हाम्रो जमानाको 'टुट पुँजीयाँ'
यो पुँजीपति पनि होइन सर्वहारा पनि होइन । पुँजीपति लगानी गर्छ, श्रम, पुँजी र भूमिको चाँजोपाँजो मिलाउँछ, व्यवस्थापन गर्छ र अतिरिक्त मूल्य/ मुनाफा खान्छ । यो त्यसो पनि गर्दैन किनभने यो उसको काबुभित्रको कुरा होइन । तर राल भने काड़ी रहन्छ ।
सर्वहारा हरितन्नम हो, जे छ आफुसंग भएको श्रम हो । त्यहीं बेचेर गुजारा गर्छ । यो चाहिँ श्रम पनि गरी टोपल्छ, साथै सानोतिनो जायजेथाको मालिक पनि हो । त्यसैबाट यसले मेन्जो गुजारा पनि चलाउँछ । खुब धमास पिट्छ, आलु खा'र पेडाको धाक दिन्छ । हो त सुकुलगुण्डो । यतिसम्म नकच्चरो हुन्छ कि गाउँमा सामन्तलाई र शहरमा पुँजीपतिलाई व्यवसाय कसरी गर्ने भनेर अर्ति उपदेश दिन भ्याई सक्छ ।
यो वर्ग संघर्षको दलाल पनि हो । दुवैतिरको साखुल्ले- सामाजिक दोचारे । श्रमिकसँग हुँदा भन्छ, 'तँलाई यो हालतमा पुर्याउने त सामन्त, पुँजीपति नै न हुन् । जाग र उठा खुकुरी !' आफैं भने मैदानमा सात कोश टाढा । उता सामन्त/पुँजीपति कहाँ जान्छ र भन्छ, 'तिनले लुरुलुरु काम गर्नु पर्ने हो । जे गरे राष्ट्रलाई नोक्सान गरे ।' अनि उसैसंग 'चन्दा' मागेर फर्किन्छ । अरुको चकचकी देख्छ, राल काट्छ र मौका पाउन साथै आफ्नो 'कुल' छोड्छ र नव सम्भ्रान्त बन्छ पनि । अनि भने पुराना साथि छोडी सकेको हुन्छ र इतिहासमा आफुले बेहोरेको हिनाताबोधलाई चल्तीका कुलिनहरुसंग कुम थुमथुम्याएर विसर्जन गर्छ ।
यसरी उ यथास्थिवादी पनि हो ।
ऊ अभाव र गरिवी भने पछि निद्रामा पनि काल्लिन्छ । कुलीन हुन नसकेको दमित भावनामा यस्तो ताहुरमाहुर गर्छ मानौं चे ग्वाभरा पनि उ जत्तिको क्रान्तिकारी हो के ?! यो प्राज्ञ त हुँदै होइन फेरि पनि यस्तो आडम्बर बोकेको छ मानौं यसले चारै वेद छिचोलेको छ । दर्शन, सिद्धान्त, राजनीति, अर्थशास्त्रका जटिल विषयमा परिपाठ लगाउन यसलाई कुनै सरम हुँदैन ।
उसको खुबी भनेकै अरुलाई उपयोग गर्नु हो । 'माथि'को चाकरी गर्छ र 'तल' गोडा मोल्न लगाउँछ । घरको बाघ वनको बिरालो । न सामाजिकता छ, उसको जीवन नै अहं ब्रह्मस्मि हो । आत्म स्ततिको घरि घरि फेरी लगाउँछ मानौं समाजले उसको करिश्मालाई नदेखेको जस्तो गर्ला कि भनेर ।
ऊ 'धर्म', शर्म मान्दैन, ऊ सामाजिक सपना पनि देख्दैन र भविष्यप्रति सामाजिक चिन्तनमा पनि सामेल हुँदैन । त्यसैले ऊ अराजक र अनैतिक पनि हो । भाग खानु परे हसिनपसिन हुँदै अघि हुन्छ, साथीको खुट्टा तान्छ र मान्यजनको अनादर गर्छ । लाज नमानी भन्छ, म कुभिण्डै निल्छु । ऊ झिल्के/टपरटुइया नै हो, गुएलाको फूल खुब मन पराउँछ तर भाङ्ग्राको टोपी फेर्दैन र त्यसैमा लर्काएर हिँड्नमा गर्वबोध गर्दछ । शक्ति र लक्ष्मी भने पछि यो हिरिक्कै हुन्छ ।
आफ्नो भाग्य अजमाउन उ के गर्दैन ?!
क्रान्तिको उभारमा ऊ क्रान्तिकारी पनि हुन्छ र प्रतिगमनको बेलामा ऊ नै प्रवक्ता पनि बनिदिन्छ । सामन्ती सांस्कृतिक मूल्यसंग सालनाल जोडिएको उ दलमा बस्छ र निर्दलीय अधिपति हुन खोज्छ । राजाको विरोध गर्छ र श्रीपेच लाउन खोज्छ । काट्टो' खान पनि उ दिगमिग मान्दैन, तर्क गर्छ, 'मासु मासु न हो ।' राज्यको ढिकुटीमा हात राख्न्न पायो भने सात पुस्ता पुग्ने कुम्ल्याउँछ, भएभरका दलालहरुलाई भेला गर्छ र कहाँ कहाँ धुत्न सकिन्छ भनेर कुमिटी गर्छ र भागशान्ति लाउँछ । सर पर्दा वैरीसंग अंगालो हाल्छ, देशले सुति खान दे'न भनेर 'अन्तर्राष्ट्रियतावादी' बन्छ र नकच्चरो तर्क गर्छ, 'देश न रहे के फरक पर्छ मलाई ?!' अरुलाई विदेशी दलाल भन्न पनि उहीं अघि सर्छ । 'रातो फ़ुली भन्दा सेतो छाला ठूलो' भन्ने पनि उही नै हो ।
आफैंमा यो निम्न पुँजीपति वर्ग खरानीको डल्लो हो - सदबिउँ पदबिउँको पोको, तरल । थोरै मात्र उम्किन र माथि उक्लिन पाउने यो वर्ग आम रुपमा भने पुँजीवादी जाँतोमा पिसिन अभिशप्त छ । जीवनले दीक्षित एउटा तप्का त जनमुखी पनि छ र सामाजिक परिवर्तनको पक्षपाति पनि । 'अर्जाप्न' सक्दा परिवर्तनको चोटिलो औजार पनि हो यो वर्ग ।
प्रतिक्रिया