समाजवादका नाममा जालझेल !?
राजनीतिमा सामाजिक मिशन र निजात्मक स्वार्थ, सज्जन र दुर्जन, निष्ठा र ढोंग, इमान र जालझेलबीचको छ्यासमिस धेरै पुरानो छ । यी दुई प्रवृत्तिबीचको रस्साकसी अनवरत चलिरहेको छ । त्यसमा सधैंभरि सज्जन, निष्ठावान र इमानीको मात्रै वर्चश्व रहेको होइन । बुद्धकै संघमा देवदत्त जस्तो महत्वाकांक्षी र छुल्याहा पनि थियो । समाजवादी आन्दोलनमा पनि स्वयं यसका श्रष्टाहरु यस प्रवृत्तिका भुक्तभोगी थिए । उनीहरु स्वयंले के भोगे, उनीहरु के चाहन्थे र राजनीतिमा कस्तो मूल्यको पक्षपोषण गर्थे भनेर जान्नलाई तल केही प्रतिनिधि घटना उल्लेख गरिएको छ ।
मार्क्सले आफ्ना एकजना अनन्य मित्र विल्हेम ब्लसलाई लेखेको पत्रमा भनेका छन् :
" मलाई कुनै दुराकांक्षा छैन , न त एंगेल्समा नै त्यस्तो कुरा छ । हामी दुवैमा लोकप्रियताको निम्ति परालको त्यान्द्रो जति नि पर्वाह छैन । (उ बेला नै )…व्यक्ति पुजा बारे ममा यति घृणा थियो कि मैले (आफूलाई सार्वजनिक प्रशस्ति गाउने ) कुरालाई सार्वजनिक प्रचार-प्रसारको क्षेत्रमा आउनै दिइनँ … एङ्गेल्स र मैले गुप्त कम्युनिष्ट समाज (कम्युनिष्ट लिग) मा भर्ति हुँदा पनि एउटा शर्तभित्रै मात्र स्वीकारेका थियौं - प्राधिकार माथिको अन्धविश्वासलाई मलजल गर्ने कुनै पनि प्रावधान विधानबाट हटाउने । (पछि लासाल भने उल्टो बाटो हिँडे ।)"
कम्युनिष्ट लिगको इतिहास अनुस्मरण गर्दै फ्रेडरिक एङ्गेल्सले केही रोचक पात्रहरुका बारेमा उल्लेख गरेका छन् ।
१८४० को दशकको मध्यतिरको कुरा हो । लिगमा पश्चिम जर्मनीको वेस्टफालिया भन्ने ठाउँका एक जना विद्यार्थी पनि थिए, हर्मन कृएज (Hermann Kriege) । पछि उनी अमेरिका भाँसिए । उनले त्यहाँ आफूलाई कम्युनिष्ट लिगको दुतको रुपमा परिचय बाँड्दै हिँड्न थाले । उनलाई लाग्थ्यो कि उनी लिगलाई अघि सारेर दक्षिण अमेरिकामा उथलपुथल ल्याउने ल्याकत राख्छन् । उनले लिगको नाउँमा एउटा पत्रिका पनि सञ्चालन गरे । पत्रिकामार्फत् उनी आफूलाई ठूलो सिद्धान्तकार देखाउने कुचेष्टा गर्दै अण्ठसण्ठ ओकल्न थाले । नयाँ दर्शनको रुपमा प्रेमै प्रेमले ओतप्रोत हुने बबाल कम्युनिज्मको धर्म–देसना गर्न थाले । उनको कम्युनिज्ममा प्रेम त कतै अभाव नै नहुने, जताततै छ्याल्लब्याल्ल । लिगको कम्युनिज्मसम्बन्धी धारणाको योसंग गोरु बेचेको पनि साइनो थिएन । लिगले (मे ११, १८४ ६मा) एउटा विज्ञप्ति नै जारी गरेर विरोध जनाउँदै उनी कम्युनिष्ट नै नभएको जानकारी गरायो । अनि भने उनी दृश्यपटलबाट लोप भए ।
एङ्गेल्सले कम्युनिष्ट लिगका अन्य दुई जना पात्रको चरित्र चित्रण गरेका छन्, कार्ल ग्रुन र विल्हेम क्रिस्चियन वेट्लिङ्ग ।
कार्ल ग्रुनको बारेमा एङ्गेल्सको मूल्यांकन थियो, "समाजवादका नाममा जालझेल गर्नेहरुका प्रमुख र प्रतिष्ठित प्रतिनिधि कार्ल ग्रुन हुन् ।"
ऊ बेलाको कम्युनिष्ट लिगमा विल्हेम क्रिस्चियन वेट्लिङ्ग (१८०८ – १८७१) नाम गरेका जर्मनीका एकजना सिधा साधा घुमक्कड कालिगड पनि थिए । समय बित्दै जाँदा उनी आफैलाई लरतरो मानिस ठान्न छोडे । उनी अब त्यो सिधासाधा कालिगड रहेनन् पनि । उनी आफ्नो प्रतिभाबाट आफैँ आश्चर्यचकित हुन थाले । आफूलाई उनी यस्तो ठान्थे, मानौं, उनको खल्तीमा धर्तीलाई स्वर्ग बनाउने नुस्खा छ र सारा दुनियाँ त्यो हात पार्न तँछाडमछाड गरिरहेको छ । अब उनलाई कम्युनिष्ट समाज कस्तो हुनु पर्छ भन्ने कुरा त चानचुने कुरा थियो । हुँदा हुँदा उनी केसम्म ठान्न पुगे भने उनमा यति धेरै विद्वता छ कि त्यो देखेर डाह गर्नेहरु उनको खेदो खन्दै छन् । उनको वरिपरि चारैतिरबाट उनका वैरीहरू उनलाई जसरी भए पनि फन्दामा पार्न जिउज्यान छोडेर लागेका छन् । लण्डनमा लिगका सबैजसो सदस्यसँग उनको रडाको भइसकेको थियो । ब्रसेल्समा मार्क्स र जेनीले भने उनको खातिरदारीमा असाधारण मानवीय सहिष्णुताको उदाहरण पेश गर्नु भएको थियो । तर त्यहाँ उनको कसैसंग ठ्याक मिलेन । अन्ततः उनी पैगम्वर बनेर आफ्नो भाग्य अजमाउन अमेरिकातिर छिरे ।
स्टालिनलाई व्यक्तिपुजाको आरोप छ । तै पनि उनी आफैँ के सोच्थे ? यस बारे एच जी वेल्सले स्टालिनसंग लिएको अन्तरवार्ताको निम्न अंशले पर्याप्त प्रकाश पार्दछ ।
'स्टालिन : दुनियाँको रुपान्तरण भनेको एक महान, जटिल र कष्टप्रद प्रक्रिया हो । यो काम फत्ते गर्न एक महान वर्गको आवश्यकता हुन्छ । लामो सामुद्रिक यात्रामा ठूलो जहाज चाहिन्छन् ।
एच जी वेल्स : लामो सामुद्रिक यात्राको निम्ति क्याप्टेन र नाभिक त चाहिन्छ नि !
स्टालिन : कुरो ठीक हो, तर लामो सामुद्रिक यात्राको निम्ति प्रथमतः ठूलो जहाज नै चाहिन्छ । जहाजबिनाको नाभिकको के प्रयोजन छ र ? फगत निकम्मा ।'
प्रतिक्रिया