हथौडा जस्तो टाउको भएको माछा

भनिन्छ, विश्व ब्रम्हाण्डका अथाहा गहिराइलाई खोतल्दै लाखौं प्रकाशवर्ष परका रहस्यहरु थाहा पाइसकेका मानिसले आफ्नै ग्रह पृथ्वीका सागर महासागरका गहिराईभित्रका अनन्त रहस्यहरु थाहा पाउन बाँकी नै छ । समग्र पृथ्वीको ७१ प्रतिशत हिस्सा ओगटेको सागर–महासागरले पृथ्वीको ९४ प्रतिशत जीवनलाई आफूमा समाहित गरेको छ । रमाइलो कुरा त के छ भने, समुद्रको रहस्यबारे थाहा पाउन मानिसले परापूर्वकालदेखि नै कोशिस गर्दै आइरहेका छन् । तर के मानिन्छ भने, आजको मितिसम्ममा मानिसले सागर–महासागरका गहिराइभित्रका जीवनका बारेमा करिब ५ प्रतिशत हिस्सा मात्रै जानकारी हासिल गर्न सकेका छन् । बाँकी ९५ प्रतिशत अझै थाहा पाउन बाँकी अर्थात् अज्ञात नदै छ ।

हुन पनि हो, सागर–महासागरका अथाहा गहिराइमा रोचक–रमाइला, सुन्दर–कुरुप, अनौठा–विचित्र र भयंकर डरलाग्दा जीवजन्तुहरु पाइन्छन् । वैज्ञानिकहरुले त्यस्ता खालका नयाँ नयाँ जीवजन्तुहरु बेलाबेलामा फेला पार्दै आइरहेका छन् । त्यस्तै एउटा विचित्रको जीव हो–  टाउकोमा घन (ह्याम्मर) जस्तो ठुलो फैलिएको डल्लो भएके सार्क माछा । त्यही डल्लोको कारण यस सार्कलाई ह्याम्मर हेड सार्क भनिन्छ ।

यस सार्कको यो ह्याम्मर जस्तो भागलाई सेफालोफोइल भनिन्छ । यो माछा विशेष गरेर उष्णकटिबन्धीय तथा उपोष्णकटीबन्धीय (tropical and subtropical )क्षेत्रका समुद्रमा पाइन्छ । सार्क समूहमा पर्ने यो माछाको पनि विभिन्न प्रजातिहरु हुन्छन् । हालसम्म यो माछाको नौ प्रजाति फेला परिसकेका छन् । तीमध्ये सानोमा ३ फिट चौडाइदेखि २० फिट चौडाइसम्मको ह्याम्मर हेडको फैलावट भएका पर्दछन् ।

हेर्दा अति सुन्दर देखिने यो सार्क माछाको टाउकोले उनीहरुको सुन्दरता मात्र बढाउँदैन, बरु त्यसले त यसलाई थुप्रै फाइदा पनि पुर्यारहेको हुन्छ । विशेष गरेर यसको आँखा त्यस ह्याम्मरको टुप्पो भागमा हुने गर्छ । त्यसले गर्दा यो माछाले अलि ठूलो फैलावटको क्षेत्रमा देख्न सहयोग गर्छ । यही कारण, यो माछाले अरु माछाको तुलनामा बढी राम्ररी शिकार गर्न सक्छ ।

यस माछाको ह्याम्मरहेडमा इलेक्ट्रोरिसेप्टरहरु हुने गर्छ । फलतः यस माछाले अरु माछाहरुले निस्काशित गर्ने कमजोर विद्युतीय आवृत्तिहरुलाई पनि थाहा पाउन र महसूस गर्न सक्छ । यसले उसलाई शिकार पक्रनमा सहयोग पुग्छ ।

यही ह्याम्मरजस्तो अङ्गको सहयोगले यो सार्क अरु माछाहरु भन्दा एकदमै चुस्तताका साथ पूरै मोडिन सक्छ । यस काममा त्यसको फैलिएको मासुको भागले यो सार्कलाई पानीमा एकदमै घुमाउरो मोडिन मद्दत गर्छ ।

अति छोटो तैरिने यो सार्कमाछाको तीखो दाँत हुन्छ र यो ४ मिटर (१३ फिट भन्दा बेसी) लामै हुन्छ । मांसहारी वर्गमा पर्ने यो सार्क अत्यन्तै खतरनाक मानिन्छ । यस माछाका आहार यसको प्रजातिमा निर्भर गर्दछ तर मुख्यतः यसले अरु माछाहरु, स्क्वीड, स्टिङ्ग रे अरु अरु ससाना सार्क माछाहरुलाई समेत आफ्नो आहारा बनाउने गर्दछ । तर प्रकृतिको सुन्दर सिर्जना यो जीव मानिसले गरेको समुद्री जीवहरुको अत्यधिक दोहन अर्थात् अन्धधुन्ध शिकारका कारण खतरामा परेको छ । यो सार्कको पखेटाको सुप लोकप्रिय परिकारमा पर्दछ । अहिले राष्ट्रसंघीय निकाय आइयुसीएनले यसलाई खतरामा परेको जीवको वर्गमा राखेको छ ।

Title Photo: https://www.zbrushcentral.com

 

 

   

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।