मृत्युपछिको अभिव्यञ्जन
मेरी प्रिया, अब मलाई राम्रै निको भयो,
झरेको फूलको थुँगोभन्दा पनि
जीउ अझ शतशः हलुको भो,
अझ किन तिमी त्यस्तरी अजार बजार गरी
रोएकी धत्,
मुटु कति घाइते भयो होला !
देख्तिनौ वायुका सूक्ष्म तरङ्ग
तिम्रो विलापको आघातले टुट्दै चकनाचुर हुँदै छन्,
म त कण–कण देख्न सक्छु,
छिया छियामा घुस्न सक्छु
चुप लाग प्रिया,
मलाई माया गर्ने मान्छे, चुप लाग,
रुवाइलाई बौद्ध शून्यमा बिसाऊ ।
अब मलाई सन्चो भयो,
कुनै शूलले पनि घोच्तैन,
मेरो शत्रुले तीखो त्रिशूल लिएर
घोच्न आयो भने पनि
त्यो बृथा मेरो बीचमा धूवाँ झैँ बत्तिनेछ,
किनभने अब म साह्रो ऐनाजस्तो होइन
आकाशजस्तै कोमल पारदर्शक
भैसकेको छु,
मेरो हात हावाकै मात्र पनि हुँदो हो त
म त्यसले तिम्रो आँसु पुछिदिन्थेँ
तिम्रा आँखामा चुम्बन पोसेर
आँसु भुलभुल आउने प्वाल टाल्थेँ
तर म आकाश भइसकेँ।
हेर्ने ऐनामा पनि म आफ्नो अनुहार देख्तिनँ,
प्रकृतिको ऐना पोखरीमा निहुरी हेर्छु
त्यहाँ म आफुलाई आकाश मात्र देख्छु ।
प्रिया, के मलाई ‘मर्यो’ भनिदियौ—
मर्यो भनि ठान्यौ?
हो?
साँच्चै, म त्यस्तै तिम्रो निम्ति
काम नलाग्ने भएँ कि क्या !
केही विशेष घटना घट्यो होला पनि
परिवर्तनको अनुभूति हुन्छ,
अग्निपरीक्षामा उत्तीर्ण भएको झझल्को लाग्छ,
हो, अब मलाई कतै पनि दुख्तैन
मेरो मन पनि दुख्दैन—
मन राख्ने ठाउँ नै कहाँ छ र—
सब उदाङ्ग/निर्वाङ्ग ।—
मेरा इन्द्रिय जे–जेमा पर्छन्
त्यहीँ–त्यहीँ तल्लय हुन्छन्,
म पात देख्नासाथ पातै हुन्छु,
त्यसको सुस्केरामा डुब्छु,
फूलको वर पर्नेबित्तिकै त्यसको सुवासमा वास बस्छु,
जुनसुकै रङ्गमा पनि मिल्ने
मेरो यस्तो गति भइसक्यो—
उडेको छारोभन्दा मैदा—
वाष्पभन्दा पातलो—
तेजभन्दा मसिनो—
हावाभन्दा पनि मिहीन !
एक बिन्दु पानीको बेग्लै अस्तित्व थियो,
सरोवरमा सरोवरी हुनासाथ
त्यो सरोवर भयो।
म आकाश भएँ।—
बादल फाटेको नीलनभ सङ्लिए तुल्य
म तङ्ग्रिएँ,
म निको भएँ !
तिम्रो वरिपरि रुने अरू पनि
मेरा बान्धव इष्टमित्र छन्,
ओहो, त्यो किन त्यस्तरी रोएको
ममा त्यसको त्यति माया रहेछ, मलाई थाहै थिएन,
बरु अर्को त्यो जति रुनुपर्ने हो उति रोएको छैन,
त्यै जाती छ,
भयो कोही नरोइदिउन्,
प्रिया, ती तिमीलाई झन भिजाइदिने मात्रै हुन्
कत्ति सान्त्वना दिने होइनन्,
बरू आफै स्तब्ध भई हार्दिक हवन गर,
भो अब नरोउ !
अब म मासु छैन,
तिमी पनि भौतिक आँसुको भर नपर,
वेदनात्मक कवितालङ्कार फाली !
कवितात्मक अध्यात्म बन !
हेर मलाई सब दुख्न हरायो, निको भयो,
असंख्य भारले कपाल टन्केको थियो,
घाँटी मस्केको थियो,
हात-खुट्टा बाँधिएका थिए,
छाती कसिनाले सास फेर्न पनि बाधा हुन्थ्यो,
माया ममताले मुटु निचोर्थे कलेजो काट्थे,
नसा नसा जे लिएर गाँठो पर्थे,
हाड आपस्तमा पिंधिदै कट्कटाउँथे
अझै मेरो मेरै हो भन्थे,
उर्ली उर्ली रगत रून्थ्यो,
अब सब बन्धनबाट मोक्ष भएको
मलाई जीवित अनुभव छ;
यसकै नाम मृत्यु ?
हो भने मलाई
अब राम्ररी निदाउन देऊ,
तर स्वतः यो निष्काम कामना किन बाँकी छ, जान्दिनँ,
म टम्म आकाश भरी भएर सुत्नेछु प्रिया,
तिमी आफ्नो मायालाई त्यति नै सम्म विशाल बनाऊ
अनि त्यसले मलाई पैताला देखिन् तालु सम्मन्
ढाक्ने गरेर ओढाइदेउ
अनि हाम्रो प्रेममालापको अनन्त सपनामा - र
कुनै दिन हृदय चुर्लुम्म डुब्ने गरी
परम सुख निथारी घुट्काएथ्यौं
त्यसको सुमधुर स्मृतिमा
अँधेरी रातले सुदिनलाई पर्खे झैं निष्काम
म पर्खिरहने छ,
एकदिन तिमी पनि आकाश बनेर आउँछ्यौ निश्चय,
तब म उषाको सिन्दूरले तिमीलाई
स्वागत गरेर असीम अङ्कमाल गर्नेछु,
अनि पछि सूर्य र सूर्यलाई साक्षी राखेर
कहिल्यै फेरि नछुट्टिने किरिया हाल्ने छु !
अहिले मलाई निदाउनदेऊ,
उसै दिन ब्यूँझुँला,
समयको रुमालले आँसु पुछ,
अझै सुक्क सुक्क नगर,
प्रिया, मेरो निद्रा नबिगार !
प्रतिक्रिया