मित्रताको फाइदा

नीतिकथा

यो हितोपदेशका जमानाको एउटा जंगलको कथा हो । एकपटक जंगलभित्र डरले थर्कमान हुँदै भाग्दै एउटा मृग तलाउको किनारमा आइपुग्यो । त्यसलाई देखेर मुसो फुत्त दुलाभित्र पस्यो । कछुवा पानीभित्र पस्यो । काग अग्लो रुखको टुप्पातिर बसेर चारैतिर हेर्दै का का गरेर कराउन थाल्यो । आवाज सुनेर थुप्रै काग त्यहाँ जम्मा भए ।

कछुवाले पानीबाट अलिकति मुन्टो निकाल्दै भन्यो, “तिमी असल जनावरजस्तो देखिन्छौ । किन डराउँछौ ? आरामसँग पानी खाऊ । एकछिन थकाइ मार । अनि जंगलतिर लाग ।”

“दाइ, म सिकारीको डरले भागेको मृग हुँ । यत्रो जंगलमा मेरो एउटै साथी छैन । हित चिताउने मित्र छैन । मलाई मित्र चाहिएको छ । तपाईं मेरो मित्र बनिदिनोस् न । हुन्छ ?”

दुलाबाट बाहिर निस्कँदै मुसोले भन्यो– “कस्तो मित्र बन्ने त ? वास्तवमा मित्र कि त दुःख मिल्दा बनिन्छ, कि त मन मिल्दा, विचार मिल्दा बनिन्छ, कि त औकात मिल्दा बनिन्छ, कि त उद्देश्य मिल्दा बनिन्छ । हाम्रो बीचमा के मिल्छ ?”

“मिल्छ नि किन मिल्दैन ?” कागले बीचैमा बोल्दै भन्यो– “दुःख मिल्छ, शिकारी हामी सबैको शत्रु हो, हामी सबै दुःखी छौं । मन नमिल्ने कुरा पनि छैन, औकात पनि उद्देश्य पनि मिल्छ । हाम्रो उद्देश्य आपसमा मिलेर जीवनको रक्षा गर्नु हो । मिल्छ । साथी बन्न मिल्छ । बरु ए मृग ! यो जंगलमा शिकारी पसेकै हो ?”

कुरा सुनेर शान्तिको सास लिँदै मृगले भन्यो– “हो, आएको हो । पर नदी किनारमा नाइकेले पाल टाँगिसकेको छ । मेरो विचारमा भोलि बिहानसम्ममा तिनीहरु यो तलाउसम्म आइपुग्छन् । यहाँ बस्नु पनि सुरक्षित छैन ।”

मृगको कुराबाट कछुवा छट्पटायो र भन्यो– “त्यसै हो भने हामी पनि यहाँ नबसौं । भागौं । ज्यान जोगाउने बाटो यही एउटा छ ।”

“हो, हो भागौं ।” कछुवाको कुरामा समर्थन जनाउँदै कागले भन्यो– “तर दाइ, मेरा एउटा समस्या छ ।” चिन्तित हुँदै मुसाले लामो निःश्वास छोड्यो ।

“के हो समस्या ?” कछुवाले भन्यो– “भन न अनि पो थाहा हुन्छ ।”

“दाइ, तपाईं त कतै पानी भेट्नुभयो भने त्यहीँ पानीभित्र पस्नुहोला, सजिलै छ । काग रुखमा बस्न सक्नेको के कुरा गर्नु ? गुँड बनाउन पनि गाह्रो छैन । मलाई त एउटा सुरक्षित नयाँ घर चाहिन्छ । मेरो घर बनाउने काम सजिलो छैन । दुलो खनेर भित्रभित्रै सुरक्षित बसोबास बनाउनु वास्तवमा गाह्रो काम हो । तर पनि मेरो समस्याको कारणले चुप लागेर नबसौं । बुद्धिले काम लिऊँ । जे गर्दा सबैको ज्यान जोगिन्छ त्यही गरौं । राम्ररी सोचेर कदम चालौं । नहत्तारिऔं ।”

मुसाको कुरामा ध्यानै नदिई कछुवा तलाउबाट निस्क्यो र  घ्याङर्याङ्–घ्याङर्याङ् गर्दै हिँड्यो । “सोचौं” भन्दाभन्दै निस्केर हिँडिहाल्यो । बाटोमा केही होला कि एक्लै किन छोड्नु ? जाऔं” भन्दै काग र मुसा पनि पछि लागे ।

कछुवा केही परमात्र पुगेको थियो, एउटा शिकारीले देखिहाल्यो । र “अहा ! शिकार फेला पर्यो त” भन्दै अघि बढेर समात्यो र उठाएर काँधमा राख्यो ।

कछुवा शिकारीको काँधमा पुगेको देखेर मृग, काग र मुसा लुक्दै लुक्दै उसको पछि लागे । मुसाले रुँदैरुदै भन्यो– “हेर्नुस् न मलाई आज साह्रै नै दुःख लाग्यो । घर सम्पत्ति सबै छोड्नु परेकोमा बरु मलाई दुःख लाग्या छैन, मित्र कछुवा त्यस्तो अवस्थामा पुगेको देखेर साह्रै दुःख लाग्यो । असल मित्रले जस्तोसुकै संकटमा पनि साथ छोड्दैन । जीवनमा जति साथी साथीमा विश्वास हुन्छ, त्यति विश्वास आमाबाबुमा पनि हुँदैन । यस्तो विश्वासी मित्र संकटमा पर्यो । अब के गर्ने ?”

मृग र कागले भने– “अब के गर्ने ? बुद्धि निकाल्नुस् न बुद्धि । रोएर के हुन्छ ? समस्या पर्दा बुद्धिले काम लिनुपर्छ ।”

मुसा चुप लाग्यो । सबै कछुवाको अवस्था हेर्दै पछि लाग्दै गए । अलि पर पुगेपछि मुसाले भन्यो– “ल एउटा तरिका हुनसक्छ । अपनाएर हेर्ने हो कि ?”

“के होला त्यो तरिका ?” मृग र कागले सोधे ।

“मृग दाइ, तपाईं यस शिकारीको अगाडि अगाडि दगुर्नोस् र पर पोखरीछेउ पुगेपछि डङ्ग्रङ्ग लड्नुस् । काग उड्दै गएर मृगमाथि बस्नुस् र ठुँग्ने तर्खर गर्नुस् । शिकारीले कछुवाभन्दा राम्रो शिकार भेट्ने भएँ भन्ने ठान्छ । मृगको मासुका अगाडि कछुवाको मासु के हो र ? भन्ठान्छ । ऊ कछुवालाई थपक्क राखेर मृगतिर दगुर्छ । शिकारी नजिक नजिक पुगेपछि मृग दाइ जुरुक्क उठ्नु र बुरुक्क उफ्रेर जंगल पस्नू । म कछुवाको बन्धन काटिदिन्छु । उनी पोखरीतिर पस्छन् । हुन्न ?”

“वाह ! तपाईंको बुद्धि ! कति प्रशंसा गर्ने यस्तो बुद्धिको ? वास्तवमा तपाईंजस्तो बुद्धिमान् मित्र भेट्न गाह्रो छ ।” मृग र कागले खुशी हुँदै भने ।

यसपछि मृग शिकारीको सामुन्नेबाट कुद्दै अगाडि बढ्यो । अलि पर पुगेर अचानक सल्लाह गरेजसरी गर्लम्म ढल्यो । काग उड्दै गएर त्यसको भुँडीमा बसेर ठुँग्ने सुरसार झिक्यो । त्यस्तो मोटो ताजा मृग ढलेको देखेर शिकारीको मुखमा पानी आयो । “मृग भेटेपछि जाबो कछुवा के हो र ? अब मृगकै मासु खाने ।” मृगको मीठो मासु सम्झेर र्याल चुहाउँदै शिकारीले कछुवालाई त्यहीँ भुँईमा फ्यात्त फाल्यो र मृग भएतिर अघि बढ्यो ।

मुसाले तत्काल पुगेर कछुवाको बन्धन काटिदियो ।

शिकारी नजिक पुग्दा नपुग्दै काग र मृग त्यहाँबाट सुइँकुच्चा ठोके । शिकारी अचानक जिल्लियो र फर्केर कछुवा छोडेको ठाउँतिर हेरे ।

तर अहिले त्यो कछुवा पनि आफूले राखेको ठाउँमा थिएन । सडक छेउमै बसेर शिकारी तरक्क रोयो ।

यता मृग, काग, कछुवा र मुसा चारै मित्र जंगलको एउटा सुरक्षित ठाउँमा भेटेर हाँसे, बुद्धि पुर्याएर शिकारीबाट बच्न सकेकोमा गीत गाए, नाचे ।