रोजा लक्जेम्बर्ग: न्याय र स्वतन्त्रतामा समर्पित एक आँधीमय जीवन
रोजा लक्जेम्बर्गको जन्म सन् १८७१ मा पोल्यान्डको एक यहुदी परिवारमा भएको थियो। सानै उमेर छँदा एउटा दुर्घटनामा उनको कम्मरको हड्डी सरेको हुनाले उनी खुट्टा खोच्याएर हिँड्ने गर्थिन्। तर रोजा लक्जेम्बर्गको आँधी जस्तो तीव्र जीवनयात्रामा उनको असन्तुलित हिँडाइले कुनै बाधा पारेन।
पढाइमा अति नै तीक्ष्ण रोजा स्कुले जीवनबाटै राजनीतिमा संलग्न भइन्। विद्यालय शिक्षा सकिने बित्तिकै उनी देश छोडेर निर्वासनमा स्विट्जरल्यान्ड पुगिन् । र, त्यहाँको जुरीक युनिभर्सिटीबाट कानुनमा पिएचडी उपाधि हासिल गरिन् । त्यसपछि रोजा लक्जेम्बर्ग पूर्णकालीन मार्क्सवादी राजनीतिमा प्रवेश गरिन्।
उनको राजनीतिक जीवन अन्तर्राष्ट्रिय चरित्रको थियो। रोजा त्यस बखत समाजवादी राजनीतिको केन्द्र मानिने जर्मनीमा पुगिन् र त्यहाँको जर्मन सोसल डोमोक्र्याटिक पार्टी (एसडीपी) मा सामेल भइन्। उनले सन् १९०५ को असफल रुसी क्रान्तिमा समेत भाग लिएकी थिइन्।
रोजा लक्जेम्बर्ग कसैसँग एक रत्ती पनि दब्ने स्वभाव कि थिइनन्। त्यसैले उनी एंगेल्सपछि मार्क्सवादका पोप मानिने कार्ल काउत्स्कीको आलोचना गर्न पछि परिनन् । दोस्रो अन्तर्राष्ट्रियका प्रमुख नेता एडवार्ड बर्नस्टाइनलाई पनि उनले आलोचना गर्न छाडिनन्, न त लेनिन कै आलोचना गर्न। उनी सैद्धान्तिक बहसमा सदैव अग्रसर भइरहिन् ।
एक पटक रुसी मार्क्सवादका पितामह मानिने प्लेखानोभले एउटा सम्मेलनमा बोल्दा आफ्नो तर्कलाई बचाउ गर्दै भनेका थिए- ‘म मार्क्सवादमा उभिएर बोल्दैछु।‘ त्यसको कटु जवाफ दिँदै रोजाले भनेकी थिइन्- ‘तपाई मार्क्सवादमा उभिनु मात्र भएको छैन बरु तपाई मार्क्सवादमा बस्नु भएको छ अझ भन्ने हो भने तपाई मार्क्सवादमाथि सुत्नु भएको छ।’
एडवार्ड बर्नस्टाइनले, ‘दी प्रिकन्डिसन्स अफ सोसिलिजम एन्ड दी टास्क अफ सोसियल डेमोक्रेसी’ शीर्षकको पुस्तक लेखे। रोजा लक्जेम्बर्गले त्यसको जवाफमा सुधार वा क्रान्ति भन्ने प्रख्यात पुस्तक नै लेखिन्। त्यस्तै, उनले मार्क्सकै पदचिह्नमा हिँड्दै ‘दी एकुमुलेसन अफ क्यापिटल’ नामक पुस्तक लेखिन्। यो किताबलाई मार्क्सवादको शास्त्रीय पुस्तकमध्येका एक उत्कृष्ट कृति मानिन्छ।
त्यस्तै, रोजा लक्जेम्बर्गले सन् १९१७ को रुसी अक्टोबर क्रान्तिका समस्याबारे ‘रसियन क्रान्ति’ भन्ने महत्त्वपूर्ण पुस्तक लेखेकी थिइन्। जसमा लेनिनको राष्ट्रियताहरूलाई आत्मनिर्णयको अधिकार दिने नीति र अधिनायकवादको नीतिको आलोचना गरिएको थियो।
उनले उठाएको सवाल सोभियत संघको विघटनपछि सत्य साबित भयो। रोजा लक्जेम्बर्गले भनेकी थिइन- ‘सरकारका समर्थकहरूलाई मात्र दिएको स्वतन्त्रता, एउटा पार्टीलाई मात्र दिइएको स्वतन्त्रता वास्तवमा कुनै स्वतन्त्रता नै होइन। स्वतन्त्रता सधैँ र विशेषगरी तिनीहरूलाई हुनुपर्छ जो फरक ढंगले सोच्छन्।’
पहिलो विश्वयुद्धपछि जर्मनीमा छाएको अराजकतापूर्ण अवस्थाका बीच सन् १९१९ मा रोजा लक्जेम्बर्ग र उनका साथी कार्ल लिब्ननेख्तको स्पार्टाकस लिगले विद्रोह सुरु गर्यो। सोसल डोमोक्र्याटिक पार्टीको सरकारले सो विद्रोहको दमन गर्यो। विद्रोहकै क्रममा रोजा लक्जेम्बर्ग र कार्ल लिब्ननेख्तलाई सरकारी सैनिकहरूले गिरफ्तार गरे।
कार्ल लिब्ननेख्तलाई गिरफ्तार गरेको ठाउँबाट अलिक पर लगेर गोली हानेर मारियो। रोजा लक्जेम्बर्गलाई निर्मम तवरले केही घण्टासम्म यातना दिएर, बन्दुकको कुन्दाले टाउको हान्दै अन्त्यमा टाउकोमा गोली हानी मारियो। र, उनको शवलाई नजिकैको नहरमा फालियो। चार महिनापछि उनको शव भेटियो र अन्तिम संस्कार गरियो। त्यसबेला रोजा लक्जेम्बर्ग जम्मा ४७ वर्षकी मात्र थिइन्।
प्रख्यात ल्याटिन अमेरिकी लेखक एदुआर्दो गालेआनोले लेखेका छन्- ‘यातना दिने क्रममा रोजा लक्जेम्बर्गको एउटा जुत्ता घटनास्थलमा छुटेको थियो। कसैले त्यो हिलोमा गाडिएको जुत्ता उठायो। उनले जीवनभर त्यस्तो संसारको अभिलाषा राखिन् जहाँ स्वतन्त्रताको नाममा न्यायलाई र न्यायको नाममा स्वतन्त्रतालाई बलिदान दिइँदैन। हरेक दिन उनको त्यो मान्यता अंकित झन्डालाई केही हातले उठाई रहन्छन्। जुन हिलोमा उनको जुत्ता जस्तै खसेको थियो।’
प्रतिक्रिया