दर्शनका उद्देश्य, कार्य र भूमिकाबारे विभिन्न विचार

मानव समाजको विकास र मार्क्सवाद–३

मानव सभ्यता सुरु भएर मानिसले चिन्तन–मनन गर्न थाल्नेबित्तिकै आफ्नो बासस्थान चारैतिर रहेका वस्तु हेर्नु स्वाभाविकै हो । मानिसले पृथ्वीमा रहेका वस्तु अनि पृथ्वीबाट देखिने आकाशका बादल, सूर्य, चन्द्र तारा आदिबारे सोच्नु अस्वाभाविक होइन ।

माटो, रुख, नदी, पहाड के हुन् ? किन र कसरी बोटविरुवा हुर्केको, पानी परेको, घाम लागेको, बादलले छोपेको होला ? यस्ता प्रक्रिया देख्दै हेर्दै त्यही विषयमा सोच्ने गरेकाले स्वभावतः सुरुमा मानिसहरूको चिन्तन भौतिकवादी थियो । ‘कबिलाहरूको इतिहास, प्राचीन मानिस बस्ने गुफामा कोरिएका चित्र र प्राचीन अभिलेखको विश्लेषण र अनुसन्धानबाट आदिम मानवको सोचाइ भौतिकवादी थियो, आदर्शवादी थिएन भन्ने सिद्ध हुन्छ’, भनी प्रसिद्ध मार्क्सवादी विद्वान् शिवदास घोषले पनि भन्नुभएको छ ।

मानिसले ईश्वरको अस्तित्वको कल्पना गरेपछि आदर्शवादी चिन्तनको एउटा शाखाको रुपमा अध्यात्मवादको उदय भएको हो । आदर्शवाद र अध्यात्मवादको विकासको अर्थ त्यसले भौतिकवादी चिन्तनलाई विस्थापित गरेको भने होइन ।

यसरी मानव–समाजको विकास र चिन्तन भौतिकवादी चिन्तनका साथ सुरु हुँदै अगाडि बढ्दै गएको हो र समाजको विकासबाट मानव–समाजको स्वरुपमा परिवर्तन हुँदै गयो । पछि भौतिकवादी चिन्तनमा मात्र सीमित रहेन र भौतिकवादी विचारका साथै आदर्शवादी विचार पनि देखा पर्यो । र, मानिसले ईश्वरको अस्तित्वको कल्पना गरेपछि आदर्शवादी चिन्तनको एउटा शाखाको रुपमा अध्यात्मवादको उदय भएको हो । आदर्शवाद र अध्यात्मवादको विकासको अर्थ त्यसले भौतिकवादी चिन्तनलाई विस्थापित गरेको भने होइन । यी दुई परस्परविरोधी चिन्तन प्रवाह मानव–समाजमा साथसाथै अस्तित्वमा रहे । यी दुई चिन्तनले एकले अर्कोको विरोध, खण्डन र र निन्दा पनि गरिरहे ।

सुरुमा आदिम मानवले प्रकृति र प्रकृतिका शक्तिहरूलाई पूजा गर्न थाले पनि श्रृष्टिकर्ताका रुपमा ईश्वरको, सम्पूर्ण विश्व ब्रम्हाण्ड सञ्चालन गर्ने भगवानको कल्पना गरेको थिएन । नदीमा बाढी आएर मानिसलाई बगाएको, बादलबाट चट्याङ्ग खसेर नास गरेको देखेपछि डराएर मानिसहरूले नदी, बादल, पहाड, रुख आदिलाई पूजा गर्न थाले । र, प्रकृति तथा प्राकृतिक प्रक्रियालाई नियन्त्रण गर्न भनेर जादू (Magic) को प्रयोग गरे, त्यसैबाट समस्या समाधान हुन्छ भन्ने पनि कल्पना गरे ।

सुरुको आदिम समाजमा वर्गको विभाजन भइसकेको थिएन, मानिसमा मालिक र नोकर, ठूलो र सानो वर्ग भन्ने भावना आइसकेको थिएन । मानिसमा चारैतिरका वस्तु, घटना र प्रक्रिया देखेर यो के हो, कसरी भयो भन्ने कौतूहलता जाग्नु स्वाभाविक थियो । आगोको आविष्कार भएपछि त मानिस आफैंले आगो बाल्न थाले । तर त्योभन्दा पहिल्यै आगो बलेको देख्दा मानिसको मनमा आगो कसरी बल्यो भन्ने प्रश्न उठ्यो । त्यसै गरी यस्ता प्रश्न पनि उठे: पानी कसरी पर्यो? असिना कसरी पर्यो? आँधी कसरी आयो ? पैह्रोले गर्दा कसरी जमिन खस्यो ? बाढीले कसरी जमिन बगायो ? भूकम्प के हो, कसरी गयो ? यसरी सबै विषयमा कसरी भन्ने प्रश्न गर्दै मानिसले सोच्न थाले । हुँदाहुँदा मानिसले मानिस कसरी जन्मन्छ, कसरी मर्छ, मरेपछि कहाँ जान्छ आदि प्रश्नमा पनि दिमाग खियाउन थाले । तर जति सोचे पनि मानिसहरूले यसको जवाफ पत्ता लगाउन सकेनन्, किनभने यसको जवाफ थाहा हुने विज्ञानको विकास भइसकेको थिएन ।

त्यही बेला समाजमा मालिक वर्ग र नोकर वर्ग निस्केपछि वर्ग–विभाजन देखियो । समाजमा अधिकार जमाएर ‘अनुशासन’ कायम राख्ने, शान्ति–सुव्यवस्था कायम गर्ने अधिकार लिएको व्यक्ति वा समूह भएको तथ्य पनि देखियो । त्यसपछि ‘ए, विश्व ब्रम्हाण्डमा पनि, प्रकृतिमा पनि यो सब सञ्चालन गर्ने कोही जरुर छ, ऊ परमात्मा, महाप्रभु, ईश्वर होला’ भनी कल्पना गरियो । अनि उनीहरूको मनमा उठेका विभिन्न प्रश्नको एउटै जवाफ पुगिहाल्यो, कौतूहलता हट्ने बाटो निस्क्यो, ‘यो सब भगवानको लीला, प्रभुको इच्छा ।’ यस प्रकार आदर्शवादी शाखामा ईश्वरवाद र आधात्मवादको जन्म भयो । तर भौतिकवादी र आदर्शवादीमध्येका पनि अनिश्वरवादीले भने यो सजिलो जवाफलाई सहजै स्वीकार गरेनन् ।

कारण थाहा नहुनेबित्तिकै भगवानले गरेको भन्न थालियो भने ‘थाहा नभएको’ अर्थात् अज्ञानताको नाम नै ईश्वर भयो । प्रकृतिभन्दा माथि, लौकिकभन्दा पर, अलौकिक शक्तिको कल्पना गरियो, जुन कुरा विज्ञान र तर्कले सिद्ध गर्दैनन् ।’

अनिश्वरवादीहरूले तर्क गरे– ‘बाढी कसरी आयो भनी सोधियो भने तपाईं सजिलै जवाफ दिनुहुन्छ, पानी परेर । त्यसै गरी कसरी हिलो भयो भनी सोधिएमा पानी परेर भन्नुहुन्छ । तर पानी कसरी पर्यो भनेर सोधिएमा भन्नुहुन्छ– ईश्वरको कारणले । कारण थाहा नहुनेबित्तिकै भगवानले गरेको भन्न थालियो भने ‘थाहा नभएको’ अर्थात् अज्ञानताको नाम नै ईश्वर भयो । प्रकृतिभन्दा माथि, लौकिकभन्दा पर, अलौकिक शक्तिको कल्पना गरियो, जुन कुरा विज्ञान र तर्कले सिद्ध गर्दैनन् ।’

जेहोस्, अध्यात्मवादी र भौतिकवादीका बीचमा मतभेद र द्वन्द्व भए पनि, आदर्शवादी र भौतिकवादी चिन्तनमा मतभेद भए पनि, यी दुवैथरी दर्शन भन्नेबित्तिकै यो मानवको जन्म, मृत्यु, जगत् र ब्रम्हाण्डबारे के हो, कसरी आयो भनी सोच्ने, विचार गर्ने अनि चिन्तनद्वारा कुनै कल्पना गर्ने वा कुनै तर्कद्वारा उत्तर निकाल्ने काम दर्शनको हो ।

बुद्धको विचारमा दर्शनको काम ‘मानव–जीवनलाई दुःखमुक्त गर्ने उपाय सोच्ने हो, जीवनसित प्रत्यक्ष सम्बन्ध भएको कुरामा ध्यान दिने हो, जीवनपछिको कुरा, जगतबाहिरको कुरातिर लाग्ने होइन ।’

दार्शनिक चिन्तनको यो प्रवृत्तिमा केही परिवर्तन प्राचीन कालमै गौतम बुद्ध र अरिस्टोटलजस्ता द्वन्द्ववादीले ल्याए । गौतम बुद्धले भन्नुभएको छ, ‘दर्शनले यो पृथ्वी कहाँबाट आयो, मानिसको जन्म कहाँबाट आएर हुने हो, मानिस मरेपछि कहाँ जान्छ भन्ने मानिसको जीवन समस्यासँग सम्बन्ध नभएका कुरातिर लाग्ने होइन । उहाँको दृढ विचार थियो, 'बरु मानव–जीवनमा दुःख छ, जन्म दुःख, बुढ्यौली दुःख, रोग दुःख छ । यसरी दुःखले भरिएको जीवन लिएको मानिसलाई दुःखबाट कसरी मुक्त गर्ने, त्यसैगरी मानव–समाजमा भएका विकृति र खराबी, अशान्तिलाई कसरी हटाउने भनी उपाय पत्ता लगाउनुपर्दछ । बुद्धको विचारमा दर्शनको काम ‘मानव–जीवनलाई दुःखमुक्त गर्ने उपाय सोच्ने हो, जीवनसित प्रत्यक्ष सम्बन्ध भएको कुरामा ध्यान दिने हो, जीवनपछिको कुरा, जगतबाहिरको कुरातिर लाग्ने होइन ।’

त्यसै गरी अरिस्टोटलको पनि विचार थियो, दर्शनको काम जीवनसित प्रत्यक्ष सम्बन्ध भएको कुरामा सोच्ने हो । उहाँले त साहित्यको पनि जीवनसित प्रत्यक्ष सम्बन्ध भएको कुरामा जोड दिनुभएको थियो । उहाँले साहित्य (काव्य वा प्वेतिक्स्) को परिभाषा नै ‘जीवनको मिमेसिस’ अर्थात् जीवनको अनुकरण भन्नुभयो ।

इतिहासमै पहिलो पटक मार्क्सवादले ‘सत्य जानेर मात्र के काम, विश्वलाई चिनेर मात्रै के काम, त्यो जानेको सत्यलाई व्यवहारमा प्रयोग गरिएन भने’ भनी प्रश्न उठायो । त्यसले मार्क्सवादले ‘दर्शनको काम विश्वलाई जान्ने र व्याख्या गर्ने मात्र होइन, त्यसलाई बदल्ने हो’ भन्ने अडान लियो ।

यस प्रकारले दर्शन (फिलोसोफी)को काम र भूमिकाबारे प्राचीन कालदेखि नै विभिन्न दार्शनिकका विभिन्न मत थिए । तर दर्शनले के भूमिका खेल्नुपर्छ भन्ने धारणामा आमूल परिवर्तन मार्क्सले ल्याउनुभयो । अरु सबै दर्शनभन्दा, मार्क्सभन्दा पहिलेका आदर्शवादी र भौतिकवादी दुवै प्रकारका दर्शनभन्दा मूलभूत रुपले नै मार्क्सवाद भिन्न हुनुको कारण यही हो । अहिलेसम्म सबै दर्शनले सत्य जान्ने र त्यसलाई व्याख्या (interpret) गर्ने प्रयास मात्रै गरे, सायद केही हदसम्म सफल पनि भए होलान् । तर सफलता पाउनु अर्कै कुरा हो, उनीहरूको प्रयास नै सत्यलाई जान्ने, अनि व्याख्या गर्ने मात्रै हो । उनीहरू भइरहेका घटना र प्रक्रिया जान्ने, विश्वबारेको सत्य जान्ने अनि त्यसको अर्थबारे व्याख्या गर्नमै सीमित रहे । इतिहासमै पहिलो पटक मार्क्सवादले ‘सत्य जानेर मात्र के काम, विश्वलाई चिनेर मात्रै के काम, त्यो जानेको सत्यलाई व्यवहारमा प्रयोग गरिएन भने’ भनी प्रश्न उठायो । त्यसले मार्क्सवादले ‘दर्शनको काम विश्वलाई जान्ने र व्याख्या गर्ने मात्र होइन, त्यसलाई बदल्ने हो’ भन्ने अडान लियो ।

हामीले मनन गर्नुपर्ने कुरा के हो भने मानिसले प्रकृतिको नियम बदल्न नसके पनि नियमअनुसार प्रकृतिलाई आफ्नो सेवा–सुविधाका लागि प्रयोग गर्न सक्छ अर्थात् ‘प्रकृतिलाई काबुमा लिने’ काम गर्न सक्छ ।

मार्क्सले विश्वलाई बदल्ने भन्नुको अर्थ विश्वसम्बन्धी सत्य जानेको अर्थात् विश्वमा हुने घटना र प्रक्रियाका नियमबारे जानेको ज्ञानलाई प्रयोग गरी विश्वलाई आफ्नो फाइदाका लागि अर्थात् ‘मानव हितको निम्ति’ बदल्नु हो । विज्ञानको दृष्टिले हेर्दा भौतिक पदार्थको गुणका, परिवर्तनका, प्रक्रियाका आफ्नै नियम हुन्छन् । ती नियम प्रयोग र अवलोकनबाट जान्न सकिन्छ । हामीले जान्न सके पनि ती नियम बदल्न सक्दैनौं । हामीले मनन गर्नुपर्ने कुरा के हो भने मानिसले प्रकृतिको नियम बदल्न नसके पनि नियमअनुसार प्रकृतिलाई आफ्नो सेवा–सुविधाका लागि प्रयोग गर्न सक्छ अर्थात् ‘प्रकृतिलाई काबुमा लिने’ काम गर्न सक्छ ।

एउटा उदाहरण लिऊँ । पानी अग्लो ठाउँबाट होचो ठाउँमा बग्छ । यो प्रकृतिको नियम हो, मानिसले यसलाई बदल्न सक्दैन, कुनै ऊर्जा शक्तिबाट तानेमा बाहेक । तर पानी माथिबाट तल बग्ने नियमलाई प्रयोग गरी बाँध बाँधेर पानीलाई आफूले चाहेजस्तो बगाई सिँचाइमा प्रयोग गर्न सकिन्छ वा बिजुली शक्ति निकाल्न सकिन्छ ।

प्रस्तुत विचार हामीले प्रसिद्ध मार्क्सवादी विचारक प्राध्यापक माणिकलाल श्रेष्ठको पुस्तक 'मानव समाजको विकासबारे मार्क्सवादी दृष्टिकोण'बाट लिएका हौं । हामी उक्त पुस्तकका बाँकी अंशहरु क्रमश: प्रकाशित गर्दै जानेछौं ।