आगोको आविष्कार : मानवको दोश्रो क्रान्ति

आगो मान्छेको दैनिक जीवनमा नभई नहुने चीज हो । कल्पना गर्नुस् त आगो बिनाको संसार कस्तो होला ? आगो बिना न खाना पाक्छ न त जाडोमा जीउ न्यानो नै पार्न सकिन्छ ? तपाईं भन्नुहोला आगो नभए पनि बिजुलीबाट हिटर बालेर सबथोक गर्न सकिन्छ । तर बिजुलीले दिने ताप त सामान्य आगोको बिस्तारित रुप न हो । पहिले सामान्य आगो आयो र पछि बिजुली ।

आगो भन्ने चीज कुन ठूलो कुरो हो र ? एउटा सलाईको काँटी झोसेर तुरुन्त निकाल्न सकिहालिन्छ नि ! हाम्रो मनमा यस्तो लाग्न सक्छ । आगोको आविष्कार मानव जातिको एउटा क्रान्ति नै हो भन्ने कुरा गर्दा त्यसलाई ठट्टा मान्नेहरु पनि होलान् । तर, मानव उद्विकासको इतिहासलाई केलाउँदा आगोको आविष्कार आधुनिक मानव समाजको कुनै पनि क्रान्तिभन्दा कम महत्वको देखिँदैन । यो सन् १६८८ मा राजतन्त्रबिरुद्ध इङ्ल्यान्डमा भएको गौरवमय क्रान्ति, सन् १७८९ देखि १७९९ सम्म १० वर्षसम्म चलेको फ्रेन्च क्रान्ति, सन् १९१७ को रुसी समाजवादी क्रान्ति आदिजस्ता सबै राजनीतिक क्रान्तिभन्दा कम आँक्न सकिने खालको क्रान्ति थिएन ।

आगोको आविष्कार हुनुभन्दा पहिले मानव जातिको दैनिक जीवन निकै कष्टकर थियो । जतिबेला मानव जाति पूर्ण रुपमा जङ्गलमै शिकार गरी आफ्नो आहारा जुटाउने चरणमा थियो, त्यतिबेला उनीहरु खाद्यवस्तु काँचै खान्थे । जाडोको समय आयो जीउ न्यानो बनाउने कुनै उपाय हुँदैनथ्यो । राती हिंस्रक जङ्गली जनावरहरुबाट बच्न उनीहरुलाई मुस्किल पर्थ्यो ।

तर, जब मानव जातिले आगोको आविष्कार गरी त्यसलाई पुनर्सिजना र नियन्त्रण गर्न जाने तब उनीहरुको जीवनमा कायापलट आयो । अब उनीहरुले खाद्यवस्तुलाई आगोमा पोलेर खान थाले । यसबाट खाना पहिलेभन्दा पाच्य र पोसिलो भई उनीहरुको शरीर बलियो हुन थाल्यो । जाडोमा आगो बाली जीउ न्यानो बनाउन सकिने भयो भने राती बास बस्ने ठाउँ वरिपरि आगो बाल्दा हिंस्रक जनावरहरुबाट सजिलै जोगिने उपाय उनीहरुले निकाले ।

यतिमात्र होइन आगो वरिपरि बसी खाना खानेलगायत अन्य गतिविधि गर्ने गरिएबाट मानव समुदाय सामाजीकरणतर्फ अगाडि बढ्न थाल्यो । क्यानाडाको टोरोन्टो विश्वविद्यालयका मानवशास्त्री माइकल चाजन बताउँछन्– “आगोमाथिको नियन्त्रणले मानव समाजका सबै तत्वहरुलाई छुन्छ ।” उनी भन्छन्, “वास्तवमा आगो वरिपरि समूह बनाएर बसी सामाजीकृत हुनु प्रमुख चरण हुन सक्थ्यो, जसले हामीलाई मानव बनाउँछ ।”

वैज्ञानिकहरुले यसअघिसम्म आजभन्दा ७ देखि ७ लाख पचास हजार वर्षपहिलेको समयावधिभित्र आदिमानव होमोइरेक्टसले आगोको आविष्कार गरेको मान्दै आएका थिए । तर, हालै वैज्ञानिकहरुले दक्षिण अफ्रिकाको एउटा गुफाको भुईंको माटोको परीक्षणबाट प्राप्त नतिजाको आधारमा मानव पुर्खाले आजभन्दा १० लाख वर्षपहिले नै आगोको आविष्कार गरिसकेको दावी गरेका छन् ।

गत अप्रिल २, २०१२ मा प्रकाशित ‘साइन्स डेली’ विज्ञान पत्रिकामा उल्लेख भएअनुसार क्यानाडाको टोरोन्टो विश्वविद्यालय र इजरायलको हेब्रु विश्वविद्यालयका वैज्ञानिकहरुले नेतृत्व गरेको एउटा संयुक्त वैज्ञानिक टोलीले दक्षिण अफ्रिकाको उत्तरी केप प्रोभिन्समा अवस्थित वन्डेरवेर्क गुफाभित्र प्राचीन समयमा मानव पुर्खाले प्रयोग गरेको ढुङ्गाका औजारहरु, आगोले पोलिएर डढेका जनावरका हाडहरु तथा दाउराको खरानीको सूक्ष्म अवशेष एकसाथ भेट्टाएको छ, जुन १० लाख वर्ष पुरानो भएको उनीहरु दावी गर्छन् । अनुसन्धान परियोजनाका सहनिर्देशक तथा टोरोन्टो विश्वविद्यालयका मानवशास्त्री एवं पुरातात्विक केन्द्रका निर्देशक उनै माइकल चाजनले ‘आफ्नो जीवनको एउटा अङ्गको रुपमा आगोको प्रयोगको सुरुवात होमोइरेक्टस आदिमानवभन्दा पहिलेको मानव पुर्खाले गरिसकेको’ उल्लेख गर्दै ‘मानवले आगोको प्रयोग गर्न थालेको समयलाई अहिलेको विश्लेषणले ३ लाख वर्ष अगाडि धकेलेको’ कुरा उनी बताउँछन् ।

माइकल चाजनको भनाइअनुसार आगोको प्रयोगको सुरुवात सबभन्दा पहिले होमोइरेक्टस आदिमानवले नभई त्यसअघिको अर्को मानव पुर्खाले गर्यो । त्यो मानव पुर्खा होमोहाबिलिस आदिमानव भएको वैज्ञानिकहरु बताउँछन् । यसअघिसम्म मानव उद्विकासमा होमोइरेक्टस आदिमानवको समयमा आएर मात्र मानवले आगोको प्रयोग गर्न सिकेको विश्वास गरिँदै आएको थियो ।

वन्डेरवेर्क क्षेत्र एउटा विशाल गुफा हो । यो कलाहारि मरुभूमिको छेउमा पर्दछ । यो क्षेत्रमा यसअघि सन् २००८ मा दक्षिण अफ्रिकाको किम्बर्लीमा अवस्थित माइकग्रेगर सङ्ग्रहालयका वैज्ञानिक पिटर ब्युमन्टले उत्खनन् गरी त्यहाँ २० लाख वर्ष पुरानो मानव आवादीको प्रमाण फेला पारेका थिए । पिटर ब्युमन्टले त्यहाँ २० लाख वर्ष पुराना सानासाना ढुङ्गाका औजारहरु फेला पारेका थिए ।

आगोको आविष्कार मानवको पहिलो क्रान्ति भने होइन । मानव जातिको र पुच्छर भएका तथा पुच्छर नभएका (अपुच्छ अर्थात् एप) बाँदरको पुर्खा एउटै भएको कुरा वैज्ञानिकहरुले करिब सवा करोड वर्ष पहिलेदेखिका बिभिन्न जीवावशेषहरुको अध्ययन गरी पुष्टि गरेका छन् । त्यो पुर्खाबाट आदिमानव (hominid) को उद्विकास (evolution) हुँदा मानव र जनावरमा केही फरक थिएन । उनीहरु प्रकृतिले जे जुन बेला जसरी दियो त्यसरी नै लिन्थे र खानादेखि बास तथा सुरक्षाको बन्दोबस्त मिलाउँथे । शिकार गर्न तथा सुरक्षाको लागि ढुङ्गा, रुखका हाङ्गाबिङ्गा आदिलाई औजारको रुपमा प्रयोग त गर्थे तर औजार निर्माण गर्न जान्दैनथे । यस्तो अवस्था आदिमानवले लाखौंलाख वर्षसम्म व्यहोरे । यही क्रममा आजभन्दा करिब २६ लाख वर्षपहिले अष्ट्रलोपिथेकस आदिमानवले पहिलो पटक ढुङ्गाको औजार बनाई प्रयोग गरेको प्रमाण वैज्ञानिकहरुले फेला पारेका छन् । दक्षिण अफ्रिकाको वन्डेरवेर्क क्षेत्रमा फेला परेका ढुङ्गाका औजारहरु आदिमानवले सुरु समयमा आविष्कार गरेका औजारहरुसँग मिल्दोजुल्दो भएको कुरा वैज्ञानिकहरु बताउँछन् ।

पृथ्वीको इतिहासको प्लिस्टोसिन (Pleistocene) युगको अन्त्य र मेजोलिथिक (Mesolithic) युगको सुरुतिर मानवले ढुङ्गाको औजार आविष्कार गरेको र त्यही बिन्दुबाट प्राचीन ढुङ्गे युग (Paleolithic Era) सुरु भएको मानिन्छ । वास्तवमा ढुङ्गे औजारको आविष्कार सँगसँगै मानव जाति जनावरबाट पृथक बन्न पुग्यो । सामान्यतः जनावरहरुले औजारको प्रयोगसम्म पनि गर्दैनन् । मानवपछि सबभन्दा विकसित जनावर बाँदरका बिभिन्न प्रजातिहरु पर्दछन् । यिनमा पुच्छर भएका र पुच्छर नभएका अपुच्छ बाँदरका सबै प्रजातिहरु पर्दछन् । यिनीहरुले औजार प्रयोग त गर्छन् आफै निर्माण गर्दैनन् । औजार निर्माण गर्ने काम मानवले मात्र गर्दछ । जनावरबाट पृथक हुने पहिलो र निर्णायक कुरो यही नै हो । औजार निर्माण र प्रयोगबाट नै मानव विकासको प्रक्रिया थालनी भयो । त्यसैले मानव जातिको पहिलो क्रान्ति औजारको आविष्कार हो, जुन काम माथि भनिसकियो आजभन्दा करिब २६ लाख वर्ष पहिले आदिमानव अष्ट्रलोपिथेकसले अफ्रिकामा सुरु गर्यो ।

मानव जातिको इतिहासलाई प्राचीनभन्दा प्राचीन समयसम्म अगाडि तन्काउँदा हामी आगो तथा औजारको आविष्कारसम्म पुग्दछौं । र, औजारको आविष्कार पहिलो क्रान्तिको रुपमा पाउँछौं भने आगोको आविष्कार दोस्रो क्रान्ति ।

इमूल्याङ्कनबाट