माओवादीलाई आतङ्कवादीको संज्ञा दिनुको कुनै अर्थ छैन

माओवादी जनयुद्ध शुरु हुँदा यो वामपन्थी राजनीति गरिरहेका माओवादी इतर राजनीतिक दलहरुका लागि उग्रवादी भड्काव थियो । गैर वामपन्थी राजनीति गरिरहेका तथा सत्तामा रहेका दलहरुको नजरमा भने यो आतंकारी गतिविधि थियो । वास्तवमा माओवादी जनयुद्ध के थियो ? वामपन्थबारे गहिरो अध्ययन गरेका तर गैरवामपन्थ राजनीतिमा सक्रिय नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीको प्रस्तुत लेखले माओवादी जनयुद्धका बारेमा सम्यक दृष्टिकोण प्रस्तुत गरेको पाइन्छ । जनयुद्ध दिवस– फागुन १ को सन्दर्भमा उक्त लेखलाई हामीले साभार प्रस्तुत गरेका छौं । –दायित्वबोध

आज नेपालका आम बुद्धिजीवीहरू माओवादी समस्यालाई मुलुकको केन्द्रीय समस्या मानिरहेका छन् । तर माओवाद मुलुकका केही आधारभूत र गम्भीर समस्याको कारण हो अथवा अन्य समस्याको कारणले उत्पन्न परिणाम हो ? माओवादी समस्यालाई म आज समाजमा विद्यमान गरिबी, बेरोजगारी, भ्रष्टाचार र दुराचारको परिणाम मान्दछु । यी समस्याहरू यथावत् रहुञ्जेल माओवादी समस्यालाई एक्लो समस्याको रूपमा हेर्न सकिँदैन । माओवादी समस्या मुलुकका समस्याको कारण होइन, यो हिंसात्मक र अराजकतावादी आन्दोलनको परिणाम हो ।

काँग्रेसकै कतिपय नेताहरूले यसलाई आतङ्ककारीको संज्ञा दिएका छन् । अराजकतावाद पनि एक प्रकारको आतङ्कवाद हो । अराजकतावाद वा आतङ्ककारीको संज्ञा दिएर समस्याको कारण र परिणामलाई हलुका ढङ्गले हेर्न सकिँदैन । नेपाली काँग्रेसले कुनै समय विमान अपहरण गरेको थियो । के त्यो आतङ्कवादी कार्य थिएन ? सीमा पारी बसेर हामी नेपालमा बम बारुद फ्याँक्थ्यौँ । कसरी हामी त्यसको औचित्य ठहऱ्याउँथ्यौँ ? विश्वमा विभिन्न राजनीतिक आन्दोलनकारीले यस किसिमको कार्यपद्धति अपनाएका छन् । प्यालेष्टाइनको अराफात आन्दोलन र आइरिसहरूको विद्रोह उदाहरण हुन् । यस्ता आन्दोलनलाई कुनै समय अराजकतावाद या आतङ्कवाद भनिन्छ । सफल भए त्यसैलाई क्रान्ति भनिन्छ । अङ्ग्रेजीमा एउटा प्रसिद्ध कथन छ, “असफल हुँदा यस्तो हिंसात्मक आन्दोलन राजद्रोह हुन्छ, सफल हुँदा क्रान्ति हुन्छ ।” त्यसैले माओवादीलाई आतङ्कवादी वा यस्तै संज्ञा दिनुको कुनै अर्थ छैन ।

माओवादीका जुन सैद्धान्तिक, वैचारिक र राजनीतिक पक्ष छन्, त्यसको अध्ययन र विश्लेषण गरौं र कमीकमजोरीलाई नङ्ग्याउँ । यसो गर्नु ठीक छ, यो गर्नैपर्छ। तर आतङ्कवादीको विशेषण दिएर केही पनि हुँदैन । त्यसैले म त्यस्तो विशेषण दिने पक्षमा छैन । माओवादी जे हो, त्यसलाई त्यही रूपमा हेर्नुपर्छ।
यो हाम्रो मुलुकमा विद्यमान अशिक्षा तथा अप्रजातान्त्रिक र ज्यादै कमजोर राज्यसत्ताले उत्पन्न गरेको एउटा सानो समस्या हो । नेपाली काँग्रेसभित्रकै धेरै नेताहरू र देशका कयौं बुद्धिजीवीहरूको अहिले मुलुकको सबैभन्दा ठूलो समस्या नै यही हो भन्ने विश्लेषण छ । उता माओवादीहरू प्रतिदिन आफ्नो आन्दोलन विकसित हुँदै गएको ठान्छन् । अनि चाँडै नै सफल हुने ठान्नु पनि उनीहरूको एक प्रकारको आत्मरति हो ।

माओवादी जे हो, त्यसलाई त्यही रूपमा हेर्नुपर्छ। यो हाम्रो मुलुकमा विद्यमान अशिक्षा तथा अप्रजातान्त्रिक र ज्यादै कमजोर राज्यसत्ताले उत्पन्न गरेको एउटा सानो समस्या हो ।

माओवादी नेताहरू यो राज्यसत्ताको चरित्र दमनकारी छ, यसबाट मुलुकमा देखापरेका समस्याहरूको ठोस समाधान हुन सक्दैन भनेर बारम्बार नेपाली राज्यसत्ताको चरित्रलाई इङ्गित गरिरहेका छन् । त्यस्ता किसिमका कुरासँग म पनि धेरै हदसम्म असहमत छैन । वास्तवमा हाम्रो राज्यको आधार अत्यन्त सङ्कीर्ण छ । यदि राज्यसत्ताले व्यापक जनाधार बनाउन सकेन भने र राज्यसत्ताको प्रजातन्त्रीकरण हुन सकेन भने माओवादीको अपेक्षाकृत विकास हुन सक्छ । होइन भने राज्यसत्ताको अलिकति प्रजातन्त्रीकरण हुनासाथ माओवादीको राजनीतिक आन्दोलन अगाडि बढ्न सक्दैन । किनकि यो आन्दोलनमा यति ज्यादा विसङ्गति, अन्तर्विरोध छन्, यसका दार्शनिक र राजनीतिक प्रस्तावना यति ज्यादा कमजोर छन् कि यो अघि बढ्न सक्दै सक्दैन ।

राज्यसत्ता कमजोर हुँदा कस्तो विचित्रको अवस्था पनि आउँछ भन्ने कुरा भारतको आन्ध्र प्रदेशमा देख्न सकिन्छ । आन्ध्र प्रदेशको जङ्गलमा एकातिर 'पिपुल्स वार ग्रुप' छ भने अर्कातिर 'विरप्पन' जस्ता तस्कर पनि बाँचिरहेका छन् । म पिपुल्स बाँच्नुलाई विरप्पन बाँच्नुभन्दा उस्तो फरक मान्दिनँ ।

डाँकुहरूले गरीबलाई लुट्दैनथे, धनीलाई मात्र लुट्थे । डाँकु मानसिं, लखनसिं आदि आफ्नो समयका किंवदन्ती थिए । मैले यहाँ भन्न के खोजेको भने नेपालमा व्याप्त शोषण, उत्पीडन, अन्याय, गरिबीका विरुद्ध लडिरहेका छन् भनेर माओवादीहरू किंवदन्ती भएका छन् ।

तर पिपुल्स वारको चिन्तन नै विरप्पनको चिन्तन हो भन्न सकिँदैन। धेरैलाई याद होला, संसारमा कुनै समय डाँकुहरू ज्यादा लोकप्रिय थिए । डाँकुहरूले गरीबलाई लुट्दैनथे, धनीलाई मात्र लुट्थे । डाँकु मानसिं, लखनसिं आदि आफ्नो समयका किंवदन्ती थिए । मैले यहाँ भन्न के खोजेको भने नेपालमा व्याप्त शोषण, उत्पीडन, अन्याय, गरिबीका विरुद्ध लडिरहेका छन् भनेर माओवादीहरू किंवदन्ती भएका छन् । उनीहरू आफ्नो सैन्य बलको विस्तारको दावा पेश गरिरहेका छन् । त्यसबाट उनीहरूको सैन्य बलको विस्तारभन्दा पनि दशकौँदेखि खोक्रिएको र कमजोर बनेको हाम्रो राज्यसत्ताको कमजोरी उजागर भएको छ । दुईओटा शक्ति लड्दा एउटा शक्ति हतप्रभ भयो भन्दैमा त्यो कमजोर भन्ने छैन । यसको उदाहरण पेश गर्नु असान्दर्भिक हुने छैन । सन् १९६० को दशकमा चीन र भारतबीच लडाइँ भयो । त्यो युद्धमा भारत पराजित भयो । त्यसको अर्थ चीनसँग उच्चकोटिको शक्ति थियो भन्ने हैन । त्यो लडाइँमा के कस्ता सामयिक, रणनीतिक असफलता भए, ती अलग्गै चर्चाका विषय छन् । कसको गल्ती थियो, त्यो अहिले पनि खुला प्रश्न छ । तर त्यही चीनले सन् १९७० को दशकमा भियतनाम जस्तो सानो देशसँग युद्ध गर्दा ऊ लज्जित भएर फर्किनु पर्यो । मेरो भनाइको सार हो, हाम्रो राज्यसत्ताको आधार अत्यन्त सङ्कीर्ण, सङ्कुचित र कमजोर छ, राज्यसत्ताको प्रजातन्त्रीकरण भएको छैन, जसले गर्दा मुठ्ठीभर क्रान्तिकारीहरूले यसलाई चुनौती दिइरहेका छन् ।

क्रान्तिकारीको पहिलो परिभाषा, क्रान्तिकारीको शक्ति उसको अरूलाई मार्ने क्षमताबाट होइन आफू मारिनसक्ने क्षमताबाट उत्पन्न हुन्छ । क्रान्तिकारी त्यो हो, जो एउटा उद्देश्यका लागि मर्न तयार हुन्छ । उसले कति मार्न सक्छ, त्यो ठूलो कुरा होइन ।

त्यसो भए के माओवादीलाई क्रान्तिकारी मान्ने हो त ? यो प्रश्न पनि उठ्न सक्छ । आज माओवादी र प्रहरीबीच मुठभेड भैरहेको छ । यसमा शङ्का छैन कि हतियार प्रहरीसँग राम्रो छ । तर माओवादीले किन र कसरी यत्रो सनसनी फैलाएका छन् ? यहाँ क्रान्ति के हो, क्रान्तिकारी को हो ? यसलाई परिभाषित गरिनुपर्छ । क्रान्तिकारीको पहिलो परिभाषा, क्रान्तिकारीको शक्ति उसको अरूलाई मार्ने क्षमताबाट होइन आफू मारिनसक्ने क्षमताबाट उत्पन्न हुन्छ । क्रान्तिकारी त्यो हो, जो एउटा उद्देश्यका लागि मर्न तयार हुन्छ । उसले कति मार्न सक्छ, त्यो ठूलो कुरा होइन । मानिस मार्न, सायद प्रहरी र सेनाका मानिसहरू ज्यादा दक्ष हुन्छन् । उनीहरूको निसाना ज्यादा लाग्छ। मर्न तत्पर रहनु क्रान्तिकारीको मुख्य कुरा हो ।

यी मेरा शब्द होइनन्। यी लेनिनसँग मतभेद राख्ने ट्रटस्कीका भनाइ हुन्। मर्न सक्ने इच्छाबाट ऊ कहिले खुदरामा बोस, भगत सिं, दशरथ चन्द, रामलक्ष्मण आदि जस्तै शहीद हुन्छ । त्यही शक्तिबाट कहिले अरू मार्छ । त्यसैले माओवादका नाममा जे जति आदर्शवादी युवकहरू ढुक्कसँग मर्न तत्पर छन्, तिनलाई म क्रान्तिकारी होइनन् भन्न सक्दिनँ । उनीहरूको दार्शनिक प्रस्तावना, उद्देश्य, तरिका आदि सबै गलत होला तर आत्मगत रूपमा उनीहरू क्रान्तिकारी शक्ति हुन् भन्ने कुरा म मान्दछु । मार्क्सवादीकै शब्दमा आत्मगत रूपमा, उनीहरू क्रान्तिकारी लडाइँ लडिरहेका छन् । तर उनीहरूका क्रियाकलापले मुलुकको वस्तुगत परिस्थिति कता धकेलिएको छ यसलाई उनीहरूले बिर्सेका छन् । उनीहरू उग्रवामपन्थी र अराजकतावादी हुन् । यी कुरा मैले मात्र होइन नेपालका मार्क्सवादी, लेनिनवादीहरू मोहनविक्रम सिंह, संयुक्त जनमोर्चा आदिले पनि भनिरहेका छन् ।

नेपाली काँग्रेस र यसका नेता कृष्णप्रसाद भट्टराईले विरासतमा पाएको सरकार र राज्य पञ्चायतमा जति जर्जर भएको थियो, बहुदल आए यताका ७/८ वर्षमा झन् दिशाविहीन भएको छ ।

हाम्रो सरकार र राज्य आधारभूत रूपमा अत्यन्त कमजोर संयन्त्रका रूपमा छन् । अब यसको कारण खोतलौं । नेपाली काँग्रेस र यसका नेता कृष्णप्रसाद भट्टराईले विरासतमा पाएको सरकार र राज्य पञ्चायतमा जति जर्जर भएको थियो, बहुदल आए यताका ७/८ वर्षमा झन् दिशाविहीन भएको छ । हामीकहाँ त राज्यसत्ताको चरित्रबारे छलफलै हुँदैन । यसका दार्शनिक र राजनीतिक पक्षमा छलफल आवश्यक छ । र आगामी दिनमा बहसमा जानु पनि पर्छ । कुनै पनि राज्यले समाजमा कस्तो र कति व्यापक रूपमा जरा गाड्न सक्छ, भन्ने कुरा उल्लेखनीय हुन्छ । तर यसलाई अधिकांशले बुझेका छैनन् । नेपाल राज्यको एकीकरण भएदेखि आजसम्म अत्यन्त सानो समूह ( उच्च जातिका र त्यसमा पनि सानो समूह) ले राज्यको सञ्चालन गरेका छन् । प्रहरी, सेना, निजामती सेवा आदि कुनै पनि यसको अपवाद छैन । इतिहासमा कहिलेकाहीँ सानो समूहले मात्र शासन गर्छ । इतिहास जहिले पनि 'सिर्जनात्मक अल्पसङ्ख्यक' ले बनाउँछ भन्ने सिद्धान्त पनि छ । तर म त्यो सिद्धान्त मान्दिनँ ।

नेपाल राज्यको एकीकरण भएदेखि आजसम्म अत्यन्त सानो समूह ( उच्च जातिका र त्यसमा पनि सानो समूह) ले राज्यको सञ्चालन गरेका छन् । प्रहरी, सेना, निजामती सेवा आदि कुनै पनि यसको अपवाद छैन । इतिहासमा कहिलेकाहीँ सानो समूहले मात्र शासन गर्छ ।

जुनसुकै सिद्धान्तमा पनि समानता, न्यायको कुरा हुन्छ । हामीकहाँ बहुदल आएपछि कर्मचारी नियुक्ति जे जस्तो प्रक्रियाबाट हुनुपर्थ्यो, त्यसो नभएर सायद पञ्चायतकालमा भन्दा पनि गलत ढङ्गबाट भए । मन्त्रीको नातेदार वा मतदाता हो भन्दैमा चन्द्रशमशेरको पालामा जस्तै कापी मिलाएर पास गराउने परम्पराले आज प्रहरी, गुप्तचर, सेना आदिको संरचना जीर्ण हुन पुगेको छ । सारा दक्षिण एसियामा झैँ नेपालमा कृत्रिम राज्ययन्त्रको निर्माण भयो । नियुक्ति, सरुवा, बढुवा आदिमा जे-जस्ता विकृति समाप्त हुन्छन् भन्ने आशा थियो, बहुदल आएपछि पनि पुरानै विकृति दोहोरिए । क्रान्तिकारी मित्रहरू प्रहरीको संरचनाबारे छलफल गर्न चाहँदैनन्, उनीहरू प्रहरी महानिरीक्षक कसलाई बनाउने भनेर परेसान रहन्छन् । सचिव नमिलाई मन्त्री आफूले चाहेको काम गर्न चाहँदैन । नमिलाउँदा पनि सही काम गर्न सक्छ तर नमिलाई गलत काम गर्न सक्दैन।

मन्त्रीले गल्ती गर्दा त्यो औंल्याउने निजामती सेवाको कर्तव्य हो। कालीदास कोइरालाले वीरशमशेरको पालामा यसरी नै राय बझाएका थिए भन्ने कुरा वीपी कोइरालाको आत्मवृत्तान्तमा उल्लेख छ । तर वीपीका अनुयायीहरूले निजामती सेवालाई यसरी प्रोत्साहन गरेका छैनन् । फलस्वरूप सचिव मन्त्रीसँग राय बझाउन उत्सुक छैन । एक त, हामीले यस्तै राज्ययन्त्र पायौं, त्यही पाएको राज्ययन्त्रलाई पनि यताका वर्षमा झन्- झन् विपथगामी बनायौँ । सस्तो संस्कृति र ज्यादै कमजोर राज्ययन्त्र भएपछि कुन बलमा भ्रष्टाचार निर्मूल गर्ने ? कुन बलमा 'माओवादी समस्या' सँग जुध्ने ? कुन शक्तिमा तस्करसँग भिड्ने ? अपराधकर्मीको कस्तो अपराध नियन्त्रण गर्न यो राज्ययन्त्र सफल भएको छ त ?

सस्तो संस्कृति र ज्यादै कमजोर राज्ययन्त्र भएपछि कुन बलमा भ्रष्टाचार निर्मूल गर्ने ? कुन बलमा 'माओवादी समस्या' सँग जुध्ने ? कुन शक्तिमा तस्करसँग भिड्ने ?

संसारमा राज्यसत्ताबारे खासगरी २० वर्षयता धेरै बहस भइसकेको छ । सही र सफल राज्य कसरी हुन सक्छ भन्ने बारेमा राज्यका प्रति मेरो आफ्नै दृष्टिकोण छ। प्रत्येक राज्य दमनको यन्त्र हो । तर प्रत्येक राज्यले दमन मात्रै गर्दैन । दमन मात्र गरेर त्योसँग नाङ्गो रूपले लड्ने रुढीवादी मान्यता अरूको त कुरै छाडिदिऊँ, स्टालिनले पनि राख्दैनथे होला । सेना नै सर्वोच्च हो भन्ने माओवादी आन्दोलन धेरै समय चल्दैन । यो एक प्रकारको राजनीतिक गल्ती पनि हो। दोस्रो, आज राष्ट्रको सारा ध्यान यो समस्याको पहिचान गर्न र समाधान गर्न गम्भीर बहस र वार्ता गर्नेतिर खिचिनुपर्थ्यो । तर विपक्ष र काँग्रेसभित्रकै शक्ति पनि यस तथाकथित समस्याका आडमा आ-आफ्नो ढङ्गले सत्ताको राजनीति गरिरहेका छन् । यस्तो कमजोर राज्यसंयन्त्रको शीर्षस्थानमा बसेका प्रधानमन्त्री भट्टराई अथवा गृहमन्त्रीका बारेमा आमधारणा र प्रतिक्रिया के छ ? नेपाली काँग्रेस इतरका सारा राजनीतिक शक्तिहरू यसलाई काँग्रेसले हल गर्नुपर्ने समस्याका रूपमा लिइरहेका छन् । काँग्रेसभित्र चाहिँ सरकारमा गएका व्यक्तिहरूले यो समस्या हल गर्नुपर्छ भन्ठान्छन्। सरकारका सम्पूर्ण सदस्यहरू “यो त गृहमन्त्रीले हल गर्नुपर्ने समस्याका रूपमा लिइरहेका छन् ।” सायद गृहमन्त्रालय निरपेक्ष रूपमा प्रहरीले हल गर्नुपर्ने समस्याका रूपमा लिइरहेको छ। यस्तो विकृत ढङ्गले यो समस्याबारे परिचर्चा भैरहेको छ।

माओवादीहरूले आफूखुशी ढङ्गले धेरै ठाउँमा माओ त्से तुङको रचनाको उद्धरण गरेका छन् । माओ त्से तुङले चीनमा सशस्त्र क्रान्ति गर्नुअघिको सर्वाधिक चर्चित लेखको नाउँ हो- "चीनमा लालसत्ता किन रहन सक्छ ?”

आन्दोलनको भविष्य वर्तमान पुस्ताका माओवादीहरूले काफी मिहिनेत गरेर गम्भीर प्रस्तावनाहरू राखेका छन् । यी प्रस्तावना मैले पाएसम्म पढ्ने गरेको छु । उनीहरूले आफूखुशी ढङ्गले धेरै ठाउँमा माओ त्से तुङको रचनाको उद्धरण गरेका छन् । माओ त्से तुङले चीनमा सशस्त्र क्रान्ति गर्नुअघिको सर्वाधिक चर्चित लेखको नाउँ हो- "चीनमा लालसत्ता किन रहन सक्छ ?” त्यो लेख आज पनि पठनीय छ । त्यही शैलीमा कसैले जवाफ दिनसक्छ- नेपालमा लालसत्ता किन रहन सक्दैन ? सम्पूर्ण नेपालमा लालसत्ता स्थापना गर्ने भू-राजनीतिक स्थिति छैन । सम्पूर्ण नेपालमा राज्यसत्ता कब्जा गर्ने अन्य वस्तुगत परिस्थितिहरू छैनन् । सर्वोपरि वस्तुगत परिस्थितिको जुन सही र क्रान्तिकारी समझदारी हो, त्यो वर्तमान माओवादी नेतृत्वसँग छैन ।

मार्क्सवादको निचोड हो– परिस्थितिको ठोस विश्लेषण । हतियारबन्द आन्दोलन थाल्नुअघि माओवादीहरूले धेरै मिहिनेत गरेका होलान्, तर ठोस परिस्थितिको ठोस विश्लेषण गरेका छैनन् । बरू माओवादीका कतिपय प्रस्तावना सोझै लेनिन र माओ त्से तुङका प्रस्तावनाका विपरीत छन् । तर लेनिन र माओ विचारधाराको सिर्जनात्मक विकास गरेर माओवादीहरू अगाडि बढेका छन् भने उनीहरूको विरुद्ध जाँदैमा माओवादी आन्दोलन असफल हुन्छ भन्ने त पटक्कै छैन । लेनिन र माओ विचारधाराका केही तत्त्व पुराना भइसके, केही अहिले पनि सान्दर्भिक छन् । कार्ल मार्क्सले रुसजस्तो मुलुकमा क्रान्ति हुन्छ भनेका थिएनन् । तर लेनिनले खास परिस्थितिमा हुन्छ भनेर क्रान्तिको विकास गरे । लेनिनले राज्यसत्ता, पार्टी, वामपन्थी क्रान्तिकारिता बारेमा मौलिक योगदान दिएका थिए । सांस्कृतिक क्रान्तिका दर्बियान माओद्वारा प्रतिपादित दृष्टिकोण पनि मौलिक छ। तत्कालीन रुस र चीन निकै राम्रोसँग बुझेकाले लेनिन र माओ मौलिक हुन सके । लेनिन र माओका थुप्रै कमजोरी थिए होलान् । तर उनीहरू जडसूत्रवादी थिएनन् । बाबुराम भट्टराई र प्रचण्डका रचना पढ्दा उनीहरू जडसूत्रवादबाट मुक्त छैनन् । उनीहरूसँग आत्मगत साहस, शौर्य र बलिदानको भावना भने छ।

माओवादीका कतिपय प्रस्तावना सोझै लेनिन र माओ त्से तुङका प्रस्तावनाका विपरीत छन् । तर लेनिन र माओ विचारधाराको सिर्जनात्मक विकास गरेर माओवादीहरू अगाडि बढेका छन् भने उनीहरूको विरुद्ध जाँदैमा माओवादी आन्दोलन असफल हुन्छ भन्ने त पटक्कै छैन ।

'जडसूत्रवादी' मेरो शब्द होइन, मार्क्सवादी शब्द हो । “जडसूत्रवादी अन्ततः विसर्जनवादी हुन्छन् । उनीहरू पनि अन्ततः विसर्जनवादीमा परिणत हुनेछन्।" यो आरोप उनीहरूलाई मोहनविक्रम सिंहको मसाललगायत अन्य वामपन्थीले लगाएका छन् । मैले र यिनीहरूले लगाएको आरोपमा के भिन्नता छ त ? यो सवाल उठ्न सक्छ । यस सम्बन्धमा म एउटा समझदार कुरा बताउन चाहन्छु । लेनिनले लेखेको वामपन्थी दुस्साहसवाद भन्ने पुस्तक छ, त्यसमा उनले कुनै पनि मुलुकमा हतियार उठाउन पाँच पूर्वसर्त चाहिन्छ भनेका छन् । कुनै पनि मुलुकमा क्रान्ति सम्पन्न हुनके लागि, क्रान्ति प्रति प्रतिबद्ध राजनीतिक दल चाहिन्छ, त्यस दलको जनतामा व्यापक लोकप्रियता हुनुपर्छ, त्यस मुलुकमा नक्कली नै भए पनि चुनाव हुनुहुँदैन (लेनिन कुनै पनि प्रकारको चुनाव बहिष्कारको कडा विरोधी थिए।) "मुलुकमा अत्यन्त ठूलो राष्ट्रिय सङ्कट नआई अर्थात् शासक वर्गका नाममा कसरी शासन गर्ने भन्ने मतभेद नआई र त्यसलाई अन्तराष्ट्रिय सङ्कटले देवा नदिई कुनै पनि मुलुकमा कम्युनिस्ट क्रान्ति हुँदैन ।" तर लेनिनले लेख्दैमा यो मान्न जरुरी छैन। उनकै जीवनकालमा खासगरी डच कम्युनिस्टहरूले चुनौती दिए क्रान्ति गर्न समय परिपक्व हो भनेर कसरी जान्ने त ? डच कम्युनिस्टहरूको अर्को प्रश्न थियो- नहारिकन हार हुन्छ भनेर कसरी जाने ? अथवा नजितिकन कसरी थाहा हुन्छ जित हुन्छ भनेर ?

सशस्त्र क्रान्ति गर्ने भनेर पाँच दशकदेखि भनिरहने तर एउटा पटका समेत नपड्काउने । एउटा धार पनि टुटदै फुट्दै जाने र अन्त्यमा अत्यन्त सानो समूहले चे ग्वेभाराझैँ जङ्गल पसेर हतियार उठाएको स्थिति छ ।

यस किसिमको यान्त्रिक ढङ्गले पाँचओटा कारण जनाएर कहीं क्रान्तिकारी उसै बन्न सक्छ ? क्रान्तिकारीले क्रान्ति गर्ने प्रयास गर्छ, असफल भएपछि यो शिक्षा लिन्छ। लेनिनका विचारको डचहरूले यसरी खण्डन गरे । मैले यहाँ यो कुरा भन्नुको एउटा कारण छ । सशस्त्र क्रान्ति गर्ने भनेर पाँच दशकदेखि भनिरहने तर एउटा पटका समेत नपड्काउने । एउटा धार पनि टुट्दै फुट्दै जाने र अन्त्यमा अत्यन्त सानो समूहले चे ग्वेभाराझैँ जङ्गल पसेर हतियार उठाएको स्थिति छ । माओ त्से तुङको सिद्धान्त थियो- राजनीतिक दलले नै क्रान्तिको नेतृत्व गर्नुपर्छ र सेनाको निर्माण गर्नुपर्छ ।

चेको सिद्धान्तमा दल र सेनाको विभाजन हुँदैन । यहाँका माओवादीको धारा चे ग्वेभाराको नजिक छ । त्यसैले माओवादीलाई उग्रवामपन्थी भड्कावको संज्ञा दिन सकिन्छ भने लेनिनका शब्दमा क्रान्तिकारी लफ्फाजी भन्न सकिन्छ ।

 तर मोहनविक्रमहरू र माओवादीबीच के समानता छ भने दुवै नै भावी तथाकथित जनवादी राज्यको कल्पना गर्छन् । जहाँ उनीहरू कतिपय वर्गको अधिनायकत्वबाट राज्य आधारित हुन्छ भन्ने मान्यता राख्छन् । अर्थात् यो राज्यको स्वरूपसँग गाँसिएको कुरा हो। राज्यसत्ताप्रतिको दृष्टिकोण के छ ? त्यो नै वास्तवमा क्रान्तिको सारतत्व हो ।

अन्य वामपन्थीलाई भन्दा बाबुरामहरूको म के आधारमा आलोचना गर्छु भने राज्यसत्तासम्बन्धी धारणा उनीहरूको भन्दा मेरो फरक छ।

संसदीय जनतन्त्र राज्यसत्ताको एउटा स्वरूप अवश्य हो तर त्यो बाहिरी आवरण हो । त्यसभित्रको वर्गसङ्घर्ष, जातीय सङ्घर्ष, अन्तर्द्वन्द्व कठोर सच्चाइ हो । त्यसप्रति आँखा चिम्लेर चुनाव हुनासाथ सबैले न्याय र समानता पाए भन्नु आत्मप्रवञ्चना सिवाय केही होइन ।

आज नेपालमा खास किसिमको संसदीय जनतन्त्र छ । नेपाली काँग्रेसको अधिकांश नेतृत्वका अतिरिक्त वर्तमान प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पनि एक प्रकारले बहुदल आयो, बहुमतको सरकार आयो अब यतिमै सारा समस्या हल हुन्छन् भन्ने आत्मप्रवञ्चनामा बाँचिरहे। कमसेकम गान्धी, जयप्रकाश नारायण र डा. राममनोहर लोहियालाई यस्तो भ्रम थिएन । जयप्रकाश नारायणले त जीवनका २५ वर्ष संसदीय जनतन्त्रबाट जनताका समस्या समाधान हुँदैन भनेर गाउँ-गाउँ घुमे । संसदीय जनतन्त्र राज्यसत्ताको एउटा स्वरूप अवश्य हो तर त्यो बाहिरी आवरण हो । त्यसभित्रको वर्गसङ्घर्ष, जातीय सङ्घर्ष, अन्तर्द्वन्द्व कठोर सच्चाइ हो । त्यसप्रति आँखा चिम्लेर चुनाव हुनासाथ सबैले न्याय र समानता पाए भन्नु आत्मप्रवञ्चना सिवाय केही होइन । एक व्यक्ति एक मतको अधिकार पाउँदैमा प्रजातन्त्र आयो भन्नु गल्ती हो।

यसै पनि यस संसदीय जनतन्त्रका धेरै कमी कमजोरी छन् । संसदीय जनतन्त्रलाई म एउटा ‘फ्रेम' को रूपमा लिन्छु । त्यसभित्र आन्दोलन र दूरगामी परिवर्तनका सारा सम्भावना छन्। हाम्रो संविधानले दूरगामी राजनीतिक, सामाजिक र आर्थिक परिवर्तन गर्न रोकेको छैन । यतिमात्र होइन, हाम्रो संविधानले अनेकौँ जनआन्दोलन गर्न पनि रोकेको छैन । त्यसैले यस राज्यसत्ताको चरित्र फेरिनुपर्छ। राज्यसत्ताको चरित्र फेरिने क्रममा राज्य भन्ने के हो बुझ्नु आवश्यक छ। राज्यलाई दमनको यन्त्र मात्र बुझ्नु यान्त्रिक समझदारी हो । राज्यले स्कुल, कलेज, आमसञ्चार आदि माध्यमबाट मानिसलाई प्रभावित गरिरहेको हुन्छ । सम्पूर्ण राज्यमा एक प्रकारको वर्चश्व कायम नगरी मात्र सत्ता कब्जा गर्छु भन्नु एक प्रकारको ‘कू' मात्र हुन्छ । अहिले सैन्य बलका आधारमा नेपालमा तथाकथित जनवादी सत्ता कायम गरियो भने त्यो सत्ता र पाकिस्तानका सैनिक शासक परवेज मुसर्रफको सत्तामा खास फरक हुँदैन ।

सम्पूर्ण राज्यमा एक प्रकारको वर्चश्व कायम नगरी मात्र सत्ता कब्जा गर्छु भन्नु एक प्रकारको ‘कू' मात्र हुन्छ ।

बीसौँ शताब्दी अत्यन्त क्रान्तिकारी शताब्दी हो । तर क्रान्तिकारिताबाट निस्कनुपर्ने क्रान्तिकारी निचोड हामी कसैले पनि लिन सकिरहेका छैनौं । उल्टै असफल भैसकेको चिन्तन, प्रणाली र कार्यशैलीलाई आत्मालोचना नगरी माओवादीले यान्त्रिक रूपमा नेपालमा लागू गर्न खोजिरहेको छ। ऐतिहासिक भौतिकवादी विचारधाराको यहाँभन्दा ठूलो अपमान केही हुन सक्दैन। मैले बुझेअनुसार ऐतिहासिक भौतिकवादले इतिहासलाई प्रयोगशालाका रूपमा लिन्छ । रुसको क्रान्ति किन विफल भयो ? चीन किन पूँजीवादमा फिर्ता आयो ? इत्यादि सारा सवालको उत्तर नदिइकन जे माओले भने त्यही गर्छौं, सारा दोष त लिन प्याओ र देङको हो भन्नु अत्यन्त अऐतिहासिक र अवैधानिक सोच हो। त्यसैले नेपालमा माओवादको असफलता अवश्यम्भावी छ ।

राज्य एउटा मात्र वर्ग विशेषको शासनको यन्त्र हुँदैन । जस्तै नाङ्गो राज्य पनि सेनाका बलमा मात्र टिकेको हुँदैन । यो बीसौं शताब्दीको सङ्घर्षबाट निस्कने निचोड हो ।

राज्यको दोहोरो चरित्र हुन्छ। यसमा केही मानवीय गुण हुन्छन् र केही दानवीय पनि। राज्य एउटा मात्र वर्ग विशेषको शासनको यन्त्र हुँदैन । जस्तै नाङ्गो राज्य पनि सेनाका बलमा मात्र टिकेको हुँदैन । यो बीसौं शताब्दीको सङ्घर्षबाट निस्कने निचोड हो । बाबुराम र प्रचण्डको राज्यसत्तासम्बन्धी असमझदारीले गर्दा पनि माओवादी आन्दोलनलाई छिट्टै असफलताको खाडलमा ढाल्दैछ ।

समस्याको समाधान

पहिलो कुरा त यो समस्या के हो भन्नेबारेमा हाम्रो नेतृत्व वर्गले बुझ्नु पर्यो । मलाई लाग्छ नेतृत्व वर्गका अत्यन्त सुपठित व्यक्तित्वले समेत माओवादी साहित्यको सामान्य अध्ययन समेत गरेका छैनन् ।

कति मानिसहरू हलुका ढङ्गले यसलाई सिंहदरबारको उपज भन्छन् । कतिले दरबार र अन्य कतिपयले हिन्दुस्तानले खडा गरेको समस्या पनि भन्छन् । माओवादी आन्दोलनलाई नेपालको कम्युनिस्ट आन्दोलनबाट सिर्जित स्वाभाविक विकृति र विसङ्गतिको रूपमा लिनुपर्छ ।

अरूले खाली मद्दत गरेको होला तर मूलतः केही आदर्शवादी तन्नेरी हुन् जसले त्यो स्पिरिटमा आन्दोलन गर्दैछन्, जुन स्पिरिटमा कुनै दिन दुर्गा सुवेदीले विमान अपहरण गरे । अथवा जुन स्पिरिटमा रामलक्ष्मण ओखलढुङ्गा गए ।

अरूले खाली मद्दत गरेको होला तर मूलतः केही आदर्शवादी तन्नेरी हुन् जसले त्यो स्पिरिटमा आन्दोलन गर्दैछन्, जुन स्पिरिटमा कुनै दिन दुर्गा सुवेदीले विमान अपहरण गरे । अथवा जुन स्पिरिटमा रामलक्ष्मण ओखलढुङ्गा गए । रामलक्ष्मण ओखलढुङ्गा जाँदा या दुर्गा सुवेदीले विमान अपहरण गर्दा कसैले सहयोग गर्यो होला, तर यिनीहरूको आत्मगत इमान्दारीमा शङ्का गर्न मिल्दैन । तर बाबुरामहरूको आत्मगत इमान्दारीले वस्तुगत परिणाम के ल्याउँछ, त्यो खुला सवाल छ ।

माओवादी समस्या ठोस रूपमा निरूपण गर्न पहिला यो बुझ्नु पयो-  समस्या कारण हो या परिणाम । मैले माथि पनि उल्लेख गरिसकेँ यो कारण होइन परिणाम हो। सङ्कुचित सङ्कीर्ण राज्यको कारण यो उब्जिएको हो । यथार्थमा राज्यसत्ताको तीव्र प्रजातन्त्रीकरण नगरी माओवादी समस्या समाधान हुँदैन । यदि दूरगामी र ठोस राजनीतिक, सामाजिक र आर्थिक परिवर्तन गर्न सकियो भने यस्ता कयौँ समस्या स्वतः समाधान हुन्छन् । कारण नै निमिट्यान्न भएपछि परिणाम रहँदै रहँदैन ।

मूलप्रवाह, वर्ष १ अङ्क २, पुस-माघ २०५६