जापान, कम्फर्ट वुमेन र विली ब्रान्ट

जापान र दक्षिण कोरियाबीच यौनदासी (comfort woman) का बारेमा बेलाबेलामा विवाद हुने गरेको छ । गत सालको नाेभेम्बर २३ को कुरा हो– दक्षिण कोरियाको अदालतले जापान सरकारलाई कोरियाली प्रायद्वीप कब्जा गरेको बेला यौनदासी बनाइएका १६ जना महिलालाई १ लाख ५२ हजार डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो । त्यसबेला जापान सरकारले उक्त आदेशप्रति खेद जनाउँदै भनेको थियो– हामी कुनै पनि हालतमा यो आदेश स्वीकार गर्न सक्दैनौँ । जापान सरकारको भनाइअनुसार उसले दक्षिण कोरियाका युद्धसम्बन्धी सबै दाबीलाई १९६५ को सन्धि अनुरूप भुक्तानी गरिसकेको छ।

को हुन् यौनदासीहरु ?

साम्राज्यवादी जापानले दोस्रो विश्वयुद्ध सुरु हुनु अघिदेखि अन्त्य नभएसम्म आफ्ना सैनिकलाई मनोरञ्जन दिन वेश्यालय खोलेको थियो । त्यसमा करिब ३ लाखदेखि ४ लाख महिलाहरुलाई यो काममा लगाएको थियो । तीमध्ये अधिकांश चीन, कोरिया र फिलिपिन्सका थिए । तर अरू जापान अधिनस्थ देशहरुका महिलालाई पनि 'कम्फर्ट वुमेन'का रूपमा प्रयोग गरिएको थियो । ती देशहरु बर्मा, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया, हङ्गकङ, मकाउ आदि थिए । उक्त कामका लागि महिलाहरुलाई नर्सिङ र अन्य उद्योगमा काम गर्न भनेर झुक्याएर, सडकमा हिँडिरहेकाहरुलाई अपहरण गरेर ल्याइन्थ्यो । एकचोटि ती महिलाहरु सैनिक वेश्यालय पुगेपछि तिनीहरुको नारकीय जीवन सुरु हुन्यो। त्यस्तै शोषणको शिकार बनेकी एक महिला किम हाक सुन पनि हुन् । उनलाई १७ वर्षको उमेरमा जापानी सैनिकहरुले राम्रो तलब पाउने कपडा फ्याक्ट्रीमा काम गर्न भनेर झुक्याएर वेश्यालयमा पुर्‍याएका थिए । उनलाई त्यहाँ पुर्‍याएको दिनदेखि नै उनीमाथि बलात्कार सुरु भयो, जुन कहिले रोकिएन ।

किम हाक सुनका अनुसार त्यहाँ हरेक दिन प्रत्येक कम्फर्ट वुमेनले ३०–४० जापानिज सैनिकहरुलाई सेवा दिनु पर्थ्यो । जापानिज सैनिकहरु आफ्नो पालो पर्खेर कम्फर्ट वुमेनहरुको सानो कोठा आगाडि लाइन लागेर बसेका हुन्थे । त्यहाँ भोग्नुपरेको अमानवीय व्यवहार र यातनाका कारण दोस्रो विश्वयुद्ध सकिँदासम्म ९० प्रितशत ती कम्फर्ट वुमेनहरुको दारुण मृत्यु भइसकेको थियो ।

त्यो नारकीय यातनाबाट बाँचेर फर्केका कम्फर्ट वुमेनहरुको बाँकी जीवन पनि सुखद् रहेन । आफ्नै देशको समाजले पनि उनीहरुलाई अछुतको व्यवहार गर्यो, केही यौनरोगको जटिलताका कारण मरे र केहीले आत्महत्या गरे । जापानले आफूले युद्धको क्रममा कम्फर्ट वुमेन प्रयोग गरेको कुरा दशकौँसम्म अस्वीकार गरिरह्यो । १९८७ मा दक्षिण कोरियामा सैनिक शासनको पतन भयो र प्रजातन्त्र आएपछि मात्र दक्षिण कोरियाका पूर्व कम्फर्ट वुमेन र मानव अधिकारवादी कार्यकर्ताहरुले यो कुरा जोडदार रूपमा उठाउन थाले । ९० को दसकको सुरुवातमा यो मामिला झन् चर्को रूपमा उठ्यो । अन्तत: सन १९९३ मा जापान सरकारले कम्फर्ट वुमेन प्रयोगसम्बन्धी आरोपलाई स्वीकार गर्दै माफी माग्यो । २०१५ मा जापान र दक्षिण कोरिया सरकारबीच यो मामिलाबारे सम्झौता भयो । जसअन्तर्गत जापानले यो अपराधका लागि माफी माग्दै जीवित रहेका कम्फर्ट वुमेनहरुलाई ८३ लाख डलर क्षतिपूर्ति दिन सहमत भयो । यो सम्झौतालाई दक्षिण कोरियाली पूर्वकम्फर्ट वुमेनहरूले मान्न अस्वीकार गर्दै भने हामीलाई पैसा होइन जापानको इमानदारीपूर्ण कानुनी जवाफदेहिता चाहिन्छ र यो सम्झौताले हाम्रो भावनाको प्रतिनिधित्व गर्दैन भन्दै उनीहरुले दक्षिण कोरियाको सरकारविरुद्ध अदालतमा मुद्दा दायर गरे ।

https://historysshadow.files.wordpress.com

जापानले कम्फर्ट वुमेनको मामिलामा मात्र होइन, विगतको उसको साम्राज्यवादी अतीतप्रति यस्तै ढुलमुले रवैया अपनाउँदै आएको छ । विगतका गल्तीहरुलाई सकेसम्म ढाकछोप गर्ने र विरोध अलिक चर्को भएपछि अस्पस्ट भाषामा माफी माग्ने । जापानले चीनमाथि कब्जा गर्दा १९३७ मा नानजिंग सहरमा गरेको नृसंश आमहत्याको मामिलामा समेत माफी मागेको छैन । उक्त नरसंहारमा ३ लाख जति चिनियाँ नागरिकहरुको हत्या भएको थियो । अझ जापानमा यो घटनामा मारिएका मान्छेहरुको सङ्ख्या कम देखाउने र अस्वीकार गर्ने चलन बढ्न थालेको छ। त्यस्तै पूर्वप्रधानमन्त्री हिदेकी तोजो लगायतका दोस्रो विश्वयुद्धकालीन युद्धअपराधीहरुको समाधिस्थल यासकुनी मन्दिरमा जापानका प्रधानमन्त्रीहरुले केही दशकयता नियमित जस्तो भ्रमण गर्न थालेका छन् । यसले चीन, कोरिया लगायतका देशहरु जसले विगतमा जापानको अत्याचार भोगेका थिए उनीहरुको भावनामा ठेस पुर्‍याउने गरेको छ।

https://www.dw.com

५ डिसेम्बर १९७० का दिन पश्चिम जर्मनीका चान्सलर विली ब्रान्टले पोल्यान्डको राजधानी वार्सास्थित नाजी यातना शिविरका सहिदहरुको स्मारकमा फूल चढाउँदा अचानक १ मिनेटसम्म घुँडा टेकेर उभिए । यो दृश्य देखेर सारा संसार स्तब्ध भयो । यो घटनाको एक वर्षपछि विली ब्रान्टलाई नोबेल पुरस्कारले सम्मानित गरियो । विली ब्रान्टले यो घटनाको बारेमा कहीँ कतै चर्चा गरेनन् । उनले वर्षौंपछि आफ्नो आत्मकथामा यो प्रसङ्गबारे लेखेका छन्– मलाई धेरैचोटि त्यो घटनाको बारेमा सोधियो, के त्यो योजनाबद्ध थियो ? होइन, त्यो योजनाबद्ध थिएन। म दसौँ लाख हत्याको बोझले थिचिएर जर्मनीको एतिहासिक खाडलको डिलमा उभिएको थिए । शब्दहरु असफल हुँदा मान्छेहरुले जे गर्छन् मैले त्यही गरेँ ।

जापान र जर्मनीको युद्धकालीन विगत उस्तैउस्तै छ । दुईवटै देश आर्थिक रुपमा विश्वका ठूला शक्ति हुन् । तर जर्मनीले आफ्नो विगतका नाजीकालीन अतितप्रति प्रायश्चित्त गरेर युरोपको नेतृत्व गर्न थालिसकेको छ । तर आकार, आर्थिक हैसियत र जनसङ्ख्यामा जर्मनीभन्दा ठूलो भएर पनि नैतिकताको नमूना मानिने जापान आफ्नो विगतसँग नाता तोड्न नसकेका कारण अनैतिकताको कालो इतिहास अनुहारमा पोतेर बसेको छ ।

Title Photo: https://hass.sutd.edu.sg