कविता लेख्ने  कसरी ?

कविता कसरी लेख्ने ?

मलाई सोधिने प्रश्नहरु मध्य एउटा धेरै सोधिने प्रश्न हो ।कविता लेख्ने  कसरी ? कविता आखर* भए भनिदिनु हुन्थ्यो । कविता यसरी लेख। त्यसरी लेख ।

कविता हृदय हो। हृदयको आवाज हो।कविता संवेदनशील मान्छेले रचना गरेको प्रेम हो। कविता विचार, भाव र कलाहरुको गुँड हो।चरालाई गुँड कसरी बनाउने भन्यो भने चरा अलमलिन्छ। म फेरि कवि, महाकवि पनि होइन । म पनि कविता लेखनको सिकारु हुँ। त्यसैले पनि कविता कसरी लेख्ने ? यो प्रश्नउत्तरमा म सधैँ अलमलिन्छु। यसर्थ कविता ठ्याक्कै  यसरी लेख्नुस् भनेर म  ठोकुवा गर्न त सक्दिनँ।मात्र यहाँहरु समक्ष  कविता लेख्दा बिम्ब, लय, उदगम, बिट र शब्द छनोटमा ध्यान दिनुहोला भनेर अनुरोध गर्न सक्छु  ।

उहीँ चराले  सिन्का टिपे जस्तै ।गौथलीले गीलो माटो बोके जस्तै। कविता लेख्दा  सिन्का यसरी टिप्नुस्। गिलो माटो यसरी बोक्नुस् । म यति चाहिँ  भन्न सक्छु।फेरि मेरो मान्यता पनि के हो भने । कवितात्मक सुन्दर गुँड बनाउन सिकाउने कालीगढ यो दुनियाँमा कोही पनि हुँदैन भन्ने मेरो मान्यता  हो।

धर्ती

जति नै भनोस् घामले

उज्यालो मेरो हो भनेर

घामलाई उज्यालो छर्न पनि त

यही धर्ती चाहिन्छ ।

 

जति नै भनोस् चाँदले

चाँदनी मेरो हो भनेर

चाँदलाई चाँदनी छर्न पनि त

यही धर्ती चाहिन्छ।

 

जति  नै भनोस् ताराहरुले

 सितारा मेरो हो भनेर

 ताराहरुलाई सितारा छर्न पनि त

यही धर्ती चाहिन्छ ।

 

जति नै भनोस् आकाशले

नीलिमा मेरो हो भनेर

आकाशलाई नीलिमा छर्न पनि त

यही धर्ती चाहिन्छ।

यो उपरोक्त "धर्ती " कविताका सबै बिम्बहरु आकाशसँग  जोडिएर आएका  बिम्बहरु  हुन् ।यो कवितालाई हिमाल,  पहाड वा अन्य कुनै बिम्बहरुसँग   जोडिदिँदा सिन्की खाँदेजस्तो कविता हुन जान्छ । अर्थात् गुँड बनाउँदा  सिन्काहरु उब्रिए जस्तो हुन्छ।  उब्रिएको सिन्काहरुले बरु अर्को गुँड बनाउदा सिन्की खाँदेजस्तो कविता  हुँदैन । बरु गुँडको  नाम धर्ती राख्दा कवितामा  केही फरक पर्दैन।जस्तो  कि -

धर्ती

जति नै सगरमाथाले

म अग्लो छु भने पनि

सगरमाथा उभिनलाई

यही धर्ती चाहिन्छ।

 

जति नै पहाडहरुले

म आँधी छेक्छु भने पनि

पहाडहरु उभिनलाई

यही धर्ती  चाहिन्छ ।

 

जति नै फाँटहरुले

म फैलिन्छु भने पनि

फाटहरु फैलिनलाई

यही धर्तीको माटो चाहिन्छ ।

यो  उब्रिएको सिन्काले बुनेको धर्ती कविता हिमाल, पहाड, फाँटहरु  बोकेको बिम्बमा भयो। यो धर्ती कविता  नदी, झर्ना, समुन्द्र, लहर र यसैसँग सम्बन्धित अरु बिम्बमा बग्दै गएछ भने पनि  यो  कविताले आफ्नो लय  छोड्दैन । लय नछोडेको कवितामा  मिठास हुन्छ। तर जति नै बिम्ब र लय मिलेको  कविता भए पनि कविता लेख्दाको  उदगम शब्दहरु एकाआपसमा  मिलेनन् भने त्यो कविताको शीर्षक धर्ती नै भए पनि त्यो कवितालाई छुट्टै गुँड बनाएर धर्ती शीर्षकको कवितामा  राख्नुपर्ने हुन्छ।

धर्ती

त्यसै कहाँ पग्लिन्छ हिमाल

हिमाल पग्लिन पनि त उज्यालो चाहिन्छ

त्यसै कहाँ उदाउँछ घाम

घाम उदाउन पनि त

आकाशी आगो चाहिन्छ

त्यसै कहाँ जोडिन्छ आकाश र धर्ती

धर्ती र आकाश जोडन पनि त किरण चाहिन्छ

त्यसै कहाँ पर्छ झरी

झरी पर्न पनि त पानी चाहिन्छ

त्यसै कहाँ बग्छ र नदी

नदी बग्न पनि त गन्तव्य चाहिन्छ

त्यसै कहाँ चम्किन्छ तारा

तारा चम्किन पनि त  जीवन  चाहिन्छ

त्यसै कहाँ झर्छ र तारा

तारा झर्न पनि त  मृत्यु चाहिन्छ

त्यसै कहाँ अस्ताउछ घाम

घाम अस्ताउन पनि त

घामको उदय चाहिन्छ l

यहाँ उपरोक्त तीनवटा कविताहरु धर्ती शीर्षककै कविता भए पनि सिन्की खाँदेजस्तै एउटैमा खाद्न मिल्दैन।छुट्टाछुट्टै गुँडहरु  बनाउनु पर्ने हुन्छ।

धर्ती

जति नै कविले

म मेरो कविताको मिरा हुँ भनोस्

जति नै कविले

म मेरो कविताको निभा हुँ भनोस्

कविलाई  आफ्नो कविता छर्न पनि त

यही धर्ती  चाहिन्छ ।

मैले भन्न खोजेको के हो भने सबै  फरक-फरक   कविताको शीर्षक धर्ती नै भए पनि कविता रच्दा बिम्ब, लय, उदगम र  बिटहरुको बहावअनुसार जब कविताले नयाँ-नयाँ गुँडहरु बनाउदै जान्छ।हो ठीक त्यतिबेला शब्द छनौटमा  कुन शब्द सुन्दा बढी मधुरम हुन्छ । त्यो शब्द छनौट गर्नु पर्ने हुन्छ। जस्तो कि नदीको गति ।  गति शब्दमा त्यति मिठास हुँदैन ।जति  बहाव शब्दमा मिठास हुन्छ। 

नोट  - यहाँ उपरोक्त सन्दर्भमा  निभा शब्दको छनोट गरिएको एउटा सानो कविता छ। निभा भनेको म निभा हुँ भनेको होइन। निभाको अर्थ  नेवारी शब्दकोषमा  घाम हो। त्यहाँ घाम शब्द राख्दा कवितामा मिठास हुँदैन। मिरा  शब्दसँग निभा शब्द मिलाउदा नै कविता जस्तो हुन्छ।

(*आखर= अक्षर)