आइन्स्टाइनमाथि अमेरिकी जासूसी

अल्बर्ट आइन्स्टाइन संसारको सबैभन्दा विख्यात नाम हो । उहाँलाई आधुनिक समयका 'बौद्धिक सुपरस्टार' भनिन्छ । कपाल जिङ्ग्रिङ परेको फोटो वा चित्र हेरेपछि मानिसहरुलाई थाहा हुन्छ– यो त आइन्स्टाइनको नै हो नि !

आधुनिक संसारका सर्वाधिक लोकप्रिय बौद्धिक महानायक आइन्स्टाइनको जीवनले अमेरिकामा हिरोको परिभाषा नै परिवर्तन गरेको थियो । पहिले पहिले नाटक र फिल्मका अभिनेता–अभिनेतृहरुलाई मात्रै आफ्नो हिरो–हिरोइन मान्नेहरुबीच अब उहाँ हिरोहरुका पनि हिरो बन्नुभएको छ । तर कस्तो अचम्म भने उहाँलाई आफ्ना हिरो मान्ने जनताहरु बेसी भएको देश अमेरिकामै उहाँलाई ‘भिलियन’ मान्ने शासकहरु पनि रहेछन् !

पहिले पहिले नाटक र फिल्मका अभिनेता–अभिनेतृहरुलाई मात्रै आफ्नो हिरो–हिरोइन मान्नेहरुबीच अब उहाँ हिरोहरुका पनि हिरो बन्नुभएको छ । तर कस्तो अचम्म भने उहाँलाई आफ्ना हिरो मान्ने जनताहरु बेसी भएको देश अमेरिकामै उहाँलाई ‘भिलियन’ मान्ने शासकहरु पनि रहेछन् !

धेरैजसोलाई लाग्नसक्छ– आइन्स्टाइन अमेरिकामै  जन्मिएका–हुर्केका महान् वैज्ञानिक हुनुहुन्थ्यो । तर जन्मको हिसावले उहाँ जर्मन यहूदी हुनुहुन्थ्यो र कर्मको हिसावले कुनै जात, जाति र राष्ट्रभन्दा माथि उठ्नुभएका अन्तर्राष्ट्रियतावादी हुनुहुन्थ्यो । युवा अवस्थामै स्विट्जर–

ल्याण्डको नागरिकता लिनुभएका आइन्स्टाइन  जर्मनीमा हिटलरको नेतृत्वमा नाजीहरुको डरलाग्दो शासन शुरु भएपछि  अमेरिकामा निर्वासित हुनुभएको थियो ।

त्यहाँ अमेरिकी नागरिकता दिइएतापनि उहाँलाई कहिल्यै अमेरिकी नागरिकको रुपमा सहज ढंगले स्वीकारिएको देखिँदैन । र, उहाँलाई पाइला–पाइलामा अमेरिकी जासूसहरुले पछ्याउने, उहाँको घरमाथि निगरानी राख्ने तथा उहाँका प्रत्येक विचार र कामहरुको गोप्य रिपोर्ट राख्ने काम गरिएको पाइन्छ ।

‘यहूदी बोल्शेभिक’ र ‘जर्मन कम्युनिष्ट’को आरोप लगाइएका   आइन्स्टाइनको विरोधमा अमेरिकी सरकारले २० वर्षभन्दा बेसी समयसम्म जासूसी अभियान चलाएको थियो । यस कार्यमा त्यहाँ एड्गर जे. हुभरको नेतृत्वमा आन्तरिक राजनीतिक प्रहरी विभाग ‘एफ.बी.आई.’ र सिनेटर जोसेफ आर. म्याक्कार्थीको नेतृत्वमा ‘हाउस कमिटी अन अन–अमेरिकन एक्टिभिटिज’ पूरै लागिपरेका थिए । ती दुबै समितिले चार्ली च्याप्लिन, रबर्ट ओपनहाइमर र आइन्स्टाइन जस्ता थुप्रै प्रख्यात कलाकार, लेखक, वैज्ञानिकहरुमाथि कम्युनिष्टको आरोप लगाउँदै दुःख र पीडा दिएका थिए । म्याक्कार्थीको  समितिले उहाँलाई कम्युनिष्टको आरोप लगाउँदा लगाउँदै पनि बयान लिने हदसम्म त आँट गर्नसकेन, तर बदनाम गर्नचाहिँ छोडेन । 

‘यहूदी बोल्शेभिक’ र ‘जर्मन कम्युनिष्ट’को आरोप लगाइएका   आइन्स्टाइनको विरोधमा अमेरिकी सरकारले २० वर्षभन्दा बेसी समयसम्म जासूसी अभियान चलाएको थियो ।

यसै क्रममा एफ.बी.आई.का जासूसहरुद्वारा उहाँजस्ता महान वैज्ञानिकका चिट्ठीपत्रहरु अबैध रुपमा खोलिएका थिए । उहाँको फोन टेप गरी सुनिएको थियो । उहाँलाई सोभियत संघका जासूसहरुसँग जोडेर हेर्ने गरिएको थियो । ‘कम्युनिष्ट’ भएको आशंकामा उहाँलाई अणुबम बनाउने ‘म्यानह्याट्टन प्रोजेक्ट’मा संलग्न नगराइएको र उहाँको अमेरिकी नागरिकता खोेस्ने प्रयत्नसमेत गरिएको रहस्य पनि उद्घाटन भइसकेको छ ।

नाजीहरुका नेता हिटलरको सत्तारोहणदेखि यता अमेरिकामै बसोबास गर्नुभएका आइन्स्टाइनलाई आफूविरुद्ध भइरहेका यस्ता नाजी शैलीका जासूसीका कामहरुबारे खबरचाहिँ थियो । १९४८ मा अमेरिकाका लागि पोल्याण्डका राजदूतसँगको डिनरको सिलसिलामा उहाँले खुलस्त रुपमा भन्नुभएको थियो– ‘मलाई लाग्छ, अब त अमेरिका भनेको स्वतन्त्रतायुक्त राष्ट्र होइन भन्ने कुरा तपाईंले पनि महसूस गर्न थाल्नुभएको होला । किनकि हाम्रो यो संवादसमेत रेकर्ड गरिएको हुनसक्ने कुरामा कुनै सन्देह छैन । किनकि यो कोठा तारैतारले बाँधिएको छ र मेरो घरमाथि हरदम निगरानी राखिएको छ ।’

आफ्नो जन्म थलो–जर्मनीको फासीवादकै नयाँ संस्करणको रुपमा अमेरिकामा देखापरेको यस्तो दुर्व्यवहारबाट पीडित भई उहाँले भन्नुभएको थियो– “फेरि एकपटक युवा हुन पाउने भए, आफ्नो पेशा छान्न पाउने भए मैले वैज्ञानिक, प्राज्ञ वा शिक्षक पेशा पक्कै पनि छान्ने थिइनँ, बरु वर्तमान स्थितिमा केही हदसम्म स्वतन्त्रता पाउने आशामा म नलसाज (प्लम्बर) वा खुद्रा व्यापारी नै बन्ने थिएँ ।”

जर्मनी र अमेरिकाका नाजीहरुको साथ लिएर एफ.बी.आई.ले गरेका यस्ता  कामहरु ब्यूरोकै २ हजार पृष्ठहरुमा फैलिएका छन् । तिनै दस्तावेजहरु प्राप्त गरी फ्रेड जेरोमीले “द आइन्स्टाइन फाइल” नामक अनुसन्धानमूलक पुस्तकमा उहाँको बारेमा अज्ञातजस्तै रहेका धेरै पक्षहरुको विस्तृत रिपोर्ट र विवेचना गरेका छन् ।

“फेरि एकपटक युवा हुन पाउने भए, आफ्नो पेशा छान्न पाउने भए मैले वैज्ञानिक, प्राज्ञ वा शिक्षक पेशा पक्कै पनि छान्ने थिइनँ, बरु वर्तमान स्थितिमा केही हदसम्म स्वतन्त्रता पाउने आशामा म नलसाज (प्लम्बर) वा खुद्रा व्यापारी नै बन्ने थिएँ ।”

आइन्स्टाइनमाथिका गोप्य निगरानी राखिएको रहस्य धेरै समयसम्म इतिहासकै खण्डहरमा रहेको थियो । उहाँले पनि धेरै समयसम्म त्यसको रहस्योद्घाटन गर्नुभएन । र, एफ.बी.आई.ले पनि त्यस विषयलाई सार्वजनिक गर्ने वा अरुलाईझैं उहाँलाईचाहिँ म्याक्कार्थीको ‘हाउस कमिटी अन अन–अमेरिकन एक्टिभिटिज’ले राष्ट्रविरोधी अपराध गरेको आरोपमा बयान लिने दुस्साहस पनि गर्नसकेन ।

त्यो रहस्य उद्घाटन भएको भए एएफ.बी.आई. मात्रै होइन, सिंगो अमेरिकाको प्रजातन्त्र नांगेझार हुने भय शासकहरुलाई थियो । यसरी विश्वका सबैभन्दा लोकप्रिय व्यक्तित्वहरुमध्येका प्रमुख व्यक्तिमाथि  अमेरिकी जासूसहरुले निगरानी राख्दैआएका थिए । यो खबर सार्वजनिक भएमा अमेरिकी शासकहरुको प्रजातान्त्रिक छवि धमिलो हुन्थ्यो । यो कुरा ब्यूरोका बहीखाताहरुमा पनि व्यक्त भएको तथ्य फ्रेड जेरोमीले उल्लेख गरेका छन् ।

उहाँको विश्वव्यापी लोकप्रियता र निष्ठापूर्ण आचरणको कारणले अमेरिकी सरकार असफल भएको देखिन्छ । त्यसैले पछि गएर उहाँलाई ‘भुलक्कड स्वभाव भएका वैज्ञानिक सन्त’को रुपमा स्थापित गर्ने अभियान चलाइएको थियो ।

बीसौं वर्षको प्रयासपछि पनि आइन्स्टाइनको महानतम् वैज्ञानिक जीवन र प्रख्यातिलाई धमिलो पार्ने सरकारी नीतिले खासै काम गरेको देखिएन । उहाँको विश्वव्यापी लोकप्रियता र निष्ठापूर्ण आचरणको कारणले अमेरिकी सरकार असफल भएको देखिन्छ । त्यसैले पछि गएर उहाँलाई ‘भुलक्कड स्वभाव भएका वैज्ञानिक सन्त’को रुपमा स्थापित गर्ने अभियान चलाइएको थियो । यसो गरिएको कारण हो– कसैले पनि उहाँका राम्रा कामहरुको सिको गर्न नसकून्, उहाँको चिन्तन र कामको लोकप्रियता आफ्नो स्वार्थका लागि खतराहीन बनाउन सकियोस् । उहाँलाई ‘भुलक्कड वैज्ञानिक महात्मा’ बनाउने काममा भने सफलता प्राप्त गरिएको थियो ।

यहाँ प्रश्न उठ्छ– उहाँमाथि किन यो हदसम्मको ज्यादती गरियो होला त ? किनकि यहाँ युद्ध, जातिवाद, फासीवाद, पूँजीवाद र साम्राज्यवादका विरोधी हुनुहन्थ्यो । र, समाजवादका पक्षपाती हुनुहुन्थ्यो । वैज्ञानिक आइन्स्टाइनको समाजवाद अमेरिकी सरकारका लागि अणुबमभन्दा पनि खतरनाक लागेको थियो ।

♦ नवयुवामा प्रकाशित

 

राजेन्द्र महर्जन

वामबुद्धिजीवी एवं विश्लेषक