रगतको त्यो सुक्यो फेरि

गरेको हैन केवल हुँ दिने बलिदान केवल काया हो
म यौटा देशको आत्मा भनी दाह्रा किट्यो फेरि

सहिदको रक्त जिन्दावाद रहोस् कायम सधैँ आजाद
नहोस् नेपाल बरबाद भनी डड्ङ्का पिट्यो फेरि

 


युग-महोत्सवको गीत
आओस् सन्देश यस्तो, घर घर सबको दुःख दारिद्र्य छुट्ने
हारेको जन्ममाथि मनुज मनुजमा न्यायको बाँध फुट्ने
पाओस् तातो नशाको रगत रगतले शक्ति- जञ्जीर टुट्ने
आगो सल्कोस् दबेको उथल-पुथल भै च्यानमा ज्यान उठ्ने

जस्ले, निभ्दै ननिभ्ने कदम-कदममा शक्ति देओस् जगाई
हामीमाथी उठेका महल- महलका भूत काला भगाई
हाम्रा औजार नाचून् गतिमय पसिनाको बगाएर धारा
हाम्रोमाथी उदाऊन् दृढतर सुकिला चम्किँदै भाग्य- तारा

झल्केको होस् सबैको असह हृदयमा एक पाञीन तातो
नाघेको दुर्ग तोडी द्रुत सतत क्रियाशील भै ढिक्की, जाँतो
भाई भाईहरूका जनम- -धरतिमा पाइला हुन् अगाडि
ढल्दै जाऊन् किनारा अभिनव युगको आइ उर्लेर बाढी

भित्रका श्री ढलेका
बुद्धिजीवी कहाई महल महलका द्वारमा गै उठेका
दर्बारी बन्न पाए जुनी सफल हुने भ्रष्ट गठ्मा जुटेका
भित्री आँखा फुटेका अलिकति धनको पाइ हिस्सा लुटेका
सम्झी माथी उठेका अहमबिच चढी तथ्यदेखि छुटेका

गर्नाले नीच वृत्ति नियति अधम भै भित्रका श्री ढलेका
कोठे विद्वान केवल् बहुजनहितको भावनाले छलेका
देशद्रोही भएको कटु अनुभवका पीर पोली गलेका
माथी माथी उठेका जनप्रतिनिधिका चित्तमा क्षोभ ले का

राखेको भै चलाई निशिदिन जीविका देशको घाउबाट
गर्थ्यो तिन्को जुनीले किन हृदय धुने ऐतिहासीक आँट
बुद्धिबल् गिर्न जाँदा चरणकमलमा दासताले भिजेका
धोकाको मूर्ति बन्दै क्षुधित मनुजका गै मुटुमा बिझेका

गर्ने फोस्रो जमर्को झुपडिसित छुटी बन्न साहित्यकार
बुद्धिमत्ता गुमेका कमलबिच तुल्याई सडेका विचार
हाम्ले ती तत्त्वलाई दिनु छ पहिले ध्वस्त पारी उखाडी
ऐले हामी उठेका अभिनव युगको उर्लंदो बाढि आई

–युद्धप्रसाद मिश्रका काव्य रचनाहरूबाट साभार