अभिव्यक्तिबारे
गुरु कक्षा कोठामा प्रवेश गरे ।
छात्र : गुरु ! राम्रो अभिव्यक्ति कसरी गर्ने ?
गुरु : मसंग एउटा सुराग भने छ । तिमीलाई काम लाग्छ भने सुन; लाओत्सेले भनेका छन्, ' सुन्दर शब्द भरपर्दा हुँदैनन् र भरपर्दा शब्द सुन्दर हुँदैनन् ।'
त्यसरी नै कन्फुसियसले भनेका छन्, 'लिखतमा वाणीको उतार ठ्याक्कै कहाँ हुन्छ र ?! उसरी नै वाणीमा विचारलाई जस्ताको तस्तै कहाँ उतार्न सकिन्छ र ?!'
तिमीले आफ्नो सुविधामा छनौट गरे भयो ।
छात्र : गुरु ! मलाई त मुरलीको धुन मनपर्छ - ध्वनिमा मधुरता । युधिष्ठिर जस्तो दोचारे पनि हुनु नपरोस् । लिखत र वाणीमा संगति चाहिन्छ, वाणीमा विचारको ताज होस् । अब मैले के गर्नु पर्ला ?
गुरु : मैले पढ़ा'को तिमी सब्बै बुझ्छौं र ?! नबुझे सोध्छौ । तिमेर्ले बुझेनौ भनेर न म दिक्दार हुन्छु न पढाउन नै छोड्छु । बाहिर म भन्दा राम्रा गुरु पनि छन् त्यो मलाई थाहा छ । तर तिनलाई पर्खने सुविधा हामीलाई कहाँ छ र ?! बस, अर्थ नबाङ्गियोस्, शब्द शृंगारमा म लाग्दिनँ । अभिव्यक्ति शब्दको भण्डारण होइन, बोरामा आलू कोचे जस्तो । त्यो त युद्धमा सैन्यविन्यास हो । नुन खा'का कुखुरा पनि होइनन्, मरन्च्यासे । हुन् त भरपुर जीवन शक्ति भ'का । आमाको स्नेह, प्रियसीको आलिङ्गन, सैनिकको रणघोष - तिनको मजै अर्को । कहिले काहीं त्यो वनको नीरव शान्ति र स्वयम्भूको आँखाको जस्तो निशब्द भाखा पनि हुन्छ ।
छात्र : सुनमा सुगन्ध हुन्छ र ?
गुरु : एउटा मात्र भए छ भने पनि त राम्रो हो । शुन्य र सय बीचमा पनि संख्या हुन्छन् । तिमीले तोते बोल्दा तिम्री आमा क्या खुशी भ'कि थिन्, त्यो तिमीलाई हेक्का न होला ! त्यसमा निश्छल सत्य थियो । पूर्णता त सिक्दै जाने हो ।
छात्र : गुरु, मलाई अक्सर झ्वाँक चलिरहन्छ ।
गुरु : आक्रोस खहरे हो, फोहोर मैला सोहोरेको । कुण्ठा झुसिलो डकार हो, समाजमा पोख्नु हुन्न । नागबेली छ कावेली तै पनि कन्चन छ, मनमोहक छ ।
प्रतिक्रिया