वीर सपूतहरु, जो मारिए तर माफी मागेनन् !
शुक्रराज, धर्मभक्त, दशरथ चन्द र गंगालालले कसरी साहसपूर्वक मृत्युलाई वरण गरे ? एक जीवन्त विवरण !
'माफी माग, अझै समय बाँकी छ ।'
राणा सरकारको तर्फबाट खटिएर गएको ज्यानमारा टोलीको नाइके नर सम्शेरले अन्तिम समयमा गंगालाललाई भन्यो ।
लट्ठामा बाँधिएका वीर गंगालालले उसको अनुहारतिर घृणाको नजरले हेर्दै जवाफ दिए- 'मैले माफी माग्नु पर्ने काम नै के गरेको छु र ? फेरि म तँ कसाई जस्तो मानिससित किन माफी माग्छु ? बरू, तिमीहरूले गरेको अत्याचारका लागि तैले हामीसँग माफी माग ।'
यसको एकैछिन अघि केही हात पर त्यस्तै गरी गाडिएका बाँसका लट्ठामा बाँधिएका दशरथ चन्दलाई जल्लाद-नाइके नर सम्शेरले सोधेको थियो- 'तेरो अन्तिम इच्छा के छ ? भन् !'
दशरथ चन्दले उपहासको हाँसो हाँस्दै उसलाई जवाफ दिएका थिए –
'राणा शासन खतम भएको हेर्ने इच्छा छ मेरो । मेरो इच्छा तैंले पुऱ्याउन सक्छस् ?'
बाँसका लट्ठामा बाँधिएका दशरथ चन्दलाई जल्लाद-नाइके नर सम्शेरले सोधेको थियो- 'तेरो अन्तिम इच्छा के छ ? भन् !' दशरथ चन्दले उपहासको हाँसो हाँस्दै उसलाई जवाफ दिएका थिए – 'राणा शासन खतम भएको हेर्ने इच्छा छ मेरो । मेरो इच्छा तैंले पुऱ्याउन सक्छस् ?'
दशरथ चन्दको यो ओजिलो र निर्भिक जवाफ सुनेर नर शमशेर क्रूद्ध भयो । उसले गोली हान्ने काम गराउन आफूले त्यस ठाउँमा लगेको पोडेलाई "गोली ठोक्" भन्ने आदेश दियो । पोडेले दशरथ चन्दको घुँडामा गोली हान्यो । तुरुन्तै नर शमशेरले पोडेलाई भन्यो- "तिघ्रामा हान् ।”
दशरथ चन्दको तिघ्रामा पनि गोली हानियो । दशरथ चन्द पीडाले छट्पटाउन थाले । उनको तिघ्राबाट रगतको भल बगिरहेको थियो । औंसीको भोलिपल्टको कालो अन्धकारमय त्यो रात, नजिकैको मन्दिर र घाटमा बलेका एक दुई वटा बिजुलीका चिमहरूबाट त्यहाँसम्म आइपुगेको धमिलो उज्यालो । त्यस धमिलो उज्यालोमा नेपाल आमाका वीर सन्तान दशरथ चन्द यसरी दाह्रा किटेर गोलीको चोट खपिरहेका थिए !
यता आफू पनि मृत्युको मुखैनेर पुगेका गंगालाल खम्बामा बाँधिएर यो दृश्य हेरिरहेका थिए । आफ्ना आदरणीय साथी, एक असल गुरु जस्ता विवेकवान व्यक्ति, एक असल दाजु जस्ता स्नेहशील व्यक्ति दशरथ चन्दलाई यसरी अत्याचारी राणा शासकहरूका दलालहरूले दुःख दिएको उनले खप्न सकेनन् । उनी क्रूद्ध भएर नर शमशेरतिर फर्केर कराए- “सक्छस् भने तेरो बाउलाई एकै गोली हानेर मार !"
गंगालालको यो चुनौती सुनेर जल्लाद टोलीको नाइके नर शमशेर रिसले आगो भयो । धड्याम्म !- उसले गंगालालको घुँडामा आफैँले गोली हान्यो । अनि उसले दशरथ चन्दको कोखमा फेरि पोडेलाई गोली हान्न लगायो। दशरथ चन्द झन् बढी छट्पटाउन थाले ।
आफ्ना आदरणीय साथी, एक असल गुरु जस्ता विवेकवान व्यक्ति, एक असल दाजु जस्ता स्नेहशील व्यक्ति दशरथ चन्दलाई यसरी अत्याचारी राणा शासकहरूका दलालहरूले दुःख दिएको उनले खप्न सकेनन् । उनी क्रूद्ध भएर नर शमशेरतिर फर्केर कराए- “सक्छस् भने तेरो बाउलाई एकै गोली हानेर मार !"
रगतको भेल बगेर जमीनको बालुवा रक्ताम्मे भयो, लथपथ भयो । उनलाई यो गोलीको पीडाले अरु मर्मान्त पायो । दाहा किटेर उनले त्यो तीव्र पीडालाई सहे । शरीरभित्र आगो बलेजस्तै भयो, उनको बाँधिएको जीऊ ढल्पलिन खोज्यो, हुत्तिन खोज्यो । साहस र धैर्यको अन्तिम उँचाइमा पुगेर उनको मस्तिष्कले त्यो दुःखाइलाई, त्यो चस्स घोचिरहेको घोचाइलाई, त्यो आगो जस्तो कष्टलाई खप्यो । उनका आँखाबाट वीरत्वको तापले उम्लेको तातो आँसुको भेल बग्यो । त्यो महान तातो आँसु धर्ती माताको छातीमा बग्यो, तातो भुल्का रगतसँगै मिसिएर ।
दशरथ चन्दको यो पीडाले गंगालाल झन् आगो भए । आफ्नो घुँडामा नर शमशेरले हानेको गोलीको पीडालाई उनले विर्सिए । दशरथ चन्दको पीडा देखाएर नर शमशेर गंगालाललाई तर्साएर माफी मगाउन चाहन्थ्यो । तर उनले ती क्रूर ज्यानमाराहरूप्रति र तिनका घिन- लाग्दा मालिक राणा शासकहरूप्रति झन् झन् घृणा व्यक्त गर्दे झन् झन् गाली गरे, उनी लत्रेनन्, झन् झन् उत्तेजित भए ।
आफ्नो कुटील प्रयत्नमा असफल भएपछि तुरुन्तै नर शमशेरले गंगालालको तिघ्रामुनि लाग्ने गरी अर्को गोली हान्यो । दोस्रो गोली लागिसक्दा पनि गंगालालले नर शमशेरलाई गाली गर्न छोडेनन् । यत्तिकैमा नर शमशेरले पोडेलाई आदेश दियो- "छातीमा हान् ।”
ड्याम्म: ! गोली गएर दशरथ चन्दको छातीमा बज्रियो । दशरथ चन्दको मृत्यु भयो । अत्याचारी शासकहरूका विरुद्ध अन्तिम सास रहुन्जेल उनको शिर झुकेन । त्यत्रो प्रहार र पीडा खपेको उनको शरीर मृत्युपछि मात्र अगाडिपट्टि निहुरियो । उनका आँखा खुलै थिए । यसरी प्रजातन्त्र र नेपाली धर्तीका निम्ति ज्यान दिने दशरथ चन्दका आँखाहरूले मृत्युपश्चात् पनि धर्तीलाई हेर्न छाडेनन् ।
के निहुँमा पक्राउ गरिएका थिए वीर सपूतहरू ? भारतमा गई महात्मा गान्धी र सुभासचन्द्र वोसलाई भेटेको कुरा थाहा पाएर राणा सरकारले शुक्रराज शास्त्रीलाई घरमै नजरबन्द राखेको थियो । उनले आफ्नो आर्थिक स्थिति र स्वास्थ्य बिग्रेकोले “मानिससँग मानिसको व्यवहार गरियोस्” भनी माग गरी राणाहरूलाई दिएको निवेदन-पत्रको कदर राणाहरूले गरेनन् । त्यसैले उनले "नेपाल नागरिक अधिकार समिति" को अध्यक्षको हैसियतले वि.सं. १९९५ मंसिरको एक दिन काठमाडौं इन्द्रचोकमा आमसभा गरे । त्यही आमसभामा गंगालालले पनि बोलेका थिए । राणाहरूका विरुद्ध गरिएको यो नै नेपालको इतिहासको पहिलो खुला आमसभा थियो । भोलिपल्ट शुक्रराज शास्त्री पक्राउमा परे र उनलाई तीन वर्षको जेल सजाय भयो । उनीसँगै असनमा पुराण भनी जनचेतना प्रचार गरेकोमा मुरलीधर उपाध्याया (मुरली पण्डित) लाई पनि थुनियो । पछि उनी छुटे र बनारस गई बसे । गंगालाल भने त्यतिखेर सानै उमेरको भएकोले र कोही कर्णेल गंगालालका नाता पर्ने भएकाले छिट्टै जमानीमा छुटेका थिए । पछि गंगालाल प्रजा परिषद्का अरु साथी सहित पर्चा छरेकोमा पक्राउ परेका हुन् । प्रजा परिषद्ले नेपाली जनतालाई ब्युँझाउन वि.सं. १९९७ साल असार ९ गते, ३० गते, साउन १७ गते र भाद्र २४ गते गरी चारथरि पर्चाहरू व्यापक रुपले छर्ने काम गन्यो । यस कामका निम्ति प्रजापरिषद्का सदस्यहरूले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पर्चा छर्ने छुट्टाछुट्टै जिम्मा लिएका थिए, र तोकिएको समयमा एकैपल्ट पर्चा छर्ने काम भयो । यसरी व्यापक रुपमा राणा शासनको कुकृत्यको भण्डाफोर गरिएको र जनतालाई संघर्षमा उत्रन आह्वान गरिएका ती पर्चाहरू पटकपटक छरिएकोले जनतामा ठूलो कौतुहल, उत्साह र चेतना भरिदै थियो भने राणा शासकहरू मर्माहित भएका थिए । राणाहरूका लागि ती पर्चाहरू पर्चा हैन, विशाल हाइड्रोजन बम जस्तै भएका थिए । यही कारण कार्तिक २ गतेदेखि ९ गतेसम्ममा दशरथ चन्द, गंगालाल, धर्मभक्त सहित प्रजा परिषद्का सदस्यहरू गिरफ्तार भए । प्रजा परिषद्का अध्यक्ष टंकप्रसाद आचार्य र सदस्य मुकुन्दप्रसाद रिमाल भारतमा भएकाले उनीहरू चाहिं त्यतिखेर पक्राउ परेनन् । प्रजा परिषद्का यिनै व्यक्तिहरूसँगै नागरिक अधिकार समितिका अध्यक्ष शुक्रराज शास्त्रीलाई मिसाई पछि मृत्युदण्ड सुनाइएको थियो । |
वि.सं. १९९७ साल माघ १४ गते रातको कुरा हो यो । साँझ १० बजेतिर जेलबाट शोभा भगवती मन्दिरनेर विष्णुमतीको बगरमा पुयाएर त्यहाँ गाडिएका बाँसका खम्बाहरूमा बाँधेर गोली ठोकी मार्न लगिएका दशरथ चन्द र गंगालाललाई एकै गोलीले सुविस्तापूर्वक मार्ने विवेक पनि लुटाहा राणाहरूले देखाएनन् । उनीहरूले तड्पाई तड्पाई मार्ने काम गरे । उनीहरूले यसरी तड्पाई तड्पाई प्रहार गर्ने क्रममा दशरथ चन्दको सास जाँदा रातको करीब साढ़े एक बजिसकेको थियो ।
यसपछि नर शमशेर गंगालाललाई अरू पीडा दिन अघि बढ्यो । ऊ स्वयंले तेस्रो गोली उनीमाथि दाग्यो त्यो पनि उसले गंगालालको तिघ्रामा नै हान्यो । गंगालाल यातनाले छट्पटाउन थाले । रगतले निथ्रुक्कै भिजेको सुरुवाल सहितको उनको देब्रे खुट्टा छट्पटिएर यता र उता रिंग्न थाल्यो । खुट्टामुनिको जमीनको बालुवा खोसिएर चन्द्राकार खाल्डो पयो । खुट्टाहरू चल्दा भुइँको बालुवा उछिट्टिएर आई खुट्टाभरि लत्पतिएको रगतमा टाँसिए । यसरी उनको खुट्टाभरि बालुवै बालुवा भयो ।
गंगालालले हसिनादेवीलाई बोलाए माघ १४ गते राती गंगालाल गोलीद्वारा तड्पीतड्पी, तर आततायी राणा शासकहरूसँग नझुकी मरे । ठीक त्यसको एक दिनअघि मात्र उनकी श्रीमती हसिनादेवीले घरमा बच्चा पाएकी थिइन् । जेलमा यो खवर ल्याइँदा गंगालालले छोराको नाम "शशी" "राख्नु भनी खबर पठाएका थिए । युवा वीर युवक गंगालाल ! प्रशव पीडाले छट्पटाएकी आफ्नी श्रीमतीको संझनाले के उनलाई छोएन होला ? आफ्नो सन्तान जन्मिएकोमा त्यसको अनुहार हेर्ने रहर के उनको मनमा पलाएन होला ? के उनी यस्ता मानवीय संवेदनशीलताहरूले भरिएका थिएनन् ? जरुर थिए । थिए, मात्र हैन उनीभित्रको संवेदनशीलता त्यो भन्दा हज्जारौ गुणा ज्यादा थियो, जसले गर्दा नै हो, उनले देश र देशवासीको हो, दुःखकष्ट समेतलाई आफ्नै दुःख कष्ट ठान्न पुगे र त्यस दुःख कष्टको जरोरुपी राणा शासनलाई हटाउने अभियानमा आफूलाई होमे । उनका सारा व्यक्तिगत रहर र आकांक्षाहरू देशकै रहर र आकांक्षामा बदलिएका थिए। भोलिपल्ट १४ गते राती १० बजेतिर दशरथ चन्द र गंगालाललाई मार्न जेलबाट शोभा भगवती लैजाँदा गाडी गंगालालको प्याफलनेरको घरकै बाटोबाट अगाडि बढ्यो । घर नजीकै गाडी पुगेपछि गंगालालले आफ्नो घरतिर फर्केर आफ्नी श्रीमतीलाई "हसिना ! हसिना !” भनेर बोलाए । हसिनाले उनको आवाज सुनिन् मात्र, तर गाडी आफ्नै स्पीडमा अघि बढिहाल्यो । हसिनाले "हजूर !” भनेर उनको बोलाइको जवाफ दिन पाइनन् उनलाई लाग्यो-गंगालाललाई पक्कै राणाहरूले कतै मार्न लगे। यो कुरा उनले घरका मानिसहरूलाई बताइन् । पाठकवृन्द ! अनुमान गर्नुहोस्- साथमा दुई दिनको बच्चा लिएर हसिनादेवीले आफ्ना पतिलाई मार्न कतै लगिएको कुरा थाहा पाएको त्यो रात कसरी कटाइन् होला ? |
युवा तेजश्वी गंगालालको त्यो छट्पटीले उनलाई गोली हान्न नर शमशेरले त्यहाँ लगेको भाडाको कारिन्दा पोडेको मनलाई पनि चिमोट्यो । गंगालालको पीडाको दृश्य देखेर ऊ स्वयं रुन थाल्यो। उसले नर शमशेरको आदेश मान्न अस्वीकार गर्यो । नर शमशेरले उसलाई गोली हान्ने काम गर्नका लागि धेरै फकायो, तर ऊ गोली हान्न तयार भएन।
त्यसपछि नर शमशेरले अघि दशरथ चन्दलाई गोली हान्ने, पोडेलाई नै गंगालाललाई पनि गोली हान्ने आदेश दियो । यतिखेरसम्म आइपुग्दा दशरथ चन्दलाई गोली हान्न ल्याइएको उक्त व्यक्ति पनि थरथरी काँपिरहेको थियो । उसले आफले गंगालालको नजिकै गएर गोली हान्न नसक्ने र टाढाबाट हानेको गोली लाग्न नसक्ने बताएर गोली हान्न अस्वीकार गयो ।
यसपछि उक्त व्यक्तिलाई गोली हान्ने काम गर्न फकाए जस्तो, गरी, उसलाई पेस्तोल समाउन मद्दत दिएजस्तो गरी नर शमशेर स्वयंले दुई गोली हान्यो । गोलीहरू गंगालालको पेट र कोखामा लाग्न पुगे। यही प्रहारले गंगालालको ज्यान लियो । उनको मृत जीउ दाहिनेपट्टि ढल्कियो । आँखाहरू बन्द भए ।
शुक्रराजलाई फाँसी दिन लाग्दा नलाग्दै सडकमा परबाट बीस-पच्चीस जनाको एक हूल मैन्टोल बालेर त्यता आयो । तानाशाही शासनका कायर दलालहरू अर्थात् त्यहाँ उपस्थित नर शमशेर लगायत- का सैनिक हाकिमहरू र सबै सिपाहीहरू त्यो हूल देखेर भागे ।
यसको ठीक ४ दिनअघि अर्थात् वि.सं १९९७ साल माघ १० गते साँझ जेलमा खाना पकाइरहेका शुक्रराज शास्त्रीलाई खाना पकाउन र खान पनि नदिई एक लहरी (ट्रक) सिपाहीहरूले टेकू पचलीस्थित सड़क छेउको एक खरीको रुखमा फाँसीमा झुण्ड्याउन लगेका थिए । साँझ १० बजिसकेको सो समयमा उनलाई फाँसी दिने ठाउँमा राणा शासकहरूको प्रतिनिधि नर शमशेर पहिले नै पुगिसकेको थियो ।
भारतमा चलेको प्रसिद्ध धार्मिक सुधारवादी आन्दोलन "आर्य समाज" बाट प्रभावित आफ्ना बांबु माधवराज जोशी भन्दा पनि एक पाइला अघि बढेर "नेपाल नागरिक अधिकार समिति” भन्ने संगठन खोली त्यसको अध्यक्ष भई जनताको पक्षमा र तानाशाही राणाहरूका विरुद्ध अघि बढेका शुक्रराज शास्त्री पटक्कै नडराई आफ्नो फाँसीको फन्दा आफैँ लगाउन अघि बढे । उनको इच्छा बमोजिम उनले पहिले बागमतीमा नुहाए र गीता पाठ गरे । अनि रुखको हाँगामा झुण्ड्याइएको फाँसीको डोरी आफ्नै हातले आफ्नो घाँटीमा लगाउनै आँट्दा उनले भाग्न चाहेको भए भाग्ने मौका पाएका थिए । तर उनी भागेनन् ।
घटना के भएको थियो भने शुक्रराजलाई फाँसी दिन लाग्दा नलाग्दै सडकमा परबाट बीस-पच्चीस जनाको एक हूल मैन्टोल बालेर त्यता आयो । तानाशाही शासनका कायर दलालहरू अर्थात् त्यहाँ उपस्थित नर शमशेर लगायत- का सैनिक हाकिमहरू र सबै सिपाहीहरू त्यो हूल देखेर भागे । उनीहरूले त्यो हूललाई शुक्रराजहरूको पक्षका विद्रोही जनता पो ठानेछन् । वास्तवमा त्यो कुनै भोजबाट फर्किएर घरतिर जान लागेका मानिसहरूको हूल थियो । पछि हूल गएपछि मात्र जल्लादहरू त्यहाँ फर्किए । शुक्रराज जस्ताको तस्तै त्यहीं उभिइरहेका थिए । दुई चार दिन नै सही' बढी बाँच्ने लोभ गरेका भए उनी त्यतिखेर भाग्न पनि सक्थे । तर उनले त्यो लोभ गरेनन् । नेपाली जनतालाई जोडले घच्घच्याउन उनले आफू देशको निम्ति वीरतापूर्वक मरेरै उदाहरण बन्ने अठोट लिएका हुनाले यो अठोटमा उनी दृढ देखिए ।
भगुवा जल्लादहरू आएपछि उनले आफ्नै हातले आफ्नो घाँटीमा फाँसी लगाए । अनि आफूले टेकिरहेको ढुंगाको भऱ्याङ आफ्नै खुट्टाले लडाए । यसरी रातको त्यो बाऱ्ह बजेको समयमा शुक्रराज शास्त्रीको घाँटी कस्सिँदै गयो, कस्सिँदै गयो । उनको संपूर्ण चेतना उनको कस्सिएको घाँटीको कारण निस्सासिएको उनको सास जस्तै एकछिन छट्पटायो । शरीरले मृत्युसँग जुध्ने आफ्नो स्वाभाविक उपक्रम चालू गर्न खोज्यो । त्यसैले यो एकछिन डोरीमा सुस्तरी हल्लियो र विस्तारै यो शान्त भयो । नेपाली माटोका एक जना शान्त, नीडर र कल्याणकारी भावना बोकेका महापुरुषले यसरी आफ्नो प्राण त्याग गरे ।
शुक्रराज शास्त्रीको सवाल जवाफ प्रजा परिषद्का सदस्यहरूसँगै एउटै अभियोगमा फसाउने नियतले राणा शासकहरूले नागरिक अधिकार समितिका बन्दी शुक्रराज शास्त्रीलाई पनि जेलबाट सिंहदरवार ल्याएर बयान लिने काम गर्न थाले । सिंहदरवारमा राणा शासनका प्रतिनिधिहरू शंकर शमशेर र बहादुर शमशेर बहादुर शमशेरले प्रश्न गन्यो- “त्यस्तो कार्यहरू गरेर तँ नेवारले हाम्रो मुलुकमा के खोजेको ?” शुक्रराजले निडर- तापूर्वक जवाफ दिए- "मौलिक अधिकार ।" बहादुर शमशेर, कड्क्यो- “अधिकार भनेको के हो ?" शुक्रराजले पनि कड्केरै जवाफ दिए- 'अधिकार भने को फण्डामेण्टल राइट हो ।" बहादुर शमशेर करायो- “राइट भनेको के ?" शुक्रराजले त्यसरी नै उत्तर दिए- “राइट भनेको हक हो । मैले मेरो हक खोजेको हुँ ।” शुक्रराजको यो निर्भिक जवाफ सुनेर बहादुर शमशेरले क्रोध र अपमान महसुस गयो र ऊ करायो- "हाम्रो राज्यमा तँ नेवारको हक ?" बहादुर शमशेरको यो भनाइबाट बुझिन्छ- अत्याचारी राणाहरू जातिगत रुपमा पनि आफूलाई ठूलो ठान्दथे र अरुलाई "नीच" । सारा जातजाति, जनजातिका मानिसहरूको परिश्रम, रगत र पसिनाले सिर्जिएको यो देशलाई राणाहरूले कसरी आफ्नो निजी संपत्ति जस्तै, पेवा जस्तै मान्ने गरेका रहेछन् भन्ने कुराको एउटा मूर्त प्रमाण बहादुर शमशेरको यो भनाई पनि हो । |
धर्मभक्तलाई फाँसी दिइएको घटनाले त राणा शासकहरूको क्रूरताको झन प्रष्ट झलक दिन्छ । अन्यत्र कतिपय देशहरूमा फाँसीको सजाय पाएको व्यक्तिले एकपल्ट फाँसी दिंदा कुनै संयोगले सो व्यक्ति बाँचेमा उसको दण्ड भुक्तान भएको ठहरिन्छ र सजायमुक्त हुने व्यवस्था हुने गर्छ । तर राणाहरूले धर्मभक्तलाई उनी दुई पटक फाँसी चढ्दा पनि नमरेको कुराको वास्तै गरेनन् । तेस्रोपल्ट भन् क्रूरतापूर्वक उनलाई फाँसीमा झुण्ड्याइयो ।
यो घटना कसरी घट्यो भने- माघ १३ गते साँझ काठमाडौं डिल्ली बजार इलाकाका पसलहरूलाई आठै बजे बन्द गर्ने उर्दी दिएर राणा शासकहरूले १० बजेतिर धर्मभक्तलाई सदर जेलबाट डिल्ली बजार, ज्ञानेश्वर हुँदै सिफल पुऱ्याए । उनका हातहरू पछाडि फर्काएर बाँधिएका थिए र आँखामा पट्टि बाँधिएको थियो । लहरी (ट्रक) बाट ओराल्न नपाई जल्लाद टोलीको नाइके नर शमशेरले धर्मभक्तलाई उनको अन्तिम इच्छा सोध्यो ।
धर्मभक्तले प्रष्ट शब्दमा जवाफ दिए- “मलाई राणा शासनको छिट्टै अन्त भएको हेर्ने इच्छा छ !"
उनको यो भनाइ सुनेर नर शमशेर रिसले आगो भयो। अवाक भयो ।
त्यहाँ रुखको हाँगोमा झुण्ड्याइएको फाँसीको फन्दामा उनको घाँटीलाई पारियो र खुट्टामुनिको गान्हो भत्काइयो । तर रुखको हाँगा लच्किएकोले धर्मभक्तले जमीन टेक्न पुगे । उनी झुण्डिएनन् ।
यसरी पहिलो पटकको फाँसीको प्रयास असफल भयो । त्यसपछि फेरि अर्को हाँगामा डोरी बाँधी अर्को फाँसीको फन्दा तयार गरियो । धर्मभक्तको घाँटीमा फन्दा लगाएर उनले टेकेको पर्खाल फेरि भत्काइयो । उनी झुण्डिए र छट्पटाए । यो छट्पटाईको जोडले डोरी नै छिन्यो । उनको घाँटीमा बडो जोडले डोरी, कस्सिएको थियो । फुकाल्न खोज्दा फुकाल्नै नसकिएपछि नर शमशेरले आफैँले चक्कूले डोरी काट्यो । र, फेरि उसले तेस्रो पटक डोरी तयार गर्ने 'आदेश दियो ।
लहरी (ट्रक) बाट ओराल्न नपाई जल्लाद टोलीको नाइके नर शमशेरले धर्मभक्तलाई उनको अन्तिम इच्छा सोध्यो । धर्मभक्तले प्रष्ट शब्दमा जवाफ दिए- “मलाई राणा शासनको छिट्टै अन्त भएको हेर्ने इच्छा छ !"
धर्मभक्तले अन्यत्रको प्रचलन संझेर नम्र बोलीमा नर शमशेरलाई भने- "म हजूरको गुरु हुँ, दुई पटकसम्म फाँसीबाट बाँचीसके । यस्तो अवस्थामा फेरि फाँसी दिनु न्यायसंगत होइन" स्मरणीय छ, धर्मभक्त दरबारका शारीरिक अभ्यास सिकाउने गुरु थिए ।
धर्मभक्तले यसरी पटक पटक फाँसी दिनु न्यायसंगत होइन भनेको सुनेर जल्लाद नेता नर शमशेर कड्क्यो- "तँलाई के को न्याय ? झण्डै मलाई समेत मुछेको थिइस् ।"
उसले 'झण्डै मलाई समेत मुछेको थिइस्' भन्नुको तात्पर्य के थियो भने धर्मभक्तलाई पक्रनुअघि उसले धर्मभक्तप्रति आफू साँचिलो हुनलाई भाग्ने भए भाग्नू भनेका थियो । यो कुरा धर्मभक्तले अरु राणाहरूको अगाडि व्यक्त गरेको घटनालाई नर शमशेरले यहाँ इंगित गर्न खोजेको थियो ।
टंकप्रसादलाई झूठो खबर ! प्रजा परिषद्का आफ्ना साथीहरू नेपालमा गिरफ़्तार हुँदा अध्यक्ष टंकप्रसाद कलकत्तामा पार्टीकै काममा पार्टीबाट खटिएर गएका थिए । गिरफ्तार सबैले आफ्नो नेता टंकप्रसाद हुन् भनी सल्लाह बमोजिम बताएपछि उनलाई गिरफ्तार गर्न राणा शासकहरू अनेक उपाय गर्न थाले । ज्यानमारा" को आरोप लगाई भारतको अंग्रेज सरकारद्वारा गिरफ्तारी गरी नेपाल ल्याउने विचार पनि गरे । तर शुरुमा अर्कै जाल गरीहेर्ने विचार गरे । उनीहरूले टंकप्रसादलाई उनका बाबुको नामबाट झुठो व्यहोराको आ.वा. गरे "I have fallen serious ill, come to see me" (म सिकिस्त बिरामी छु तुरुन्तै हेर्न आऊ ।) त्यो आ.वा. पाएर टंकप्रसाद बाबु रहेको ठाउँ जलेश्वरतिर भारतको जयनगरबाट रेलमा आउँदै गर्दा बाटैमा गुप्तचरहरूले उनलाई गिरफ्तार गरे । र, कार्तिक १६ गते सिंहदरवार ल्याइपुऱ्याए । |
भारतको कलकत्तामा बसिरहेका टंकप्रसाद आचार्यलाई त जालझेल गरी पक्रने राणा सरकारले धर्मभक्त भागेका भए के उनलाई चाहिं पकन बाँकी राख्थ्यो होला र ? त्यसैले त्यस्तो 'दया' धर्मभक्तले स्वीकारेका थिएनन् । त्यसमाथि भाग्नु भन्दा त नभागेरै राणाहरूको सामना गर्नु राम्रो हो भन्ने विचार धर्मभक्तमा थियो ।
नरभक्षी तानाशाहका दलालहरूलाई गुरुको महत्त्व र गरिमासँग के मतलब हुन्थ्यो र ? नर शमशेरले यसरी 'तँलाई के को न्याय ?' भन्दै हातमा लिएको चक्कूले धर्मभक्तको गालादेखि चिउँडोसम्म काटीदियो ।
गालाबाट रगतको धारा बग्न थाल्यो । उनी अत्यन्त क्रूद्ध भए । त्यतिखेर नै धर्मभक्तले एउटा चोटिलो साहस गरे । उनले नर शमशेरलाई जमाएर एक लात्ती हाने । नर शमशेर उनको लात्ती खाएर पाँच छ हात पर हुत्तिएर लड्यो ।
बदलास्वरुप उसले धर्मभक्तलाई कुट्न सिपाहीहरूलाई आदेश दियो । हात बाँधिएका एक जना निरस्त्र देशभक्तमाथि आततायी सिपाहीहरू दश-पन्ध्र जना एकसाथ खनिए । उनीहरूले धर्मभक्तलाई अत्यन्त अमानवीय ढंगले, अत्यन्त निर्ममतापूर्वक कुट्न थाले । उनको जीउभरि जनतामारा राणाशासनका ती जागिरेहरूले जताततै प्रहार गरे । त्यो कालो अन्धकारमा, त्यो सुनसानमा, त्यो आतंकपूर्ण वातावरणमा यसरी एउटा देशभक्त नेपालीमाथि सही नसक्नु चोट बर्सियो। तमाम नेपाली जनताहरू त्यतिखेर अधिकांशतः मस्त निन्द्रामा थिए, ओछ्यानमा थिए, ठीक त्यतिखेर नै माघको जाडोको त्यो मध्यरातमा ती वीर योद्धा एक्लै नराधमहरूको प्रहार खाँदै थिए । उनलाई कठै ! भनेर साथ दिने त्यहाँ कोही थिएन अंगअंगमा प्रहार गरिएका क्रूर लात्ती र घुस्साहरूले उनको शरीरलाई थिल्थिलों बनाइरहेको थियो । कुटाई असैह्य भयो । त्यसैले धर्मभक्त मूर्छा परे । उनी भुइँमा गुडुल्किए । आततायीहरूले पुनः डोरी झुण्ड्याएर आठ-नौ जनाले उनलाई हाँगामा समातेर उभ्याए । र, घाँटीमा फाँसीको फन्दा लगाइदिए । त्यसपछि रातको बाह बज्न लागेको त्यो समयमा वीर धर्मभक्तको प्राण गयो । नेपालमाताका एक जना सुपुत्रले यसरी मूर्छित् अवस्थामा फाँसीमा झुण्डिएर प्राण त्याग्नु पयो ।
भोलिपल्ट विहान सिफल हुँदै पशुपतिको मन्दिरतिर जान लागेका धार्मिक मानिसहरूले त्यो अधार्मिक, अत्याचारी दृश्य देखे । उनीहरूले देख्दा रुखमा धर्मभक्तको शव झुण्डिइरहेको थियो । उनको खुट्टाले भुइँ छुन छुन लागेको देखिन्थ्यो । उनको घाँटी छड्के परेको, आँखा आधा आधा मात्र खुलेका, मुखबाट रगत आएको, चिउँडोदेखि गालासम्म काटिएको र त्यसमा रगतको धर्सो परेको देखिन्थ्यो ।
सजाय पाउनेहरु प्रजा परिषद्ले चार वटा पर्चा राजधानीमा छरेपछि फैलिएको राजनीतिक सनसनी देखेर राणा शासकहरू क्रुद्ध र आहत भएका थिए । त्यसैले वि. सं. १९९७ को असोजदेखि सामाजिक कार्य गर्ने हरू, धार्मिक सुधारका काम गर्नेहरू शिक्षा प्रचारकहरू, भजन गाउनेहरू र खेलाडीहरू लगायतका जान्ने बुझ्ने जति सवैलाई अन्धाधुन्ध रूपले गिरफ्तार गरिएको थियो । उनीहरूमध्ये मुख्य मुख्य व्यक्तिहरूलाई माघ ६ गते साँझ अपरान्हमा सिंहदरवार मूल ढोका अगाडिको लामो पोखरीको पेटीमा लहरै उभ्याएर तोकिएको सजाय सुनाइएको थियो । शुक्रराज, धर्मभक्त, दशरथ चन्द र गंगालाललाई ज्यान सजाय सुनाइयो । नासु पूर्णमान प्रधानले भने ज्यान सजाय माफी पाई १८ वर्ष कैद सजाय पाएका थिए । टंकप्रसाद आचार्य र रामहरि शर्मा मुडी दाम सर्वश्वसहित यसैगरी ५ जनालाई १२ वर्ष कैद, ४ जनालाई ६ वर्ष, १ जनालाई ५ वर्ष, ४ जनालाई तीन वर्ष र एक जनालाई दुई महिना कैद तोकिएको थियो । ३७ जनालाई जागीर खोसुवा गर्ने, पहाडतिर धपाउने, देश निकाला गर्ने र जरिवाना गर्ने आदि विभिन्न थरिका सजाय दिइएको थियो । १२ जनाले सफाइ पाएका थिए । |
यसरी १९९७ साल माघमा नेपालका चार होनहार सपूतहरूको ज्यान राणा शासकहरूले लिए भने, दृढतापूर्वक ती सपूतहरूले मृत्युलाई स्वीकारे । तर उनीहरू आततायी राणा सरकारका सामु झुकेनन् । उनीहरूलाई माफी मागेमा सजाय कम गर्ने लालच शुरुदेखि अन्तसम्म नै राणाहरूले दिएका थिए । तर उनीहरूले माफी मागेनन् । धर्मभक्तलाई माफी माग्ने दवाब ज्यादा गरेको थियो । उनी पहलवान जीउका व्यक्ति थिए । उनलाई राणाहरूले शारीरिक रुपले ठूलो कष्ट मात्र देएनन्, भित्रभित्रै कमजोर पार्ने इन्जेक्सन पनि जवर्जस्ती दिने गर्थे । कुरा उनले अन्तिम भेटमा आफ्नी फूपूकी छोरीलाई बताएका थिए । यसरी उनलाई शारीरिक रुपमा अत्यन्त क्षीण पारेर तीब्र यातनाको क्रममा माफी माग्न निकै जोड गरिएको
थियो। तर उनी पुनः सम्हालिए र अन्तिम क्षणसम्म पनि बहादुरीपूर्वक लडे, तर दयाको भीख मागेनन् । दुईपल्ट फाँसीमा पर्दा पनि नमरेपछि उनले गरको जीवनको दावी चाहिं चलन अनुसार पाउनु पर्ने हकको दावी नै थियो ।
चार जना ती वीर शहीदहरूमध्ये शुक्रराज शास्त्रीलाई त स्वयं उनका बाबुले पनि ती वीरत्वपूर्ण कामहरूका लागि उत्साह प्रदान गरेका र स्यावासी दिएका थिए । उनका बाबु माधवराज जोशी आफैं समाज सुधारक आर्य समाजी विचारका व्यक्ति थिए । छोरा मारिने दिनमा अन्तिम भेट गर्दा अरु सबै रोएका थिए । तर उनी रोएनन् र उनले छोरासँग छुट्टिदा हिन्दीमा भनेका थिए- “स्यावास् छोरा ! अब खुशी भएर जाऊ, खुशी भएर जाऊ ।” भोलिपल्ट छोराको लास पचलीमा रुखमा झुण्डिएको ठाउँमा गएर पनि उनले मृत छोरालाई प्रणाम गरी, तीन चोटि घुमेर, लासतिर हेरेर भनेका थिए- "स्यावास् छोरा ! तिमीले राम्रो गर्यौ । तिमी धन्य छौं ! तिमीले आमा बाबुको मात्र हैन, देशको नै गौरव बढायौ । छोरो हुनु त यस्तो छोरो हुनु !"
माधवराज र शुक्रराजको देशप्रतिको यो उच्च मनोभाव देख्दा हामी जो सुकैको मुखबाट पनि निस्किन्छ- धन्य ! वीर पिता र धन्य वीर पुत्र !
चार शहीदहरूमध्ये दशरथ चन्द राजनीतिक रुपमा शायद् सबैभन्दा उच्च र दृढ थिए भन्ने देखिन्छ । उनको मनोवल अत्यन्तै उच्च थियो र आफ्नो उद्देश्य र विचारमा उनी अत्यन्तै स्पष्ट थिए । सारा राजबन्दीहरूका अभिभावक जस्ता थिए उनी । सबैको मनोवल बढाउन र क्रान्तिकारी अनुशासनलाई उच्च बनाउन उनी हरदम क्रियाशील थिए ।
माघ ६ गते नेल, सिक्री र हतकडी लगाई सिंहदरवारमा सेनाको घेराबीच सबै क्रान्तिकारीहरूलाई सजाय सुनाउन उभ्याइएको बेलामा आफूले मृत्युदण्ड सजाय पाएको सुन्दा सबैले त्यसलाई दृढतापूर्वक स्वीकारेका थिए । दशरथ चन्दले त सुन्न नपाई ठूलो स्वरले हाँसी हाँसी हिन्दीमा भनेका थिए- “फाँसी क्या चीज है ? "
सजाय पढ्नेले पढ्दै जाँदा प्रजा परिषद्का नेता टंकप्रसादलाई मुडी दामल, अंश सर्वश्व सहित जीवनभरको कारावासको सजाय सुनाउँदा पनि दशरथ चन्दले ठूलो स्वरमा व्यंग्य गर्दै बोलेका थिए- “कसको जीवनभर ? जुद्ध शमशेरको जीवनभर ?"
आफूसहित सबै राजबन्दीहरूलाई दशरथ चन्दले आफ्ना नेता टंकप्रसादलाई राणाहरूले गिरफ्तार गरी आफूहरू भएका ठाउँमा ल्याउँदा सिंहदरवारको चौरमा सारा राणा भाइभारदारहरूका सामुन्ने साहसपूर्वक स्यालुट गर्न लगाएका थिए । उनले टंकप्रसादलाई देख्नासाथ ठूलो स्वरमा साथीहरूतिर फर्केर कराए- “नेपाल प्रजा परिषद्का कमाण्डरलाई स्यालूट गर्ला ! स्यालूट गर् !” सबै राजबन्दीहरूले आफ्ना हातगोडाका सिक्री र नेल बजाएर टंकप्रसादलाई त्यो पहिलो जंगी सलाम अर्पण गरे ।
बन्दीगृह भित्र पक्राउ गरी सिंहदरवारमा लगिएका बन्दीहरूलाई कुराकानी गर्ने छुट थिएन । तर दशरथ चन्द भने मौका पायो कि त्यो नियम तोडेर बोलिहाल्थे । उनी भन्दथे- “हेर्नुस् है साथीहरू: हो ! यी राणाअत्याचारीहरूको अगाडि कोही नझुक्नू, उनको कुरा सुनेर राणा शासकहरू रिसले मुर्मुरिन्थे । तर उनको साहस र दृढता यस्तो थियो, त्यसलाई देखेर उनलाई गाली गर्ने साहस गर्न उनीहरू सक्दैन थिए । राणाहरूले उनलाई केही भन्ने आँट गर्न सकेनन् । भोलिपल्टदेखि उनका लागि सरकारकै तर्फबाट खाजाको व्यवस्था गरियो । दशरथ चन्द थुनामा रहँदा उनलाई खाना पुयाइदिने आफन्तहरू काठमाडौँमा कोही थिएनन् । त्यसैले उनी सरकारी रासनमा दिइने सुख्खा चिउरा, सखर र साँधेको आलुको भरमा बाँचेका थिए । तर देशको निम्ति ज्यानसम्म दिन तयार ती सपूत यस्तो रुखो खानाबाट विचलित भने पटक्कै थिएनन् । उनी बन्दीगृहमा शेर जस्तै साहसी देखिन्थे । यसबारे भुवनलाल प्रधान लेख्नुहुन्छ- “सिंहदरवारमा सिंहका मूर्तिहरू धेरै थिए, आज पनि छन् । तर त्यसबेला त्यहाँ जिउँदो सिंह कुनै थिए त यी दशरथ चन्द नै थिए ।” युवा गंगालाल पनि त्यत्तिकै जोशिला र निडर थिए । असंख्य कुटाई खाएर जीउ थिल्थिलो भइसक्दा पनि, जीउमा जताततै कोर्रा र बुट प्रहारका घाउहरू र नीलडाम पर्दा, कुटाइका कारण चिन्नै नसकिने गरी मुखै सुन्निदा पनि उनी लत्रेनन् । उनले आफ्नो संगठन प्रजा परिषद्का बारेमा कुनै पनि गोप्य कुरा राणाहरूलाई खोलेनन् । |
यसबाट देखिन्छ- दशरथ चन्द साङ्गठनिक अनुशासन र मर्यादाका पक्षमा पनि ज्यादा सचेत र दृढ थिए । साथीहरू कसैले पनि माफी माग्ने कायरता प्रदर्शन नगरुन् भनी उनी बारंबार सबैको हौसला बढाउँथे । सबैभन्दा कान्छा गंगालाललाई राणाहरूले विचलित पारेर झुकाउलान् भनी उनी चिन्तित थिए । अन्तिम समय जेलमा पनि उनीहरूसँगै थिए ।
अन्तिम भेटको अवसरमा गंगालाललाई आफन्तहरू जेलमा भेट्न आउँदा सबै रोए, तर कलिलै उमेरका भए पनि गंगालाल चाहिं रोएनन् । दशरथ चन्दलाई उनी रोलान् भन्ने ठूलो चिन्ता थियो ।
गंगालालले जेल बाहिर देवलतिर हेर्दै आफन्तलाई भने- "यो रुख पनि पुरानो र बुढो भएपछि आफैँ ढल्छ, त्यस्तै गरी यो मन्दिर पनि पुरानो भएपछि चुहिन्छ र भत्किन्छ, हाम्रो जीवन पनि यस्तै हो, केही छैन ।”
आफन्तहरूलाई देखेर गंगालाल विचलित होलान् कि भनी चिन्तित दशरथ चन्दले यसरी गंगालाल दृढ भएर आफन्तहरूसँग कुराकानी गरी जेलबाहिरबाट भित्र आफूभए ठाउँमा पस्दा खुशी हुँदै उनलाई अंगालो हाल्दै भने- “स्यावास् । मेरो भाइ कहिल्यै रुँदैन !”
दशरथ चन्द र शुक्रराजलाई गोली ठोकी मार्ने बेलामा राणाहरूले पहिले दशरथ चन्दलाई तड्पाएर मारेको दृश्य देखाएर कलिलो उमेरका गंगालाललाई त्यो दृश्य हेर्नै नसक्ने बनाउने र माफी मगाउने षड्यन्त्र गरेका थिए । यो कुरा दशरथ चन्द र गंगालाल दुवैलाई थाहा थियो । दशरथ चन्द यसबारे बढी चिन्तित थिए । आफूहरू देशको निम्ति जानी जानीकनै मृत्युको मुखमा पर्न लागेको र यसरी जीवन दिएर नेपाली जनतालाई ब्युँझाउने आफ्नो महान् सपनालाई राणाहरूले जालझेल गरी अन्तमा धुमिल पो पारिदिने हुन् कि भन्ने भय उनको मनमा थियो । त्यसैले दशरथ चन्दले त्यतिखेर दुई जनामध्ये पहिले गंगालाललाई गोली हानी मार्न जल्लाद टोलीको नाइके नर शमशेरलाई अनुरोध गरेका थिए । यता, गंगालाल पनि यसबारे सचेत थिए । उनी पनि दृढ थिए । उनले दशरथ चन्दलाई भने- “दाइ ! म तपाईंको मनको कुरा बुझ्दछु । तपाई ढुक्क हुनुहोस्- म कहिल्यै माफी माग्दिन ।”
यसपछि कसरी दशरथ चन्दलाई र गंगालाललाई गोली हानियो र कसरी उनीहरूलाई तड्पाई तड्पाई मारियों. भन्ने कुर माथि शुरुमै उल्लेख भइसकेको छ ।
पर्चामा के थियो ? कुनै शक्तिशाली बमभन्दा पनि ज्यादा शक्तिशाली ठहरिएका नेपाल प्रजा परिषद्ले छरेका ती चार वटा पर्चाहरूमध्ये भोटो जात्राको दिन पारेर छरिएको पहिलो पर्चामा शुरुमै राणाहरूलाई हाँक दिंदै यस्तो लेखिएको थियो- "राणावर्ग हो । तिमीहरूलाई थाहा होला कि नेपाल प्रजा परिषद् भन्ने संस्था नेपाली प्रजालाई तिमीहरूको क्रूर पंजाबाट आजाद या स्वतन्त्र गराइ शुद्ध ज्ञानको शिक्षा दिई आफ्नो जातिको मान-सम्मान, धन र धर्मको उपार्जन र उन्नतिद्वारा संसारका सभ्य जातिहरूमध्ये एक गराइ आफ्नो देशको गौरव हजारौं वर्षसम्म दिशा-दिशामा गुञ्जने गराउने उद्देश्य ली यो नेपाल प्रजा परिषद् खुलेको हो । "राणा हो । तिमीहरूलाई मौकाले ठूलो सत्कर्म गर्ने सौभाग्य दिएको थियो । तर तिमीहरूलाई स्वार्थले गुलाम बनायो । प्रजाको उन्नति गराउनुको सट्टा प्रजाको रगत चुसी आफ्नो छोरा नाती धनी गराउने कोशिश गर्यो । यहाँभन्दा ठूलो कुकर्म के होला ?” यसरी यस पर्चामा राणाहरूले जनतालाई भोकै मारेको, सन १९१४ मा अंग्रेजलाई लडाईमा नेपालले मद्दत गरेर गुलाम बनाएको आदि कुरामा विरोध जनाउँदै राणाहरूलाई मौकैमा सुध्रिने चेतावनी दिइएको थियो । |
यसरी देश र जनताको निम्ति, देशमा प्रजातन्त्र स्थापनाको निम्ति आफ्नो ज्यानै अर्पण गर्न समेत पछि नपरेका हामा ती वीर शहीदहरूको सम्झना आजका कतिपय मानिसहरूमा धुमिल हुँदै गइरहेको छ । यो बडो दुःखलाग्दो कुरा हो । शहीदहरूले जनताको स्वतन्त्रता र मुक्तिको लागि ज्यान अर्पण गरे । अब हामी जनताको कर्तव्य हो- उनीहरूका योगदानहरूलाई मर्मसम्मै बुझ्नु, उनीहरूको सम्मान गर्नु र उनीहरूले छोडेर गएका अधूरा कामहरू पूरा गर्नेतिर लागिपर्नु । नेपाली जनतालाई त्यतिखेरका राणा शासकहरूले चुस्नु सम्मः चुसेको, जनतालाई दासको रुपमा व्यवहार गरेको र देशलाई बन्द बाकस जस्तो गरी अँध्यारोमा ताल्चा मारिराखेको स्थिति देखेर त्यस स्थितिलाई फेर्न उनीहरू अगाडि बढेका थिए । उनीहरूका पनि व्यक्तिगत इच्छा र आकांक्षाहरू र स्वार्थहरू थिए नै। तर ती व्यक्तिगत इच्छा, आकांक्षा र स्वार्थ लाई उनीहरूले नेपाली जनताको विशाल इच्छा, आकांक्षा र स्वार्थसँग जोडे । उनीहरूले जनताको मुक्ति, भलाई र स्वतन्त्रता- लाई नै उनीहरूको पनि आफ्नो मुक्ति, भलाई र स्वतन्त्रता ठाने ।
आज उनीहरूको त्यो साहस र महान आत्मबलिदानको अर्थ र अभिप्राय हामीले गहिरोसँग बुझ्नु परेको छ ।
१८८७ सम्मका राणाशासन विरुद्धका संघर्षहरू वि. सं. १९०३ मा कोत पर्वमा कैयौं व्यक्तिहरूको हत्या गरी जंगबहादुरले राणाशासनको जग बसाल्यो । यसै बेलादेखि नै सत्ताको होडबाजीका कारण दरबारमा षड्यन्त्र र जालझेल थुप्रै भइरहे । तर त्यस शासन र तिनका नाइके विरुद्ध जनताको तर्फबाट संघर्ष गर्ने कामको शुरुवातका उल्लेखनीय व्यक्ति लखन थापा हुन् । मनकामना देवीले आफूलाई जंगबहादुरलाई मारी स्वयंले शासन गर्नु भनी आदेश दिएको भन्ने भनाइ अगाडि सार्दै उनी जंगबहादुरको बिरुद्ध उत्रे । उनलाई र उनका सात जना साथीलाई जंगबहादुरले झुण्ड्याएर मार्न लगायो । अरू ५०-६० जना थुनामा परे । यो वि.स. १९३१ तिरको कुरा थियो । यसपछि १९३२ तिर गोरखाका सुकदेव गुरुङ्गले विद्रोह गरे । तर पक्राउ पड़ी जेलमै उनी मरे । यसपछि त्यहीँकै सुपति गुरुङ्गले पनि विद्रोहको प्रयत्न गरे । पछि उनी वेपत्ता भए । वि.स. १९५३ देखि काठमाडौँमा माधवराज जोशी (शुक्रराजका पिता) ले धार्मिक सुधारको आन्दोलन “आर्य समाज" स्थापना गरी राणाहरूका विरुद्ध जनचेतना फैलाउन थालेको कुरा पनि उल्लेखनीय छ । पछि १९७७ मा तुल्सी मेहरहरूले यसलाई पुनः अघि बढाए । उनीहरू गिरफ्तार भए । “मकैको खेती” नामको पुस्तकमा “मकै खाने रातो टाउको र कालो टाउको भएको किरा" को बयान गरेकोलाई राणा शासकलाई ब्यंग्य गरेको ठानी उनीहरूले त्यस कितावका लेखक सुब्वा कृष्णलाल अधिकारीलाई थुने । जेलमै उनको मृत्यु भयो । काठमाडौंमा एउटा पुस्तकालय खोल्ने योजना गरेवापत् कृष्णप्रसाद कोइराला, चित्तधर र लक्ष्मीप्रसाद देवकोटा लगायतलाई मुद्दा लगाइ, कागज गराइ जरीवाना गरी छोडियो । यसलाई “लाइब्रेरी पर्व" भनिन्छ । यसैबीच, तुल्सी मेहरहरूले चर्खा प्रचार गरी घरेलु कपडा स्वदेशमै बुन्ने अभियानद्वारा पनि जनतालाई जगाउने काम गरे । पछि यो काम पनि प्रतिबन्धित भयो । १९८७ मा खण्डमान सिंहको नेतृत्वमा गठित “प्रचण्ड गोरखा” ले राणा शासन पल्टाउने उद्देश्य राखेको थियो । पछि यसका सबै मानिसहरू गिरफ्तार भए । यसपछि १९९३ तिर शुक्रराज शास्त्री, गंगालाल, केदारमान व्यथित, मुरलीधर आदि २१ जना मिली काठमाडौंमा “नेपाल नागरिक अधिकार समिति” गठन गरे । यो समितिले लेख, प्रवचन, पुराण वाचन, सेवा कार्य आदिद्वारा जनचेतना फैलाउने उद्देश्य राखेको थियो । जेठ २२, १९९३ का दिन टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त, रामहरि शर्मा र जीवराज शर्मा मिलेर "नेपाल प्रजा परिषद्” स्थापना गरे । यही परिषद्ले राजधानीमा केही दिन, बिराएर गोप्य रुपमा चार वटा पर्चा छरेर जनतालाई ब्युँझाएको खप्न नसकी राणाहरूले सुराक पत्ता लगाई उनीहरू सबैलाई पक्रेको थियो । उनीहरूसँगै उता "नागरिक अधिकार समिति” का अध्यक्ष शुक्रराज शास्त्रीलाई पनि मुछियो र एकसाथ दण्ड दिइयो, जुन दण्डका कारण १९९७ मा चार जना नेपाली सपूतहरू शहीद बन्न पुगे । |
वास्तवमा, तरवारको बलमा सत्ता आफ्नो हातमा लिई जंगबहादुरले खडा गरेको जहानीया लुटको त्यो क्रूर र जंगली शासन व्यवस्थामा जनता चूँसम्म पनि बोल्न पाउँदैन थिए । राजा त्रिभुवनलाई समेत उनीहरूले दरवारमा पिंजडामा राखे झै राखिरहेका थिए । अरु देशहरू उन्नतिको पथमा लम्कीसक्दा पनि हाम्रो देशलाई चाहिं राणाहरूले करीब- एक शताब्दी नै पछाडि धकेलिरहेका थिए। छिमेकी देश चीनमा क्रान्तिकारी गतिविधि बढ्दै थियो, भारतमा पनि अंग्रेज धपाउ अभियानमा ठूलाठूला संघर्षहरू हुँदै थिए । तर नेपालमा भने जंगली राणाहरूको मुख र सनकका भरमा चल्ने शासनले ढलीमली गरिरहेको थियो । खान लाउन नपाएर जनता भोकभोकै मर्दै थिए। तर राणाका जन्मँदै कर्णेल र जर्नेल भएर जन्मने खलकहरू भने रगत खाएर खरी जूका मोटाएझैँ मोटाइरहेका थिए। अरु देशहरूले विज्ञान प्रगतिको ठूलो उन्नति गरिसक्दा पनि हाम्रो देशमा भने सामान्य शिक्षा फैलाउने काम पनि भएको थिएन । सत्य कुरा लेख्न पाइन्नथ्यो, छाप्न पाइन्नथ्यो । पत्रिका र पुस्तक बाहिरबाट मगाएर पढ्नेहरूलाई समेत पक्राउ गरिन्थ्यो, थुनिन्थ्यो । धार्मिक सुधारका कुरा समेत गर्न पाइन्नथ्यो ।
आफ्नो मात्र स्वार्थ त पशुले पनि हेर्छ। त्यसैले भनिन्छ- साँच्चिको मानिस त्यो हो, जसले आफ्नो स्वार्थभन्दा बाहिर अरुको स्वार्थ, समाजको स्वार्थ, देशको स्वार्थलाई पनि हेर्छ । यिनै साँच्चिका मानिसहरू थिए ती हाम्रा महान शहीदहरू उनीहरूले आफू मरेर पनि देशलाई ब्युँझाएर गए । यसैको परिणामस्वरूप देशमा अब जनता जाग्न थाल्यो, प्रजा परिषद् र नागरिक अधिकार समितिको जगमाथि अब देशमा अरु राजनीतिक आन्दोलनहरू र राजनीतिक पार्टीहरू पनि देखा पर्न थाले । जनताको संगठित संघर्ष घनीभूत हुन थाल्यो ।
विस्तारै पूर्व दिशा उज्यालो हुँदै आयो । राणाहरूले “मारें” भन्ठानेका देशभक्तहरू चार जना मरे तर सयौं, हज्जारौं जन्मिए। आखिर २००७ सालमा राणा शासन ढलेरै छोड्यो ।
सारमा केलाएर हेर्ने हो भने, हामी पाउँछौं- आज हामीले सीमित नै भए पनि जुन अधिकारहरू पाइरहेका छौं, देशको सुनौलो भविष्यको लागि अरु अघि बढ्न संघर्षको मैदानमा लड्ने जुन चेतना र संगठनहरू पाइरहेका छौं, तिनका पछाडि पनि पछिका थुप्रै सपूतहरूका साथै शुक्रराज, धर्मभक्त, दशरथ चन्द र गंगालालका वीरतापूर्ण संघर्ष र जीवन बलिदानहरूको योगदान प्रष्ट रुपले रहेको छ । त्यतिखेर उनीहरूसँगै अघि बढ्ने उनीहरूका तमाम साथीहरूका देशभक्तिपूर्ण प्रयत्नहरू पनि उक्तिकै स्तुत्य छन् । हामीले हाम्रा ती वीर पूर्खाहरूको, ती वीर शहीदहरूको सही प्रकारले सम्मान कसरी गर्न सक्छौं ?- यसबारे सबैले घोत्लिनु जरुरी छ ।
"जनता" पत्रिकाको योगदान राणाहरूका अमानवीय कुकृत्यहरूको पर्दाफास गर्न र नेपाली जनताको आवाजलाई बुलन्द पार्न पटनाबाट प्रकाशित हुने एक समाजवादी साप्ताहिक पत्रिका "जनता" ले ठूलो योगदान गयो। त्यसका संपादक रामवृक्ष वेनीपुरीसँग दशरथ चन्दले भेटघाट गरी कुराकानी गरेका थिए । यसमा नेपाल सम्बन्धी समाचारहरू छापिन्थे "नेपाल की चिठ्ठी" भन्ने स्तंभमा नेपालीहरूले पठाएका लेखहरू पनि यसले छाप्थ्यो । दशरथ चन्द त्यसमा "सेवा सिंह" को नामबाट शुरुमा र पछि "सुशील" को नामबाट बारम्बार लेखहरू लेख्ने गर्थे । नेपालीहरूको आर्थिक दुर्दशा, राणाहरूको भोगविलासको र अत्याचारको वर्णन गर्दै "जनता" मा निस्केका समाचार र लेखहरूले राणा शासकहरूको सातो लिने गर्थे । "सुशील" नामबाट एक कडा लेख छापिएपछि राणाहरूले आफ्ना आडभरोसाको केन्द्र, आफ्ना मालिक तात्कालीन भारतका अंग्रेज शासकहरूलाई गुहारेर "जनता" को त्यो अंक जफत गराए । त्यतिले नपुगेर स्वयं राणा प्रधानमन्त्री जुद्ध शमशेरको छोरा बहादुर शमशेर पटना गएर "जनता" का संपादकलाई आफ्नो पक्षमा पार्न पचास हजार रुपियाँ घूस दिन खोज्यो ! संपादक स्वाभिमानी र नेपाललाई मायाँ गर्ने खालका थिए । उनले त्यो घूस लिन ठाडै अस्वीकार गरे । उल्टो, उनले “जनता” मा राणाहरू घूस खुवाउन आएको कुराको बयान र त्यतिखेर नेपालमा आफ्नो घरमै थुनामा राखिएका शुक्रराज शास्त्रीप्रति राणाहरूले गरेको क्रूर व्यवहारको बयान लेखी छपाए । यो अंकलाई पनि राणाहरूले अंग्रेज सरकारलाई लगाएर जफत गरायो, प्रेसमा खानतलासी लिन लगायो । राणाहरूले जति नै दमन गराए पनि, यसलाई बन्द गराउन अंग्रेज सरकारलाई दवाब दिए पनि र जनताका लेख लेख्नेहरूको सुईंको पाउन जासूसी गराएता पनि "जनता" पत्रिका भने आफ्नो अडानमा अडिग नै रह्यो । नेपालमा यो निकै लोकप्रिय बन्यो । यो पत्रिका खोज्दै मान्छेहरू वीरगंज र जयनगरसम्म पनि पुग्थे । सन् १९४०, मे ४ मा राणाहरूको दवाबमा अंग्रेज सरकारले “युद्धविरोधी पर्चा” छपाएको भन्ने निहुँ पारेर "जनता" का संपादक रामवृक्ष बेनीपुरीलाई गिरफ्तार गयो । पत्रिकामाथि पनि प्रतिबन्ध लगायो । |
सन्दर्भ ग्रन्थहरू:
नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषदको भूमिकाः राजेश गौतम / शहीद गंगा-दशरथः भुवनलाल प्रधान / अमर शहीद दशरथ चन्दः डा. देवी प्र. ओझा / त्रिभुवन स्मृति ग्रन्थ / नेपालको ऐतिहासिक रुपरेखाः बालचन्द्र शर्मा / आदि ।
(२०५२ साल माघ/फागनुको नवयुवा मासिकमा प्रकाशित )
नोट: यस आलेखमा प्रयोग गरिएका शहीदका तस्विरहरु चित्रकार राजन काफ्लेले तयार गर्नुभएको हो । यी चित्रहरुलाई जोकोहीले पनि गैरव्यवसायिक तथा शैक्षिक प्रयोजनका लागि नि:शुल्क प्रयोग गर्न सकिने जानकारी चित्रकार काफ्लेले दिनुभएको छ । यी तस्विरहरु हाइरेजुलुसन (उच्च गुणस्तर)मा चाहिएमा [email protected] मा आफ्नो पूर्ण विवरण एवं उपयोगको प्रयोजन खुलाइ लेखेर पठाउनु होला ।
प्रतिक्रिया